‘The red’- रातो
रमेश दियाली
ओहायो, अमेरिका
रङ्ग र मेरो पहिलो भेट
मलाई रङ्ग…..
र रङ्गहरूसँग खेल्न सारै मन पर्छ
गुलाब होइन, गुलाब
जस्तै देखिने फूल…
अनि फूल भित्रका राता राता रङ्गहरू
हो म त्यही बगैँचाको एउटा फूल हुँ
के फरक छ र ? फूल र म मा
उस्तै रङ्गहरू,..
तर…….
आज म रातो रङ्गहरूसँग बिस्तारै
पोखिँदै जाँदै छु….पोखिँदै छु आफैसँग
मुटु दुखेर कुटुक्क कुटुक्क भएको बेला
स्तब्धतालाई भङ्ग गर्दै चिच्याउँछु .. आमा … आमा
चिच्याउँदै गर्दा, मेरो सानो भाइ
टुपुल्लक आई पुग्छ।
हताश, निराश र
डरले ओठ…
थर्थराईरहदा मेरो भाइले रगतका
घव्वा मेरो खुट्टाका चेपमा देखाइरहेको हुन्छ
ऊ … हेर त दिदी ! तिम्रो खुट्टा!
रगतले पोतिएछ…
म सुस्त सुस्त रङ्गिँदै जाँदै थिएँ …
बिस्तारै बिस्तारै…
पिडाले जलेर खाग बन्न लाग्दा
अब
अब आमा आइपुगिन् …
आमाले गुन्युको टुक्रा च्यार्र…र……
च्यातेर म माथि फ्याँकिदिँदा
गुन्युको टुक्रामा
पोखियो रङ्ग र बन्यो क्यानभास
भाइ अचम्म मान्दै क्यानभासलाई
छुन खोज्दै गर्दा, आमाले पाप र
पुण्यको भाषा बर्बराईरह्की थिइन्
छुन हुँदैन…
हेर्नु हुँदैन…
बोल्नु हुँदैन…
म खुल्ला मैदानमा शितल खोजी रहेको बेला
आफू भित्रभित्रै दबिएको थिएँ।
आकाश चोइटेर टुक्राटुक्रा हुँदै गर्दा
बादलभित्र मेरो जीवनको रङ्गहरू खोज्दै थिएँ
सायद ती इन्द्रेणीका रङ्गहरू हुन पर्छ
रातलाई चिरेर अन्धकार हट्दै जाँदा
मेरा आकृतिहरू विलीन हुँदै हराउँथे
मलाई अन्धकारको भुमरीमा धकेल्दिए
म म निस्सासिएर, बन्द कोठामा कैद भएँ
ताराहरूसँग एक्लै घण्टौँ बसेर
कुरा गर्थेँ
गोठबाट गाईहरूले टुलुटुलु हेरि रहन्थे
सायद!!!….
गाईहरूलाई पनि मलाई जस्तै भयो होला
मन भक्कानियो, आँखा रसायो
थोपा थोपा रगत आशुमा भिज्दै हराउँथे
र म फेरि चिच्याउँथे….. आमा …..आमा..
बल्ल थाहा पाएँ …
म नछुने भाको रे ?
अनि पोखियो फेरि रातो रङ्ग…..
ठिक उसै गरी … पोखिएँ म पनि