हामी को थियौँ ?

हामी को थियौँ ?

 

भानु ढुङ्गाना
विन्साेर, क्यानाडा

                 १

भेटिन्छ राम्रो, किन छैन चासो?
नासो गुमाएपछि, दुःखको पासो।
बाँझो बनायौँ, किन चित्तलाई?
शिक्षा गुमायौँ, अनि दुःख पाई।

               २
भाषा छ आफ्नै, बहु ज्ञान तुल्य,
निष्ठा भएमा, अभिवृद्धि मूल्य।
हाँगा गह्रौँ छन्, फल साथ आई,
ज्ञानी भएका, गुणशास्त्र पाई।

              ३
एकान्त प्यारो, पनि शास्त्र वाला,
भाषा सँगैको, मन शुद्ध चाला।
मैले पढेको, अब के छ भन्ने?
साहित्य–शिक्षा सँग, उच्च बन्ने।

             ४
यो मात्र मेरो, धन सौख्य पाटो,
पाएँ, कमाएँ, परलोक बाटो।
लानेछ धेरै, सकिने न होला,
मस्काउँदा बन्द, छ उच्च चोला।

           ५
यो चित्त चङ्गा, अब त सुधारौँ,
शिक्षा, कला, औ’ गुण दिव्य पारौँ।
ऐश्वर्य हाम्रो, निज शक्ति पाऊँ,
दासत्वभन्दा, अलिमाथि आऊँ।

            ६
ए भाइ, भाञ्जा, बहिनीहरू हो,
आमा, दिदी छौ, र पिताहरू हो!
जागौँ, जगाऔँ, नवबाल सारा,
शिक्षा सुधाको फल राखुँ धारा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *