भाषा अभियानका सिपाही गंगा लामिटारे !
गण्डकीपुत्र
झोराहाट -२ मोरङ
सार्क मुलुकको एक सदस्य राष्ट्र भूटान । विविध जाति र भाषीले भरिएको सानो मुलुक । भूटान क्षेत्रगत आधारमा तीन खण्डमा विभाजित छ । पूर्वी भूटान, उत्तरी भूटान र दक्षिणी भूटान । दक्षिणी भेगमा छवटा जिल्ला रहेका छन् । यहाँ अधिकांश नेपालीभाषीको बसोबास छ । यिनै छ जिल्लामध्ये चिराङ जिल्ला पनि एक हो । यहाँ पनि नेपालीभाषीको बाहुल्यता रहेको छ । यो भेक खेतीयोग्य जमीन र फलफूलको राम्रो उत्पादन गर्ने क्षेत्रका हिसाबले पनि प्रसिद्ध मानिन्छ । यो क्षेत्रमा वर्षौंदेखि नेपालीभाषीहरु विभिन्न ठाउँबाट आएर आफ्नो पौरख र मेहनतको पसिना बगाइरहेका थिए ।
यहि क्रममा सिक्किम र दार्जीलिङको सीमाक्षेत्र साम्ची जिल्लाको बाँडा-जुम्सास्थित लामिटारबाट एकजना टिकाराम अधिकारी आफ्नी पत्नी धनमायाका साथ एघार दिनको यात्रा गरेर यही जिल्लाको डम्फू भन्ने ठाउँमा आइपुगे । पछि चिराङ जिल्लाकै लब्सिबोटेमा त्यहाँ भएका अन्य व्यक्तिले उनलाई बस्ने प्रबन्ध मिलाइदिए । उनी सुरक्षित ठाउँ खोज्दै यहाँ आएका थिए । आखिर खेतिपाती गरेर गुजारा गर्नु नै थियो ।
जेठी पत्नी धनमायाबाट सन्तान नभएपछि हिमादेवी नामकी अर्कि कन्यासङ्ग घरजम गरे । आफ्नो मेहनत र पौरखले केही जग्गा जमीन र वस्तु-भाउ जोडेर यिनी गृहस्थी धानिरहेका थिए । यिनै टिकाराम अधिकारिका जेठा छोरा शिवप्रसाद र बुहारी कृष्णमाया अधिकारिका छभाइ छोरामध्ये माइला छोरा हुन् गङ्गा लामिटारे । लामिटार अधिकारीहरुको पुरानो थातथलो थियो र आफ्ना हजुरबुवा त्यहीँबाट आएका हुनाले सबैले लामिटारबाट आएका अधिकारी भन्दाभन्दै अधिकारी नभनी लामिटारे भन्नथाले । पछि हजुरबुवाले सबैतिर लामिटारे लेखे । गंगाले पनि थर हटाएर हजुरबुबाजस्तै लामिटारे नै लेखे । आफ्नो नाम पछाडि लामिटारे लेखेका उनी आजपर्यन्त आफ्नो क्षमताले भ्याएसम्म साहित्य सेवामा निरन्तर सकृय छन् ।
स्थानिय स्कूलमा कक्षा दुइमा पढ्दापढ्दै बुवा शिवप्रसादले स्कुले पढाइबाट हुन्न, हाम्रो धर्म जजमानी गर्ने हो अब वेद , रुद्री , चण्डी पढ्नुपर्छ भनेर घरमै पण्डित बोलाएर पढाउनथाले । लामिटारे भन्छन्; नाम बिर्सिएँ मलाई पढाउने गुरु सुवेदी थरका थिए ! बिहान-बेलुका पढ्ने, दिउँसो गोठालो जाने, साथीहरुसँग खेल्ने गर्दै लामिटारेले बाल्यकाल बिताए । चौध वर्षको उमेरमा चन्द्रा नामकी कन्यासँग विवाह बन्धनमा बाँधिएका यिनी सत्र बर्षको उमेरमा उच्चशिक्षा अध्यन गर्न वनारसतिर लागे ।
सन् १९७९ मा वनारसको हरिदेबी आश्रममा, दिल्लीनजिक नोयडाको महर्षी आश्रममा र बृन्दादनको इस्कन आश्रममा बसेर यिनले १९८४ मा भागवताचार्य र सम्पुर्णानन्द सँस्कृत विश्वविद्याय वाराणासीबाट शास्त्री गरे । अध्ययनको सिलसिला यतिमै थाँती राखी लामिटारे आफ्नो गाउँ फर्किए । त्यसबेला भूटानमा शिक्षकको धमाधम नियुक्ती हुँदै’थ्यो । यसै घरमा बस्नुभन्दा उनले शिक्षकमा नियुक्त हुन परीक्षा दिए । परीक्षामा उत्तीर्ण भएर सन् १९८५ देखि आफ्नै गाउँमा शिक्षक भएर काम गर्नथाले । भागवताचार्य र शास्त्री गरेका यिनी विभिन्न ठाउँमा पुराण पनि भन्ने गर्थे । पछि यिनी पुराण भन्ने कर्म छोडेर पुरै समय विद्यालय र खेतीपातीमा बिताउन थाले । यस पाटोको पनि रोचक कथा छ ।
उनी जुन विद्यालयमा पढाउँथे त्यहाँका प्रधानाध्यापक एकजना भोटिया समुदायका मानिस थिए । गाउँमा मरिमराउ भएको कुनै कार्की थर भएको घरमा तेह्रौं दिनको तिथि थियो । तिथिको भोजमा त्यस विद्यालयका शिक्षकलाई पनि निम्ता गरिएको थियो । विद्यालयका शिक्षकहरुसँग उनी पनि भोजमा गएका थिए । त्यहाँ दान दक्षिणाको कर्म चल्दैरहेछ । भोटे शिक्षकले यो गाईको बाछी, यो छाता-जुत्ता, यो लौरो किन पण्डितलाई दिएको भनेर सोधेछ । लामिटारेले यो दान दिएको वस्तु मरेको मानिसले पाउँछन् भनेर अर्थ्याएपछि भोटे शिक्षकले कति राम्रो चलन भनेर प्रसंशा गर्दै भनेछ, तपाईहरुको चलन कति राम्रो रहेछ । एकछिन पछि त्यो भोटे शिक्षकले जिज्ञासा राख्दै सोधेछ । यो बाहुनलाई दिएको सबै कुरा मरेको मानिसले पाउँछ भने, उस्को श्रीमती बाउनलाई किन नदिएको त ? त्यो पनि पाउने थियो होला त । त्यो कुराले लामिटारेको मनमा चस्का पसेछ । त्यसपछि उनले पुराण भन्ने, अरुका घरमा गएर जजमानी गर्नेजस्ता काम बन्द गरेर शिक्षाको क्षेत्रमा समर्पित भएका रहेछन् !
गंगा लामिटारेको पहिलो विवाह सफल हुनसकेन । उनले सन् १९८७ मा दोश्रो बिवाह मिना शर्मासँग गरे । उनका साथमा अहिले छोरा कुलचन्द्र, छोरीहरु राधिका, जानुका र सुजाता छन् । अहिले उनी अमेरिकाको ओहायो राज्यको कोलम्बस भन्ने ठाउँमा बसोवास गर्छन् । त्यसबेला विद्यालयमा अध्यापन गराइरहेको अवस्थामा उनलाई सन् १९८९ नोभेम्बरमा भूटानी सेनाले गिरफ्तार गरी जेल चलान गऱ्यो ।
भूटानको राजशाहीले जनतालाई लामो समयदेखि दमन गरिरहेको थियो । जनताका पक्षमा बोल्नेहरु कि त मारिन्थे कि त जेलमा कठोर यातना दिएर थुनिन्थे । यस्तो कहालीलाग्दो अत्याचारका विरुद्ध भूटानमा विस्तारै प्रजातन्त्र र मानवअधिकारको बारेमा जनचेतना उठ्दै थियो । तर मानवअधिकारको कुरा गर्ने नेताहरुलाई रातारात गिरफ्तार गरी जेल चलान गरिन्थ्यो । कारागारभित्र नागरिकलाई चरम यातना दिनु, खान नदिनु, पानी नदिनुजस्ता अमानवीय व्यवहार सरकारबाट प्रतिदिन भइरहन्थ्यो । सिङ्गो देश नै यातनागृहजस्तो बनेको थियो । यही आन्दोलनमा लागेको भनेर लामीटारेलाई गिरफ्तार गरिएको थियो । चारमहिनाको जेल यातनाबाट छुटेपछि लामिटारेलाई विद्यालय जान दिइएन । उनको जागिर छुट्यो । एकातिर सेनाको तारो, अर्को तिर जागिर छुट्यो । यस्तो अवस्थामा लामिटारेले घरमा त्यसै बस्नु ठिक ठानेनन् । बरु भूटान र भारतको सीमाक्षेत्रमा बसेर भूटानमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनमा सहयोग गर्ने उद्धेश्य लिएर लागे दुइदेशको सीमातिर । त्यहाँ बसेर उनले अरु साथीहरुसँग मिलेर भूमिगतरुपमा आन्दोलनको लागि जनमत तयार गर्ने अभियानमा सकृय भए । पर्चा लेख्ने, छाप्ने र छापिएका पर्चा पम्पलेट भूटानका भिन्न ठाउँमा पठाउने काम गरिरहे ।
अन्ततः भूटानका साम्ची, साम्ड्रुपजोङ्खर, चिराङ, दागापेला, छुका, सर्भाङ- यी जिल्लाहरुमा सन् १९९० को जुलाई १९ देखि आन्दोलनको आँधीबेहरी उठ्यो । हेपिएका, दबिएका, शिर झुकाएर हिड्न बाध्य पारिएकाहरु आफ्ना कस्सिएका मुठ्ठी उठाउँदै निरङ्कुसताका विरुद्ध, राजशाहीको कुशासनका विरुद्ध आगो बोकेर सडकमा निस्किए । दक्षिण भूटानको आकाश जिन्दावाद र मुर्दावादका आवाजले गुन्जयामान भयो । हिजोसम्म अधिकार नबुझेकाहरुलाई आफ्नो नागरिक अधिकारको ज्ञानले बलशाली बनाएर ब्यूँझायो । अक्टोबर १२ सम्म दक्षिणी भूटान प्रजातन्त्र र मानवअधिकारको लागि लडिरहेका नागरिकको पकडमा रह्यो । आन्दोलनको यो लहर अब छलफल र बहसको विषय भएर घरघरमा चर्चा परिचर्चा हुने तहमा पुगिरहेको थियो । यही अवस्थामा भूटानको निरङ्कुस शासकले भारतीय सेनाको सहयोगमा एकैचोटि जनतामाथि आक्रमण गऱ्यो । सेनाको अत्याचार यति उत्पात भयो कि आम नागरिकलाई आफ्ना जहानबच्चा सुरक्षित राख्न गाह्रो भयो । निर्दोष मानिस मारिने, घर जलाइने, सम्पत्ति लुटिने, देश छोड्न बाध्य पारिने घटना सामान्य हुनथाले । कैयौं मानिस शरणार्थी बनाइए ।
गङ्गा लामिटारे बोर्डरमा बसेर एकातिर राजतन्त्रका विरुद्ध सकृय आन्दोलनमा गर्दै थिए भने अर्कोतर्फ उनी अध्ययनमा पनि लागिरहेका थिए । दादघारी बसेकै बेला उनले भूटान, पश्चिम बंगाल र आसामको बोर्डरमा रहेको शान्तिपुर मा.बि. मा परीक्षा दिए । उनले त्यही समय साहित्यमा भूषण प्रथम श्रेणीमा उत्तीर्ण गरे । त्यसबेला भूषण एकबर्षमा पूरा हुन्थ्यो । अब भारतीय सेनाको सहयोगले भारतीय सीमातिरका मानिसमाथि पनि भूटानी सेनाले नजर लगाउन थाल्यो । त्यहाँ बस्ने वातावरण नभएपछि उनी नेपालतिर हान्निए । नेपाल आएर विभिन्न सामाजिक गतिविधिमा लाग्दै उनले सन् १९९३ मा झापाको दमकस्थित ढुकुरपानी मा.बि. बाट अलङ्कारको परीक्षा उतिर्ण गरे ।
नयाँदिल्ली एकेडेमीले नेपाली साहित्य प्रचार समिति-सिलगढीलाई विशुद्ध नेपाली भाषा पठनपाठनका लागि अनुमती दिएको थियो । पछि गंगा लामिटारे, भवानीशङ्कर अधिकारीलागायतको अनुरोधमा त्यही नेपाली प्रचार समिति सिलगढीले शिविरमा पठनपाठनको लागि अनुमती दिएको थियो । शिविरमा पठनपाठन गर्न साहित्यमा अलङ्कार उतिर्ण गरेका कम्तिमा दुइजना मानिस चाहिने भएको हुँदा गंगा लामिटारे र भवानी शंकर अधिकारीले ढुकुरपानी मा.बि. मा परीक्षा दिएर साहित्यमा अलङ्कार उतिर्ण गरेका थिए । त्यही साल बेलडाँगी शिविरमा पठनपाठन शुरु गर्ने उद्धेश्य राखेर नेपाली भाषा परिषद्- भूटान नामको संस्था आफ्नै अध्यक्षतामा गठन गरे ।
यसरी बेलडाँगी शिविरमा भाषाको विकाश गर्ने अभियानको थालनी भयो । भाषा परिषद् भूटानले विभिन्न विषयका संयोजक विभिन्न व्यक्तिलाई तोकेको थियो । यसै मध्ये अध्ययन-अध्यापन शाखाका संयोजक बनाइएका थिए भवानी शंकर अधिकारी । अब उनी को थिए चर्चा गरौँ । भवानी शंकरको जन्म बि. सं. २०१८ साल भदौ ५ गते साम्ची जिल्ला सिप्सु ब्लक लहरेनीको हाँगे भन्ने ठाउँमा भएको थियो । उनले प्राथमिक शिक्षा बाँडा सँस्कृत पाठशालाबाट लिएका थिए भने माध्यमिक तहको पढाइ दार्जिलिङको लिङ्सेमा रहेको शिव पाञ्चायन मन्दिरको पाठशालामा लिएका थिए । त्यहाँ उनले व्याकरणमा पूर्वमध्यमा प्रथम र पूर्वमध्यमा द्वितीय पूरा गरे । उनले पछि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणासीको शाखा ऋषिकेश पारी पौडी गडवाल बसेर संस्कृत साहित्यमा शास्त्री गरे । वनारस मंगलागौरीमा आचार्य प्रथम वर्ष अध्ययन गर्दागर्दै सन् १९८६ मा भूटान आएर आफूले पहिले अध्ययन गरेको बाँडा संस्कृत पाठशालामा शिक्षक नियुक्त भए । उनले दिउँसो पाठशालामा पढाउँथे भने बेलुका छबजेदेखि राती एघार बजेसम्म स्थानीय बलराम पौडेलको घरमा सोह्रजना विद्यार्थीलाई पूर्वमध्यमा प्रथम वर्ष र दोश्रो वर्ष पढाउँथे । सन् १९८६ को जुनमा उनी सबै विद्यार्थीको परीक्षा दिलाउन र आफूले पनि आचार्यको परीक्षा दिन विद्यार्थीसहित वनारस गए । परीक्षा दिएर वनारसबाट फर्किएपछि सरकारको निर्देशनमा डिक्लाम नाम्जाको तालिम लिन तीन महिना थिम्पु गए ।
डिक्लाम नाम्जा भनेको भूटानी संस्कार, बोलीचाली र मानसम्मान को परम्परा भन्ने हो । त्यसपछि उनी सन् १९८८ नोवेम्बर मा पिन्जुली प्रा.वि. मा नेपाली विषयको शिक्षकमा नियुक्त भए । त्यहाँ अध्यापन गराइरहेको समय सन् १९९२ सेप्टेम्बरमा अर्को विद्यालयमा पढ्ने एउटा विद्यार्थीले पुण्य ढकाललाई भूटानी सेनाले मारेको खबर दिए । त्यो खबर सुनेपछि भवानी शङ्कर राती नै गाउँबाट निस्किएर पश्चिमबंगालको गर्गण्डा-कुसुन्ती पुगे । त्यहाँ बसेको बेला काशिनाथ न्यौपाने, हरि अधिकारी, डम्मरु घिमिरेलगायतले लेखेको पुस्तक मुक्ति-को प्रकाशनको जिम्मा लिएर वनारसतिर लागे । प्रकाशन बी. बी. पी. भन्ने पार्टीले गरेको थियो । उनले पुस्तकको भाषा सुद्धासुद्धि हेरेका थिए । त्यो पुस्तक प्रकाशन भएपछि एकथरी मानिसमा असन्तोष सिर्जना भयो । पुस्तक छापेर ल्याउने को हो त्यसलाई मुक्ति दिनुपर्छ भन्ने हल्ला चल्यो । यस कुराबाट बच्न उनी भूमिगत भए । घुम्दै जाँदा जलपाईगुढीको खरकट्टा पुगे । उनको चालचलन र विद्वता देखेर त्यहाँका मानिसले उनलाई बस्ने चाँजोपाँजो मिलाइदिए । भूटानमा अलपत्र छोडेका जहान परिवार ल्याएर उनी त्यहीँ बस्तै थिए । करिब अठार महिना त्यहाँ बसेपिछी उनी आफन्त खोज्दै सन् १९९२ मा बेलडाँगी २ सेक्टर सी फोर शिविरमा आइपुगे । यही शिविरमा भेट भए साहित्यकार गंगा लामिटारे र शुरु भयो भाषा र साहित्यको चर्चा ।
तरङ्ग कविता सङ्ग्रह, बदलिएको कर्तब्य कथा सङ्ग्रह , उद्घोषण पत्रकारिता र प्रयोगात्मक पत्रकारिता पत्रकारका लागि पाठ्य पुस्तकका लेखक गंगा लामिटारे र भवानी शङ्कर अधिकारिलसँगै भाषाको उन्नयनमा नेपाली भाषा परिषद भूटानमा जोडिएका अर्का व्यक्ति थिए तुलसी दवाडी । यिनले आर्थिक संयोजनको जिम्मा लिएका थिए ।
नेपाली भाषा परिषद भूटानले विस्तारै अन्य शरणार्थी शिविरमा पनि शाखा बिस्तार गऱ्यो । खुदुनाबारी शिविरमा लाकजित राईको संयोजनमा परिषदको गठन भयो भने टिमाईमा ताराभण्डारी, पथरीमा देवी चरण ढुङ्गेल, गोलधापमा भागवत निरौला, बेलडाँगी एकमा हरिशरण नेपाल, बेलडाँगी दुईमा हरि काफ्ले, बेलडाँगी तीनमा कृष्ण काफ्लेको संयोजनमा परिषद्का शाखा गठन भए । यसरी शिविरमा नेपाली भाषाको विकाश र बिस्तारको शुरुवात भयो । यी कक्षाहरुमा शिविरमा सातहजार सात सयले अध्ययन गरे । शिविरमा रहेका पचासीजना महिलाले अलङ्कार उतिर्ण गरे भने पैंतालीस जना महिला त शिक्षिका भएर पढाउने काम पनि गरे । सामान्य झिल्कोको रुपमा स्थापना भएको नेपाली भाषा परिषद भूटान उज्यालो दिने चम्किलो प्रकाशको रुपमा शिविरमा स्थापित भयो ।
सरणार्थी उच्च आयोग र कारितास नेपाल नामको जापानी संस्थाको आर्थिक सहयोगमा कक्षाहरु संचालन गरिएका थिए । ती अप्ठ्यारा दिनमा पनि भाषाको सेवामा लाग्नु ठूलो चुनौतीको काम थियो । त्यो चुनौती पार गर्न नसकेको भए र पठनपाठन नचलाएको भए अहिलेको पुस्ता नेपाली भाषामा बोल्थ्यो होला तर आफैं सर्जक हुने थियो कि थिएन भन्न गाह्रो छ । यसरी गंगा लामिटारे नेपाली भाषी भूटानी समुदायमा भाषाका लागि समर्पित सिपाही भएर लागेका आफैं एक सिद्धहस्त लेखक हुन् । उनले भाषा संरक्षणमा पुऱ्याएको योगदान अतुलनीय छ । उनको लेखनयात्रा निरन्तर चली रहोस्- शुभकामना ।