अग्रज पुस्तामा कविता

गण्डकीपुत्र
अमेरिका
ब्राइडहुड एडल्ट डे केयर सेन्टर , डेरि स्ट्रिट ह्यारिसबर्गमा एउटा सानो साहित्यिक कार्यक्रम छ आउनु पर्छ है सर भनेर केशव वैरागी माइलोले  ४/५ दिन अघि नै फोन गरेका थिए । त्रिवेणी साहित्य मञ्चको कार्यक्रम थियो । साहित्यिक कार्यक्रममा बोलाएपछि भरसक पुग्ने कोसिस गर्छु । नोभेम्बर २८ तारिख १ :०० बजे  स्प्रिङ हुड रोडमा निवासी बाँसुरी बाधक  फुर्बा तामाङलाई  फोन गरेँ । उनले ल म निस्किए भने । मैले कार्यक्रम स्थल आइपुगेको जनाउ दिए । उनी ५/७ मिनटमा आइपुगे ।
          हलमा ५०/६० जना लगभग ७५ वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरू बसेका थिए । प्राय जसोले तिलक  लगाएका , चन्दन लगाएका महिला र पुरुषहरू  थिए । यी ज्येष्ठ नागरिकका बिचमा  पुग्दा एक प्रकारको आनन्द अनुभव भयो । त्रिवेणि मञ्चका पदाधिकारीहरू मञ्च व्यवस्थापन र अन्य अतिथिहरूलाई सभाकक्षमा स्वागत गरिरहेका थिए । मञ्चका अध्यक्ष केशव वैरागी माइलो , सचिव नारद आचार्य  “सुदामा”, उपाध्यक्ष प्रेम घिमिरे , कविहरू पर्मा अधिकारी कान्छो , इन्दिरा प्याकुरेल , मिरा अधिकारी , देवी दागाने सबै तयारीमा लागेका थिए । डे केयर सेन्टर सम्बद्ध नेत्र आचार्य , यदु आचार्य , बिरज रिमाल , सुधा खतिवडा लगायतका कर्मचारीहरू  सभाकक्षमा आवश्यक कुरा मिलाउन व्यस्त  देखिन्थे । आधा जीवन भुटानमा व्यतीत गरेर शरणार्थी  हुनुपरेको यहाँ उपस्थित यी समाजका अग्रज नागरिक मनमा आफू जन्मिएको माटोको प्रेम अझै  जीवित रहेको प्रमाण उनीहरूका आफ्ना भावले दिइरहेको  थियो ।
              मञ्चका सचिव नारद आचार्य “सुदामा” ले कार्यक्रमको औपचारिक पोको खोले र कार्यक्रमलाई  मिठो शैलीमा अघि बढाए ।  यो विशेष कवि गोष्ठीका विशेष अतिथि थिए ८७ वर्षीय कुल न्यौपाने । कार्यक्रम अभूतपूर्व शान्त थियो । प्रत्येकको अनुहारमा कौतुहलता थियो । वाचन गरिएका कविता मन लगाएर सुनेको आभास उनीहरूको शिर हल्लाइको भावबाट बुझिन्थ्यो । कविता वाचनकै बिचमा  बाँसुरी वादक फुर्बा तामाङले बाँसुरीको मीठो धुन बजाए । रेसम फिरिरी , रेसम फिरिरी , अहो ! पुरै हल बाँसुरीको लय समातेर गीत गाउन थाल्यो । केही पाका मानिसहरू उठेर बाँसुरीकै लयमा नाच्न थाले । बैँसमा यिनले कति गीत गाए होलान्  , कति नाचे होलान् ? कतिले बिहेमा श्लोक हाले होलान्  ? यी कहिले बर्खामा बाउसे भए होलान् । यी वृद्ध अवस्था  कि आमैले कति खेत रोपिन होला , भिर  पहरामा चढेर कति घाँस काटिन होला ?  छोराछोरी जन्माउन हुर्काउन कति कष्ट बेहोरिन होला । अमेरिका पुनर्वासमा आएपछि  कतै सुस्ताएर साथीसँगै गफ गर्ने चौतारो भेटिनन् , पँधेरो भेटिनन् र घरभित्रै चुपचाप भएर बस्नु पर्‍यो होला । घरमा उमेर पुगेका कोही बिहानै काममा निस्कन्छन् । कोही राती काममा जान्छन् । सबै व्यस्त भएपछि घरमा पनि धक फुकाएर बोल्ने अवस्था नहुँदो हो । अहिले घरको चौघेराबाट बाहिर निस्किएर यो डे केयर सेन्टरमा आएका छन् । मनमा लागेका कुराजस्तै आफ्ना साथीहरूसँग आफ्नो अतीत सुनाउँदा हुन । गीत बज्न थालेपछि कोही ताली बजाउन थाले , कोही उठेर नाच्न थाले । यिनलाई देखेपछि लाग्यो उमेर त खाली नम्बर मात्र हो । रमाइलो गर्न , नाच्न , गाउन उमेरले छेक्दैन । यस पटक कविहरूले यिनै पाका मानिसका विगत सम्झाउने कविता सुनाएका थिए ।
         धेरै जनाको लागि म नौलो थिए । मलाई सोध्थे तपाईँ के थरी ? कहाँबाट आउनु भएको ? यो सोधखोज नेपालीहरूको संस्कृति नै हो । नौलो मानिस गाउँमा देखियो भने सोधिखोजी गरिन्छ । नाता सम्बन्ध केलाइन्छ र त्यही आधारमा सम्बोधन गरिन्छ । दाजु , भाइ , काका , बडाबा , दिदीबहिनी , काकी , फूपू आदि । मलाई एक जना मित्र तुलसी ढुङ्गाना भेना भन्छन् । यी पनि भूटानमै जन्मिएर नेपाल हुँदै अमेरिका आएका । चेम्बरहिल रोड ह्यारिसबर्गमा बस्ने उनी मेरी श्रीमतीका नाताले मावली भाइ पर्ने रहेछन् । मेरी श्रीमतीका मावली ढुङ्गाना , उनी पनि ढुङ्गाना । यसरी साइनो केलाएर सम्बोधन गर्ने चलन हाम्रो परम्परा हो । तुलसी ढुङ्गानाले त्यो परम्परा कायम राखेका रहेछन् ।अहिलेको आधुनिक पुस्तालाई यो कुरा अनौठो हुँदै गएको छ । अचेल एकले अर्कोलाई देख्यो भने केही नबोली हिँड्छ । आफ्नो सांस्कृतिक सभ्यताबाट बेखबर आजको पुस्ता सभ्य भएको नाटक गर्छ र असभ्य भएर हिँड्छ । मलाई पनि कसै कसैले भन्छन् यो अमेरिका हो जो पायो त्यहीसँग नबोल्नु । एक नेपाली भाषी अर्को नेपाली भाषी या एक नेपाली जाती अर्को नेपाली जातीसँग  यो विशाल  भूगोलमा कसरी बिरानो हुन्छ । हामी कति नै छौँ र अपरित भएर बस्नलाई ।
एक जना पाका व्यक्ति मेरो छेउमा आउनु भयो र भन्नु भयो , तपाईँ के थरी ? म खतिवडा हुँ मैले भने । वहाँले फेरि सोध्नु भो कति नम्बर ? २७ नम्बर मैले भने , उहाँले भन्नु भो तिमी मेरा भतिज परेछौ । हामी काका भतिजा भयौँ र अघिसम्म नचिनेका हामी एउटै परिवारको सदस्य जस्तो आत्मीय भयौँ । हामी इलामका खतिवडा हौँ वहाँले भन्नु भो । म तेह्रथुम मोराहाङको खतिवडा हुँ मैले मेरो पुर्ख्यौली ठाउँ बताएँ । म जन्मनु भन्दा चालीस वर्ष अगाडि हाम्रा बा मोरङ जिल्लाको झोराहाट बसाइँ  सरेपनी म झोराहाटको थिइन तेह्रथुम मोराहाङको थिएँ । पुर्ख्यौली थात थलोले हामीलाई नछोड्ने रहेछ । झोराहटमा हाम्रो सय वर्षको इतिहास  भएपनी हामी अझै झोराहाटको हुन सकेका थिएनौ ।
           कार्यक्रममा कविताको क्रम चली नै रहेको थियो । मैले हामीसँगै छ हाम्रो परिचय शीर्षक कविता सुनाए।
 छोडिए पनि सबै कुरा
 छोडिएन आफ्नो पहिचान
 आफ्नो जातिको गौरव गाथा    छोडिएन पुर्खाले लडेको वीरताको कथा
अहिले हामीसँगै छन्
दशैको मेला र तिहारको देउसी
हामीसँगै छन् सिलि र साकेलाहरु
रोदीको मादल र ल्होसारको गीत
हामीसँगै छन्
हामीले पुज्दै आएका देवी-देउता
गायत्री मन्त्र मुन्धुम र पालमहरू
आमाको माया हामीसँगै छ
बाबाको भरोसा हामीसँगै छ
साथीको साथ र मायालुको हात
हामी सङ्गै छ ।
       त्रिवेणी साहित्य मञ्चले ह्यारिसबर्गमा साहित्यिक अभियान चलाई रहेको छ । अग्रजलाई सम्मान  गर्ने तिनका योगदानलाई सम्झने काम निरन्तर गरिरहेको छ । विशेष अतिथि कुल न्यौपानेलाई त्यस अवसरमा दोसल्ला ओढाएर मञ्चका अध्यक्ष केशव वैरागी माइलो र ब्राइडहुड  डे केयर सेन्टरका तर्फबाट नेत्र आचार्यले  सम्मान गरेको थिए । कार्यक्रमको निरन्तरता सङ्गै सहभागी सबैलाई खाजाको प्रबन्ध मिलाइन सुधा खतिवडाले । हार्दिक आत्मीयताका साथ उनले सबैलाई खाजामा सहभागी गराइन । अग्रजप्रति उनले दर्साएको सम्मानले सबै हर्षित देखिन्थे ।
             खाजा पश्चात् अर्को आकर्षक कार्यक्रम थियो शताब्दी पुरुष मनोरथ तिम्सिनाको जन्मोत्सव । १ सय वर्षका यी ज्येष्ठ नागरिकको सम्मानमा फुर्बा तामाङले बाँसुरीबाट मङ्गल  धुन बजाए भने  उपस्थित सबैले मङ्गल मन्त्रोच्चारण गरे । मनोरथ तिम्सिना पिता छविलाल तिम्सिना र माता देवका तिम्सिनाका माइला सुपुत्रका रूपमा १९२५ नोभेम्बर १ तारिख भुटान राज्यको चिराङ लब्सिबोटेमा जन्मनु भएको थियो । भुटानमा एक इमानदार कृषकका रूपमा परिवारको पालन पोषण गर्दै आउनु भएका मनोरथ सन् १९९२ मा शरणार्थीका रूपमा नेपाल प्रवेश गर्नु भयो । ३ छोरा र ४ छोरीका पिता उहाँ २००९ मा पुनर्वासको क्रममा अमेरिका आउनु भएको हो । पेन्सिलभेनिया राज्यको मुख्य सहर ह्यारिसबर्ग निवासी तिम्सिना सादा जीवन र उच्च सोच भएका एक अध्यात्मवादी  व्यक्तित्व हुनुहुन्छ । एक सय वर्षको उमेरमा पनि सचेतता पूर्वक कुरा सुन्ने र जवाफ दिन सक्ने क्षमता हुनु आफैमा गर्वको विषय हो । यस्ता शताब्दी पुरुषको जन्म तिथि पारेर सम्मानको कार्यक्रम आयोजना गरेर ब्राइडहुड एडल्ट डे केयर सेन्टर र त्रिवेणी साहित्य मञ्चले सह्रानीय काम गरेको छ । शताब्दी पुरुष मनोरथ तिम्सिनाको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरौँ र उहाँहरू हिँड्नु भएको सत मार्गमा हिँड्ने प्रेरणा प्राप्त गरी रहूँ । मेरो पनि सतसत नमन सहित जन्मदिनको यस अवसरमा शुभकामना !
          मैले मनमनै सोचेँ । समाजमा रहेका यस्ता सामाजिक संस्थाहरूले भाषा र साहित्यलाई यसरी महत्त्व दिएर साथै हिँड्ने हो भने हाम्रो भाषा मर्ने थिएन । सर्जकहरू हराउने थिएनन् । अग्रजका भावना सुन्ने र बुझ्ने अवसर मिल्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *