सात नमुना बस्ती

वासु पोख्रेल
ओहायो अमेरिका

सेताम्मे हिउँको टोपी लगाएर उत्तर पट्टि अटल रहेको हिमालयको काखमा रही सात प्रदेश र सतहत्तर जिल्लामा प्रशासन विकेन्द्रीकरण गरिएको सुन्दर र शान्त नेपालको पूर्वीय भागमा रहेका झापा र मोरङ अनेकतामा एकता भएका जिल्ला हुन्। यिनै दुई जिल्लाका विभिन्न ठाउँमा रहेका सात शरणार्थी शिविर छुट्टै पहिचान बनाएका प्रेरणाका उद्गम स्थल हुन्।  पङ्क्तिबद्ध मिलेर चिटिक्क परेका घर, चौबाटा र सात दोबाटाका अनगन्ती सङ्गम, चारै कुना जोडिने हुलाकी बाटाहरू, र स्वछ वातावरण भएको शिविरको बनावट ठुलै महानगर भन्दा कम नभएको एक अघोषित नमुना वस्ति नै थियो।

शिविर भित्र आन्तरिक विवादरहित बसाइँ र स्थानीय गाउँलेसँग मोबाइल फोन र सिम कार्डको प्राविधिक सम्बन्ध जस्तै मेलमिलापले हाम्रो मिलनसारताको परिभाषा जलाएको थियो। नाटक मञ्चन, कविता गोष्ठी, नाचगान र पुराण वाचन प्रशस्तै मात्रामा हुने त्यस ठाउँमा जनचेतना र धार्मिक सहिष्णुताको सगरमाथा नै थियो। हिन्दु, बौद्ध र इसाई   धर्मावलम्बीको एउटा साझा आँगनमा हुने जमघटले भाइचारा र मानव सव्यताको पाठ सिकाएका थिए।

आरोह-अवरोह, उकाली-ओराली पार गर्दै, दायाँ-बायाँ देखा पर्ने हरियाली चिया बगानलाई मुटु भित्र सजाउँदै वर्षमा एक पटक आलोपालो टिमाई,  खुदुनाबारी, बेलडाँगी, पथरी  वा गोल्धापको परिक्रमा गर्दै भ्रमणको भोकलाई तृप्त पार्ने यहाँका  बासिन्दा कर्तव्य निष्ठा थिए|

एकाथरी मानिसले शरणार्थी शिविरलाई रुढीवादी परम्पराको उद्गम स्थल हो भन्ने गर्थे|  तर, त्यसै हो भनेर पुष्टि गर्ने दरिलो प्रमाण भने केही थिएन | त्यस ठाउँमा  त अनुशासन एक अनौठो कडी थियो | हत्या, हिंसा वा बलात्कारका समाचार सुन्न वा पढ्न: नपाइने त्यस ठाउँमा धार्मिक प्रवचन, नाटक मञ्चन र नाचगानका कार्यक्रम भने प्रशस्तै हुने गरेका थिए | अर्का थरीका मानिसले यातायातको असुविधा औँल्याउँदै दुर्गम बस्तीको संज्ञा दिन्थे | विज्ञानको पुल्ठो सल्काएर आधुनिक संसारमा विकास भएका यातायातका साधनको खोजीलाई तीव्रता दिने हो भने साइकल भेट्न धेरै समय लाग्दैन | शिविर भित्र साइकल नभएको छाप्रो थिएन | सवारीका नाममा साइकल  किन्नु यहाँका बासिन्दाको आवश्यकता थियो | तुलनात्मक रूपमा धेरै फाइदाहरू बुझेर नै साइकल यहाँ पहिलो रोजाई बनेको हो |  इन्धनमा खर्च नहुने, चलाउनलाई ठुलो, फराकिलो र चिल्लो बाटो नचाहिने, चालक अनुमति पत्र बिनै कुदाउन मिल्ने र मर्मत-संहार ज्यादै कम गर्नु पर्ने जस्ता फाइदाहरू साइकल बाहेक अरू कुनै साधनको छैन।  अझ रोचक त के छ भने साइकल जुनसुकै उमेर समूहकाले पनि चलाउन मिल्छ। स-साना बालबालिकाले सिटमुनी झुण्डिएर एक हातले  ह्याण्डल समाउँदै पैदल हानेको कुनै पनि चार पाङ्ग्रेमा  देख्न नपाइने दृश्य हो।

पानी पँधेरामा लाइन बस्न बसालेको सभ्यताले आज भोलि प्रत्येक ठाउँमा लाइन बस्नु पर्ने प्रविधिलाई हामीले सहजै आत्मासाथ गरी रहेका छौँ | आफ्नो नृत्य कर्म र करेसाबारीको रेख देख गर्नु पर्ने व्यस्तताका बावजुत  पनि झमक्क साँझ पर्नु अगावै एक चोटि शिविरको शिर देखि पुछार सम्म गस्ती गरेकाले हाम्रो स्वास्थ्यमा कहिले विकराल स्थिति आउन पाएन।

वर्षमा एक पटक आउने हाम्रा महान् चाडहरू- दसैँ र तिहारको ठुलै रमझम हुन्थ्यो। दसैँमा दक्षिणा भन्दा पनि मान्यजनको आशीर्वादको मूल्य ठुलो थियो। दसैँमा किनिएका नयाँ कपडा- सेतो सट र गाडा निलो पेन्ट अति सुन्दर हुन्थे। सट सेतो वा पेन्ट निलो किन्नु हाम्रो  हाम्रो विवेक पूर्ण रोजाई हो। दसैँमा नयाँ लुगा पनि हुने र  विद्यालयको पोसाकको काम पनि त्यसैले गर्ने।  यस्तो एउटा तीरले दुई सिकार गर्ने अत्यन्त दुर्लभ भोगाई पृथ्वीले सूर्यलाई बिस पटक परिक्रमा गरुन्जेलसम्म निरन्तर चलियो| दसैँ सकिएर लगतै आउने अर्को महान् चाड तिहारको पनि छुट्टै विशेषता थियो।  मानिससँग नभएर भन्दा पनि चोरी डकैतीबाट जोगाउनका लागि लक्ष्मी पूजाका दिनमा थोरै सम्पत्ति राखेर पुज्ने चलनले पुर्ख्यौली परम्परा अङ्गालेको थियो। देउसी-भेलैले भट्ट्याउने “रातो माटो”, “चिप्लो बाटो” जस्ता अनुप्रास मिलाएर पुरै शिविरको यथार्थता चित्रित गरेको भान हुन्थ्यो। खरको छानो र बाँसका भाटाको छाप्राको ढुङ्गे आँगनमा बसेर “दरबार जत्रो घर होस्” र “सन्तानले डाँडा-काँडा ढाकुन्” भन्ने आशिसले सधैँ  सहिष्णुता कायम गरिराखेका थिए।

भुटान र नेपाल बिच भएका मन्त्री स्तरीय वार्तालाई दबाब पुग्ने किसिमका कार्य गर्नुको सट्टा यसबाट आउने निचोडलाई हामीले धैर्यताका साथ कुरी राख्यौँ।  जन आन्दोलन, तोडफोड र सभा-जुलुसले हाम्रो मानसपटलमा कहिले स्थान पाएनन् । आधुनिक विज्ञानले पीडितहरूको धैर्यता मापन गर्ने यन्त्र र यसको इकाईको आविष्कार गरेको भए हाम्रो धैर्यताको ओजन देखेर प्रशान्त महासागरको पानी बिलाउने थियो होला।

प्राकृतिक रूपमा खोला वारि र पारि रहेको बगरको कहिले भेट नभए पनि उनीहरूबिच हुने गाडा सम्बन्ध जस्तै भारत पारि रहेका भुटानी र भारत वारि शरणार्थी जीवन व्यथित गरिरहेका हामी बिच कहिले विकराल स्थितिको सृजना भएन।

समयको ख्याल नभएको पककै होइन तर पृथ्वीमा बलेका बत्ती निभाउन आग्रह गर्दै पूर्वबाट आकासिएको सूर्यका किरणले झ्यालबाट चियाएर बोलाएपछि बिउ जिनेको जमात पनि ठुलै थियो। बाटो बिराएर बाँसका भाटाको बेरा छिचोल्दै हाम्रो बिछ्यौनासम्म पुग्ने बाछिटालाई पनि हामीले मित्रता पूर्वक व्यवहार गरेको थियो। जीव जन्तुहरूसँगको हाम्रो सम्बन्ध टेलिभिजन र रिमोटको जस्तै थियो। उडुस, साङ्ला, मुसा र बिरालालाई हामीले घरमा कोठा विभाजन गरेनौ ता पनि उनीहरू संसारका चर्चित सहरमा देखिने सडक बालबालिका जस्तो बेवारिसे भएर सिकुवा वा आँगनमा सुतेनन्।

अहिले सामाजिक सञ्जालबाट जोडिएका सम्बन्ध मोबाइलको चार्जभन्दा पनि छिटो सकिन्छन् तर शरणार्थी शिविर स्थापना हुँदै जोडिएको हाम्रो मित्रताको डोरी कछुवाको आयु भन्दा लामो हुने सङ्केत छ। नजिकैको सहरमा चलेको चलचित्र एक जनाले मात्र हेर्‍यो भने पनि दिन नवित्तै त्यसको कहानीले पुरै शिविर ढाकिसकेको हुन्थ्यो।  वरिपरि साथी-भाइ राखेर चलचित्रको कहानी कहनुको मज्जा अहिलेको सामाजिक सञ्जालले कदापि पुरा गर्न सक्दैन। उस बेला टेलिभिजनमा हेरेका कृष्ण लीला, गीताञ्जली, जय हनुमान, महाभारत, र शक्तिमानका कथा, कहानी र पात्रहरू आजसम्म पनि  हामी समक्ष ताजै छन्। आ-आफ्ना मस्तिष्कको पुस्तकालयबाट इतिहासको पुस्तक झिकेर पाना पल्टाउँदै जाने हो भने आधा घण्टा टेलिभिजन हेरेको दुई रुपियाँ तिरेको, चलचित्र हेर्न जाँदा साइकल राख्ने ठाउँ नपाएको, दिनभरि धानको बिउ  उखेलेर दस रुपियाँ कमाएको, नजिकैको सहरमा गएर मिठाईको खोस्टा बटुलेको, खोलामा पौरी खेल्दा  स्थानीयले लुगा लुकाई दिएको जस्ता मर्म   स्पर्शी घटनाले राम्रै स्थान पाएको देखिन्छ।

पठन-पाठनको कार्यलाई बिट मारेर गोधुली साँझ  घर फर्कँदा कसैको हातमा निहुराको मुठो त कसैको अँगालोमा दाउराको भारी हुन्थ्यो।  यसले  यहाँका बहुप्रतीभाका धनी विद्यार्थीको गृहकार्य र अन्य दैनिक कार्य गर्न सक्ने क्षमताको पुष्टि गर्छ।  कार्य तालिकाको चस्मा लगाएर समयको सागरको गहिराई सम्म पौडिएर चिन्तन गर्ने हो भने यसरी एक हात अनेक काममा पशुपतिको दर्शन, सिद्राको व्यापारको दर्पण देखिन्छ।

श्री पशुपतिनाथमा उतारिएको आरती त्यही धार्मिक स्थलमा श्रवण गर्न पाइन्थ्यो। नेपाली साहित्यका महाकवि देवकोटाहरू त्यही साहित्यिक कुञ्जमा अभावका कविता कोरिरहेका हुन्थे। नोबेल शान्ति पुरस्कार विजेताहरू त्यस ठाउँको शान्तिको मूल जरो खोतल्न त्यहीका स्कुल-पाठशाला धाइरहेका हुन्थे। जीव, रसायन र भौतिक विज्ञानका प्रयोगशालाहरू शिविरको सेरोफेरोमा स्थापना गरेर युरोप तथा अमेरिका सारिएको हो भन्ने   किम्दन्तीले नै सहजै नकार्ने प्रमाण छैन। माइकल ज्याक्सनहरूले नाच सिकेको, पेलेहरूले फुटबलको जादु देखाएको, र मदन भण्डारीहरूले राजनीतिको थालनी गरेको त्यस पवित्र भूमिले केही रत्नाकारहरुलाई वाल्मीकि बनाएको उदाहरण जीवितै छ।

खेलकुदले त्यहाँ अत्यन्तै महत्त्व पाएको थियो। क्यारमबोढ, चेस, बाघचाल, लुडो चर्चित घर भित्री खेल हुन् भने बाहिरी खेलको सूचिमा फुटबल, भलिबल, क्रिकेट आदि पर्दथे। यी मध्ये फुटबल वालक देखि वृद्ध सम्मको मुटुमा बसेको खेल हो। पुनः चक्र गराउने प्रक्रिया अनुसार प्लास्टिक र पुराना मोज्जाको लात्ते भकुन्डो बनाएर मैत्रीपूर्ण खेल खेलिन्थ्यो। कुद्न नसक्ने गोल रक्षकको भूमिका निभाउनु, बलियोले रक्षा पङ्क्ति समाल्नु, ढिलो आउनेले कमजोर टोलीमा प्रवेश पाउनु, र खेलमा अम्पायरको आवश्यकता नहुनु त्यहाँ खेलिने आन्तरिक फुटबल खेलका  विशेष्ताहरू हुन्। विश्व कप, युरो कप, र कोपा अमेरिका जस्ता प्रतिस्पर्धाको झल्को मेटाउने अन्तर शिविरिया फुटबल खेलमा मेसी, रोनाल्डो र  बेन्जेमाहरू दर्शक दीर्घामा बसेर ताली बजाउँदै रमाइरहेका हुन्थे।

शिविरको चक्रपथ परिक्रमा गर्दै बहने भागर, टाङटिङ, विरिन, टिमाई खोलाले  हरेक पटक कोल्टे फेर्दा श्वास प्रश्वासमा सहयोग पुर्‍याउने त्यो हरियो वनले हाम्रो दैनिकीमा ठुलै टेवा पुर्‍याएका थिए। प्रथमतः, वरिपरि बहने प्रदुसणरहित नदी-नालाहरूले लुगा धुने, नुहाउने, र सिचाई कार्यको डोको बोकेका थिए। जीवनशैली सहज बनाउन गिट्टी, बालुवा र कमेरो चाहिएमा यिनै तीव्र गतिका नदीका वक्षस्थल पुग्नु पर्थ्यो। दोस्रो, चार कोशे झाडी भन्दा ठुलो त्यो जङ्गल र हाम्रो सम्बन्ध सियो र धागोको जस्तै थियो। निहुरो, असारे, किम्बु, दाउरा, च्याउ, पात-पतिङ्गर त्यो हरियो वन नभएको भए कहाँ उपभोग गर्न पाइन्थ्यो? गाईको बथानलाई चरण क्षेत्रतिर लखेटेर पाटनको एक कुनामा भेला भएका गोठालाहरूको गोठे गफ पनि त्यी वनको शीतल आँगनमा सुनिन्थ्यो।

शिविरको क्षेत्रलाई कहिल्यै औँसीको रातले छोप्न पाएन। सुर्यले आफ्नो दैनिकी सकेर साँझपख पश्चिम क्षितिजमा  लुकेपछि चन्द्रमाले सूर्यको किरण पहिलो लिएर सबै जसो रातलाई पूर्णिमा जस्तै  बन्दिन्थ्यो ।

अन्ततः हाल त्यी सात नमुना बस्तीका कर्मशील बासिन्दा हाल सात समुद्र आ-आफ्नो जीवन शैली बाँचिरहेका छन्। कर्म वा प्रतीक्षाको फल मिठो हुन्छ भन्ने गतिलो उदाहरण हो यो। तिनै सङ्घर्षशील बिस वसन्तले मिहेनत गर्न सिकाएकाले आज हामीले यो उचाइ चुमेको हो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *