मेरो बदलिएको साथी

मेरो बदलिएको साथी

ढाका तिम्सिना
ग्रान्डर्यापिड, मिचिगन

मेरो एउटा साथी छ
जो अहिले बदलिएको छ।
पहिले सँगै रमाउँथ्यौ,
म भन्दा ऊ बढी खुसी हुन्थ्यो।

सुखदुखका कुरा गर्थ्यौँ घन्टौँ,
बाल्यकालका सम्झनाहरू बाँड्थ्यौँ।
सङ्कटमा पहिला पुग्थ्यौँ हामी,
सहयोगको हात सधैँ फैलाउँथ्यौँ।

सँगै यात्रा,
मिठो–नमिठो बाँडेर खान्थ्यौँ।
अनुहारमा मनका भाव पढ्थ्यौँ,
भित्रैदेखि एक अर्कालाई चिन्थ्यौँ।

भौतिक रूपमा टाढा हुँदा पनि,
सामाजिक सञ्जालले जोडिन्थ्यौँ।
ऊ छोराछोरीको प्रगति देखाउँथ्यो,
सानातिना उपलब्धिमा पनि रमाउँथ्यो।
मैले लेखेका कुरामा ऊ प्रतिक्रिया दिइरहन्थ्यो
कहिल्यै टाढा भएको जस्तो लाग्दैनथ्यो।

तर अहिले ऊ बदलिएको छ,
अलि टाढिएको छ।
सामाजिक सञ्जाल मौन छ उसको,
फोन उठ्दैन, गफ पनि छोटो छ।

सबै कुरा “ठिक छ” भन्छ,
तर मनले भन्छ, ठिक छैन उसलाई।
उसको हाँसो, फोटो हराएको छ,
साथीहरूसँग खुल्दैन, रमाउँदैन।
छोराछोरी, श्रीमतीसँग समय दिँदैन,
झर्को मात्र गर्छ,
नानीहरू डराउँछन् ऊदेखि ।

उसको शरीर दुब्लाएको छ
ऊ एक्लै हिँड्न रुचाउँछ
क्यासिनो, बारमा भेटिन्छ,
अन्त रुचि हराएको छ उसको।

साथी, म तिमीलाई एउटै कुरा भन्छु,
म तिमी बिना अपुरो छु।
म तिमीलाई साथ छोड्दिन,
अरूले जे भन्लान्, मलाई फरक पर्दैन।

मेरो ढोका तिम्रो लागि सधैँ खुला छ,
तिमी कहिल्यै शिर निहुराएर आउनु पर्दैन।
तिमी बदलियौ भनेर
म कहिल्यै टाढा हुन्न।

समस्या सबैलाई आउँछ,
वर्षभरि एउटै मौसम हुँदैन।
तिमी योद्धा हौ साथी,
लडाइँको मैदानबाट भाग्नु सुहाउँदैन।

तिमी पहाड उचाल्न सक्छौ,
आफ्नो शक्ति चिन्नू।
तिमीलाई माया गर्ने धेरै छन्,
र यो साथी तिमीलाई कहिल्यै छोड्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *