हाम्रो भाषा संस्कृति र पहिचानको ‘लक्ष्य चिन्तन’

हाम्रो भाषा संस्कृति र पहिचानको ‘लक्ष्य चिन्तन’

-भोला सुवेदी

हाम्रो विगत र हामी

हाम्रो वर्तमान र परिस्थिति

हामी र हाम्रो नयाँ पुस्ता ।।

हाम्रो विगत र हामी

भाषा हो सभ्यता हाम्रो, सारा उदय उन्नति

जित वैभव भाषामै बाँच्दछन पछिसम्म यी ।।

 

सन १९९० मा भुटानमा भएको आन्दोलन प्रजातन्त्र र मानव अधिकार स्थापनाका लागी मात्र नभएर हाम्रो भाषा, संस्कृति र पहिचानको विद्रोह समेत थियो । नियोजित शैलीमा तत्कालीन राज्य- पक्ष्यले राज्य संयन्त्र प्रयोग गरी नेपाली संस्कृति र पहिचान निमिट्यान्न पार्न सुरु गरे लगत्तै भुटानका स्कूलहरूको पाठ्यक्रमबाट नेपाली भाषा हटाएर नेपाली किताबहरू जलाउन थालियो । हामी नेपाली भाषीहरू राष्ट्रिय सरोकारको विषयमा अल्पमतमा हुँदा राज्य पक्षले अपनाएका प्रतिक्रमहरू सबै सम्भव र सफल भए । फलस्वरूप नेपाली भाषीहरूलाई जबर्जस्ती देशनिकाला गरियो । हाम्रो पहिचान र अस्तित्वको चिरहरण गरी हाम्रै सामु जलाइएका नेपाली किताबहरूको अस्तुकलश बोकेर देश छोडेर हिँडेका हामीहरू निरिह अवस्थामा कुहिराको कागजस्ता भयौँ ।

भाषा, संस्कृति, पहिचान, माटो आदी जस्ता जीवन अस्तित्वका अवशेष बोकेर हिँडेका हामी दक्षले अपमान र निन्दा गरी काँधमा सतीदेवी बोकेर हिँडेका शिवजी जस्ता हुनु पर्यो । हामी हाम्रा मुक्तिका लागि लड्नु पर्दा कतिले वीरगति प्राप्त गरे, कति अझै कैदी जीवन व्यतीत गरिरहेका छन भने हामी शरणार्थी भयौँ । यी सबै घटनाक्रम र तथ्यहरूका साक्षी हामी पुर्नवासपछिका पहिलो र दोस्रो पुस्ताहरू पनि साक्षी छौँ । वस्तुतः भाषासंस्कृति र पहिचानको सवालमा पुनर्वास पछिको दोस्रो पुस्ता यानेकी हामीले नै हाम्रा मुद्दाहरूको प्रकृति अनुसार नै मुल्यांकन र किनारा लाउन सक्नेछौँ ।

साहित्य परिषद् भूटानको उदय र प्रभावकारीता 

सौतेनी आमाको पक्षपाती व्यावहार र गिद्धे नजर सहन नसकेर मुक्ति र न्यायका लागि वन हिँडेका ध्रुव जस्ता भएर देश छोडेका हामीहरूबीच समय र परिस्थितिको मूल्याङ्कन गरी सन १९९३ तीर नेपाली भाषा परिषद भुटान नाम संस्थाको स्थापना भयो । शरणार्थी अवस्था विकराल र सङ्कट पूर्व घडीमा यस्तो गरिमामय संस्था सञ्चालन गरी निशुल्क सेवा गरी हजारौं बौद्धिक जनशक्ति उत्पादन गर्नु र ३५ भन्दा बढि विद्यार्थीहरू अलङ्कार सम्मको डिग्रीको उपाधि हासिल गर्नु हाम्रो लागी गर्वको विषय मात्रै थिएन यो त भुटानी राज्य पक्षको मुटु  हल्लाउने शक्ति पनि थियो । यस्तो ऐतिहासिक सृजनशील कार्यको समायोजन गरी र त्यसलाई नेतृत्व गर्नु हुने हाम्रा समाजका हकी विद्वान श्री गंगाराम लामीटारेबारे ज्यू आज हाम्रै अगि विराजमान हुनुहुन्छ ।

आत्माको अभिव्यक्ति भाषा हो । ब्यक्तिको सिर्जनात्मक अभिव्यक्ति साहित्य हो । र पहिचान मानिसको शाश्वत अधिकार हो भन्ने जस्ता फराकिला विचार र विश्वास राख्नु हुने हाम्रो भाषाका भीष्म पितामह आदरणीय गुरु लामीटारेको योगदान स्वर्णाक्षरमा लेखिनेछ ।

शरणार्थी शिविरमा भाषा साहित्यको र त्यसमार्फत हाम्रो पहिचानको ज्ञान र चेतना फैलाउन प्रत्येक शिविरमा संस्थाको शाखा विस्तार गरी विभिन्न तह र तप्काका ब्यक्तिका पहुँचमा पुर्‍याएर नेपाली भाषा र साहित्यको अथाह प्रगति र उन्नति भयो । नेपाली साहित्य परिषद भुटानले १० औं अङ्कसम्म भुटानी कोपिला नाम पुस्तक प्रकाशन गरी त्यस पुस्तकले हाम्रो माटोको कथा, हाम्रा पहिचानको निगरानी, भाषाको महिमा, साहित्यको अस्तित्व र समाजको रूपान्तरण जस्ता सृजनाहरू लेखेर हाम्रो जाती र अस्तित्वलाई बिम्बित गरेको छ ।

यो प्रकृति सङ्गत हो । जब एउटा मानिस भौतिक सुख प्राप्ति गर्छ, धनले, विद्याले तृप्त हुन्छ तर उसको पहिचान स्थापित छैन भने उसलाई सफल भएको महसुस र आत्मानुभूति हुँदैन । त्यसैले एउटा व्यक्ति, एउटा समुदाय, एउटा राष्ट्र आफ्नो पहिचानका लागि लडिरहेको हुन्छ । आर्थिक विकासको सम्पन्न रेखामा प्रवेश गरी विश्वको ध्यानाकर्षण गर्दै गरेको भारतमा अल्फा, चोजे र गोर्खा जस्ता जातीहरू पहिचानका लडी रहेका छन् ।

हाम्रो वर्तमान परिस्थिती

हाम्रो वर्तमान परिप्रेक्ष्यलाई आत्मसाथ गर्दा हामी र हाम्रा सामु परोक्ष अपरोक्ष अवस्थामा अवस्थीत समस्याहरु

१. पुस्तान्तर दुरीमा फराकिलो ध्रुवीकरण

२. पुनर्वावास पछिको आर्थिक संकट

३. जिवन पद्धतीमा आधुनिकिकरण

कुनै पनि समाजमा पुरानो पुस्ताको विलय हुनु र नयाँ पुस्ताको आगमन हुनु प्राकृतिक परम्परा हो । बसाइसराइ, पुर्नवास जस्ता अवस्थाले पुस्तान्तरणमा ठूलो असर र प्रभाव पर्दछ । हाम्रो समुदाय त्यसै अवस्था अनुसार स्थापित भएको हुनाले हाम्रो पुस्तान्तरमा फराकिलो ध्रुवीकरण देखा परेको छ । हाम्रो सरोकारमा पुनर्वास पछिको पहिलो र दोस्रो पुस्ताको गुणात्मक र तुलनात्मक विश्लेषण गर्दा हामी भन्दा पहिलो पुस्ताले नेपाली भाषा, संस्कृति र पहिचानको विकास र संरक्षण गर्ने भूमिकामा अब्बल रहेको छ ।

पहिलो पुस्ताले कर्मनिष्ठ र आफ्नो भूमिकामा दृढ रहेको हुँदा आवश्यकता र इच्छाशक्तिको बिच सन्तुलन रहि मिलनविन्दु सहज रेखामा स्थापित छ । त्यसैकारण हामीले पहिलो पुस्ताबाट धेरै कुरा सिक्न सक्यौँ, त्यसको औचित्य आवश्यकता महसुस गरी त्यसको विरासत बचाउन सक्यौँ । त्यसैले हामी पहिलो पुस्ताप्रति कृतज्ञता व्यक्त गर्दछौँ । जहाँसम्म पहिलो पुस्ता र तेस्रो पुस्ताको दुरीको सवाल छ त्यो अत्यन्तै चिन्ताजनक र आपत्तिजनक छ ।

त्यसको मिलन विन्दु असहज र अनियन्त्रित गतिमा दौडीरहेको छ । यस विषयमा दोस्रो पुस्ताको भूमिका र जिम्मेवारी पटक्कै देखिदैन । दुइ पुस्ताबीच जोडेर विश्वास र इमान्दारिताको समन्वय गरि एउटा सिर्जनशील साँघुको भूमिका रहन नसक्दा तेस्रो पुस्ता पहिलो पुस्ता भन्दा धेरै पर पुगी सकेको सकेत देखा परेका छन ।

त्यो दुरीलाई न्युनीकरण गर्न हाम्रो भूमीका

  • पहिलो पुस्ताको जिवनशैली, रहनसहन,आहार विहार, लुगा पहिरन, चेतना, शिक्षा र चिन्तन सम्बन्धी आफ्ना नानी बाबुसँग गफ गर्ने बानी बसालौँ ।
  • चाडपर्व रीतिरिवाज बिहे ब्रतबन्धवारे आफ्ना नानी बाबुहरुलाई त्यसको महिमा र औचित्यबारे सुनाउन र बुझाउन सक्नुपर्छ । देउसी भैलो संबन्धी त्यसको महिमा बुझाउन सक्नुपर्छ ।
  • नानीबाबुहरुले अंग्रेजीमा बोले आफुले नेपालीमा जवाफ दिनुपर्छ । घरमा नानीबाबुलाई नेपालीमा बोल्न हौसला प्रदान गरौँ ।
  • घरमा चाडवाड र रितिरिवाज मनाऔँ र मनाउदा आफ्ना नानी बाबुहरूलाई समावेश गराऔँ । सिकाऔँ । छोरालाई उपनयन र छोरीलाई गुन्यू चोली जस्ता संस्कृतिक कर्मको जगेर्ना गरौँ ।
  • हाम्रो परम्परागत आहार विहार, भेषभुषाको इज्जत गरौं र ति वस्तुहरूको औचित्यबारे नानीबाबुहरुलाई विश्वास दिलाऔँ ।

वैज्ञानिक तथ्यको आधारमा पुराना कुराहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । यो तथ्यलाई सन्तुलन गरी नानीहरूलाई सहज हुने गरी चाडपर्व मनाऔँ । हाम्रा कतिपय चाडपर्व हाम्रो धर्मग्रन्थसँग जोडिएका हुन्छन । र नानीहरूलाई ज्ञानको महिमा सिकाउदै त्यसलाई आफ्नो जीवन शैलीसँग विस्तार गराऔं । हाम्रो धर्म संस्कृति चमेजीय हिन्दु “धर्मको आधारमा गाईलाई गौमाता भनिन्छ र गाईको दुध खानु पर्छ भन्ने जस्ता कुरालाई मुक्तकण्ठले भन्न सक्नु पर्छ । हाम्रो संस्कार बमोजिम, दाहसंस्कार दशगात्र, पुन्यतिथि -काम्यकर्म जस्ता आस्थाहरू र विश्वास बचाई राख्नु पर्छ । आज हामीले गरेका निष्ठा र पुण्यका कार्यहरूले राम्रो संस्कृतिको गरिमा फराकिलो बन्दै जानेछ ।

पुर्नवासपछी नेपाली भाषामा देखा पर्दै आएको दुर्दशाको मुल कारण 

१८/ १९ वर्ष शरणार्थी शिविरको बसाइपछि आँधीहुरीले बढारेर अमेरिका क्यानडा जस्ता राष्ट्रमा ल्याइएका हामी शिक्षा, सीप र कलाका आधारमा विकसित थिएनौँ । पुनर्वासपछि आफ्ना नामबाट अङ्ग्रेजी सिकेर जीवन चलाउने र आयश्रोत अपनाउने विकल्पमा पुगेका हामीहरूले नानीहरूलाई नेपाली भाषा सिकाउने र नेपाली हुँ भन्ने समय निकाल्न सकेनौँ । यसै सिलसिलामा केही समय बित्यो ।

हामी स्थापित भयौँ तर नानीहरूमा फरक प्रभाव भैसकेर । पश्चिमी सभ्यताको प्रभाव र स्वतन्त्र जीवन पद्धति सिद्धान्त अनुसार १८ वर्ष पुगेपछि छोरा छोरी घर छोडेर निस्कने भए । अहिले उसको नेपाली पहिचान भनेको उसको थर मात्रै छ’ | यी सबै गतिविधिहरू हामी Unconscious Bias अर्न्तगत अवस्थामा हुँदा रहेछन् । हामीले यस अवस्थामा गरेका कार्यहरूले हामीलाई दीर्घकालिक असर पार्नेछ ।

हाम्रा नानीहरू एक दिन शिक्षित र अब्बल हुनेछन् । पैसा कमाउने छन तर त्यो बेला हाम्रा नानीहरू आफ्नो भाषा र पहिचानबाट विमुख भइसकेका हुनेछन । पश्चिमी सभ्यताको प्रभाव र आर्थिक सङ्घर्षका बीचमा लड्दै गरेको हाम्रो चेतना वास्तवमा स्वतन्त्र र स्थापित देखिएको छैन ।दोस्रो पुस्ताको लगनशिलता एवं वफादारिता हेर्दा र तेस्रो पुस्ताको सहभागीता र इच्छाशक्ती अनि चासो हेर्दा त्यस परिस्थिति सामु हामी हाम्रो भाषा,संस्कृति र पहिचानको मलामी भई मुक दर्शक बनेर त्यसलाई टुलु-टुलू हेर्नुबाहेक अर्को विकल्प देखिएको छैन । किनकी हामीले हाम्रो हतारको संकट टार्न अपनाएका हर्कतले हाम्रो सभ्यताको जरामरण गरी सकेको छ ।

“नेपाली भाषा कमजोर हुँदाका तत्कालीन र दीर्घकालिन असर र त्यसको पराकाष्टा:

नेपाली सांगीतिक आकाश:

नेपाली काव्य जगत

वैदिक कर्मकाण्ड पद्धती:

पुनर्वासपछि तेस्रो पुस्ताका सन्ततीहरूले नेपाली भाषा बोल्न, लेख्न, पढ्न र सुन्न जानेनन् भने हाम्रो यति विकसित साङ्गीतिक शिखर, काव्य जगत र वैदिक कर्मकाण्ड विस्तारै एका देशका कथा हुनेछन । दोस्रो पुस्ताको उत्तरार्ध र तेस्रो पुस्ताको मध्यतिर १/ २ नेपाली गायक होलान् । २/ ४ कवि, कविता र तिनका अवशेष भेटिएलान् । हामी भित्र हिन्दु धर्मको पवित्र आस्था बाँची रह्यो भने १ /२ पण्डित र पुरोहित भेटिएलान् तर दुर्भाग्यवस, सङ्गीतका श्रोता, काव्यका स्रष्टा र कर्मकाण्डका जजमानको निमिट्यान्न भैसकेको हुनेछ । र त्यो दिन १९९० मा भुटानबाट बोकेर हिँडेको त्यो अस्ति कलश भित्र दर्दनाक अवस्थामा बाँचिरहेका मुक्त आत्माले हामीलाई कुनै हालतमा पनि माफ गर्ने छैन । हाम्रा पश्चाताप र प्रायश्चितले कुनै अर्थ लगाउने छैन । यो परिस्थितिले हाम्रो पहिचानमा ठूलो विश्मयादी बोधक चिन्ह खडा हुनेछ ।

हाम्रो निष्ठा र इमान्दारीता

  • पुनर्वासपछि दोस्रो पुस्ता विभिन्न कारणबाट हाम्रो भाषा, संस्कार, संस्कृति र पहिचानको विषयमा र यसको निन्तरता र संरक्षणको सवालमा हामी कतिको निष्ठावान् र इमानदार छौं भन्ने कुराले महत्वपूर्ण भूमिका खेल्छ ।
  • हामीले आफ्नो घरमा आफ्ना नानी बाबुहरुलाई ड्याडी, ममी र अङ्कल आन्टी भन्न सिकाएर हामी समाजद्वारा सञ्चालित नेपाली भाषा कक्षामा अध्यापन गराउँछौ भने हाम्रो चेतना र विवेक को शुद्धिकरण गर्नुपर्छ ।
  • हिन्दु धर्म अर्न्तगत घरमा आहार विहारको शिष्टाचार छन् । त्यसलाई पालन गर्नु नै हाम्रो जीवन शैली अनुशासित बनाउनु हो । तर हाम्रो दुर्भाग्य के छ भने आफ्ना छोरा छोरीलाई पेपोखी, पिजा खाजा खुवाएर हामी भागवत किताब पढ्न र पढाउने र मलाई गुरुदेव भन्दैन भन्दै विज्ञापन गर्छौँ । यस्ता हर्कतहरूले हाम्रो पहिचानको लक्ष्य चिन्तन, स्तर र यसको गुणस्तर कहाँ पुग्न सक्छ । र यसमा पनि हाम्रो दूरी रदृष्टिकोणको सूचीकरण गर्नु पर्ने छ ।
  • आफ्नो काँधमा जनै बोक्न नसक्ने बाबुले छोराको उपनयन कर्म गरेँ भन्दै हल्दी मेहन्दी कार्यको अलौकिक उत्सव गर्नु तथा चौबन्दी र फरिया लगाउन मन नपर्ने आमाहरूले छोरीको गुन्यूचोली हल्दी मेहन्दीमा उत्सव गर्नु वास्तवमा नौटङ्की र खोक्रो आडम्बरको प्रदर्शन मात्रै हो ।

अन्तमा 

स्मरण रहोस्, आज मैले बोल्दै गरेको नेपाली भाषा यहाँ मैले लेखेका सुन्दर अक्षर र तपाइले सुन्नु भएका सुन्दर शब्द र भावहरू हामीले दाइजोमा ल्याएको होइनौ । यसका लागी हामी कति भुटान भित्र मरेका छौ, कति अझै पनि बन्दी भएर बाँचिरहेका छौँ । हामी १८- १९ वर्ष शरणार्थी छाप्रा भित्र मृत्यु पर्खेर बाँच्यौ । र आज पश्चिमी सभ्यताको चरम आक्रमणसँग सङ्घर्षरत छौँ । हामी जबसम्म यस्ता त्यागहरू हाम्रा सन्तानलाई भन्न र बुझाउन सक्दैनौ तबसम्म उनीहरूले यसको आवश्यकता र महिमा बुझ्ने छैनन् । हामीले हाम्रो भाषा, संस्कृति र पहिचानबारे मुक्त कण्ठले गौरवका साथ भन्न र चिनाउन सक्नु पर्छ । हामीले हामी नेपाली हौं भन्नेछ मुक्तकण्ठले भन्न सकौँ ।।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *