भाषामोह र परिवेश: स्प्यानिस सिकाइदेखि छोराछोरीको नेपालीसम्म
डोना आचार्य
हाम्रो घरमा धेरै भाषा सुनिन्छन्। कामका म अङ्ग्रेजी र स्प्यानिस बोल्छु; घरमा नेपाली बोल्ने प्रयास गर्छौँ। हाम्रा चार छोराछोरीमध्ये ठूला दुई जना नेपाली कक्षा पनि जान्छन्। नेपाली विरासत महिनाका लागि आफ्ना अनुभव लेख्न बस्दा यी भाषा मलाई छुट्टाछुट्टै संसारका कुरा लाग्दैनन्। बरु एउटा भाषा सिक्दै जाँदा अर्को भाषाको महत्त्व झन् गहिरोसँग बुझ्दै गएको छु। विशेष गरी स्प्यानिस सिक्ने मेरो आफ्नै यात्राले छोराछोरीसम्म नेपाली पुर्याउन किन धैर्य, अभ्यास र आत्मीयता चाहिन्छ भन्ने कुरा सिकाएको छ।
१. पुनर्बास र भाषाको शक्ति
म सन् २००८ मा शरणार्थीका रूपमा अमेरिका आएको हुँ। बसाइँसराइ भनेको नयाँ ठाउँमा पुग्नु मात्रै रहेनछ; आफूले बुझ्ने तर अरूले नबुझ्ने शब्दहरू बोकेर नयाँ जीवन सुरु गर्नु पनि रहेछ। सुरुका वर्षहरूमा मैले शरणार्थी परिवारहरूसँग काम गरेँ। उनीहरूका लागि दोभाषेको भूमिका निभाउँदै यहाँको समाज र व्यवस्था बुझ्न सघाएँ। पछि म स्वास्थ्य सेवा क्षेत्रमा प्रवेश गरेँ। ती सुरुआती अनुभवहरूले मलाई एउटा सानो तर गहिरो कुरा बारम्बार सम्झाइरहे—मानिसले आफ्ना कुरा आफ्नै भाषामा भन्न पाउँदा जानकारी मात्र दिँदैन; आफ्ना डर, आशा, पीडा र आत्मसम्मान पनि व्यक्त गर्छ।
एउटा फारामको प्रश्न, विद्यालयको सूचना वा स्वास्थ्यसम्बन्धी निर्देशनको अर्थ शब्दमा मात्रै अटाउँदैन। त्यसको पछाडि नयाँ देशका नियम, व्यवहार र विश्वासको आफ्नै ठूलो संसार हुन्छ। भाषामा कसैलाई सघाउनु भनेको शब्द अनुवाद गर्नु मात्र होइन; मानिसलाई कुरा बुझेर आफ्नै निर्णय लिन सक्ने गरी सक्षम बनाउनु पनि हो। आफ्नो कुरा अरूले बुझिदिएपछि मानिसको अनुहारमा जुन ढुक्कपन र राहत देखिन्छ, मैले त्यो कामबाट सिकेको अमूल्य पाठ यही हो। आज एउटा अभिभावकका रूपमा घरका साना साना कुराकानीमा पनि मलाई त्यही पाठ उपयोगी लागिरहेको छ।
नयाँ देशमा स्थापित हुन अङ्ग्रेजी सिक्नु अत्यावश्यक थियो। त्यसले मेरो पढाइ, रोजगारी र नयाँ सम्बन्धका अनेक ढोकाहरू खोल्यो। तर अङ्ग्रेजीमा अघि बढ्नका लागि आफ्नो मातृभाषा नेपालीलाई पछाडि छोड्नुपर्छ भन्ने कुनै नियम छैन। नेपाली आज पनि मेरो परिवारसँग जोडिने सबैभन्दा सहज र आत्मीय बाटो हो—आफन्तसँग फोनमा बोल्दा, बालबालिकालाई माया गर्दा, पुराना उखान सम्झँदा वा आफ्ना विगतबारे लेख्दा म नेपालीमै सहज महसुस गर्छु। यही अनुभवले छोराछोरीका लागि पनि नेपाली केवल एउटा औपचारिक विषय वा शब्दको सूची मात्र भएर सीमित नहोस् भन्ने इच्छा मनमा जगाउँछ।
२. स्प्यानिस सिक्दा देखिएको ऐना
स्प्यानिस भाषासँग मेरो पहिलो परिचय एरीमा शरणार्थी केसवर्करका रूपमा काम गर्दा भएको थियो। मैले काम गर्ने संस्थाको नाम सुरुमा हिस्पानिक अमेरिकन काउन्सिल थियो; जुन पछि मल्टिकल्चरल कम्युनिटी रिसोर्स सेन्टर बन्यो। त्यहाँ स्प्यानिस बोल्ने धेरै सहकर्मी र सेवाग्राहीहरू हुनुहुन्थ्यो। शब्दहरूको अर्थ बुझ्नुभन्दा पहिले नै त्यो भाषाको लवज र सांगीतिक लयले मलाई आकर्षित गरेको थियो।
पछि पिट्सबर्गमा एक वर्ष पढ्दा डुओलिङ्गो एप मेरो स्प्यानिस अभ्यासको मुख्य साथी बन्यो। कलेज पढ्दापढ्दै म समय निकालेर उबर र लिफ्ट पनि चलाउँथेँ। यात्रु वा सवारी पर्खँदाको फुर्सदको समयमा एपका छोटा छोटा पाठ अभ्यास गर्थेँ। स्वास्थ्य सेवामा प्रवेश गरेपछि स्प्यानिसलाई विशेष प्राथमिकता दिएर सिक्न थालेँ। यसरी मन परेको भाषाको लय बिस्तारै मानिसहरूसँग जोडिने मेरो व्यावहारिक सीप बन्यो।
स्वास्थ्य सेवामा बिरामी र उनीहरूका परिवारलाई उनीहरूले सहज महसुस गर्ने भाषामा सम्बोधन गर्न सक्दा कुराकानीको वातावरण नै फरक हुन्छ। सामान्य प्रश्न सोध्न, उनीहरूका उत्तर ध्यान दिएर सुन्न र आफूले बुझेको कुरा फेरि स्पष्ट पार्न सक्नु विश्वासको सम्बन्ध बनाउनका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। तर भाषा सिकाइ केवल शब्दसूची कण्ठ गरेर सकिँदैन। एउटै शब्द फरक सन्दर्भमा फरक अर्थमा प्रयोग हुन सक्छ; उच्चारणमा गल्तीहरू हुन्छन्; कहिलेकाहीँ सही शब्द कुराकानी सकिएपछि मात्रै सम्झनामा आउँछ। स्प्यानिसमा मेरो दक्षता बढ्दै जाँदा त्यो भाषा र त्यसका वक्ताहरूप्रतिको मेरो सम्मान झन् बढेको छ।
स्प्यानिस सिक्ने क्रममा मैले आफ्नै सीमाहरू नजिकबाट अनुभव गरेको छु। कहिलेकाहीँ सामुन्नेको व्यक्तिले भनेको कुरा म पूरै बुझ्छु, तर चाहेजस्तो सहज र स्पष्ट जवाफ दिन सक्दिनँ। त्यस्तो बेला उसले धैर्य गरेर मेरो कुरा सुनिदिँदा कति ठूलो राहत र हौसला मिल्छ भन्ने मलाई राम्रोसँग थाहा छ। यही अनुभव म घरमा पनि सम्झन्छु। हाम्रा छोराछोरी नेपाली बोल्दा अड्किँदा वा असजिलो मान्दा तुरुन्तै उनीहरूका गल्ती औँल्याउनुभन्दा उनीहरूले भन्न खोजेको मूल कुरा समात्नु बढी उपयोगी हुन्छ। शब्द खोज्न लागेको समयले कसैको क्षमता वा बुद्धि नाप्दैन। गल्ती गर्ने छुट दिँदा मात्रै हामी कुराकानीको ढोका सधैँ खुला राख्न सक्छौँ।
अर्को समुदायको भाषा सिक्नु भनेको त्यस समुदायका मानिसहरू आफ्ना अनुभवका वास्तविक ज्ञाता हुन् भन्ने कुरालाई सहर्ष स्वीकार गर्नु पनि हो। उनीहरूका शब्द, बोल्ने लय र सम्बन्धलाई सम्मान गर्नुपर्छ। जब हामी अरूको भाषालाई सम्मान गर्छौँ, तब आफ्नै घरको भाषालाई पनि त्यही सम्मान र गौरवका साथ हेर्न मन लाग्छ। घरमा नेपाली बोल्ने-बोलाउने हाम्रो चाहना केवल ‘हाम्रो भाषा बचाऊ’ भन्ने औपचारिकता वा नारा मात्र होइन; हाम्रा मान्छेले बोलेका शब्द र ती शब्दभित्र गुथिएका अमूल्य अनुभवहरू आउने पुस्ताले पनि सुन्न र महसुस गर्न सकून् भन्ने हार्दिक इच्छा हो।
स्वास्थ्य सेवामा शब्द जान्नु र सबै कुरा ठीकसँग बुझ्नु दुई फरक कुरा हुन् । कहिले फेरि दोहोर्याएर सोध्नुपर्ने, कहिले आफ्नो बुझाइ सही छ कि छैन भनेर जाँच्नुपर्ने र कहिले थप भाषिक सहयोग चाहिने हो भन्ने कुरामा म सधैँ सजग रहन्छु। घरमा पनि छोराछोरीले कुन नेपाली शब्द प्रयोग गरे भन्नुभन्दा पनि उनीहरूले के भन्न खोजिरहेका छन् भनेर सुन्नु नै वास्तविक संवादको सुरुवात हो।
दुवैतर्फका हजुरबा-हजुरआमासँगको नियमित सम्पर्क र कुराकानीले हाम्रा छोराछोरीलाई नेपाली बोल्ने मात्र होइन, नेपालीपनलाई महसुस गर्ने अवसर पनि दिएको छ। हजुरबा-हजुरआमाको स्वरमा माया, आशीर्वाद, ठट्टा र पारिवारिक पुराना कथा सुन्दा नेपाली भाषा अभ्यासको एउटा पाठ वा विषयभन्दा पनि आत्मीयताको माध्यम बन्छ। एक पुस्ताले भोगेको यात्रा र अर्को पुस्ताले बनाइरहेको घरबीच शब्दको बलियो पुल बन्छ।
३. घरमा नेपालीको व्यावहारिक अभ्यास
हाम्रा छोराछोरी अमेरिकी परिवेशमा हुर्किरहेका छन्। विद्यालय, साथीभाइ, पुस्तक र वरपरको समग्र वातावरणबाट अङ्ग्रेजी भाषा स्वाभाविक रूपमा उनीहरूको दैनिक जीवनमा आउँछ। यस्तो अवस्थामा उनीहरूलाई ‘नेपाली बोल’ भनेर ताकेता वा आग्रह गर्नु मात्रै पर्याप्त हुँदैन; नेपाली बोल्ने सहज वातावरण र अवसर पनि सिर्जना गर्नुपर्छ। घरका साधारण कुराहरू नेपालीमा सोध्नु, उनीहरूका उत्तर धैर्यतापूर्वक सुन्नु, नबुझेका शब्दहरूलाई सजिलो गरी बुझाइदिनु र फेरि प्रयोग गर्न सिकाउनु—यिनै साना अभ्यासहरूले भाषालाई जीवित राख्छन्। ठूला भाषण वा उपदेशभन्दा दैनिक जीवनका साना कुराकानीमा सांस्कृतिक विरासत बढी बाँच्छ।
बालबालिकाको भाषामा अङ्ग्रेजी र नेपालीको मिसावट आउनु अत्यन्त स्वाभाविक हो। उनीहरूले नेपाली वाक्यमा अङ्ग्रेजी शब्द राख्न सक्छन् वा आफूलाई जुन भाषा सजिलो लाग्छ, त्यसैमा जवाफ दिन सक्छन्। त्यस्तो बेला अभिभावकका रूपमा मेरो उद्देश्य उनीहरूलाई निरुत्साहित वा लज्जित बनाउनु होइन। म आफैँ नेपालीमा जवाफ दिन्छु, अर्को सही शब्द सुझाइदिन्छु र कुराकानीको प्रवाहलाई अघि बढाउँछु। बोल्दा गल्ती होला कि भन्ने डर नभएपछि मात्रै बालबालिकामा भाषा प्रयोग गर्ने साहस बढ्छ। यदि आज उनीहरूले बोलेका अपूर्ण वा त्रुटिपूर्ण वाक्यहरूलाई हामीले सहजै स्वीकार गर्न सक्यौँ भने मात्र भोलि उनीहरूसँग लामो र अर्थपूर्ण कुराकानी सम्भव हुन्छ।
घरमा नेपाली बोल्दा छोराछोरीको अङ्ग्रेजी कमजोर हुने होइन। जुन समाजमा उनीहरूले पढ्नुछ, काम गर्नुछ र सम्बन्ध गाँस्नुछ, त्यस समाजको मुख्य भाषामा पूर्ण सक्षम हुनु उनीहरूका लागि अनिवार्य छ। नेपाली भाषाले उनीहरूको त्यो क्षमतामा बाधा पुर्याउँदैन, बरु अर्को एउटा समृद्ध तह थपिदिन्छ। नेपाली जानेकै कारण उनीहरूले परिवारका ठूला सदस्यहरूसँग सीधै बोल्न, आफ्नो नाम र नाताको अर्थ बुझ्न, नेपाली कथा वा गीत सुन्न र नेपालसँगको आफ्नो सम्बन्धलाई आफ्नै शब्दमा व्यक्त गर्न सक्छन्। कुन भाषा ‘सही’ वा ‘श्रेष्ठ’ हो भनेर रोजिदिनुभन्दा सबै भाषामा उनीहरूलाई आफ्नो ठाउँ बनाउन सहयोग गर्नु बढी अर्थपूर्ण हुन्छ।
बहुभाषिकताबारे भएका विभिन्न अनुसन्धानहरूले पनि एकभन्दा बढी भाषा सिक्नु बालबालिकाका लागि भ्रम वा कमजोरी हो भन्ने पुराना धारणाहरूलाई अस्वीकार गर्छन्। बहुभाषी अनुभवले भाषाको बनोट र अर्थबारे सजगता बढाउँछ र फरक भाषिक परिस्थितिअनुसार आफूलाई ढाल्ने बानीको विकास गराउँछ। संज्ञानात्मक लाभबारे अनुसन्धानका निष्कर्षहरू परिस्थितिअनुसार फरक हुन सक्छन्। त्यसैले हाम्रो लक्ष्य छोराछोरीलाई अरूभन्दा ‘राम्रो’ वा ‘बुद्धिमान्’ साबित गर्नु होइन; उनीहरूका लागि सम्बन्ध, अभिव्यक्ति, सिकाइ र उज्ज्वल भविष्यतर्फ जाने अर्को एउटा ढोका खुला राखिदिनु हो।
मेरो अनुभवमा नयाँ भाषा सिक्नु मानिसहरूसँग जोडिने माध्यम मात्रै होइन, मन र मस्तिष्कलाई सधैँ सक्रिय राख्ने कसरत पनि हो। मैंले स्प्यानिस सिक्दा नयाँ शब्दहरू सम्झनु, एउटै भाव अर्को भाषामा कसरी व्यक्त गर्ने भनेर सोच्नु र सन्दर्भअनुसार अर्थ छुट्याउनु आफैँमा एउटा बौद्धिक अभ्यास भएको महसुस गरेको छु । छोराछोरीले नेपाली सिक्दा पनि म यही पाटो देख्छु। उनीहरूले परिवार र संस्कृतिसँग सम्बन्ध गाँस्नुका साथै संसारलाई अर्को भाषाका शब्द र अर्थबाट हेर्ने फराकिलो दृष्टि पाइरहेका हुन्छन्।
स्प्यानिस बोल्ने समुदायसँग काम गर्दा मैले भाषासँगको सम्बन्ध सबै परिवारको एउटै हुँदैन भन्ने कुरा पनि बुझेको छु। धेरैले आफ्नो भाषा घरमा जोगाउन चाहन्छन्, तर कतिपय परिवारमा परिस्थिति वा छनोटका कारण त्यो सम्भव नहुन पनि सक्छ। कसैले आफ्नो पुर्खाको भाषा बोल्न सकेन वा बोलेन भन्दैमा उसले आफ्नो संस्कृतिलाई कम माया गर्छ भनेर मूल्याङ्कन गर्नु उचित हुँदैन। हामीले आफ्नो घरमा नेपालीको नियमित अभ्यास रोजेका छौँ, तर अरू परिवारको फरक बाटोलाई पनि उत्तिकै सम्मान गर्छौँ।
भाषा सिकाउने यो यात्रामा ठूला र औपचारिक कार्यक्रमहरूभन्दा साना तर दोहोरिरहने अभ्यासहरू बढी प्रभावकारी हुन्छन्। उदाहरणका लागि—सँगै खाना खाँदा स्वादबारे नेपालीमा सोध्ने, आफन्तसँग फोनमा कुरा गर्न दिने, पुराना तस्वीरहरू हेरेर मानिस र ठाउँ चिनाउने वा कुनै नेपाली शब्दको अर्थ एकापसमा खोज्ने। हरेक क्षणलाई पाठ वा पढाइ बनाउन खोज्यौँ भने घर पनि कक्षाकोठाजस्तै थकाइलाग्दो हुन सक्छ। दैनिक जीवनको खेल, जिज्ञासा र सहज संवादमा नेपाली मिसिँदा भाषा बोल्नुको कारण स्वाभाविक र रमाइलो बन्छ।
मेरा चारै जना छोराछोरीले एउटै गति वा लयमा नेपाली सिक्नुपर्छ भन्ने अपेक्षा म राख्दिनँ। उनीहरूको उमेर, रुचि र आत्मविश्वास फरक-फरक हुन्छन्। कसैले सुनेर धेरै बुझ्छ तर बोल्न हिचकिचाउँछ; कसैले नयाँ शब्द सुन्ने बित्तिकै प्रयोग गरिहाल्छ। उनीहरूको प्रगति वा उपलब्धिलाई गनेर भाषालाई बोझ बनाउनु हुँदैन। नेपाली भाषा सुन्दा उनीहरूलाई अपनत्व, खुसी र आफ्नोपन महसुस होस् भन्ने मात्र मेरो मूल चाहना हो। त्यो भावनात्मक आधार बलियो भयो भने पछि गएर पढ्ने, लेख्ने र अझ गहिरो गरी बुझ्ने इच्छा उनीहरूमा आफैँ जाग्न सक्छ।
४. नेपाली कक्षाले खोल्ने ढोका
हाम्रा ठूला दुई छोराछोरी साप्ताहिक रूपमा नेपाली कक्षा जान्छन्। घरमा बोलिने भाषा जब कक्षाकोठासम्म पुग्छ, त्यसको अर्थ र दायरा अझ फराकिलो हुन्छ। अक्षर चिन्नु र लेख्न सिक्नु आफैँमा एउटा उपलब्धि त हो नै; आफूजस्तै अरू बालबालिकाहरूले पनि नेपाली सिकिरहेका छन् भन्ने प्रत्यक्ष देख्न पाउनु अर्को ठूलो अनुभव हो। घरमा कहिलेकाहीँ ‘आमाबुबाको मात्रै भाषा’ जस्तो लाग्ने कुरा कक्षामा साथीहरूसँग भेट्दा साझा र जीवन्त अनुभव बन्छ। यसले नेपालीलाई विगतको सम्झना मात्र होइन, वर्तमानमा पनि प्रयोग गर्न सकिने आधुनिक भाषाका रूपमा स्थापित गराउँछ।
हप्तामा एक पटक गरिने नेपाली कक्षाले सम्पूर्ण कुरा बदल्न सक्दैन तर घरले एक्लै दिन नसक्ने वातावरणीय साथ कक्षाले दिन्छ। शिक्षक, साथीहरू र नियमित तालिकाले एउटा सिकाइको लय बनाउँछन्। घरले त्यो लयलाई निरन्तरता दिने काम गर्छ—कक्षामा सिकेको शब्द घरमा बोल्ने, लेखेको कुरा उत्सुकताका साथ हेरिदिने वा पाठबाट पारिवारिक कथा सम्झने। ‘आज कति सिक्यौ?’ भनेर सोध्दा पढाइ हिसाबकिताब वा जाँचजस्तो बन्छ; तर ‘आज कुन शब्द रमाइलो लाग्यो?’ भनेर सोध्दा सिकाइ एउटा मीठो कुराकानी बन्छ।
नेपाली अक्षर चिन्नु केवल लिपि सिक्नु मात्र होइन। त्यसले कुनै दिन नेपालका आफन्तले पठाएको सन्देश पढ्न, पुस्तकका शीर्षक बुझ्न वा आफ्नै नाम नेपालीमा लेख्न मद्दत गर्छ। तर भाषिक पहिचानलाई परीक्षाको अङ्क वा अक्षर ज्ञानले मात्र निर्धारण गर्दैन। नेपाली पढ्न वा लेख्न ढिलो सिक्ने बच्चा कम नेपाली हुँदैन, न त अङ्ग्रेजीमा सहजै आफ्ना भावना व्यक्त गर्ने बच्चाको पारिवारिक सम्बन्ध नै कम साँचो हुन्छ। अभिभावकका रूपमा हाम्रो जिम्मेवारी अवसर र पहुँच प्रदान गर्नु हो, उनीहरूको पहिचानको परीक्षा लिनु होइन।
विरासतसँग जोडिने बाटो पनि सबैका लागि एउटै हुँदैन। कसैले अक्षर र व्याकरणबाट सुरुवात गर्ला, कसैले खानाका नामहरूबाट, कसैले गीत, चाडपर्व, पारिवारिक फोटो वा हजुरबा-हजुरआमाका कथाहरूबाट। भाषाले संस्कृतिलाई बोल्न सकिने बनाउँछ भने संस्कृतिले भाषालाई प्रयोग गर्ने अर्थ र कारण दिन्छ। एउटा शब्द सिकाउँदा त्यसले जोड्ने मानिस र अनुभवलाई पनि देखाउन सक्यौँ भने त्यो शब्द किताबका पानाहरूभन्दा धेरै टाढासम्म पुग्छ।
५. विरासत: पुस्तौँ जोड्ने जीवित सम्बन्ध
हामीजस्ता शरणार्थी परिवारको यात्रामा ‘विरासत’ वा ‘हेरिटेज’ शब्द कहिलेकाहीँ भारी लाग्न सक्छ। हामीसँग आफ्नो जन्मभूमिबाट जोगाएर ल्याएका पुराना सम्झनाहरू छन्, र नयाँ देशमा दुःख-सुखबीच फेरि बनाएको जीवन पनि छ। त्यसैले विरासतलाई कुनै पुरानो सङ्ग्रहालयको वस्तुजस्तै जस्ताको तस्तै अर्को पुस्तालाई बुझाउने निर्जीव चिजका रूपमा म हेर्दिनँ। घरमा हामी कुन भाषा बोल्छौँ, कस्ता कथा सुनाउँछौँ, कस्ता प्रश्नहरू सोध्न दिन्छौँ र अरू संस्कृतिप्रति कस्तो व्यवहार गर्छौँ—यिनै हाम्रा दैनिक व्यवहारहरूले विरासतको रूप तय गर्छन्।
भाषा जीवित रहँदा त्यसले हामीलाई पुस्तौँदेखि बन्दै आएको आफ्नो मौलिक पहिचानसँग जोडिरहने बाटो दिन्छ। हामीले बोल्ने नेपाली शब्दहरूमा हाम्रा नातासम्बन्ध, हाँसो, दुःख, विश्वास र सामूहिक स्मृतिहरू बसेका हुन्छन्। नयाँ पुस्ताले ती सबै कुरा ठ्याक्कै पुरानै ढङ्गले ग्रहण गर्नुपर्छ भन्ने छैन। तर यदि भाषा उनीहरूका लागि उपलब्ध भइरह्यो भने, उनीहरूले पछि आफ्नो इतिहासतिर फर्केर हेर्न, प्रश्न गर्न र आफ्नै ढङ्गले सम्बन्ध बनाउन सक्छन्। भाषा हराउँदा शब्द मात्र होइन, आफूतिर फर्कने एउटा महत्त्वपूर्ण बाटो पनि साँघुरिन सक्छ।
मानिसको बसाइँसराइ संसारभरि चलिरहने एउटा सर्वकालिक प्रक्रिया हो। रोजगारी, अध्ययन, द्वन्द्व, उत्पीडन, सुरक्षा वा नयाँ सम्भावनाको खोजले मानिसलाई एक ठाउँबाट अर्को ठाउँ पुर्याउँछ। नयाँ देशलाई आफ्नो घर मानेर त्यसको समाजमा पूर्ण रूपमा सहभागी हुनु र आफ्ना जराहरूलाई जोगाएर राख्नु एकअर्काका विरोधी कुरा होइनन्। विरासत जोगाउनु भनेको नयाँ परिवेशबाट टाढा वा अलग्गै बस्नु होइन; आफू कहाँबाट आएको हुँ भन्ने स्पष्ट बोधसहित नयाँ समाजमा स्वस्थ सम्बन्धहरू बनाउनु हो।
अमेरिकाको इतिहासलाई हेर्दा आप्रवासी समुदायहरूले सधैँ समान स्वागत पाएका छैनन्। सन् १८८२ को चिनियाँ बहिष्करण ऐन (Chinese Exclusion Act) ले चिनियाँ श्रमिकहरूको आप्रवासनमा रोक लगाएको थियो। सन् १९२४ को आप्रवासन ऐन (Immigration Act of 1924) ले राष्ट्रिय मूलमा आधारित कोटा व्यवस्था विस्तार गर्यो र एसियाली देशहरूबाट हुने आप्रवासनलाई व्यापक रूपमा निषेध गर्यो। फरक-फरक समयमा फरक-फरक समुदायहरू कानुन, सार्वजनिक बहस र सामाजिक शङ्काको निशानामा परेका छन्। यस्ता ऐतिहासिक तथ्यहरू सम्झँदा आफ्ना मौलिक पहिचान र भाषा नयाँ पुस्तासम्म पुर्याउनु अझ बढी अर्थपूर्ण र आवश्यक लाग्छ। भोलि कसैले हामीलाई सङ्कुचित नजरले हेरे पनि हामी आफ्नो धरातलमा फर्केर आत्मसम्मानका साथ उभिन सकौँ। त्यो धरातल अरूबाट अलग्गिने पर्खाल होइन; आफू को हुँ भन्ने आत्मबोधसहित समाजमा समान सहभागिता र सम्मानका लागि उभिने बलियो आधार हो।
नेपालीमा मेरो आफ्नै लेखाइ पनि छ। कहिलेकाहीँ कविताहरू लेख्दा कुनै दृश्य वा मनको गहिरो भावलाई नेपाली शब्दमा उतार्न खोज्छु। त्यस क्रममा एउटा भाषाबाट अर्को भाषामा सजिलै अनुवाद नहुने अर्थ र संवेदनाहरू भेटिन्छन्। हरेक भाषामा संसारलाई हेर्ने आफ्नै बानी, सम्झने तरिका र निकटताका अनेक रूपहरू हुन्छन्। मेरा छोराछोरीले आजै ती सबै गहिरा अर्थ बुझून् भन्ने मेरो हठ छैन; तर भोलि उनीहरूलाई खोज्न मन लाग्दा ती शब्द र कथाहरू उनीहरूका लागि सहज उपलब्ध रहून् भन्ने मेरो चाहना हो।
नेपाली विरासतको अर्थ सबै परिवारका लागि एउटै हुँदैन। एउटै भाषा बोल्ने मानिसहरूका बसाइँसराइका बाटा, पारिवारिक इतिहास र घरमा बाँचेका चलनहरू फरक हुन्छन्। हाम्रो परिवारको कथामा शरणार्थी यात्राको सम्झना छ; तर हाम्रा छोराछोरीका लागि अमेरिका नै उनीहरूको बाल्यकालको घर हो। जब उनीहरूले ‘हामी को हौँ?’ भनेर प्रश्न सोध्छन्, तब तयार उत्तर दिनुअघि उनीहरू कुन अनुभव र परिवेशबाट त्यो प्रश्न गर्दैछन् भनेर सुन्नु आवश्यक हुन्छ। त्यही खुला संवादभित्र विरासतको नयाँ र अर्थपूर्ण स्वरूप बन्छ।
६. निष्कर्ष
मेरो स्प्यानिस सिकाइ र हाम्रा छोराछोरीको नेपाली सिकाइ फरक परिस्थिति र उद्देश्यका यात्रा हुन्। म स्प्यानिस सिकेर आफ्ना बिरामी र उनीहरूका परिवारसँग अझ स्पष्ट संवाद गर्न चाहन्छु; हाम्रा छोराछोरी नेपाली सिकेर आफ्नो परिवार, आफन्त र समुदायसँग घनिष्ठ हुन सक्छन्। तर यी दुवै भाषिक यात्रामा नम्रता र धैर्यता चाहिन्छ। भाषा कहिल्यै पनि ‘पूरै सिकिसकेँ’ भनेर थन्क्याउने सामान होइन। मानिसहरूसँग संवाद गरिरहँदा सधैँ नयाँ शब्द, नयाँ अर्थ र आफ्ना त्रुटिहरूबारे नयाँ सिकाइ मिलिरहन्छ।
‘भाषा हराउला कि’ भन्ने अभिभावकको डर स्वाभाविक हो, तर डर मात्रै बालबालिकालाई भाषा सिकाउने सही ऊर्जा हुन सक्दैन। उनीहरूलाई नेपाली किन बोल्ने भन्ने जीवित कारण चाहिन्छ—आफ्नो कुरा ध्यानपूर्वक सुनिदिने मान्छे, सानो उत्तरलाई पनि स्वागत गर्ने घर र बोल्दा रमाइलो लाग्ने आत्मीय सम्बन्ध। अनुशासनको आफ्नै ठाउँ होला, तर भाषा सिकाइमा स्नेह, सहजता र आनन्दको स्थान अझ ठूलो हुन्छ।
हामी अभिभावकहरूले आफ्ना मानक र अपेक्षाहरू पनि समय-समयमा जाँचिरहनुपर्छ। हाम्रा छोराछोरीले हामीले जस्तै बाल्यकाल, छिमेक र भाषिक परिवेश पाएका छैनन्। त्यसैले हामीलाई ज्यादै स्वाभाविक लाग्ने शब्दहरू उनीहरूलाई सिकाउनुपर्छ; हामीले सहजै बुझेको सांस्कृतिक सन्दर्भ उनीहरूलाई बुझाउनुपर्छ। यसलाई उनीहरूको कमजोरी ठान्यौँ भने उनीहरू हामीबाट टाढिन सक्छन्। यसलाई हाम्रो पुस्ताले गर्नुपर्ने अनुवाद, सहजीकरण र साथ मान्यौँ भने नयाँ बाटो खुल्छ।
आफ्नो मातृभाषालाई माया गर्नुको अर्थ अरूको भाषालाई सानो ठान्नु होइन। बरु आफ्नै भाषाको माया बुझेपछि मात्रै अरूले आफ्नो भाषासँग गाँसेको माया र भावना पनि बुझ्न सजिलो हुन्छ। संसारका भाषा, लवज, कथा र संस्कृतिहरू एउटै रङका छैनन्—त्यही विविधताले नै मानव अनुभवलाई समृद्ध बनाएको छ। यो विविधता संसारको एउटा गहना हो। आफ्नो भाषा जोगाउँदै अरूको भाषालाई सम्मान गर्न सक्नु नै त्यस गहनाको चमक जोगाइराख्नु हो।
यस अभियानमा समुदायले पनि ठूलो साथ दिन सक्छ—नेपाली कक्षा चलाउने शिक्षक, आफ्ना अनुभव सुनाउने ज्येष्ठ नागरिक, बच्चाको त्रुटिपूर्ण उच्चारणमा हाँस्नुभन्दा हौसला दिने आफन्त, र पुस्तक तथा कथाहरू साझा गर्ने अभिभावकहरू। सबै परिवारको समय, स्रोत र भाषिक क्षमता समान हुँदैन। त्यसैले कसैलाई दोष दिनुभन्दा सम्भव भएका साना प्रयासहरू एकापसमा बाँड्नु उपयोगी हुन्छ। कुनै घरमा दैनिक नेपाली सम्भव होला; अर्को घरमा साप्ताहिक कक्षा र आफन्तसँगको नियमित फोन नै राम्रो सुरुवात हुन सक्छ।
नेपाली विरासत महिनामा म छोराछोरीसँग एउटा प्रश्न लिएर बस्न चाहन्छु: नेपाली भाषाले उनीहरूका लागि कुन सम्बन्धको ढोका खोल्छ? यसको उत्तर उनीहरू ठूला हुँदै जाँदा बदलिन सक्छ। अहिले कुनै सानो शब्द, आफन्तसँगको कुराकानी वा कक्षामा सिकेको अक्षरबाट सुरु होला; पछि उनीहरूले आफ्नै जीवनका कथाहरू थप्दै जानेछन्। उनीहरूले हाम्रो जीवनको हुबहु नक्कल गरून् भन्ने अपेक्षा छैन; आफ्नो जीवनमा यो विरासतसँग एउटा अर्थपूर्ण सम्बन्ध बनाउन सकून् भन्ने आशा छ।
म स्प्यानिस सिकिरहनेछु; हाम्रा छोराछोरी नेपाली सुन्दै, बोल्दै र आफ्नै गतिमा सिक्दै जानेछन्। यी यात्राहरूले मलाई आफ्नोपनको अर्थ अझ फराकिलो बनाइदिएका छन्। हामी जहाँ बस्छौँ, त्यहाँको समाजमा पूर्ण रूपमा सहभागी हुँदै नयाँ सम्बन्धहरू बनाउन सक्छौँ, र आफ्ना पुराना जराहरूलाई पनि शब्द दिन सक्छौँ।
अन्ततः नेपाली विरासत जोगाउने मेरो चाहना यही हो—छोराछोरीले भोलि आफ्नै बाटो आफैँ बनाउँदा उनीहरूलाई घरतिर बोलाउने एउटा आत्मीय भाषा रहोस्, पुर्खासँग जोड्ने स्मृति रहोस् र अप्ठ्यारो समयमा टेक्न सकिने सांस्कृतिक धरातल रहोस्। अनि उनीहरूले आफ्नो भाषालाई माया गर्न सिक्दै गर्दा संसारका अरू सबै भाषा र संस्कृतिलाई पनि उस्तै सम्मान र आदरका साथ हेर्न सकून्।

