समयको इतिहास

 

समयको इतिहास
डा.गोविन्द रिजाल

जिउँदाले मरेकालाई जलाएको इतिहास
बलियाले लङ्गुरालाई कुटेको मिठास
धनीले गरिबलाई दबाएको हिसाब
मान्छेले मान्छे लुटेको उपन्यास
तानासाहीले जनतालाई दिएको निसाफ
यो हो समयको इतिहास

यहाँ मान्छे बाँध्न हतकडी र नेलछन्
मान्छे छेक्न ब्यारेक र जेलछन्
मान्छे मार्न मान्छेकै टोलीछन्
मान्छे सखाप पार्न बम र गोलीछन्
निमुखाको निसाफ हुन्न
पैसामा न्याय लेख्छन्
आफ्नो गर्धन जोगाएर
अरूको घाँटी रेट्छन्
यसैलाई भन्छन् दानवको विकास
हो समयको इतिहास

धनीको भरी छ र्‍याल
गरिबको चुहुँदै छ राल
नेता दिँदैछन् ताल
विश्वलाई लाग्छ अनिकाल
कसले मेट्न सक्छ कलङ्कको बात
हो समयको इतिहास

मान्छे बाँधिन्छ नेलमा, इतिहास बाँधिँदैन
मान्छे थुनिन्छ जेलमा, इतिहास थुनिँदैन
मान्छे गाडिन्छ चिहानमा, इतिहास गाडिँदैन
मान्छे जल्दछ चितामा, इतिहास जल्दैन
समयले दिन्छ कान
समयले दिन्छ तान
समयले ल्याउँछ बिहान
समयले खन्छ चिहान
समयले दिन्छ साहस
यो हो समयको इतिहास

 

(डा. गोविन्द रिजालको डायरीबाट, नोभेम्बर ३०, १९९५ : सौजन्य डा. शान्ता कार्की)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *