आमाको चिठी

राधा काफ्ले 
क्यानडा
मेरा प्यारा सन्तानहरू हो,

आज लामो समयको अन्तरालमा तिमीहरूलाई केही लेख्न मन लाग्यो । यदि समय मिल्छ भने सबैले पढ है । मलाई आशा छ तिमीहरू सबैलाई जाति कुशलै छ भनेर।  अब त नाता नातिनी – पनातिनीहरू धेरै भए होलान् समय सँग सँगै उनीहरूका पनि छोरा नाति भए होलान् तर सन्तानको माया तिमीहरू जति सुखी भए पनि म ता आमा हु,  बाटो हेरिरहन मन लाग्छ र हेरि रहन्छु, ती पलहरू सम्झिएर टोलाई रहन्छु । मलाई सन्चो छैन, यहाँ रहेकाहरू  पनि विभिन्न बहानामा मलाई एक्लै बनाएर बाहिरी रहेका छन् । जेठो ङालोङको  कारण आज अरू भाइ बहिनीहरू पनि  फटाफट पलाएन  भइरहेका छन् ।

तिमीहरू लाई थाहा छ?  म कति एक्लिएकी, बिरक्तिएकी, पागल सरि भौँतारिएकी, निराश भएकी र निसासिएकी छु। तिमीहरूले रोपेका आँप, अम्बा, कटहर, कागती, सुन्तला , केरा, अलैँची आदि फलहरू लडिसके। तिमीहरूले छोडेका घरहरू पुराना भई ढल्न थाले। मेरा छातीमा अन्न  फल्ने ती खेत बारीहरूमा बनमारा, पाती, काले झार, असुरो, बन्सो र अरू जङ्गलको कहाली लाग्दो घारी भयो। तिमीहरूले बाँधेर छोडेका जनवारहरू कहाँ पुगे, कसले लाग्यो वा खायो, र सरसामानहरू सबै फुटे फुटाइए र सडे गले अनि सकिए ।तिमीहरू आउँछौ र मलाई फेरि हराभरा बनाउँछौ भन्दा भन्दै यहाँका पनि हिँडिसके। कुलागांग्री र जोमोलारीलाई कतै देख्यौ कि भनेर सोधिरहन्छु। सुनकोस र मानसलाई कतै कसैलाई भेट्यौ कि खोजी गर भनिरहन्छु। तर मेरो खबर तिमीहरूलाई र तिमीहरूको मलाई कसैले दिएन ।
फोछु र मोछुले पनि सोधिरहन्छन् पुनाखा र पारोले पनि खोजिरहन्छन् ।त्यो १९९० को  कालो समयमा कति मेरा सन्तानहरू म सँगै समाहित गराइएको थियो भने कतिलाई सुनकोस र मानसमा फालिएको कुलागांग्री र जोमोलारी साक्षी छन् । म आफ्नै सन्तानहरू देखि अन्यायमा छु, अत्याचारमा छु।म एक उर्वर भूमि थिएँ । अरू दीपहरू  जस्तै हराभरा, विकसित, उब्जनीपूर्ण, मलिलो र आकर्षक बन्न चाहन्थेँ तर आज सुनसान जङ्गल भएकी छु । मैल आफूलाई रोक्न नसकेर लेखेको यो पत्रले तिमीहरूको मन छुन पुगोस् र ङालोङ ,लोछम्पा, सार्सोप, कुर्तेप र अरू भाइ सबै फेरि  फर्किएर आ- आफ्ना ठाउँमा आउन सक्ने वातावरण तय होस ।यसैको पर्खाइमा छु ।म आमा हुँ त्यसैले मेरा सन्तानहरू जहाँ भए पनि घर फर्क । अब फेरि मलाई युक्रेन र रसिया नबनाऊ, प्यालेस्टाइन र इजरायल नबनाऊ । ममा त्यो  पड्कन र गर्जन भोग्ने सामर्थ्य छैन ।
अन्त्यमा सबै सन्तानहरू हो, तिमीहरूको खुसीमा र मेल – मिलापमा मेरो भविष्य छ। त्यसैले परदेशिनेहरू फर्क र यहाँ रहनेहरू सुध्र । नत्र मैले पनि पागलपन देखाउने बेला हुन सक्छ  । अब यतिमै कलम राखेँ, सबैले मनन गर ।
सबैलाई माया
उही तिमीहरूकी आमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *