‘आमा हिँजो मरिन् कि आज, मलाई थाहा भएन’

भक्त घिमिरे
पेन्सिलभेनिया,अमेरिका

“आमा मरिन् ! हिँजो कि आज ! मलाई खास्सै थाहा भएन ! थाहा हुनु र नहुनुमा कुनै तात्विक फरक छैन । सब बेमतलब ! गाउँबाट तार-खबर आएको थियो । लेखिएको थियो,‘आमा बित्नुभो । भोलि अन्त्येष्टि छ । तपाइँको विश्वासी… !’ थप कुराको स्पष्ट जानकारी थिएन । भए पनि मलाई चासो रहेन ! शायद देहान्त हिँजै भएको हुनुपर्छ । नहुनु मृत्यु भइसक्यो, हिजो भए पनि आजै भए पनि भइसकेको मृत्युमा के फरक रह्यो र !”

अल्जेरियाली नागरिक अल्बेयर कामु फ्रेञ्च भाषाका महान दार्शनिक मानिन्छन् । कामुरचित ‘स्ट्र्याञ्जर’ नामक उपन्यासको मूलपात्र आर्थर मर्सोको संवादात्मक अभिव्यक्ति हो यो माथिको अंश । यो पात्र समाजद्वारा तय गरिएका मूल्य-मान्यताप्रति हदै उदासीन र बेपर्वाह छ । फ्रेञ्च भाषामा रचित उनको उपन्यास दुइ अलग अलग स्थान र व्यक्तिद्वारा अंग्रेजीमा अनुवाद भएकोले यसलाई ‘स्ट्र्याञ्जर’ र ‘आउट साइडर’ दुइ अलग नामले चिनिन्छ । हिन्दीभाषी ‘नयीँ कहानियाँ’ आन्दोलनका अभियन्ता राजेन्द्र यादवले यसलाई हिन्दीमा पनि अनुवाद गरेका छन् जसको नाम ‘अजनबी’ राखिएको छ ।

उपन्यासको थालनी नै मृत्युको सन्देशबाट शुरु भएको छ भने कथानक मर्सो स्वयंको मृत्युमा पुगेर टुंगिन्छ । अल्जेरियाको राजधानी अल्जेयर्समा कार्यरत क्लर्क मर्सोले आफ्नी आमालाई टाढाको वृद्धाश्रममा राखेको थियो । एक्लो छोरोसँग डेरामा बस्न उनलाई परम्पराले सहज ठान्दैन’थ्यो । यसै यसै उनलाई उराठ लाग्थ्यो; गाउँमा पनि उनी एक्लै थिइन् । उनले इच्छा नभए पनि आफूलाई वृद्धाश्रममा छोडिदिन मर्सोलाई भनेकी थिइन् । शुरुमा मर्सोकी आमा वृद्धाश्रममा रुन्थिन् । तर, बिस्तारै उनी त्यहीँ रत्तिन थालिन् । आफ्ना दौंतरी उमेरकाहरुसँग भलाकुसारी गर्ने, गीत गाउने आदतले उनलाई त्यहाँको जीवन रमाइलो लागिरहेको थियो । निभ्ने बेलाको दीयो पनि झलक्क उज्यालिन्छ भनेझैं मर्सोकी आमा जीवनको अन्तिम चरणमा पनि वृद्धाश्रममा नयाँ किसिमले जिउने सपना देखिरहेकी थिइन् । तर, अपर्झट उनी बितेको खबर आयो ।

यसरी आमा बितेको खबरपछि ऊ अन्त्येष्टिमा सामेल हुने निर्णय गऱ्यो र कम्पनी मालिकसँग विदा माग्यो । मर्सोकी आमा बितेको खबर सुनेर मालिकले अँध्यारो अनुहार लगाउँदै विदा दिए । तर, मर्सोको अनुहारमा कुनै शोकको झलक थिएन । मालिकको अँध्यारो अनुहार देखेर उसलाई आफूले केही नराम्रो काम गरेको कारण मालिक बेखुशी भएको हो कि भन्ने भान पऱ्यो । मनमनै फिर्ता आएपछि माफी माग्ने सोच्तै ऊ त्यहाँबाट हिँड्यो ।

रातको समयमा वृद्धाश्रम पुगेकाले उसले त्यहीँ रात बिताउनुपर्ने थियो । जानेबित्तिकै उसलाई कफीन खोलेर आमाको अनुहार हेर्ने इच्छा भए-नभएको कुरा सोधियो । उसले आमाको अनुहार हेर्न इंकार गऱ्यो । भन्यो,‘मैले हेर्दामा आमाको मृत्युले कुनै फरक मोड लिन्छ र?’ कसैसित ठोस उत्तर थिएन, सबै हैरान, चुपचाप रहे ।

