साहित्य के हो?

गत शनिबार म मेरो एकजना साथीसँग मैले उनीसँग फेसबुकमा सेयर गरेको एउटा निबन्धबारे राय लिनका  लागि गफ गर्दै थिएँ। उनी धेरै साहित्य पढ्ने पाठक हुन् अनि एक राम्रो लेखक पनि। उनको अन्तिम टिप्पणी अझै मेरो मनमा बसिरहेको छ: “यो बौद्धिक लेख हो, उच्चस्तरीय सांस्कृतिक जर्नलमा छाप्न लायक छ तर त्यति साहित्यिक भने छैन।”

शिल्प हुनु अपरिहार्य छ; यसमा हामी दुवै सहमत थियौँ। तर शिल्प भनेको सजावटी लेखन मात्र होइन भनेर मैले जोड दिएँ। भाषामा आत्मा हुनुपर्छ भन्ने कुरामा उनी अडिग थिए। “हो,” मैले भनेँ, “तर साहित्य हुनका लागि मीठो भाषा पूर्वशर्त न हुनु पर्ने हो ।”

मेरा लागि शिल्प भनेको लेखकले आफूले भन्न खोजेको कुरा र भन्ने तरिकालाई जोड्ने एउटा क्षमता हो: बिम्ब, संयम, नलेखिएका शब्दहरू, पूर्व सङ्केत र सुराकहरू, कहिले अलङ्कार, कहिले पुनरावृत्ति। सुन्दर सुनिनु तीमध्ये एउटा औजार मात्र हो। त्यो आफैँमा शिल्प होइन।

तीन हप्ताअगाडि शुक्रबारको रात हामी सधैँ जसरी फ्लस खेलिसकेपछि टेबलमा बसेर देवकोटाको के नेपाल सानो छ? पढ्दै थियौँ । मेरो दाजु ठूलो स्वरले पढ्दै हुनुहुन्थ्यो; बीचबीचमा केटाकेटीलाई शब्दहरूको अर्थ पनि बुझाउँदै हुनुहुन्थ्यो। भाउजू र मेरी श्रीमती पनि त्यहीँ थिए। म सुन्दै थिएँ र भाषाको लालित्यमा मन्त्रमुग्ध हुँदै थिएँ। तर जति कोसिस गरे पनि शेक्सपियरले मनाङमा खेत जोतेको कल्पना गर्न म सकिरहेको थिइनँ। मेरी छोरी फोनमा क्यान्डी क्रस खेल्न थालिसकेकी थिई।

“यो निबन्ध त हाम्रो नौ कक्षाको पाठ्यपुस्तकमा थियो ! त्यति बेला मैले के बुझेँ होला?” दाजुले सुस्ताएर भन्नुभयो। “मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन,” म भित्रभित्रै मुस्कुराएँ।

मेरा ती साथीसँग गफ भएकै साँझ म हेडफोन घरमै छाडेर दौडिन निस्किएँ। आज अर्कै प्रश्नमा मन अल्झिएको थियो: साहित्य के हो? ‘सहित’बाट आएको शब्द साहित्यमा शब्द र अर्थको सहि संयोजन हुनुपर्छ । ती शब्दहरू सुन्दर भएको राम्रो तर अर्थ नबोकेका सुन्दर शब्दहरूले साहित्यमा के रंग भर्छन् होला ! 

घर पुगेर पसिनाले गन्हाएका लुगा नफेरीकनै श्रीमतीसँग डराउँदै-डराउँदै नयाँ सोफामा बसेर म शङ्कर लामिछानेको “एब्स्ट्र्याक्ट चिन्तन: प्याज” पढ्न थालेँ। यो मेरो पहिलो पढाइ थिएन।

समाचारहरूको सूचीले निबन्धको झन्डै तीन पाना भरेको थियो: मनरोको आत्महत्या, ह्यामरसोल्डको मृत्यु आदि, आदि…। तीसभन्दा धेरै कुराहरू। एउटै अनुच्छेदमा ‘रोज’ दस पटक आउँछ। अन्त्यतिर प्याजको सजीव तस्बिर आउँछ: रङ्गहीन, पत्रैपत्रले मोडिएको, अनन्त दुर्गन्ध र गहिराइ। अनि उनी त्यसलाई व्याख्या गर्छन्।

त्यो सूचीले के भनिरहेको थियो म बुझ्न सकिरहेको थिइनँ। सायद यो सब उनले पढेका सबै कुरा देखाउनका लागि रखिएको थियो । सायद सूची थुपारिनुको कारण प्याजजस्तै पत्रपत्र गरेर केही कुरा देखाउनु थियो। सायद यसो सोच्नुमा मेरो अधैर्यको पनि ठूलो भूमिका छ।

नुहाउँदा एसएलसीमा मैले नेपालीमा ल्याएको पचास अङ्क सम्झेँ। मैले पर्याप्त नेपाली साहित्य पढेको नै कहाँ छ र! अनि अलङ्कारहरूको अनावशयक प्रयोग मैले पनि त गरेकै छु।Eats, Shoots & Leaves पढेपछि आफ्ना वैज्ञानिक लेखनमा भरेका सजावटी शब्द र विराम चिह्नहरू जर्नलका सम्पादकहरूले काटिदिएको प्रसङ्ग सम्झेँ।  अहिले भएको भए च्याटजीपीटीले लेखेको भन्थे होला। 

स्नातकोत्तर गर्दैगर्दा म विज्ञान-लेखनसम्बन्धी किताब खुबै पढ्थेँ। त्यही बेला प्रथम पुरुष र कर्तृवाच्यमा लेखेकाले मेरो एउटा असाइनमेन्ट नै अस्वीकृत भयो। अङ्क पाउनका लागि मैले पूरै लेख कर्मवाच्यमा लेखिदिएँ ! स्पष्टता र विज्ञान फितलो भयो तर मेरो राम्रो अङ्क आयो !

म परीक्षकलाई खुसी पार्ने विद्यार्थी थिएँ । देवकोटा एक असाधारण प्रतिभाका लेखक हुन् । तैपनि म सोच्छु देवकोटाले पनि आफ्नो दक्षता र कलात्मकता देखाउनका लागि उबेलाको प्राज्ञिक समाजले चिन्ने अलङ्कृत शैलीमा लेख्नुपरेको त थिएन ? उनले बचाउन चाहेको कृति त झ्याउरेमा लेखिएको सरल मुनामदन हो अरे !

म लामिछानेले जोड्ने सन्दर्भहरूमा उनको बौद्धिकता प्रस्टै देख्छु: दुई सिमानाबीचको दश-गजा जमिन, कसैले नपुज्ने तर सार्न खोज्दा रगत माग्ने त्यो ढुङ्गा, प्याज। 

कुनै बेला प्रतिष्ठित लेखकहरूले आफूलाई प्रमाणित गर्न अपनाएका तरिका नै सबै लेखकले पालना गर्नु पर्ने अकाट्य नियम बनेको  छ जस्तो लाग्छ मलाई। नत्र भने किन विद्वानहरूलाई मुग्ध पार्न लेखिएको निबन्ध नौ कक्षाका विद्यार्थीहरूलाई पढाइन्छ? किन सरल भयो भनेर अर्थपूर्ण लेखलाई पनि साहित्य मानिँदैन? प्रमाणको आवश्यकता सकिए पनि प्रमाण बाँचिरहन्छ र पुनरावृत्तिले त्यसलाई नियम बनाउँछ। त्यही भएर एउटा लेखमा दस पटक एउटै कुरा भन्न रुचाउँछौँ होला हामीहरू।

साहित्य के हो ठ्याक्कै भन्न सक्दिनँ। क्लिष्टता, सुन्दरता, बौद्धिकता वा सुलभता एक्लैले मात्र कुनै लेखनलाई साहित्य बनाउँदैन। साहित्यमा स्थापित मानिएका निशानहरूलाई नै साहित्यको मानक ठान्नु भूल हो।

आज यो निबन्ध टुङ्ग्याउँदै गर्दा यो हप्ता साहित्यपोस्टमा छापिएका गैरआख्यानहरू पढेँ । हरेक लेखनमा मन छुनेपङ्क्ति चाहिँ सरल नै थिए। सबैभन्दा माथि, परशु प्रधानका यी पाँच शब्द!

बाह्रपल्ट पढ्छु आफ्नो नाम छैन। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *