फूल र तिलहरी
जमुना न्याैपाने,
क्यानडा

फूल र तिलहरी
ए “फूल”, साँच्चै कति सुन्दर तिमी-
हेर त, भमराहरू झुम्मिइरहेका छन्,
भरिएको जवानीदेखि
सायद ती पनि लालायित भए,
र त तछाडमछाड छ उनीहरूबीच।
अनि फूल, तिमी मुस्काइरहेकी छ्यौ-
उनीहरूकै स्वागतको लागि।
मैले भनेकी थिएँ-
“तिमी त्यसरी नमुस्काउनु।”
तिमीले भनेकी थियौ-
“कति लोभिनी तिमी!”
सम्झ त एकचोटी-
हिजो घर छाड्ने बेलामा
शिरमाथि हात राखेर
आमाले के आशीर्वाद दिनुभएको थियो?
हुन त, यो झिलिमिली सहर
र यो सहरिया लगाइखवाइमा
त्यो गाउँकी पाखे आमालाई
बिर्सियौ होला तिमीले।
तर-
अस्ती गाउँ पुगेकी थिएँ,
र आज मात्रै फर्केकी म,
आमा भन्दै हुनुहुन्थ्यो-
“सहरमा त पढाइ खर्च चर्को छ रे,
किनमेल पनि उस्तै छ भन्ने सुन्छु।
मेरी फूल, बिचरा बालखा छे,
के कसरी जोहो गरेकी होली?”
“पैसाको नाउँमा
सुको कौडी छैन नानी,
यो लगेर दिनु है…”
यी-
यता हेर त,
तिम्री आमाले
पढाइ खर्च भनेर
पठाइदिनुभएको
“तिलहरी।”