उसको शान्त, निश्चिन्त, शोकरहित सामान्य वर्ताव देखेर सबै हैरान थिए । ‘आमाको मृत्युमा एकथोपा आँसु नझार्ने यो मानिस कति निष्ठुर होला !’ खासखुस उसका बारेमा कुनातिर कसैले कुरा काटे । र, रात भएकोले सबै हिँडे । उसलाई आफ्नी आमाको शव राखिएको कफीन (शवपेटिका) नजिकै ‘बेसमेन्ट’ मा सुत्न भनिएको थियो । उसको साथी एउटा गेटपाले मात्र थियो । राति गेटपालेले मर्सोलाई कफीबारे सोध्यो । उसले सहजै स्वीकाऱ्यो । सामान्यतः आफन्तको देहान्तमा दूधको कफी कसैले पिउँदैन थिए । पालेले ‘दूध हालेको कफी ल्याउँ कि सादा कालो कफी’ भनेर पनि सोध्यो । तर, मर्सोले सेतै कफी माग्यो । कफी पछि उसले चुरोट सल्कायो । उसले एउटा चुरोट गेटपालेलाई पनि दियो । त्यसपछि मर्सो मस्तै निदायो । उसको चालढाल देखेर सबै अचम्मित थिए ।

भोलिपल्ट घाटमा पुऱ्याएपछि पनि उसलाई सोधियो,‘अन्तिमपटक आमाको मुहार हेर्छौ ?’ उसले जवाफ दियो,‘अहँ हेर्दिनँ !’ अन्त्यष्टि सकेर हतार हतार ऊ शहर फिऱ्यो । लगत्तै भोलिपल्टदेखि काममा हाँजिर भयो । सोही कम्पनीकी कामदार केटी मेरीसित उसको पुरानै मैत्री सम्बन्ध थियो । उनीहरु बिस्तारै प्रेमालापमा थिए । मर्सो आफ्नी प्रेमिका मेरीसित हास्यरसको सिनेमा हेर्न जान्थ्यो । आमाको अन्त्येष्टिको अर्को दिन पनि उनीहरु सिनेमा हेर्न गए । सिनेमा हेरेर उनीहरु एकरात खाई-पिई सँगै सुते । मेरीले मर्सो आफूलाई कत्तिको प्रेम गर्छ वा आफूसित बिहे गर्न राजी छ-छैन सोधिन् । उसले भन्यो,‘यस कुराले ममा कुनै अर्थ राख्तैन ! कसैको बिहे हुनु र नहुनुमा कुनै मूल्य छैन । तर, तिमी चाहन्छौ, मैले त्यसो गरे तिमी खुशी हुन्छौ भने म तिम्रै लागि बिहे गरिदिन सक्छु !’

अर्को दिन ऊ काम गर्ने कम्पनीको मालिकले छिट्टै फ्रान्सको पेरिसमा नयाँ शाखा खुल्नलागेको जनाउँदै मर्सोलाई अधिकृतबाट पदोन्नति गरी शाखा निर्देशक बनाउँदै त्यता पठाउन चाहेको बताए । यो कुराले मर्सोमा कुनै उत्सुकता ल्याउन सकेन । भन्यो,‘मलाई यहीँ ठीक छ । म आफ्नो लागि भनेर, सन्तुष्टि, मनोरञ्जन अथवा स्वाभिमान जेसुकैको लागि एकठाउँबाट अर्को ठाउँ जान चाहन्न । तर, यस कुरामा तपाइँ खुशी हुनुहुन्छ भने म जानसक्छु ।’

यहाँसम्म आउपुग्दा तपाइँ (हरू)ले थाहा पाई सक्नुभएको हुनुपर्छ, मर्सो आफ्नो खुशीका लागि उदासीन छ, बेमतलब छ । कुनै औपचारिकता, चलनचल्ति र मान्यताहरु उसका लागि मूल्यहीन छन् । यद्यपि, ऊ केही गर्न चाहन्छ केवल ‘अरु’का लागि ! प्रेमिकाको खुशीका लागि बिहे गर्न चाहन्छ; कम्पनी मालिकका लागि शाखा निर्देशक बनेर पेरिस जान पनि चाहन्छ ।

मर्सो बसेकै अपार्टमेन्ट, उपल्लो तलामा एक वृद्ध मानिस सलमान बस्थ्यो । ऊसँग एउटा बुढो कुकुर थियो । सलमानका साथ कुकुरबाहेक अरु कोही पनि थिएन । मैला गरेको, घरी घरी खान मागेको, सताएको भनेर सलमानले कुकुरलाई खूब पिट्थ्यो । अर्थात्, सलमान कुकुरबीच सधैंजसौ झगडा परिरहन्थ्यो जो मर्सो र अन्य छिमेकीका लागि सामान्यझैं लाग्न थालेको थियो । एकदिन सलमानको कुकुर हरायो अर्थात् घरबाट भाग्यो । कुकुर हराएपछि सलमान विलना गर्नथाल्यो । रात-रातभरि कुकुर रुँदै घर फिर्न खोजेको सपना देख्ने गरेको बताएर सलमानले सबैलाई भावुक बनाउँदै थियो । उसले छिमेकीहरु सबैलाई गुहारेर कुकुर खोजीदिन निवेदन गऱ्यो । कुकुरको सम्झनामा सलमान बेस्सरी रोयो । “सधैं झगडा गर्ने, पिटिरहनुपर्ने कुकुर हराउँदा यो मान्छे यति धेरै व्याकुलता देखाइरहेको छ; मलाई जन्माउने, हुर्काउने आमा मरेको बेला म एक निमेष पनि रोएर देखाउन सकिनँ !” सलमानको रोदन देखेपछि झस्केर मर्सोले एकचोटि मनमनै यति भनेको थियो !

मर्सोसित मिल्ने एकजना साथी थियो रेमण्ड । रेमण्ड खूब रसिक तथा सौखिन मानिस थियो । उसका धेरै स्त्री साथी थिए । आज एकजनासित झगडा भयो भने भोलि उसका थप दुइ साथी बनिहाल्थे । रेमण्डले एकदिन मर्सोलाई रात्री भोजमा निम्ता गऱ्यो । प्रेमिका मेरीलाई लिएर मर्सो रेमण्डको निम्ता मान्न गयो । भोज सकेर घर फिर्ने बेला रेमण्डले मर्सोलाई रोक्यो र आग्रहसहित निवेदन गर्दै भन्यो,“एउटी अरब केटीसित मेरो झगडा परेको थियो । रिसको झोंकमा मैले उसलाई पिटें । मलाई भोलि अदालतमा बोलाइएको छ । त्यो केटी चरित्रहीन थिई भनेर बोलिदिने एउटा साक्षी चाहिएको छ । मर्सो तिमीमाथि भरोसा छ, कृपायः मलाई बचाउने काम गर है । मित्रताको कसम !”

मर्सोले सोच्यो, ‘एउटा मित्रको लागि मैले यति पनि गर्न सक्तिनँ त !’ उसले जवाफमा भन्यो, ‘किन चिन्ता गर्छौ रेमण्ड, भइहाल्छ निः म साक्षी बनिदिउँला । भोलि मलाई लिन आऊ !’ यति भनेर मेरी र मर्सो घर फिरे ! बाटोमा मेरीले मर्सोलाई द्विविधापूर्ण स्थितिका प्रश्न गर्नथाली । उनीहरुबीच राग-अनुरागका संवाद भए ।

मेरी-‘तिमी त्यो अरब केटीलाई चिन्छौ ?’

मर्सो-‘अहँ चिन्दिनँ त !’

मेरी-‘अनि तिमी के आधारमा उसको विरुद्धमा रेमण्डको साक्षी बन्छौ ?’

मर्सो-‘त्यो चिन्दै नचिनेकी केटीसँग मलाई के मतलब ! म त मेरो साथी रेमण्डलाई खुशी भएको देख्नचाहन्छु !’

भोलिपल्ट अदालतमा उपस्थितिका लागि रेमण्ड मर्सोलाई लिएर पुग्यो । मर्सोले अदालतमा त्यो अरब केटी चरित्रहीन भएकाले रेमण्डबाट अनैतिक लाभ लिन चाहन्थी, त्यही भएर रेमण्डसित झगडा भएको हो, रेमण्डले अन्याय गरेको होइन भनेर साक्षी बक्यो । रेमण्डले सामान्य जरिमाना तिरेर अदालतबाट उन्मुक्ति पायो । मर्सोबाट खुशी भएर रेमण्डले एउटा हाते पिस्तोल उपहार दिएको थियो । त्यो पिस्तोल हिंसात्मक प्रयोजनका लागि नभई मित्रको सम्झना, अथवा रेमण्डको चिनो स्वरूप मर्सो सधैं खल्तिमा बोकेर हिँड्थ्यो ।

आफ्नी बहिनीमाथि अन्याय गर्ने रेमण्डलाई मर्सोको झूटो साक्षीका कारण अदालतले सजिलै छोडेको देखेर केटीको दाजु अरबी युवक मर्सो-रेमण्ड दुवैसित खूब आक्रोशित थियो । एकदिन रेमण्ड, मर्सो र मेरी गर्मीबाट फुत्किने मनाशयले समुद्र तटमा घुम्न पुगेका थिए । समुद्र छेउ बनाइएका स्नानस्थलमा नुहाइ-धुवाइ सकेर किनारमा टहल्दै गर्दा केटीको दाजु र थप केही अरब युवा परबाट आए र रेमण्डलाई कसैले छुरी हान्न थाले, कसैले लात्ति र मुक्का । प्रेमिका मेरी र घाइते साथी रेमण्डलाई पर सारेर मर्सोले अरब युवाहरुमाथि खूब धुलाइ गऱ्यो । मर्सोका अघि टिक्न नसकेर अरब युवाहरु भागे ।

खूब तनावको दंगापछि प्रेमिका मेरीलाई उसले घर पुऱ्यायो । घाइते रेमण्डलाई पनि उसले घर पुऱ्यायो । तनाव र गर्मी मौसमले मर्सोलाई पिरोलिरहेको थियो । अलिकति पिएको पनि थियो । यो स्थितिमा उसले फेरि एकलै समुद्र किनारतिर जाने निधो गऱ्यो ।

समुद्र तटमा एक्लै टहलिइरहेको मर्सोलाई देखेर अघिदेखि सोही मौका कुरिरहेका दुइ अरब युवाहरु फेरि उतिर झम्टिए । अहिले पनि त्यो केटीको दाजुको हातमा रेमण्डलाई हानेको अघिकै चक्कु थियो । अरब आक्रमणकारी केटाहरु छेउमै आइपुगेर आफूमाथि आक्रामक बनेपछि मर्सोले खल्तिमा रहेको पिस्तोल झिक्यो र गोली हान्यो । एकै गोलीमा चक्कु बोक्ने अरब युवक ढल्यो, अर्को द्रूत गतिमा भाग्यो । ढलेको अरबीलाई मर्सोले छेउमा गएर हेऱ्यो र, फेरि थप चार गोली हान्यो । अर्थात्, मर्सोबाट अरबी युवकको निर्मम हत्या भयो । यो पढिरहँदा तपाइँ-हामी सबैलाई लाग्नसक्छ, एकै गोलीमा ढलिसकेको, मरिसकेको अरबमाथि मर्सोले किन थप चार गोली हान्यो ? के मर्सो त्यति निर्मम, संवेदनाहीन, हिंसक मान्छे थियो ? पेशागत हत्यारा थियो ? अहँ थिएन ! त्यसो हुँदो हो त उसले अरूलाई पनि पिटेको हुँदो हो, लुटेको, मारेको हुँदो हो ! त्यस्तो केही थिएन ।

हत्याको अभियोगमा उसलाई पुलिसले समातेर थुन्यो । जेलमा राखियो । अदालतमा लगियो । सबैभन्दा पहिले न्यायाधीशले मर्सोलाई ईश्वरमा विश्वास छ-छैन भनेर सोधे । ‘अहँ-छैन’ मर्सोले उत्तर दियो । यस्तो उत्तर सुनेर उसलाई –‘एन्टी क्राइष्ट’ (ईशा-विरोधी) को संज्ञा दिइयो । मर्सोले आफ्नो प्रतिरक्षामा अरब युवामाथि पहिलो गोली चलाउनु परेको बताएको थियो । तर, थप चार गोली किन? भन्ने प्रश्नमा उसले आफूलाई ‘गर्मीले धेरै पोलेकोले थाहा नभएको’ भन्ने उत्तर दियो । उसको जवाफ सुनेर मर्सोमा मानवीय संवेदना सकिएको, राक्षसी प्रवृत्ति हुर्किएको, निर्मम, पाखण्डी आदि आदि उपमा दिइयो ।

यसरी धेरै लामो कैद, जाँच, सुनवाइजस्ता अदालती प्रक्रिया हुँदै एकदिन उसलाई ठूलो चौरको माझमा उभ्याएर शिर-छेदन गरिने मृत्युदण्डको सजाय सुनाइयो । सजाय सुनिसकेपछि पनि मर्सोमा कुनै परिवर्तन देखिएन । चिन्ताको लेशमात्र पनि देखिएन । सजाय सुनाइएको लगत्तै एकजना पादरी उसको छेउमा आएर अझै पनि ईशामाथि विश्वास गरे क्षमायाचना गरेमा माफी हुनसक्ने बताए । यो सुनेर मर्सोले झोंक्किँदै भन्यो,“म यसै पनि सजाय तोकिएको मानिस हुँ । त्यो सजाय तोक्नुमा तिम्रो ईशा जिम्मेवार छ कि छैन?” प्रश्नमाथि प्रश्न थप्न थालेपछि मर्सो र पादरीको संवादले झगडाको रूप लियो । पादरी त्यहाँबाट भागे ।

सजायको मिति तोकिएपछि ‘अन्तिम इच्छा के छ?’ भन्ने प्रश्नमा बरु उसले भन्यो,‘मलाई मारिँदै गर्दा चौरमा मेरा वरिपरि धेरै भन्दा धेरै मानिसहरुको उपस्थिति रहोस् । मानिस जन्मेपछि ढिलो-चाँडो मर्ने नै हो । म एउटा गुमनाम कुनामा गुम्सिएर मर्नुभन्दा धेरै दर्शकका सामु मर्न पाए त्यसैमा खुशी हुनेछु ।’

न्यायाधीशले मर्सोविरुद्ध त्यस्तो निर्मम सजाय के आधारमा सुनाए भन्ने जिज्ञासा सबै पाठकहरुमा उत्पन्न हुनसक्छ । ‘आफ्नी आमाको मृत्युमा मर्सोका आँखामा एकथोपा आँसु थिएन । अन्तिमसंस्कारमा आमाको मुख हेर्नसमेत इंकार गरेको मर्सोले साधा कालो कफीको ठाउँमा दूधवाला कफी पिएको थियो । अन्त्येष्टिको लगत्तै प्रेमिकासँग कमेडी फ्लिम हेर्न गएको थियो । उसमा ईश्वप्रति कुनै विश्वास र आदर छैन ।’ यस्तै तथ्यका आधारमा मर्सोलाई एउटा क्रूरतम अपराधी घोषित गर्दै मृत्युदण्डको कठोर सजाय सुनाइएको थियो ।

 

 

यस औपन्यासिक कथाको माध्यमबाट कामुले समाजमा निर्मित अवधारणाका अगाडि व्यक्ति कति विवश छ भन्ने कुरा देखाउन खोजेका छन् । उपन्यासमा व्यक्तिलाई आफ्नो अस्तित्व, आफ्नो खुशीको विपक्षमा कसरी स्वविवेक र अन्तस्करण विपरीत सामाजिक परम्परा अनुरुप चल्न बाध्य पारिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । स्वविवेकी विचारमा लगाम लगाएर सामाजिक चल्तिमा सम्झौता गरेन भने जसको पनि मर्सोझैं दुर्गति हुन्छ भनेर उपन्यासले औंल्याएको छ ।

मर्सोमा पनि उसकी आमाप्रति त्यतिकै प्रेम र लगाव थियो जति अरु बच्चामा हुन्छ । बारम्बार उसले आमाको सम्झना गर्दथ्यो । तर, उसले प्रदर्शन गरेको थिएन । के आमाको माया झल्काउनलाई मर्सोका लागि आँसु झार्नैपर्ने, कालोको ठाउँमा सेतो कफी पिउनै नहुने अथवा ईश्वरमा विश्वास राख्नैपर्ने जस्ता मान्यताहरुको पालना गर्नु निर्विकल्प अनिवार्यता थियो त? यति कुरा पालना गर्दामात्र आमाप्रतिको आदर र माया प्रमाणित हुन्थ्यो ? यस्ता अनेकौं प्रश्नहरु उपन्यासले उब्जाएको छ । यी प्रश्नहरु हाम्रो दिमागमा पनि बारम्बार उब्जिइरहन सक्छन् । शायद आजको समाजमा पनि यी प्रसंगहरु उतिकै प्रासंगिक छन् जति उतिबेला थिए ।

कामुले उपन्यासमा कानून व्यवस्था र न्यायाधीश कसरी समाजका पूर्वाग्रह र गलत अवधारणाको वशमा पर्दछन्, गलत तथ्यमा अडिएर काम गर्छन्, उनीहरु कस्ता तथ्यका आधारमा टेकेर कानूनको निस्पादन गर्दछन् भन्ने कुरा पनि उजागर गरिदिएका छन् । हुन त यो उपन्यास दोस्रो विश्वयुद्धले क्षत-विक्षत बनिरहेको परिस्थितिमा अल्जेरिया र फ्रान्सको सन्दर्भलाई कल्पना गरी लेखिएको हो । तर, यसको अनुभूतिको गुञ्जन आज हामीसम्म पनि उतिकै चर्को स्वरमा गुञ्जिइरहेको छ ।

उपन्यास पहिलो र दोस्रो खण्डमा बाँडिएको छ । कथानकको शुरुमा पहिलो वाक्य ‘आमा मरिन्’ ले नै पाठकहरुलाई एकाएक कथामा तानेर डोऱ्याउन थाल्दछ । त्यसपछिका घटनाहरुः मेरीसँग मर्सोको प्रेमप्रसंग, कार्यालयमा उसका गतिविधिहरु, रेमण्डसँगको मित्रता सलल बग्दै हामी पहिलो खण्डको अन्त्यमा पुग्दछौं । तर, पहिलो खण्डको समाप्ति नजिकिँदा मर्सोबाट भएको एउटा हत्याकाण्डले हामी एकचोटि आश्चर्यचकित हुन्छौं ।

हत्याको घटनाप्रति पछुतो गर्दै उपन्यासको मूलपात्र मर्सोलाई लेखकले यस्तो वाक्य बोल्न लगाएका छन्, “….अचानक बन्दुकको घोडी दब्यो । मैले बन्दुकको नरम हतासोको स्पर्श महसूस गरिरहेको थिएँ….मलाई थाहा थियो मैले सागर किनारको त्यो व्यापक शान्ति भङ्ग गरिदिएँ जहाँ मलाई पनि शान्ति र मनोरञ्जन मिलिरहेको थियो । जसमा म स्वयं खुशी थिएँ त्यसैमा मैले आगो लगाइरहेको थिएँ, ….त्यसपछि त्यो निर्जीव शवमाथि मैले चार गोली थप बर्साएँ । सुखको ढोकामा लगातार चार कर्णभेदी ठक्कर हानेजस्तै गरी । पछिल्ला चार गोली मैले के हिसाब असूल गर्न हाने मलाई नै थाहा छैन । तर, पहिलो गोली मैले नचलाएको भए उसले मलाई कोखामा चक्कु रोपेर मार्थ्यो । म केही समय पछिसम्म बाँच्न चाहन्थें । अर्थात् मर्ने र मार्ने हामी दुइमात्र उपस्थित त्यो निर्जन बगरमा म मर्न चाहन्न थें ।”

 

दोस्रो खण्डमा पुगेपछि पाठकको उत्सुकता यसै पनि बढिहाल्छ । न्यायाधीशसँग मर्सोले अरब युवकद्वारा आफूमाथि आक्रमण नगरिएको भए उसको हत्या नहुने कुरा खुलाउँदै उसको हत्या र आफ्नी आमाको मृत्यु हुँदा आँखामा आँशु नदेखिनुबीच कुनै आपसी सम्बन्ध नभएको भनेर बारम्बार आपत्ति जनाउँछ । तर, प्रतिवादी उकीलको दाबीका आधारमा मर्सोलाई कठोर, चिसो रगत भएको अपराधी वर्गमा खडा गरिन्छ ।

न्यायाधीशसम्क्ष मर्सोको कुराकानी, कैदभित्र उसका अनुभवहरु अथवा अदालतको सुनवाइ प्रक्रिया आदि सबै कुरा अर्थात, उपन्यासको कुनै पनि अंश अनावश्यक र भद्दा लाग्दैनन् । अन्तिम अध्यायमा पादरीमाथि मर्सोको आवेगले उपन्यासको उत्कर्ष कायम गरेको छ । “सारा ब्रह्माण्डको सृष्टि गर्ने भनिएको त्यो ‘ईश्वर’को इच्छाबिना पृथ्वीमा एउटा पात पनि हल्लिँदैन’ भन्नेहरुले वास्तवमा मलाई मृत्युदण्ड किन दिइँदैछ भन्ने कुराको पनि उत्तर दिनुपर्ने हो !” यो प्रश्नले एकचोटि सबै पाठकको दिमाग हुँडल्छ । मुख्य कुरा त ‘आमाको मृत्युमा एक थोपा आँसु नझार्नु…’ लाई मर्सोविरुद्ध मृत्युदण्ड घोषणाको मुख्य कारण मानिनुले ‘अपराध’को परिभाषा र समाजले उत्पादन गरेका अवधारणाहरुप्रति कठोर विरोधाभासको अनुभूति गराउँदछ । व्यक्ति र समाजबीचको अन्तरसम्बन्ध अथवा जीवनको अर्थजस्ता विषयमा उपन्यासले सोच्न बाध्य बनाउँछ ।

उपन्यासको आमुख अथवा नाम ‘स्ट्रयाञ्जर’ मार्फत दर्शाउन खोजिएको मूल्यवोध अन्त्यतिर पुगेर मात्र स्पष्ट बुझाइमा आउँदछ । समाजले तय गरेको अमूर्त मार्गबाट अलग्गिएर हिँड्ने उपन्यासको नायक मर्सो चाहेर वा नचाहेर साँच्चैको अजनबी (अन्जान, अपरिचित, आगन्तुक, बाहिरिया) थियो । यो कथा समाज र त्यसका स्थापित अन्ध मूल्य-मान्यताप्रति प्रतिकारको उदाहरणीय नमूना हो ।

परम्परागत शास्त्रीय विधि अनुसार यसमा प्रारम्भ, उत्कर्ष र समापनका क्रमिक संरचना छैनन् । कुनै कुनै ठाउँमा त यो उपन्यास नभएर नाटकको संवादझैं लाग्दछ । कतै एकलै बोलिएको मनोगत कुराकानी त कतै काव्यझैं पनि लाग्दछ । यो सानो, पातलो एउटा उपन्यासभित्र जीवनमूलक संवेदनाका अनेकौं पक्षहरु छन् । अर्थका अनेकौं तहहरु छन् । एउटा चमत्कारी सपनाझैं ।

कामुले एकठाउँ उल्लेख गरेका छन् उनले यो उपन्यास कतै भेटिएको एउटा वाक्यबाट सिर्जना गरेका हुन् । त्यो वाक्य कस्तो थियो भने ‘कुनै व्यक्तिले आफ्नी आमाको देहान्तमा रोई-कराई गर्दैन, सार्वजनिक रूपमा शोक व्यक्त गर्दैन भने उसका विरुद्धमा जनमत यसरी लाग्छ कि, उसलाई मृत्युदण्डसमेत हुनसक्छ ।’ यो उपन्यासको आधारभूमि यही एउटा वाक्यमा निर्मित भएको हो ।

वास्तवमा सबैले देख्ने गरी शोक मनाउनु एउटा परम्परागत मान्यता हो । पीडा, व्यथा, शोक र चिन्ता सबै मानिसभित्र हुन्छ । यो हरेक मानवीय हृदयमा मौजुद प्राकृतिक गुण हो । तर, यो हुनु र त्यसको प्रदर्शन गर्नु दुइ फरक कुरा हुन् । मर्सोमा आफ्नी आमाको मृत्युप्रति दुःख, शोक थियो कि थिएन भनेर वास्तविक निर्क्यौल कसले गऱ्यो र ? केवल ऊ रोयो कि रोएन, आँशु झाऱ्यो कि झारेन-मात्र हेरियो !

हामी मान्न सक्छौं मर्सो पनि अरुजस्तै एउटा सामान्य मानिस हो । उसभित्र पनि संवेदनाहरु थिए । तर, ऊ दुःख र वेदनाहरु कसैलाई देखाउन चाहँदैन’थ्यो । पीडा वा खुशी व्यक्त गर्ने हरेक मानिसका बेग्ला बेग्लै ढंगहरु हुनसक्छन् । तर, समाजको वृहत् तप्काले निर्धारण गरेको छ जसअनुसार शोक र पीडा व्यक्त गर्नलाई आँशु झार्नैपर्दछ । रुनै पर्दछ । करुण पुकार गर्नैपर्छ, कंकलाशब्द आर्तनाद प्रदर्शन गर्नैपर्दछ ।

शोकको घडीमा तपाइँ यदि रुनुभएन भने समाजले तपाइँलाई कुनै पीडा छैन भनेर बुझ्नेछ । शोक मनाउनलाई सेतो वस्त्र लगाउनै पर्छ, नून-तेल बार्नैपर्छ अथवा दश दिन, बाह्रदिन, सोह्र दिन वा ४५ दिसम्म यस्तै केके केके गर्नु वा नगर्नु पर्छ । नत्र उसलाई अपराधीको रूपमा प्रस्तुत गरिनेछ । चल्तिका हरेक ढाँचाप्रति उदासीनता र वैराग्यको भाव दर्शाउने यो उपन्यासले मर्सोलाई नायकको रूपमा प्रस्तुत गरेर समाजका नियमहरुको प्रतिरोध गरेको छ । तपाइँको मनमा पीडा र व्यथा हुनु वा नहुनुको कुनै अर्थ छैन तर, निश्चित समयभित्र तपाइँ त्यसको प्रदर्शन गर्नुहुन्छ या हुन्न भन्ने कुराले तपाइँप्रतिको सामाजिक अवधारणालाई निर्धारित गर्दछ । अदालतको न्यायाधीशले पनि तपाइँलाई समाजको यही दृष्टिबाट हेर्नेछ ।

सबै भाषाका, सबै भूगोलका साहित्यिक लेखनमा कुनै पनि नायक धिरोदात्त प्रवृत्तिको हुनुपर्छ, निश्चित लक्ष्यमा निर्दिष्ट हुनुपर्छ भन्ने परम्परागत मान्यतालाई भत्काएर कामुले मर्सोलाई प्रतिनायक बनाएका छन् । कुनै कथा वा चलचित्रमा स्थापित नायक पात्रलाई हामी आजसम्म जसरी लिन्छौं सो अनुसार मर्सो छैन बरू ठीक विपरित छ । उसको कुनै लक्ष्य पनि छैन, आफैं खुशी हुने सपना पनि छैन । तर, सधैं अरुलाई खुशी राख्न चाहन्छ । उसको यही सोच-विचारका कारण अन्त्यमा क्रूर अपराधी बनाएर मृत्युदण्ड दिइन्छ ।

पहिलो विश्वयुद्धको वरपरि यूरोपेली साहित्यमा हुर्किएको अस्तित्ववाद, निस्सारवाद वा शून्यवाद र विसंगतीवादमध्ये कामुको यो उपन्यास विसंगतीवादबाट अभिप्रेरित छ । फ्रान्सले उपनिवेश बनाएको अफ्रिकी राज्य अल्जेरियामा जन्मिएका अल्बेयर (अंग्रेजीमा अल्बर्ट लेखिन्छ) कामु आफूलाई फ्रान्सेली मूल-संस्थापन पक्षले सधैं बाहिरीया वा विदेशीको रूपमा व्यवहार गरेको कुराप्रति रूष्ट थिए । उपन्यासिक कृतिको नाम स्ट्र्यान्जर अथवा आउट-साइडर हुनुमा पनि उनको त्यही आक्रोशको परिणाम बताइन्छ । कामुले नाटक, काव्य र अन्य विधाका साहित्यिक रचना पनि गरेका थिए । तर, सन् १९५७ को नोबेल पुरस्कार विजेता कृतिको रूपमा उनको यही उपन्यास विश्वविख्यात बन्यो र यहाँनेर पनि त्यसैको चर्चा गरियो ।

कामुका अन्य कृतिहरुको नमूनास्वरूप ‘द मिथ अफ् सिसीफस’ लाई लिन सकिन्छ । यस मित्थकीय कथामा सिसीफस एउटा ठूलो पत्थर बोकेर पहाडमा चढिरहन्छ । तर, चुचुरोमा पुग्नेबेला पत्थर गुल्टिएर तल झर्छ । सिसीफस खिन्न हुँदै ओर्लिन्छ, फेरि पत्थर उचालेर पहाड चढ्छ । माथि उक्लिनै लाग्दा सिसीफस बेस्सरी खुशी हुन्छ अनि झरेपछि दुःखी ! यसरी नै उसको जीवनका दैनिकीहरु अविराम चलिरहन्छन् । अर्थात मानिसका दुःख र सुख कहिल्यै स्थायी हुँदैनन् भन्ने सन्देश सिसीफसको कथाले दर्शाउँछ ।

आजको वर्तमान बाँचिरहेका मानिसहरु पनि आफ्नो जीवनको सार के हो भन्ने कुरामा मतलब नराखेर मर्सोजस्तै अरुलाई खुशी पार्नमात्र क्रियारत छन् । मानिस आफूले सुख पाए-नपाएको थाहा पाउन अरुलाई हेरेर तुलना गर्छ अनि दुःखमा पनि अरुसितै आफूलाई जोखेर तौलिन्छ । सिसीफसजस्तै आजका मानिसहरु व्यर्थका सम्भावित सफलताहरुमा क्षणिक रमाउँछन् र क्षणमै दुःखी हुन्छन् । वास्तवमा प्रेमि, प्रेमिका, नाता-गोता, कुल, कुटुम्ब अथवा सबै सम्बन्धहरु निस्सार छन् । स्वत्व बिर्सिएर विवेकको अन्तर्यभन्दा बाहिर, अरुका लागिमात्र जिउने जीवन निरर्थक छ । त्यस्तो जीवनको कुनै मूल्य छैन । त्यस्ताहरुका लागि यसै लहै लहैमा बाँचिदिनु नै जिन्दगी हो । यो धर्तीका लागि कोही बाँचे वा कोही मरे केही फरक पर्नेवाला छैन ! उपन्यासले यसै भन्छ !

दोस्रो विश्वयुद्धको बेला लेखिएको यो उपन्यासले जे जे भनोस्, यहाँनेर प्रश्न उब्जिन्छ, के आजको मानिसचाहिं परिवर्तन भयो त ? आजको मानिस स्वविवेकले बाँच्न थाल्यो त ?

आजकलका मान्छेका ठूला घर छन् तर, परिवार छैनन् । पढाइ-लेखाइ धेरै छ तर, शिक्षा र प्रयोजन छैन । अनुशासन र व्यावहारिकता पनि छैन । जति मान्छे बढे त्यति मानवता हरायो । औषधि र उपचारका नयाँ नयाँ आविष्कारहरु भइरहेको छ तर, स्वास्थ्य छैन । विद्वानहरु कति हो कति भए तर, बौद्धिकता शून्य छ । ज्ञान चोक चोकमा बाँडिन्छ तर विवेक शून्य छ । प्रेम सम्बन्धहरु कति छन् कति तर, साँचो माया-ममता छैन । समाजवादको नारा जति चर्को छ त्यति सहज कसैले मन मिल्ने एउटा साथी पनि पाएको छैन । आजको मान्छेले मर्सो र सिसीफसभन्दा बेग्लै जीवन बाँच्न सक्यो त ? कामुको चिन्तनले उब्जाएका प्रश्न हुन् यी ! हामीसँग ठोस उत्तर छैनन् !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *