परिषद्का अध्यक्षको एक मन्तव्य

आज जुलाई १४ २०२३ का दिन , २१० औँ भानु जयन्तीको अवसरमा बेलडाँगीमा वाचन गरिएको एक मन्तव्य ।

२१० औँ भानु जयन्तीको पावन पर्वमा आयोजित यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, स्रष्टा तथा भाषा तथा साहित्य प्रेमी महानुभावहरूमा नमस्कार तथा साहित्यिक अभिवादन गर्न चाहन्छु ।

१९९० मा देशबाट भाषा लुटिएर विस्थापित भएका हामी भुटानीहरूलाई काखमा न्यानो आश्रय दिने पूर्वी नेपालमा स्थित बेलडाँगीको उर्वरा भूमिलाई नमन गर्न चाहन्छु र त्यस क्षेत्रका शुभचिन्तक मित्रहरूलाई स्मरण गर्न चाहन्छु ।

यही सृजनशील भूमिले हामीलाई शिक्षा र चेतना प्राप्त गर्ने एउटा गतिशील अवसर दियो । लगभग विनाश र विस्थापित हाम्रो अस्तित्व र पहिचानलाई यस भूमिले पुनर्स्थापना साथै पुनर्जीवन पनि दियो । बाँच्ने, नाच्ने र हाँस्ने ज्ञान र कुशलता पनि हामीलाई यसै भूमिले नै दियो । भुटानमा ध्वस्त भएको पहिचान र भाषाको अवशेषहरू रोपेर हामीले यही माटोमा सृजनाहरू उमार्यौं र साहित्य फलायौँ । हामीमा शिक्षा र चेतना स्थापित गरेर अशिक्षा र अज्ञातलाई विस्थापित गराउने यही बेलडाँगी र भानुभक्त हाम्रा जीवनका प्रेरणा र गौरवका स्रोत मात्र होइन संसारभरि छरिएका नेपालीहरूको एकता, पहिचान र प्रतिष्ठाको बिन्दु पनि हो भन्ने लाग्छ ।

आज यही बाटोबाट सुरु भएको हाम्रा सृजना र साहित्य पुनर्वास पछि पल्लवित र पुष्पित हुँदै विश्वमा आफ्नो पहिचान र प्रतिष्ठा स्थापित गर्नका लागि सङ्घर्षरत छ । भाषा रहे मात्र जाति रहन्छ र जाति रहे मात्र समुदाय बच्छ भन्ने भनाइलाई आत्मसाथ गर्दै पहिचानको युद्धमा हामी निरन्तर लागिरहेका छौँ ।

न देश जस्तो प्रवास थियो, न प्रवासजस्तो पुनर्वास छ । पुनर्वासमा अवसर र समृद्धिको बाडीले हाम्रो जातीय पहिचान, एकता र सद्भावनाको सम्बन्धलाई पनि तहस नहस गर्न खोज्दै छ । दुखको कुरा पुनर्वासपछि हामी जात जातमा विभाजित छौ, भाषा र धर्मका नाममा फुटेका छौँ । सम्प्रदाय र समृद्धिको नाममा चिरैचिरा भएका छौँ । संस्कृति र संस्कारका नाममा छुट्टिँदै छौँ । भौतिक रूपमा मात्र होइन मानसिक र भावनात्मक रूपमा पनि टुटी सकेका छौँ । जसले गर्दा हाम्रो भाषा, संस्कार र सांस्कृतिकता विरासत बिलकुलै विलयको सङ्घारमा पुगेको छ । यसलाई बेलडाँगीले नजिकबाट हेरिरहेको छ । बेलडाँगी पुनर्वाससित भुटानीहरूको पुनर्जीवनको थलो मात्र होइन विर्ता पनि हो । तीर्थ र पर्यटन पनि हो । त्यसैले आफ्नो हैसियत र उत्तरदायित्व बिर्सँदै गएका पुनर्वाससित समुदायलाई बेलडाँगीले समय समयमा घिच्च्याउँदै गरोस् भन्ने आग्रह गर्दछु । साथै कार्यक्रमका आयोजक साहित्य परिषद् भुटान, नेपाल च्याप्टरलाई यो अवसर दिनुभएकोमा आभार प्रकट गर्दै मेरो मन्तव्यलाई यही विश्राम गर्न चाहन्छु ।

धन्यवाद
गङ्गा लामिटारे
अध्यक्ष
साहित्य परिषद् भुटान
अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *