बिचरा बाबा-आमा
तारा दाहाल
ओहायो, अमेरिका
मैले भूटानमा कक्षा आठ सम्म अध्ययन गरेको हुनाले भूटानको परिवेश राम्ररी जान्दछु । मेरो जन्म साम्ची जिल्लाको एक दुर्गम गाऊ दोरोखामा भएको हो । म दक्षिण भूटानका साम्ची, फून्छोलिंग, सरभाङ, गेलेफू, चिराङ्, दागानाका धेरै ठाउँहरू घुमेको छु । त्यस कारण पनि भूटानमा रहँदा हाम्रा बाबा-आमाको स्थिति कस्तो थियो भन्ने मलाई राम्रो ज्ञान छ । साम्ची, सरभांग, गेलेफू, साम्ड्रुपजोंखरका केही भागहरू बाहेक सबै पहाडी क्षेत्रमा पर्छन् र ती पहाडी क्षेत्रको जनजीवन पूर्व साम्ड्रुपजोंखरदेखि पश्चिम साम्चीसम्म उस्तै उस्तै भएको हुनाले मेरो दोरोखाको कथाले अधिकांशको कथा बोल्छ भन्ने लाग्छ । यद्यपि दक्षिण भागका सुगम ठाउँहरूको परिवेश भने नमिल्न सक्छ ।
दोरोखाको नजिकैको हाट साम्ची बजार पुग्न हिँडेर १२ घण्टदेखि १८ घण्टसम्म लाग्थ्यो । अहिले हिँड्ने हो भने त दुई-तीन दिन नै लाग्ला । दोरोखामा न त कल-कारखाना नै थिए न व्यापार व्यवसाय । मानिसको जीविकोपार्जन खेतीपाती थियो । साम्ची बजार जाँदा एउटा चमर्ची खोलो २५ पटक तर्नु पर्थ्यो । हिउँद याममा सुन्तला बोकेर वर्षभरिका लागि नुन, तेल जोहो गर्नु पर्थ्यो किनभने बर्खा लागेपछि उक्त खोलो बडेर तर्न नसकिने हुन्थ्यो । कहिलेकाहीँ हिउँद (जाडो याम) नआउँदै मटितेल सकिन्थ्यो र दाउराको आगाको उज्यालोको भर पर्नु पर्थ्यो । वैशाखदेखि कार्तिकसम्म हाट-बजार आवतजावत प्राय ठप्पै हुन्थ्यो । गाडी बाटो, बिजुली हुने कुरै भएन । बर्खा (गर्मी याम) भरि मानिसहरू धान, कोदो, मकै, सुन्तला, अलैँची आदि रोप्न र गोडमेल गर्न व्यस्त हुन्थे । हिउँद लागेपछि बल्ल मानिसको चहलपहल शुरू हुन्थ्यो । दोरोखामा एउटा प्राथमिक विद्यालय, एउटा हेल्थ पोस्ट, र सरकारी कार्यालयमा एउटा डुङ्पा अफिस, दूर सञ्चार, हुलाक सेवा, पशुपालन, वन-जङ्गल संरक्षण, प्रहरी पोस्ट र भूटान खाद्य निगमका अफिसहरू थिए । त्यस्तै दुई-तीन वटा स-साना पसलहरू थिए ।
रोड नभएपछि खेतीपातीका लागि आधुनिक औजारहरूको प्रयोग हुने कुरा कल्पनाभन्दा बाहिरको कुरा भयो । सबै काम आफ्ना हात-खुट्टा र बलमा निर्भर थिए। साधारण बिरामीका लागि एउटा सानो हेल्थ पोस्ट थियो तर गम्भीर बिरामीलाई भने डोकामा बोकेर सामची हस्पिटलसम्म ल्याउनु पर्थ्यो । त्यसैले नजिकै र सुलभ किसिमले उपलब्ध हुने धामी-झाँक्री नै हुन्थे डाक्टरहरू ।
मेरा बाबा-आमाको म चौथो सन्तान हुँ । हामी नौ जना दाजु -भाइ, दिदी-बहिनीहरूको जन्म दोरोखामा नै भएको हो र हामीलाई आमाले घर मै जन्म दिनु भएको हो; कुनै नर्स-डक्टरको सहायता बिना । मेरो कान्छो भाइ जन्मिएको मलाई राम्ररी थाहा छ । त्यो दृश्य क्यामराले खिचेको भिडियो जस्तो मेरो दिमागमा नमरुन्जेलका लागि कैद भएको छ र त्यस्ता दृश्यहरू अरू छिमेकी आमा, हजुरआमा र दिदीहरूको पनि देखेको छु ।
कान्छो भाइ हाम्रो घर नजिकैको खेतको रोपाइँका दिन जन्मिएको हो । आमा दिन भरी रोपाइँमै व्यस्त हुनुहुन्थ्यो । बेलुका साँझ परेपछि सुत्केरी व्यथाले च्यापे छ । बाहिर पेटीमा सुतेर मलाई गारो भन्नु भयो । बाबाले एक जना बहिनीलाई छिमेकी माहिली माइजूलाई बोलाउन पठाउनु भयो म चैँ धन्कुटे मालदाजुलाई लिन दौडिएँ । मालदाजुका साथमा धन्कुटेनी आमै पनि आउनु भयो । माइजूले आमालाई समाती रहनु भएको थियो । मालदाजुले एउटा झर्के थालमा अलिकति अक्षता मगाउनु भयो र झाँक्री भाषाबाट हेनेमेने थाल्नु भयो । हाम्रा लागि ज्वरो आउँदा सिटामोल पनि तिनै धन्कुटे मालदाजु, झाडा पखाला लागेर उँभै उँधै हुँदा पनि तिनै माल्दाजु, आमालाई सुत्केरी व्यथा लाग्दा पनि तिनै मालदाजु र बाबालाई भुँडी दुखेर सिकिस्त हुँदा पनि तिनै धन्कुटे मालदाजु । यसरी हामीले बिना शुल्कका चिकित्सक पाएका थियौँ मालदाजुलाई । केही बेरपछि भाइको उहाँ उहाँ आवाज आयो । आमाले लामो सास फेर्नु भयो । हामी छोरा छोरी वरिपरि उभिएर हेर्न सिवाय के नै गर्न सक्थ्यौ र । ऐले जस्तो भएको भए ९११ मा फोन गरेर हस्पिटल पुग्दा बिरामीलाई कति सान्त्वना मिल्थ्यो होला ।
भाइ जन्मिसकेपछि नाभि काट्नका लागि बाबाले दारी काटेर बलेँसीमाथि छानामा सिउरेको ब्लेड ठुलदाजुले धनकुटेनी आमैका हातमा दिनु भयो । कहिलेदेखि छानामा सिउरेको खिया लागेको ब्लेडले नाभि काट्दा कतिको सुरक्षित हुन्थ्यो होला हाम्रो जन्म ! यस्तै खिया लागेको हतियारले नाल काटेर जन्मिएका हुन् भुटानका भूत पूर्व शिक्षा मन्त्री ठाकुरसिङ् पौडेल, सञ्चार मन्त्री डि. एन. ढुङ्गेल, वर्तमान मन्त्री लोक नाथ शर्मा, डा. कृष्ण दाहाल, डा. गुरु ढकाल, डा. छवि अधिकारी, डा. शिव भट्टराई, डा. तेज नाथ नेपाल र दोरोखामा जन्मिएका अन्य धेरै बुद्धिजीवीहरू ।
बच्चा जन्मिएपछि धेरै बेर सम्मपनि नाभिसँगै जोडिएर आउने- वस्तु आएन । आमैले नाङ्लोमा पानी हल्लाएर प्याउनु भयो, मालदाजुले फेरि धामी मेलोबाट पानी फुकेर दिनु भयो, बाबाले पुरेत मेलोबाट । निक्कै रात परिसक्यो । मट्टितेलको धिप्री बालेर बाहिर बलेँसीमा हामी आमालाई हेरेर उभिइ रह्यौँ । धेरै बेरपछिको झारफुक पछि काम पुरा भयो । आमालाई मृत्यु नै जिते सरह भयो होला। सुत्केरीलाई सुत्नका लागि भित्र अगेनुका छेउमा बाबाले पराल ओछ्याउनु भयो र त्यसमाथि हामीले पुराना थाङ्नाहरू ओछ्याएर भुइँमा ओछ्यान तयार पार्यौ । उस बेला बाबाहरूले न्वारन नगरुन्जेल बच्चा र आमालाई छुँदैन थिए । ऐले त पहिला हस्पिटलमा नर्सहरूले आमालाईभन्दा पहिलै बाबाका हातमा बच्चा थमाइ दिन्छन् । हामीले ओछ्यानका छेउमा आगो बालिदियौँ । आमाले भाइलाई काखमा राखेर तेल लगाउनु भयो । अनि आफ्नो स्तनपान गराएर न्यानो बनाएर सुताउनु भयो । बहिनीहरूले बाबाको निर्देशनमा ज्वानाको झोल र खाना तयार गरे । आमाले घिउ भात तातो झोलसँग खाएर भुइँमा परालमाथिको ओछ्यानमा सुत्नु