शरणार्थीको छातीमा पलाएको प्रेम
सन् १९९० को दशक। भूटानमा चर्किएको राजनीतिक आन्दोलनले कयौँ परिवारहरूको खुसी र बासस्थान क्षणभरमै खोसिदियो। भुटान सरकारले लागू गरेको ‘एक देश, एक जनता’ को नीतिले दक्षिण भुटानका नेपालीभाषीहरूलाई गम्भीर असर पार्यो। यस नीतिअनुसार उत्तरी द्रुकपा समुदायको पोशाक, भाषा र संस्कृति अनिवार्य गरिनुका साथै नेपाली पाठ्यपुस्तक र पठनपाठनमा पूर्ण प्रतिबन्ध लगाइयो। यसै नीतिको जगमा लागू गरिएको सन् १९८५ को नागरिकता ऐन र १९८८ को कडा जनगणनामार्फत नागरिकहरूलाई चार फरक वर्गमा विभाजन गरी सन् १९५८ भन्दा अघिको जटिल प्रमाण माग्न थालियो। ग्रामीण नेपालीभाषीहरूका लागि त्यस्ता पुराना कागजात पेश गर्नु व्यावहारिक रूपमा असम्भव भएपछि उनीहरूलाई नागरिकताबाट वञ्चित गर्दै विभेद र सास्ती दिन थालियो। अन्ततः, यस किसिमको सांस्कृतिक अतिक्रमण, नागरिकतासम्बन्धी कडा नीतिको दमन र सरकारी दबाब सहन नसकेर हजारौँ नेपालीभाषी भुटानीहरू आफ्नो थातथलो छाडी शरणार्थीका रूपमा देशनिकाला हुन बाध्य भए।
त्यसै क्रममा आठ वर्षको उमेरमा मैले पनि आफ्नो घरगाउँ छाडेँ। परिवारसहित पूर्वी नेपालको झापास्थित खुदुनाबारी शरणार्थी शिविरमा पुगेँ। नेपाल सरकारले पूर्वी नेपालको झापास्थित खुदुनाबारी शिविरमा हाम्रो बासको व्यवस्था मिलाएको थियो ।
बाँस र चित्राको उज्यालो छिर्ने छाप्रोभित्र संस्थाले दिएका सीमित कपडा, कुपोषणको जोखिम र खानाको तीव्र अभावबीच पनि बुबा-आमाले अनवरत संघर्ष गरेर मलाई हुर्काउनुभएको त्यो आर्थिक कठिनाइले भरिएको कठिन समय म कहिल्यै बिर्सन्नँ। शरणार्थी शिविरभित्रै पाएको अध्ययनको अवसरलाई मैले वरदान ठानेँ। दुःखमै रमाउँदै, दुःखलाई बुझ्दै मैले लगनशीलताका साथ पढाइलाई अगाडि बढाएँ र अन्ततः उतिबेला ‘फलामको ढोका’ मानिने एसएलसी माध्यमिक तह (कक्षा १०) पूरा गरी उच्च शिक्षाको यात्रा तय गर्ने मुख्य बिन्दु मानिएको एसएलसीलाई उतिबेला सफलताको जग र जीवनको एक महत्त्वपूर्ण फलामे ढोकाका रूपमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्ने रहर मनभरि पलायो। साथीहरूसँग कुन कलेज पढ्ने भन्नेबारे दैनिक छलफल हुन्थ्यो। मेरो तीव्र इच्छा भारतको कालिम्पोङस्थित प्रतिष्ठित ‘कुमुदिनी’ कलेजमा पढ्ने थियो। खै रमाइलो पक्ष भनौ कि नरमाइलो, त्यो बेला कक्षा १० लाई हाई स्कुल मानिन्थ्यो र ११ र १२ लाई प्लस टु भनिन्थ्यो! त्यहा फेरी हाम्रो प्लस टु लाई हाई स्कुल नै मान्दो रहेछ। हाई स्कुल सकेर पुन हाई स्कुल नै पड्ने मेरो पुस्ता !
मैले त्यहाँको प्रवेश परीक्षा दिएँ र तेस्रो श्रेणीमा नाम पनि निकालेँ। तर, विडम्बना! एसएलसीको लब्धाङ्क पत्र आउन विविध कारणले ढिलाइ भयो। सपना अलि टाढा धकेलिएझैँ भयो, तर मेरो हौसला मरेको थिएन। अन्ततः साथीहरू शिव अधिकारी र वेदनिधि पोखरेलसँगै पूर्वाञ्चलकै उच्च स्तरीय र चर्चित मानिने दमकको ‘सिद्धार्थ बोर्डिङ हायर सेकेन्डरी स्कुल’मा पढ्ने निर्णय गरेँ। पूर्वाञ्चल टप गरेको इतिहास बोकेको उक्त कलेजको प्रवेश परीक्षा पास गरेर म कक्षा ११ मा २०५८ सालमा भर्ना भएँ। एक साथीसँग मामाचोकनजिकको ‘कोइराला निवास’मा सानो कोठा भाडामा लिएँ।
कलेजका सुरुआती दिनहरू निकै रमाइला थिए। देशका भिन्न-भिन्न कुनाकाप्चाबाट माध्यमिक शिक्षा पूरा गरी उज्यालो र सुदृढ भविष्यको खोजीमा आएका युवा-युवतीहरूको भिडमा एउटा अलग्गै कौतुहलता र आकर्षण हुन्थ्यो। सुरुमा सानो परिचय र धिमे-धिमे कुराकानीबाट सुरु भएको सम्बन्ध हेर्दाहेर्दै दुई-तीन महिनामै प्रगाढ मित्रता र सामीप्यमा रूपान्तरण भइसकेको पत्तै भएन। ती नयाँ साथीहरूसँग बिताएका हरेक पलहरूमा बिस्तारै आकर्षण, मीठो अत्मीयता र प्रेमको कलिलो अङ्कुरण हुन थाल्यो; जसले कलेजका कक्षा र परिसरलाई अझै जीवन्त र लोभलाग्दो बनाइदियो। कक्षा ११ मा पढ्दा मेरो बेन्चमेट रमेश गजुरेलसँग गाढा मित्रता भयो, जो केर्खाभन्दा अलिकति माथि धरमपूरका बासिन्दा थिए।
एक दिन वनस्पति विज्ञानका शिक्षकले पात र बिरुवाका नमुना सङ्कलन गरेर प्रोजेक्ट तयार पार्न भन्नुभयो। कक्षा ११ को सुरुआती दिनहरूमा, टिफिन समयको फुर्सद पारेर मैले भुटानबाट लखेटिई बाल्यकालमा बिताउनुपरेको त्यो कहालीलाग्दो ‘शरणार्थी जीवन’ र आफ्ना पुराना वेदनाहरू रमेशलाई सुनाएको थिएँ। दमकको साँघुरो कोठामा नमुना राख्ने ठाउँ थिएन। जहाँ रचनात्मक सोच फुर्नु त टाढाको कुरा, बस्न पनि गाह्रो थियो। यस्तो अवस्थामा शान्त वातावरण र आवश्यक वानस्पतिक स्रोतहरूले परिपूर्ण सुन्दर बस्ती ‘धरमपूर’ जाने रमेशको आग्रह मेरा लागि नयाँ आशाको किरण बन्यो। दसैँको छुट्टी हुन-हुनै लागेको असोजको मनमोहक समय थियो। बाटोभरि चारैतिर सुनौला धानका बालाहरू लहलहाउँदै झुलिरहेका थिए भने वातावरण अत्यन्तै शान्त र लोभलाग्दो थियो। कञ्चन अनि शान्त भएर बगिरहेको रतुवा नदीको पुल तर्दै अघि बढ्दा बाहिरका प्राकृतिक दृश्यहरूले मनै प्रफुल्ल बनाउँथे। वरिपरिको हरियाली, पाकेका धानका खेत र प्रकृतिको सुन्दर रूपमा हराउँदै जाँदा दमकदेखि धरमपुर कहिले पुगियो, पत्तै भएन। धरमपुर पुग्दा प्रकृतिको सुन्दरता मात्र होइन, रुखका हाँगाहरूमा बास बस्दै जुहारी खेलिरहेका चराचुरुङ्गी र फाँटमा चरिरहेका गाईवस्तुहरूको निश्चल दृश्यले मनै आनन्दित बनाउँथ्यो। बोटानी प्रोजेक्टका लागि चाहिने विभिन्न प्रकारका पात, बिरुवाका नमुना र जडीबुटीहरू उसको वरपरका बारी र झाडीहरूमा सजिलै उपलब्ध थिए।
हामीले दिनभरि मिलेर बारी र जङ्गलबाट नमुनाहरू सङ्कलन गर्यौँ । एकदलीय र द्विदलीय पातहरूको तुलनाका लागि (जस्तै: मकै वा धानको पात र पिपल वा आँपको पात)। तिनलाई सफा गरेर पुराना पत्रिकाहरूभित्र थिचेर सुकाउन राख्यौँ र प्रत्येक नमुनाको वैज्ञानिक नाम अनि विशेषताहरू सुन्दर अक्षरमा लेखेर प्रोजेक्ट फाइल तयार पार्न थाल्यौँ।
खेतहरूमा धान लहलह झुलिरहेका थिए भने फूलहरू आ-आफ्नै सुन्दरताका साथ फुलिरहेका थिए। दिउँसो करिब २:०० बजेतिर रमेश र म धरमपुर पुगेका थियौँ। काम सिद्ध्याउनै लाग्दा सन्ध्याकालीन समय भइसकेको थियो। गाईवस्तुहरू दिनभरिको चरण सकेर गोठतर्फ फर्किरहेका थिए भने कृषकहरू उनीहरूलाई तातो पानी र खोले खुवाउन तल्लीन देखिन्थे। छिमेकीहरू बेलुकाको खाना पकाउन व्यस्त भइसकेका थिए।
हामी पनि अब आजका लागि प्रोजेक्ट वर्क यति नै राखौँ, बाँकी भोलि सकेर पर्सि बुझाउँला भन्ने योजना बनाउँदै थियौँ। रमेशले भन्यो, “प्रेम, अब साँझ पनि पर्न लाग्यो, हिँड भान्छातिर खाना खाने बेला भयो।”
नभन्दै, घरको आँगनतिरबाट एउटा मीठो सुसेलीको आवाज आयो— “, रमेश! खाना खान आऊ, साथीलाई पनि लिएर आऊ!”
हामीले कान ठाडो पारेर सुन्यौँ। मैले अलिक उत्सुक हुँदै सोधेँ, “को हुनुहुन्छ रमेश सुसेल्ने?”
रमेशले मुस्कुराउँदै भन्यो, “अरू कोही होइन, नेपालका प्रसिद्ध हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल हो।”
म अच्चम पर्दै बोलेँ, “अन्ततः मनोज गजुरेल सर पनि यही धरमपुरमै बस्नुहुन्छ र?”
“उहाँ त मेरो आफ्नै काका हुनुहुन्छ,” रमेशले सामान्य ढङ्गले उत्तर दियो।
रमेशको कुरा सुनेर म त छाँगाबाट खसेझैँ भएँ! मेरो मनको ढुकढुकी ह्वात्तै बढ्यो। खुसीको सीमा त थिएन नै, तर साथसाथै एउटा ठूलो कलाकारलाई भेट्दा कसरी अगाडि बोल्ने भन्ने डर र शङ्का पनि मनमा उब्जियो।
हामी आँगनमा पुग्यौँ। मनोज सरले मलाई देखेर स्नेहपूर्वक भन्नुभयो, “प्रेम बाबु, अलिक ओर आऊ। म तिमीलाई एउटा कुरा भन्छु, कुनै सङ्कोच नराखी मलाई भन्नू है।”
उहाँले भन्नुभयो, “हेर बाबु, हामी उपाध्याय ब्राह्मण जाति हौँ। मेरा बुबा धार्मिक रूपमा धेरै कट्टर हुनुहुन्छ; उहाँ पण्डित हुनुहुन्छ, पूजापाठ र जजमानी गर्नुहुन्छ। भान्छा घरमा जाने बेला उहाँले सोध्नुहोला। तिमी कसको छोरा हौ, के थरी हौ?”
मैले नम्रतापूर्वक भनेँ, “म आचार्य थरी हुँ सर, हामी जयशिवाउ वर्गमा पर्छौँ।”
मनोज सरले मलाई स्थिति सम्झाउँदै भन्नुभयो, “भान्छामा बुबाले सोध्नुभयो भने आफ्नो नाम र म उपाध्याय बाहुनको छोरा हो भनिदेऊ है। त्यसो गर्दा बुबाले खुसीसाथ तिमीलाई भान्छा कोठामा सँगै राखेर भोजन गराउनुहुन्छ।” यसलाई अन्यथा नलिनु बाबु, तिमी मेरो अतिथि हौ म अतिथिको अबहेलना सहन सक्दिन। हामी परिवर्तित छौ तर बुढालाई केही भन्न पनि सक्दैनौ! मेरो भाव बुझ्यौहोला! सर थोरै नतमस्कत, थोरै ग्लानी र लाचार हुनुहुन्थ्यो। मैले सहजै हुन्छ भनिदिए! सरको अनुहारमा मैले पूर्णिमा देखे।
ब्राह्मण परम्परा अनुसार दिनभरि लगाइएका कपडा खोलेर, स्नान गरी चोखो धोती वा नयाँ कपडा फेरेर मात्र खाना खाने चलन थियो। सोही अनुरूप मैले पनि स्नान गरेर चोखो कपडा फेरेँ। यस विषयमा मेरो साथी रमेशले मलाई धेरै नै सहयोग र सहज बनाइदियो। जब हामी चुलो र भान्छाघरतर्फ लाग्यौँ, त्यहाँ रमेशका हजुरबुबा (मनोज गजुरेल सरका बुबा) विराजमान हुनुहुन्थ्यो। मनोज सर र रमेशले परिस्थिति यस्तो मिलाइदिनुभयो कि हजुरबुबाले मलाई सुरुमै सम्मानका साथ राखेर झर्के थाल, झर्के बटुका र झर्के गिलासमा मीठो खानपिनको व्यवस्था गरिदिनुभयो।
सुरुमा मनमा अलिकति असजिलो र डर भए पनि हजुरबुबाको ममतामयी व्यवहार, मनोज सरको आत्मीयता र रमेशको साथले गर्दा वातावरण एकदमै सहज, न्यानो र सजिलो बन्न पुग्यो। धरमपुरको त्यो प्राकृतिक सौन्दर्य र त्यहाँ पाइएको आत्मीय आतिथ्य मेरो जीवनको एउटा अति नै मार्मिक र अविस्मरणीय क्षण बन्यो।रमेशको घरमा हजुरबुबाको हातबाट धेरै नै सौहार्दपूर्ण र आत्मीय वातावरणमा साँझको मिठो भोजन सकिँदा लगभग सात बजिसकेको थियो। भोजन गरिसकेपछि मनोज सरले मतिर हेर्दै आत्मीय स्वरमा भन्नुभयो, “प्रेमबाबु, खाना पनि खाइयो। अब यसो धरानपुरतिर घुम्न जाऔँ! प्रेमबाबुको यो यात्रा सफल पनि बनाऔँ, राम्रा-राम्रा ठाउँहरू घुमाउँला र यहाँका रमणीय दृश्यहरू पनि देखाउँला।”
उहाँको त्यो उत्साहजनक प्रस्तावपछि हामी—रमेश, म र मनोज सर—सँगै दाम्बूतिर लाग्यौँ। गाउँबस्तीका मानिसहरू आ-आफ्नो गोठ र घरायसी काममा व्यस्त देखिन्थे। कोही बेलुकाको शारीरिक कसरतका लागि बाटोमा दौडिरहेका थिए भने कोही चौतारी र बाटोका छेउमा बसेर आफ्ना जीवनका सुख-दुःखका कथाहरू सुनाउँदै गफिइरहेका थिए।
यात्राकै क्रममा मनोज सरले मतिर फर्केर सोध्नुभयो, “प्रेमबाबु, तपाईंहरू मूलतः कहाँबाट आउनुभएको हो?”
उहाँको जिज्ञासु प्रश्नले मेरो मनभित्र गुम्सिएका पुराना स्मृतिहरू जगाइदियो। मैले बिस्तारै बेलिविस्तार लगाएँ—कसरी सन् १९९० मा दक्षिण भुटानमा फैलिएको पहिचान, अधिकार र स्वतन्त्रताको आन्दोलनका कारण हामी विभत्स जातीय विभेदको सिकार भयौँ; कसरी भुटान सरकारले हाम्रा विद्यालयहरू बन्द गराएर शिक्षाबाट वञ्चित गरायो र अन्ततः हामी शरणार्थी बन्न पुग्यौँ। मेरो कुरा सुनेर मनोज सर निकै भावुक हुनुभयो। उहाँले मेरो काँधमा हात राख्दै भन्नुभयो, “प्रेमबाबु, तपाईंहरूले धेरै भन्नै पर्दैन। म आफैँ पनि बेलडाँगी शरणार्थी शिविर पुगेको थिएँ। मैले तपाईंहरूको कथा र व्यथा दुवै नजिकबाट बुझेको छु। परिस्थितिले भुटानी-नेपाली भन्न बाध्य पारे पनि तपाईंहरूको हृदय साह्रै ठूलो र आत्मीय छ। हामी एउटै नेपाली भाषा र संस्कृतिका सन्तान हौँ।”
त्यसपछि उहाँले मेरो परिवार र छिमेकीहरूको हालचाल सोध्नुभयो र मायापूर्वक थप्नुभयो, “कहिलेकाहीँ सागसब्जी चाहिएमा वा अध्ययनका क्रममा केही समस्या परेमा निस्फिक्री रमेशसँगै धरानपुर आउनू है।”
हिँड्दै जाँदा मनोज सरले बाटोमा भेटिएका गाउँलेहरूसँग मेरो चिनजान गराउँदै लैजानुभयो, रमेको साथी, केटो राम्रो छ। यसरी नै सबैलाई चिनाउनु हुन्थ्यो ता कि म निकै ठुलो मानिस हु। त्यसै क्रममा, सन्ध्याकालीन चिसो हावामा शारीरिक कसरतका लागि निस्किएका केही युवतीहरूसँग हाम्रो भेट भयो। तीमध्ये रमेशका पुराना साथीहरू पनि रहेछन्। उनीहरूले अचम्म मान्दै सोधे, “ओहो रमेश! धरानपुरमा नयाँ मान्छे पो देखिन्छ त?”
रमेशले मुस्कुराउँदै मेरो परिचय गरायो। तर मेरो दृष्टि भने तीमध्येकी एक युवतीमा गएर अडियो। सुरीलो कम्मर, कोइलीको जस्तै मीठो स्वर र स्वर्गकी अप्सरालाई पनि माथ खुवाउने उनको रूपले मेरो मन एकैछिनमा हरण गर्यो। उनीसँग आँखा जुध्दा मेरो छातीभित्र एउटा अद्भूत स्पन्दन पैदा भयो—जसलाई माया भनिन्छ।
मनमनै एउटा मिठो आशा पलायो, तर लगत्तै यथार्थको कठोर ऐनाले मलाई झस्क्यायो। हिलोको बीचमा फुलेको कमलको फूल जस्तै सुन्दर ती युवतीप्रति मनमा प्रेमको अङ्कुर त पलायो, तर म त शरणार्थीको परिचय बोकेको, आर्थिक हैसियत नभएको एउटा युवक थिएँ। बाटाका युवतीहरूसँग भलाकुसारी गर्थ्यो रमेस, म मख्ख हुदै हिड्थे, एउटी मेरी मनकी राजकुमारी त होला नि रमालाई त्यसरी नै प्रश्न गरि, म पनि मख्ख थिए, बोल्न पाए नि हुन्थो भन्दै थे, मनोज सर फ्याट अः केटी खोज्न आएको रे भन्दा म त रातो पिरो भएछु केटीहरु टाप। पछि धाप मार्दै यसो रमाइलो नि भन्नु भयो। फेरी ति केटीहरू कहिलै देखिन!!! बुडाले मेरो हाउभाउ पहिले नै बुझिसकेका रहेछन क्याहो, कन्त बिजोक भएन नि !
आफूसँग आर्थिक सामर्थ्य छैन, प्रेम नगरौँ” भनेर मनलाई सम्झाउन खोज्थेँ, तर यो अधैर्य मन कहाँ मान्दथ्यो र! उनीप्रतिको त्यो पहिलो नजरको आकर्षण र आफ्नै विवशताको दोधारमा अल्झिँदै म धरानपुरको त्यो सन्ध्याकालीन यात्रामा अगाडि बढिरहेँ।
समयको गतिसँगै जीवनले अनेकौँ मोडहरू पार गर्यो, तर कक्षा ११-१२ को त्यो कालखण्डमा अनन्य मित्र रमेशले देखाएको निस्वार्थ गुण र मित्रताको साँचो परिभाषा आज पनि मेरो मानसपटलमा उत्तिकै ताजा छ। यसका साथै, विपत्ति र अप्ठ्यारो परिस्थितिमा मनोज सरले देखाउनुभएको उच्च मानवीय संवेदना, ठूलो उदारता र सहयोगी हातले पनि जीवनलाई एउटा नयाँ दिशा र ढाडस दिएको थियो।
मित्रता र मानवता वास्तवमा के हो? यी प्रश्नहरूको उत्तर मलाई कुनै पुस्तकीय ज्ञानले भन्दा बढी रमेशको निष्कपट मित्रता र मनोज सरको निस्वार्थ सहयोगले सिकाएको हो। जीवनमा समस्या पर्दा सबैभन्दा सहज, सुरक्षित र न्यानो सहारा नै यही आत्मीयता हो। स्वार्थ सकिएपछि सकिने सम्बन्धहरू त केवल चिनजान मात्र हुन्, तर दुःखमा दरिलो खम्बा बनेर उभिने सम्बन्ध नै सच्चा मित्रता हो ।

