गजल-३५४

 हिमशिखर्
ओहायो, अमेरिका

जिन्दगी कस्तो चल्दै छ अभावले सोध्यो
गल्ती कसको थियो पश्चातापले सोध्यो॥१

युगौँ देखि माया गरेको मान्छेलाई नदेख्दा
मुटुभित्रभित्रै बसेको त्यो दागले सोध्यो ॥२

सवाल सयौँ थिए सुल्झाउन बाकी थिए
समस्या के छन् अघिबाटै जवाफले सोध्यो॥३

किन सुन्दरता क्षण भरको मात्रै हुने गर्दछ
अत्तर हुनु भन्दा पहिले त्यो गुलाबले सोध्यो ॥४

यति धेरै शिथिल किन हुँदैछ यो ‘शिखर’
पग्लिँदै गरेको त्यो हिउँको रासले सोध्यो ॥५

Leave a Reply

Your email address will not be published. Required fields are marked *