मभित्र बाँचेको भाषा

अर्जुन प्रधान
चिराङ, भूटान
भुटानको नक्सा कोर्न जानिनँ मैले।
तर आमाले बोल्ने प्रत्येक शब्दमा
एउटा घरको ढोका खुल्छ,
जसको आँगनमा
म कहिल्यै पुगेको छैन।
हजुरआमाका कथामा भने
कतिपटक पुगेँ त्यहाँ।
कहिले पानीट्याङ्कीको बाटो हुँदै,
कहिले पुरानो घरको सम्झना पछ्याउँदै।
सानैमा छाडेको त्यो ठाउँ
यसरी मनमा घुमिरहँदो रहेछ-
आँखाभन्दा पहिले
मनले चिन्छ।
शिविरको सानो छाप्रोमा
हामीसँग धेरै थोक थिएन।
साँझ पर्थ्यो,
आमा बोल्नुहुन्थ्यो,
बुबा कथा सुनाउनुहुन्थ्यो।
त्रिपालको छानोमुनि
नेपाली शब्दहरूले
हाम्रा लागि घर बनाउँथे,
र हामी सपनाको देशमा पुग्थ्यौँ।
न्याय र अधिकारका लागि
हामीले आवाज उठायौँ।
घर छोड्यौँ,
आँगन छोड्यौँ,
चिनेका बाटा छोड्यौँ।
तर सँगै बाँचिरह्यो भाषा –
आमाको स्वर बोकेर,
हजुरबुबाको सम्झना बोकेर
हामीसँगै हिँडिरह्यो।
अभाव र विस्थापनको संसारबाट
जीवनले कहिल्यै नसोचेको बाटो हिँड्दै,
मानव अधिकार र स्वदेश फिर्तीको
आवाज बोकेर बाँचिरहेको म।
आज मेरा छोराछोरी
अर्कै भाषामा पढ्छन्,
अर्कै भाषामा हाँस्छन्।
कहिलेकाहीँ उनीहरू सोध्छन्,
“बुबा, यो शब्दको अर्थ के हो?”
म उनीहरूलाई हेर्छु
र केहीबेर चुप लाग्छु।
कसरी भनूँ,
एउटा शब्दको अर्थभित्र
आमाको आवाज पनि हुन्छ,
स्वदेश फर्कन नपाएको दुःख पनि हुन्छ।
अनि छोडेर आएको संसार
फेरि एकछिनका लागि
नजिक आइपुग्छ।
म नेपाली बोल्छु,
त्यही अमेरिकासँग बोलिरहन।
म नेपाली लेख्छु,
मेरो विगत
छोराछोरीको भोलिसम्म पुगिरहोस् भनेर।
यो भाषा
यहाँसम्म आफैँ आइपुगेको होइन।
कसैले अँध्यारो कोठामा
दियो बालेर अक्षर सिकायो।
कसैले शिविरको धुलोमा
कापी खोलेर वर्णमाला पढायो।
कसैले रेडियोबाट गीत सुनायो,
कसैले समाचार सुनायो।
कसैले कविता र कथामा
हामीले चिनेको जीवन लेखिरह्यो।
ती सबै हातहरूलाई
आज सम्झिरहेको छु—
शिक्षक, लेखक, कवि, पत्रकार
र भाषाको बाटो जोगाउन लागेका
सबै साथीहरूलाई।
उनीहरूले सिकाएका अक्षरमै
हामी आफ्नो नाम लेख्छौँ,
आफ्नो कथा सुनाउँछौँ।
एक दिन
मेरा छोराछोरीले पनि सोध्लान्,
“हामी को हौँ?”
त्यो बेला
म उनीहरूलाई
पुरानो नक्सा मात्र देखाउन चाहन्नँ।
आमाले बोलेका केही शब्द सुनाउन चाहन्छु,
हजुरआमाको एउटा कथा भन्न चाहन्छु।
शिविरको धुलोमा
हाम्रो मेहनतले लेखिएका
‘क, ख, ग’ देखाउन चाहन्छु।
सायद त्यसपछि
उनीहरूले पनि बुझ्नेछन् –
हामी जहाँ पुगे पनि
हाम्रो भाषा हामीसँगै आएको छ।
मभित्र बाँचेको यो भाषा
मेरो मात्र होइन।
पुस्तौँका आवाजले भरिएको,
हामीसँगै हिँडिरहेको
एउटा जीवित घर हो
भाषा-विरासतको !