भयो । ऐले जस्तोहस्पिटलको सबै सुविधा सम्पन्न नरम बेडमा हाम्रा आमा, हजुर आमाहरूले कहाँ सुत्न पाएका हुन् र ! त्यसपछि भोलिपल्टदेखि भाइको दिशा-पिसाब सफा गर्ने, लुगा-कपडा धुने काम आमा आफैले गरेको हो । छोरा मान्छेलाई त छुन हुन्न सम्म भन्थे । यस्तै कष्ट सहेर हामी नौ जनै सन्तानलाई आमाले हुर्काउनु भएको हो । दिनभरिको मेला-पात, बिहान-बेलुकीको घरको धन्दा अनि कैयौँ रात बच्चा रोएर ननिदाई बिताएका रातहरू हामीलाई आमाले कहिल्यै नभने पनि राम्ररी देखेका छौँ । होला कतिले देखेर पनि नदेखे जस्तो गरेका छन्, कतिले बिर्सिसके तर यथार्थ यही थियो ।
उता बाबाको कहानी बेग्लै थियो । मैले थाहा पाउँदासम्ममा त ठुलदाजुले बाबालाई धेरै काममा सहयोग गर्नु हुन्थ्यो । तर म कल्पना गर्छु दाजु र दिदी अलि ठुलो नहुन्जेल बाबा-आमाको हालत के थियो होला । आफ्ना खेतमा उब्जाएको अन्नले नपुग्ने भएकाले नाम्चे डुक्पाको खेत कमाएका थिए । वर्षभरि कमाएको अन्नले नपुगेर बेलाबेला नाम्चु खोलापारि दुम्ते पानबारीको घरबाट मकै ल्याएर खाएको पनि मलाई थाहा छ । भूटानमा रहँदा यस्तै दु:ख गरेर छोराछोरीलाई हुर्काएका थिए अधिकांश बाबा आमाले । मेरो कथालाई यहि बिट मारेर मैले जोड्न खोजेको प्रसंग तिर जाऊ ।
१९९० को आन्दोलनले बसिरहेको थात थलो छोड्नु पर्यो । जेनतेन दुःख गरेर जोडेको सम्पत्ति छोड्दाको पीडा कति भयो होला । त्यसपछि सुरु भयो जीवनको अर्को अध्याय – शरणार्थी क्याम्पको दुखदायी भोगाई । आफ्नै खेतबारीमा उब्जाएर खाइरहेको अर्ग्यानिक खानाको बाबजुद संस्थाले खटाएर दिएको दुई छाक खाना थापेर खानु पर्ने भयो । छोरा-छोरीलाई फलफूल, माछा-मासु र लगाउने कपडा कसरी जोहो गर्ने अर्को तनाव सुरु भयो । हुनेले केही रकम लिएर आएका थिए तर केही नहुनेको बिल्लिबाठ नै भयो । बाबा-आमाको मन न हो आफ्ना छोराछोरीलाई बेला-बेला मिठो मसिनो र नयाँ लुगा कपडा किन्दिन मन लाग्दो हो । त्यसैले गाउँतिर ज्याला-मजदुरी गर्न शिविर बाहिर जान थाले । कोही धान काट्न त कोही घरको काम सघाउन । कति बाबाहरू बागलुङमा बाटो खन्न गए भने कति भारतमा कोइला खानीसम्म पुगे । यसरी अनेक दु:ख गरेर भए पनि आफ्ना नानी-बाबुहरूलाई स्कुल पढाए ।
२००७ मा तेस्रो देश पुनर्स्थापनाको हल्ला सुरु भयो । २००८ बाट त प्रक्रिया नै सुरु हुने भयो । त्यो पनि आफूले घुमेको जानेको देश नभएर कतिले त नामै नसुनेको बिलकुलै नयाँ ठाउँ जानु पर्ने भयो । आफ्नो भाषा, रहन सहन, खान पिन केही नमिल्ने देश हिँड्नु पर्ने बाध्यता आई लाग्यो । हामीलाई गारो भएर के भयो त छोरा छोरीको भविष्य त बन्छ अनि उनीहरूले हाम्रो रेखदेख गर्लान् नि त भन्ने ठुलो आड भरोसाले यु. एन. एच. सी. आर अफिसमा अमेरिका, क्यानडा, अस्ट्रेलिया जहाँ लगे पनि जाने फारममा सही छाप गरिदिए । नेपालका राजा राम शाहका पालामा हाम्रा जिजु बाजेहरूलाई ताम्रपत्र गरी नेपालबाट भूटान लगेको अरे भनेर कथा सुनाउने बाबा-आमाहरूले आज आफैँ सही छाप गरी तेस्रो देश पुनर्स्थापनाको बाटो रोज्नपुगे । अधिकांश बाबा-आमाको मन थिएन तर छोरा-छोरी, नाति-नातिनाको भविष्य सम्झेर नचाहँदा नचाहँदै सम्झौता गरे ।
अब सुरु भयो नयाँ ठाउँको नयाँ जीवन । म आफू पनि अमेरिकामा भएकाले यहाँको वस्तुस्थिति चित्रण गर्न चाहन्छु ।
अमेरिका आएपछि सुरुका केही महिना ल्याएका सङ्घ संस्थाले रेख देख गरे । काम गर्न सक्नेलाई काम खोजी खोजी लगाई दिए । स्टेटको नियम अनुसार ६०/६५ वर्ष भन्दा माथिका बाबा आमाको सामाजिक सुरक्षा मार्फत प्रदान गरिने भत्ता उठाई दिए । सरकारबाट पाउने सुविधा बारे जानकारी गराए । सुरुका केही वर्ष वृद्ध-वृद्धाले पाउने भत्ता र खाने कुरा किन्ने फुड स्ट्याम्प बारे मात्र थाहा थियो । भत्ता कै लागि पनि कति बाबाआमाको खोसाखोस हुन लाग्यो । बाबाआमा बसेको घरमा आफ्ना छोराछोरीको हेरचाह गरिदिने र घरभित्रको सारा काम पनि गरिदिने भएकाले आफू काममा जान सजिलो भयो । घरको हेरचाह हुने, भत्तामार्फत आम्दानी हुने, फुड स्ट्याम्प आउने अनि फेरि आफू बाहिर पुरै काम गर्न भ्याउने भएकाले जसले पनि बाबा आमालाई आफ्ना घरमा राख्न तँछाडमछाड गर्न थाले । बिचरा बाबा-आमाका लागि सबै सन्तान बराबरी न हुन् । कति बाबा-आमा त छोरा-छोरीको खुसीको लागि छुट्टाछुट्टै पनि बसि दिए ।
यो कुनै कल्पनाको कुरा होइन । यथेष्ट प्रमाण भएका घटना हुन् । बिस्तारै छोरा-छोरीलाई, घरमै बाबा आमाको रेखदेख गरेबापत पाइने केयरगिभर बारे जानकारी भयो । आफू बसेका स्टेटमा स्टेटको नियम अनुसार दिनको २ घण्टदेखि लिएर १०-२० घण्टसम्म घरमै रोजगारीको अवसर मिल्यो । धेरै वटा स्टेटमा हाम्रै दाजुभाइ, दिदी-बहिनीहरूले होमकेयर खोलेर सेवा दिने काम शुरू गरे । कुनै कुनै स्टेटमा बाबा-आमा साथमा हुनेले बाहिर काम गर्न जानु नै नपर्ने भयो । त्यसपछि शुरू भयो आन्तरिक बसाइसराइ । जुन स्टेटमा धेरै घण्टा केयरगिभर मिल्छ त्यतैतिर वृद्ध बाबा-आमालाई डोर्याएर बसाइसराइ हुन थाल्यो । वर्षौँ लगाएर बनाएका छिमेकी र आफ्नै दाजु-भाइ दिदी-बहिनी छोडेर छोरा-बुहारीको खुसीका लागि बाबा-आमाले फेरि कुम्लो कुटुरो कस्नु पर्यो । यतिमा मात्र सीमित भएन । अब बाबा आमाले धेरै घण्टा केयरगिभर पाउनका लागि धेरै बिरामी हुनु पर्ने भयो; कतीले त आफ्नो मानसिक सन्तुलन गुमेको नाटक गर्न समेत पछि परेनन् ।घरमा केयरगिभरको समय बिरामीको अवस्थालाई हेरेर राज्यको मेडिकेट विभागले डक्टरको सिफारिसमा निर्धारण गर्ने हो । को कति अशक्त छ त्यसकै आधारमा निर्धारण हुने हो; न कि कुनै उमेरको आधारमा । त्यसैले अब यहाँ जो धेरै अशक्त छ उसको घण्टा धेरै हुने भयो । केका लागि केयरगिभर दिने भन्दा बिरामी आफैँले औषधी चिनेर खान नसक्ता- औषधी खुवाउन, बसेका ठाउँबाट उठाउन, दिशा-पिसाब गराउन, खाना बनाएर खुवाउन, सुताउन, उठाउन, घर सफा राख्न, कपाल कोर्न, नङ काट्न, लुगा कपडा धुन इत्यादि । कति वृद्ध बाबा-आमा साँच्चीकै अशक्त हुनुहुन्छ त्यसको त सवालै भएन तर विडम्बना नै मान्नु पर्छ कतिको चैँ माथिका धेरै कुरामा सक्छ्याम हुदाहुदैपनि अधिकतम घण्टा माग गरेको पाइन्छ ।
धेरै घण्टा केयर गीभर पाएपछिको नकारात्मक पाटोपनि हेर्न आवश्यक छ । जति धेरै हेर्ने समय दिएको छ त्यति धरै समय नै बाहिर निस्कन, हिँडडुल गर्न बन्देजमा पर्न सक्छन् । उता उठ्नै सक्तैन भनेर केयरगिभरको तनखा लिएपछि यता बाहिर कतै हिँडडुल गरेको सम्बन्धित निकायले थाहा पाएका खण्डमा केअर गिभरको घण्टा घटाउने भयो । त्यसैले छोरा-छोरी जसले बाबा, आमा, हजुरबा हजुर आमाको रेखदेखको कमाई पाइरहेका छन् उनीहरूले बाबा आमालाई बाहिर जान निषेध गर्ने नै भए । यो सबैमा लागु भएको छ भन्ने चैँ पटकै होइन तर कतिपय ठाउँमा पक्कै छ । धेरै बाबा आमाले मसँग गुनासो पोखेका छन् । कति छोरा-छोरी ले त आफूले भनेको बाबा-आमाले नटेर्दा उहाँहरूसँग बोल्नै छोड्ने र वृद्ध अवस्थामा पुगेका बाबा-आमालाई असहयोग गर्ने गरेको समेत पाइएको छ । आफैँले गाडी कुदाएर कतै जान नसक्ता, भाषाको कठिनाइले बाहिरका अरू मानिसहरूसँग घुलमिल हुन नसक्ता र ती नै छोरा-छोरीको आडमा बाच्नु पर्ने भएकालेपनि उनीहरूले जे भन्छन् त्यही गर्नु पर्ने बाध्यतामा अडिरहेका छन् कति हाम्रा बाबा आमा ।
त्यसैले मेरो देखाइमा हाम्रो समाजमा सबैभन्दा पीडित हाम्रा बाबा-आमा हुन् भन्ने लाग्छ र छोरा-छोरीका लागि बाबा-आमाले कतिसम्म आफूलाई बलिदान दिन सक्छन् भन्ने पनि यहाँबाट छर्लङ्ग हुन्छ । यो धारणा कसै प्रति लक्षित छैन तर यथार्थपरक चैँ पक्कै छ । हामीलाई हाम्रा बाबा-आमाले जसरी भए पनि हुर्काए अब हाम्रा छोरा-छोरी हामी आफैँले हुर्काउन सक्नु पर्छ । हामी सानो हुँदा जस्तो थियो त्यस्तै पकाएर खुवाए अब हामीले पकाएर दिनु पर्छ; आफू तास खेलेर बसेकै ठाउँमा आमा, हजुर आमालाई चिया खाजा ल्याउन लाउन होइन । उहाँहरूले सकुन्जेल हिँड्न डुल्न र वर पर आफन्तसँग भेट् घाट गर्न सहज वातावरण बनाईदिन आवश्यक छ । ढोकाको चुकुल लगाएर चौविसै घण्टा घर भित्र राख्नु कतिपनि मानविय व्यवहार हुन्न । मरेपछि सामाजिक सञ्जालका भित्तामा विलौना पोख्नुको साटो आफूसँग हुँदै माया र सेवा गर्नु पर्छ भन्ने हो । उहाहरूलाई हेर बिचार गर्न जति समय दिएको छ त्यो समय उहाहरू कै रेख देख मा बिताउने हो भनेपनि बृद्ध अवश्थामा सुखी र खुसीसाथ यो नौलो ठाऊमा बिताउने थिए ।
मैले भूटानदेखिको कथा यस कारणले समेट्न खोजेको हो कि त्यस्ता छोरा-छोरी जसले आफ्ना बाबा आमाले गरेको दुःखको अवमूल्यन गरी अझै पनि उहाँहरू मार्फत कमाउने अनि उहाँहरूलाई नै घर भित्र राखेर आफू क्यासिनो, तास र विश्व भ्रमणमा निस्किन लाग्दा एक पटक आफ्ना घरमा भएका वृद्ध बाबा-आमाको दुःखै-दु:खले भरिएको चाउरी परेको अनुहार हेरुन् ।