गीत
श्री सिवा
न्युहेम्सायर अमेरिका
उठ! जाग! शोषित–पीडित
अब समानताको युद्ध लड्नु छ
मानव–मानवबिचको भेदभाव
इतिहासको पानामा गाड्नु छ
अब चुप लागेर बस्ने होइन
आँसु मात्रै बग्ने होइन
मान्छे भएर जन्मेका हामी
मान्छे भएर बाँच्ने हो!
सुन्दर समाजको नाममा फुटाएर
छूत–अछुतका भित्ता खडा गर्यौ
सुषुप्त मनको निद्रा तोडेर
सङ्घर्षको मशाल बाल्नु छ
आमाको काखमै रोपिएको
घृणाको त्यो विषालु बीउ
अब उखेलेर फ्याँक्नुपर्छ
नयाँ बिहानको उज्यालो दिऊँ
हामी कमजोर होइनौँ
हामी मौन मात्र थियौँ
अब आवाज बनेर उठ्छौँ
न्यायको बाटो हिँड्छौँ!
बस्न हुन्न अब अबोध भएर
सुधारको बाटो हेरिरहेर
एक–एक गरी उठ्नै पर्छ
न्यायको यज्ञमा आहुति दिएर
पुस्तक, पसिना, श्रम र सीप
हाम्रो सबैभन्दा ठुलो बल हो
डर होइन, चेतना बोकेर
हिँड्नु नै अबको चलन हो
यदि छुनाले पाप हुन्थ्यो
आमाको काख किन पवित्र?
यदि जन्मले मान्छे छुट्यायो
मानवता कहाँ गाडियौ मित्र?
बुझ्नुपर्छ छुवाछुतको जाल
शिक्षा–अर्थले बुनेको षड्यन्त्र यो
तोड्नुपर्छ सामन्ती अहङ्कार
ब्राह्मणवादी किल्ला ढाल्नु छ
सत्यले डराउँदैन कहिल्यै
झूटका दरबार टिक्दैनन्
मानवताको उज्यालो अघि
अन्धकार टिकिरहँदैनन्
अब नयाँ इतिहास लेखिन्छ
हाम्रो पसिना र रगतले
समता, सम्मान, समृद्धिको
संसार बनाउँछ मानवले
