साथीलाई पत्र
ईन्द्र प्रकाश खवास
ओहायो, अमेरिका
प्यारो साथी,
लामो समयपछि आज तिमीलाई यो सम्झना स्वरुप एउटा पत्र सानो कागजको सेतो पन्नामा नीलो कलमको मसीले कागको खुट्टा जस्ता अक्षर पारि पत्रको रूपमा यो दुःखी मनको भावनालाई तिमीमा पोख्ने कोसिस गरेको छु ।
यो छरपस्ट भएको मनको भावनाहरू कसरी कहाँबाट भाव शब्दशैलीहरु प्रस्तुत गरौँ, थाहा छैन । यो भावुक मूर्तिको भावनहरू त्यो तिम्रो मनको बिचारहरूले साटेको ती सुन्दर बिपनाहरूमा सपना जस्तो नभइदेला भन्न सकिदैन। हो मेरो प्यारो साथी, तिमी त आफ्नै देश आफ्नै गाउँमा छौ मलाई लाग्छ आज पनि तिमीलाई दुःख कष्ट जे जति आइ परे पनि सधैँ झैँ रमाइलो नै गरिरहेकाछौ होला ।
राते खोल्सीमा जङ्गली चुच्चे आँप टिप्न गएको । ठोट्नेको अमिलो डुकु भाँच्दै खाएको । खनिऊ र निबाराको गोट्टी टिपेर गुच्चा खेलेको । नामगेल, दोजी फुञ्छु , साइँला,माइला, कान्छासँगै लामिडाँडा मङ्गलाबारे हाटबजार भर्न गएको । क्या त साथी १ आफ्नै देशको कान्ला, करेसा, घर, आँगनमा अतीतका मिठा–मिठा पलहरुसँगसँगै लुकामारी खेल्दै खेल्दै आमाको गर्भमा तिमीसँग साटेका ती सुन्दर सपना यो भवरुपी मायाको सुनसान संसारमा आज पनि अतीतको झैँ ती तिम्रा कलिला पाइलाहरू त्यही ढुङ्गाको च्याप्पमा सुस्तरी–सुस्तरी अगि बढाइँरहेको छौ होला ।यसरी सधैँ झैँ सूर्यको किरण पृथ्वीको हरेक कुनामा झुल्कन पुग्छ । तब शिशिर–ऋतुको हिमशृङ्खलाले ढाकिएको ढुङ्गाको च्याप्प मुनी च्यापिएको त्यो मेरो साथी आज पनि हाम्रो आशा र विश्वास प्रतीक्षाको घडी कुरी बसेको छन् होला । तिमी, हामी आमाको गर्भमा हुँदा आमालाई पेटमा काउकुती लगाउँदै लुकामारी खेलेको जीवन जीवन्त नभुलिने अन्योन्याश्रित सम्बन्ध रहेको छ । आज यति छिट्टो कसरी भुल्न सक्नु ।
हो साथी, म बाट पत्रको उत्तर असम्भव नहोला भन्न सकिन्न । आज यो सुनसान वातावरणको आकाशे छहारी मुनी चम्किला ताराहरूको हेराइमा विगतका यादहरूलाई सम्झाइने पत्र पाउँदा हरपल सफलताको घडी र समयको प्रतीक्षामा त्यही ढुङ्गाको च्याप्पमा बसिरहँदाको खुसी नै लक्ष्य प्राप्तिको निम्ति अमूल्य खुसी बनिदिएको छ ।
हेर न साथी, आफ्नै जन्मभूमिदेखि टाढिनु पर्ने कस्तो दुःख लाग्दो कुरा हो यो । मनमा दुःख नलाग्ने त कुरा नै भएन नि । हेर न साथी तिमी आफैँ कल्पना गर त । त्यही कान्ला, करेसा, त्यही घर-बार, त्यही सहर बजार, तिनै आमा बाबा, तिनै दिदी बहिनी, तिनै दाज्यू भाइ, त्यही आफ्नो जन्मभूमि, त्यही जन्मभूमिका प्यारा–प्यारा हाम्रो देशको साथी, त्यही आफ्नो देशबाट टाढा हुँदै भए पनि मेरो साथीमा यो मायारुपी भवसागरको सुनसान संसारमा गाँसिएको अन्योन्याश्रित सम्बन्धको सम्झना स्वरूप सबै साथीहरूको यादमा यो भावुक मूर्तिको भावनाहरू कोसेली स्वरूप अर्पण गरिरहेको छु, हो साथी अर्पण गरी नै रहेको छु ।
उही तिम्रो
सालनाल जोडिएको साथी