गीत

भानु ढुङ्गाना
विन्डसर, क्यानाडा

किन यति टाढा बनाइयो, वर्षौँवर्ष भयो,
यसपालिको दसैँ–तिहार विदेशमै गयो।
देशको आँगन नपुगेको चौथो दशक भयो,
फूलबारी र पँधेरीलाई सम्झँदै कैयौँ वर्ष गयो।
तोरीबारी, पाटोछेउको खरबारी डाँडा,
एउटै देशका सन्तानलाई पार्‍यौ किन टाढा?
दसैँ–तिहार आएजस्तो आउँदैन यहाँ,
घरखेतबारी बाँझो, उजाड देखिँदैछ त्यहाँ।
भन्नुपर्छ भूपतिले, किसान हो, देश हेर्न आऊ,
तिम्रै श्रमले देश बन्छ, फर्की देश सजाऊ।
कति सुन्दर देशको माटो आज भयो रूखो,
हिजो व्यर्थै कलङ्क भयो, आज देश दुख्यो।
किन टाढा बनाएर राख्ने देशलाई बाँझो?
आऊ, फर्क घरआँगनमा, सजाऔँ धानको पाँजो।
कति टाढा भइयो, आइयो, वर्षौँवर्ष भयो,
आफ्नै माटो छाड्दाछाड्दै जीवन परदेशमै गयो।
आऊ, फर्क घरआँगनमा, सँगै रमाऔँ,
आफ्नै माटो, आफ्नै देश श्रमले सजाऔँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *