तेस्रो किनार

चन्द्रबहादुर लामा
नेपाल 

हिउँको पहिलो फुल्का खस्यो। ओहायोको त्यो चिसो साँझमा, झ्यालको सिसामा टाँसिन आइपुगेको हिउँको फूलले भर्खर किनेको घरको न्यानोलाई जिस्काइरहेझैँ लाग्यो। घरभित्र हिटरको मधुरो आवाज, भान्सामा पाकिरहेको दाल र भातको परिचित बास्ना अनि टेलिभिजनमा बजिरहेको बुझ्न नसकिने अङ्ग्रेजी भाषाको कोलाहल। यो दृश्य अमेरिकामा एउटा नयाँ जीवनको सुरुवात थियो, तर यो पूर्णविराम थिएन; यो त केवल एउटा लामो र जटिल वाक्यको बिचमा आएको अर्धविराम मात्र थियो, जसको अघिल्तिर निर्वासनको पीडा थियो र पछाडि अनिश्चित भविष्यको शून्यता।

यो नयाँ अध्यायको पहिलो पाना सुरक्षाको मसीले लेखिएको थियो। नेपालका शरणार्थी शिविरका बाँस र त्रिपालका झुपडीहरूबाट उडेर हामी यहाँ आइपुगेका थियौँ। त्यहाँ हरेक वर्षा याममा छाना चुहिने डर हुन्थ्यो, जहाँ हरेक बिहान भविष्यको अन्धकारले ब्युँझाउँथ्यो, त्यसको ठिक विपरीत यहाँ बलियो छानो थियो, भोलि के खाने भन्ने चिन्ता थिएन। नागरिकता पाउने बाटो खुलेको थियो; हामी अब ‘स्टेटलेस’ अर्थात् राज्यविहीन थिएनौँ। कागजमा हाम्रो एउटा नयाँ पहिचान थियो: ‘भुटानी-अमेरिकी’। हाम्रा हातहरूले फेरि काम पाएका थिए, चाहे त्यो कुनै कारखानाको एसेम्बली लाइनमा होस्, होटेलको सरसफाइमा होस् वा कृषि फार्मको माटोमा। परिश्रम हाम्रो रगतमा थियो, र अमेरिकाले त्यसको कदर गर्‍यो। हामीले गाडी किन्यौँ, घर किन्यौँ र आफ्ना छोराछोरीलाई ती स्कुलहरूमा पठायौँ, जसको कल्पना शिविरको धूलोमा खेल्दै गर्दा हामी कहिल्यै गर्न सक्दैनथ्यौँ। हाम्रा नानीहरूले अङ्ग्रेजी भाषालाई बतासजस्तै सहजै समाते। उनीहरू कक्षामा अब्बल भए, विश्वविद्यालयका सपना देख्न थाले। उनीहरूको सफलतामा हामीले आफ्नो हराएको देशको एक टुक्रा फिर्ता पाएजस्तो महसुस गर्‍यौँ। हामीले सामुदायिक भवनहरू बनायौँ, मन्दिरहरू स्थापना गर्‍यौँ र दसैँ-तिहारमा देउसी-भैलो खेल्दै, सेलरोटी पकाउँदै र टीका थाप्दै आफ्नो संस्कृतिलाई यो नयाँ माटोमा रोप्ने प्रयास गर्‍यौँ। बाहिरबाट हेर्दा यो एउटा सफल पुनर्वासको कथा थियो; एउटा अमेरिकी सपनाको भुटानी संस्करण।

तर हरेक उज्यालोको पछाडि एउटा गहिरो छाया लुकेको हुन्छ। हाम्रो सफलताको कथाको पछाडि पनि त्यस्तै एउटा अदृश्य अँध्यारो थियो, जसलाई बाहिरी संसारले देख्न सक्दैनथ्यो। यो अवस्थालाई बुझ्न डायस्पोरा सम्बन्धी चिन्तनले मद्दत गर्छ। सांस्कृतिक चिन्तक स्टुअर्ट हल भन्छन् कि प्रवासीको पहिचान उसको ‘मूल’मा मात्र होइन, उसले तय गरेको ‘मार्ग’मा पनि निर्भर हुन्छ। हाम्रो ‘मूल’ भुटानमा थियो, तर हाम्रो ‘मार्ग’ निर्वासन, शिविरको अनिश्चितता र अन्तमा अमेरिकाको यो नयाँ भूमिसम्म फैलिएको थियो। यो लामो र पीडादायी मार्गले हाम्रो पहिचानलाई पुनः परिभाषित गरिदियो। त्यसैले, हामीले यहाँ बनाएको पहिचान न त पूर्ण रूपमा भुटानी रह्यो, न त हामी पूर्ण अमेरिकी नै बन्न सक्यौँ। यसैलाई अर्का विद्वान् होमी भाभाले ‘तेस्रो स्थान’को संज्ञा दिएका छन् जुन एउटा यस्तो मिश्रित र अन्तरिम सांस्कृतिक क्षेत्र हो जहाँ दुई फरक संस्कृतिहरू ठोक्किन्छन् र एउटा नयाँ, जटिल र प्रायः विरोधाभासपूर्ण पहिचानको जन्म हुन्छ। ‘भुटानी-अमेरिकी’ हुनु त्यही ‘तेस्रो स्थान’ मा उभिनु थियो । एउटा यस्तो ठाउँ जहाँ सफलता र पीडा, आशा र विषाद एकैसाथ जीवित रहन्छन्, जहाँ हामी आफ्नो मातृभूमिको सामूहिक स्मृति, जसलाई विलियम सफरन जस्ता विद्वानहरूले डायस्पोराको मूल चरित्र मानेका छन्, बोकेर एउटा बिलकुलै फरक भविष्य निर्माण गर्न सङ्घर्षरत थियौँ। त्यसैले, यो नयाँ सुरुवात वास्तवमा अनेकौँ अन्त्यहरूको थुप्रोमाथि उभिएको थियो।

ती अन्त्यहरूमध्ये सबैभन्दा मर्मस्पर्शी थियो सायद प्रतिष्ठाको अवतरण। भुटानमा कोही सरकारी अधिकृत थिए, कोही शिक्षक, कोही सम्माननीय अग्रज। उनीहरूको ज्ञान, उनीहरूको अनुभव र उनीहरूको सामाजिक प्रतिष्ठा त्यही देशको माटोसँगै छुटेको थियो। यहाँ, अमेरिकामा, उनीहरूको त्यो पहिचानको कुनै मूल्य थिएन। भाषाको पर्खालले उनीहरूको योग्यतालाई छेकिदियो। हिजो जसको हातमा चक र डस्टर हुन्थ्यो, जसको आवाजले सयौँ विद्यार्थीको भविष्य कोर्थ्यो, आज त्यही हातले भुईँ पुछ्ने ‘मप’ वा कारखानाको मेसिन समाउन बाध्य थियो। यो केवल पेसाको परिवर्तन थिएन, यो त आत्मसम्मानको अवतरण थियो। हरेक बिहान काममा जाँदा उनीहरू आफ्नो शरीर मात्र होइन, आफ्नो अतीतको प्रतिष्ठाको लास पनि बोकेर हिँड्थे। यो पीडादायी अवस्थालाई समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा, फ्रान्सेली विचारक पियरे बोर्दियुको ‘सांस्कृतिक पुँजी’को सिद्धान्त सान्दर्भिक देखिन्छ। बोर्दियुका अनुसार, हरेक समाजमा शिक्षा, भाषा, ज्ञान र सामाजिक व्यवहार एक प्रकारको पुँजी हो, जसले व्यक्तिको स्तर निर्धारण गर्छ। भुटानमा उनीहरूको शैक्षिक योग्यता, उनीहरूको नेपाली वा जोङ्खा भाषामाथिको दक्खल र उनीहरूको सामाजिक सञ्जाल नै उनीहरूको ‘सांस्कृतिक पुँजी’ थियो। तर अमेरिकाको नयाँ सामाजिक बजारमा, त्यो पुँजीको अवमूल्यन भयो; त्यसको कुनै मूल्य रहेन। यहाँको सबैभन्दा ठुलो र महत्त्वपूर्ण पुँजी अङ्ग्रेजी भाषा र अमेरिकी कार्य-अनुभव थियो, जो उनीहरूसँग थिएन। यसरी, उनीहरू बौद्धिक र सांस्कृतिक रूपमा धनी भएर पनि यहाँ ‘पुँजीविहीन’ बन्न पुगे, जसले उनीहरूको पहिचान र आत्मसम्मानमा गहिरो चोट पुर्‍यायो। उनीहरूको मस्तिष्कमा ज्ञानको भण्डार थियो, तर त्यसलाई व्यक्त गर्ने शब्दहरू थिएनन्। उनीहरू एउटा यस्तो पुस्तकालयजस्ता थिए, जसको ढोकामा ताल्चा लागेको थियो। यो ‘डाउनवर्ड मोबिलिटी’ अर्थात् तल झरेको सामाजिक स्तरले उनीहरूको मनमा गहिरो घाउ बनायो। भौतिक रूपमा उनीहरू सुरक्षित थिए, तर मानसिक रूपमा उनीहरू हरेक दिन मर्दै थिए। घरको ऋण र गाडीको किस्ता तिर्ने दौडमा उनीहरूले आफू को हुँ भन्ने नै बिर्सन थालेका थिए। यो एउटा सुनको पिँजडा थियो, जहाँ पखेटा भएर पनि उड्ने आकाश थिएन। तर, यो अँध्यारो कथाभित्र केही उज्याला धब्बाहरू पनि थिए। कोही-कोही, जसले अवसर पाए, उनीहरूले यहीँको विश्वविद्यालयमा पढे, आफ्नो सीपलाई तिखारे र राम्रो पदमा पुग्न सफल भए। उनीहरूले नयाँ समाजको नियम बुझे र आफूलाई त्यहीअनुसार ढाले। तर यो सबैका लागि सम्भव थिएन। अधिकांशको जीवन कारखानाको मेसिन र घडीको सुईमा बाँधिएको थियो। दिनभरिको कठोर परिश्रमले उनीहरूको शरीर र मस्तिष्क दुवैलाई निचोरेको हुन्थ्यो। साँझ घर फर्किँदा उनीहरू यति थकित हुन्थे कि किताबका अक्षरहरू पनि धमिलो देख्थे। पढ्ने रहर मनको कुनै कुनामा दबेर बसे पनि, शारीरिक र मानसिक थकानले त्यसलाई कहिल्यै बाहिर आउन दिएन। यसरी, उनीहरूको लागि अमेरिकी सपना केवल बाँच्नुको अर्को नाम बन्यो, जहाँ हरेक दिन उही सङ्घर्ष र उही थकानको पुनरावृत्ति हुन्थ्यो।

यही सुनको पिँजडाबाट आफ्ना छोराछोरीलाई उज्यालो भविष्य दिने सपनामा हामीले सबै दुःख सह्यौँ। तर विडम्बना, हाम्रो सबैभन्दा ठुलो सफलता, अर्थात् हाम्रा छोराछोरीको शिक्षा र उनीहरूको अमेरिकीकरण, नै हाम्रो सबैभन्दा ठुलो चुनौती पनि बन्यो। उनीहरूले बोल्ने अङ्ग्रेजी, उनीहरूले लगाउने लुगा, उनीहरूले सुन्ने सङ्गीत, सबै कुरा हाम्रा लागि अनौठो थियो। घर एउटै थियो, तर हामी दुई फरक संसारमा बाँचिरहेका थियौँ। नातिनातिनाले हजुरबा-हजुरआमासँग कुरा गर्न पनि आफ्ना बाबुआमालाई दोभासे बनाउनुपर्थ्यो। भाषाको यो खाडलले संवाद मात्र होइन, भावना र संस्कृतिलाई पनि छुट्ट्याइदियो। नेल्सन मण्डेलाले भनेजस्तै, “यदि तपाईँ कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुहुन्छ भने, त्यो उसको दिमागमा जान्छ। यदि तपाईँ उसको भाषामा कुरा गर्नुहुन्छ भने, त्यो उसको हृदयमा जान्छ।” हाम्रो हृदयको भाषा उनीहरूले कहिल्यै बुझेनन्। हाम्रा छोराछोरीहरू हाम्रो अतीत र अमेरिकाको भविष्यबिचको पुल बने, तर त्यो पुलमा हिँड्दा-हिँड्दा उनीहरू आफैँ कताको हुँ भन्नेमा अलमलिन थाले। प्रसिद्ध लेखक सलमान रुस्दीले भनेझैँ, “हामी कहिले दुई संस्कृतिको पुलमा हिँडेजस्तो महसुस गर्छौँ, त कहिले दुवैतिरबाट खसेर बिचमा हराएजस्तो।” उनीहरूले हाम्रो पीडा बुझ्न सक्दैनथे, हामीले उनीहरूको सपना। हामी उनीहरूलाई भुटानको कथा सुनाउँथ्यौँ । त्यो हरियो डाँडाको, सुन्तलाको बगानको, हाम्रो घर र खेतको। तर उनीहरूका लागि त्यो एउटा दन्त्यकथाभन्दा बढी केही थिएन। उनीहरूको वास्तविकता त म्याकडोनाल्ड्स, भिडियो गेम र हलिउडको फिल्म थियो। परम्परागत पारिवारिक संरचना भत्किन थाल्यो। हिजोसम्म परिवारको मुली मानिने बुढापाकाहरू आज आफ्नै नातिनातिनाको सहयोग बिना बैङ्क जान वा डाक्टरकोमा अपोइन्टमेन्ट लिन सक्दैनथे। उनीहरू परिवारमा सम्मानित अग्रजबाट आश्रित सदस्यमा परिणत भए। यो परनिर्भरताले उनीहरूको आत्मविश्वासलाई धमिराजस्तै खायो। घरभित्रै एउटा सांस्कृतिक निर्वासन सुरु भएको थियो, जहाँ हामी आफ्नै सन्तानका लागि पराई बन्दै गइरहेका थियौँ। सायद महान् दार्शनिक खलिल जिब्रानले यही अवस्थालाई बुझेर लेखेका थिए: “तिम्रा सन्तान तिम्रा होइनन्… तिनीहरू जीवनको आफ्नै उत्कट चाहनाका छोराछोरी हुन्। तिमीले उनीहरूलाई आफ्नो प्रेम दिन सक्छौ, तर आफ्नो विचार होइन, किनकि उनीहरूका आफ्नै विचारहरू छन्।”

सन्तानका आफ्नै विचार र आफ्नै संसार हुनु प्रकृतिको नियम होला, तर हाम्रो सन्दर्भमा यसले पहिचान, प्रतिष्ठा र देश गुमाइसकेको पुस्तालाई थप एक्लो बनाइदियो। यही एक्लोपन र विगतको आघातको संयुक्त परिणामले हाम्रो कथाको सबैभन्दा अँध्यारो अध्याय लेख्यो: उज्यालो देशमा हाम्रो अँध्यारो मन, अर्थात् मानसिक स्वास्थ्यको सङ्कट। अमेरिकाको भौतिक सम्पन्नता र सुरक्षाले सबैको मनभित्रको आघातलाई निको पार्न सकेन। तर, यो पीडादायी सत्य सबैको साझा कथा थिएन। एकातिर, जरा उखेलिएको मनको अन्धकार थियो भने, अर्कोतिर नयाँ अवसर र स्वतन्त्रताको उज्यालो पनि थियो। यी दुई फरक वास्तविकताहरू एउटै समुदाय, एउटै सहर, र कहिलेकाहीँ एउटै परिवारभित्र सँगसँगै बाँचिरहेका थिए। उदाहरणका लागि, हाम्रै समुदायका एक जना वृद्ध बुबालाई लिन सकिन्छ। भुटानमा आफ्नो जग्गा-जमिन भएका, समाजमा मान-प्रतिष्ठा कमाएका उहाँ, अमेरिकामा आएपछि भाषा र संस्कृतिको पर्खालले घेरिएर घरको एउटा कोठामा सीमित हुनुभयो। दिनभरि भाषा नबुझ्ने टेलिभिजन हेरेर बस्नु, आफ्नो विगत सम्झेर टोलाउनु र आफूलाई परिवारमा बोझ महसुस गर्नु उहाँको नियति बन्यो। भुटानबाट खेदिँदाको अपमान र शिविरमा बिताएको दुई दशकको अनिश्चितताको बोझले उनको मनलाई यसरी थिच्यो कि उहाँको हँसिलो मुहारमा कहिल्यै नमेटिने निराशाको बादल लाग्यो। उनीजस्ता धेरै वृद्ध वृद्धाहरू चरम एक्लोपन र पहिचानको सङ्कटसँग जुधिरहेका थिए। तर, यसको ठिक विपरीत, त्यही समुदायमा केही यस्ता परिवार पनि थिए जसले अथक परिश्रम र साहसका साथ नयाँ जीवनलाई अँगालेका थिए। जस्तै, एउटा सानो परिवारले यहाँ आएर एउटा किराना पसल खोल्यो। श्रीमान्-श्रीमती दिनरात खटिन्थे, उनीहरूका छोराछोरी विद्यालयमा उत्कृष्ट नतिजा ल्याइरहेका थिए। उनीहरूले आफ्नो सानो व्यवसायमार्फत समुदायका अरूलाई पनि रोजगारी दिए र आफ्नो नयाँ पहिचान बनाए। उनीहरूको सफलताले धेरैलाई आशा दियो र अमेरिकामा पनि आफ्नो अस्तित्व बनाउन सकिन्छ भन्ने प्रमाण बन्यो। समस्या यो थियो कि, सफलताको कथा लेख्नेहरूको हाँसो पछाडि पनि कतै न कतै पीडाको एक अदृश्य पत्र लुकेको हुन्थ्यो। हाम्रो संस्कृतिमा मनको बह पोख्ने, डाक्टर वा मनोविज्ञसँग सल्लाह लिने चलन थिएन। मानसिक पीडालाई ‘पागलपन’ वा ‘कमजोरी’को रूपमा हेरिन्थ्यो। त्यसैले, चाहे कोठामा एक्लै टोलाउने बुबा हुन् वा पसलमा व्यस्त रहने परिवार, उनीहरू आफ्नो भित्री पीडा कसैलाई भन्न सक्दैनथे। पीडा सबैको थियो, तर त्यसलाई व्यक्त गर्ने तरिका र त्यससँग लड्ने शक्ति फरक थियो। फलस्वरूप, हाम्रो समुदायमा आत्महत्याको दर डरलाग्दो गरी बढ्यो। यो कुनै एक व्यक्तिको असफलताको कथा थिएन, यो त पूरै समुदायको सामूहिक, तर अव्यक्त पीडाको विस्फोट थियो। यो एउटा यस्तो मौन महामारी थियो, जसले हाम्रो समुदायको जरालाई हल्लाइदियो। अमेरिकाले हामीलाई बाँच्ने अवसर दियो, तर कसरी खुसीसाथ बाँच्ने भन्ने सिकाउन सकेन। त्यसैले, धेरैका लागि शरीर अमेरिकामा थियो, तर आत्मा अझै पनि भुटानको कुनै गाउँमा, नेपालको कुनै शिविरमा वा यी दुईको बिचको अनन्त यात्रामा हराइरहेको थियो।

आज, जब म ओहायोको त्यही झ्यालबाट बाहिर हेर्छु, हिउँका पातहरू अझै झरिरहेका छन्। मेरो नाति बाहिर साथीहरूसँग हिउँमा खेल्दै छ, उसको हाँसोमा भविष्यको प्रतिज्ञा छ। भित्र, उसकी हजुरआमा माला जप्दै भुटानको कुनै देवीलाई सम्झिरहेकी छिन्, उनको अनुहारमा अतीतको धमिलो स्मृति छ। एउटै कोठाभित्र, एउटै समयमा, दुई फरक युग, दुई फरक संसार बाँचिरहेका छन्। अमेरिका हाम्रो लागि एउटा विरोधाभास हो। यो सुरक्षा र असुरक्षाको, अवसर र क्षतिको, मिलन र बिछोडको एउटा जटिल सङ्गम हो। हामीले यहाँ धेरै पायौँ – एउटा घर, एउटा भविष्य, एउटा पहिचान। तर हामीले त्योभन्दा धेरै गुमायौँ पनि – हाम्रो देश, हाम्रो प्रतिष्ठा, हाम्रो विगत र कहिलेकाहीँ, हाम्रो आफ्नै मनको शान्ति। यो नयाँ सुरुवात कुनै अन्त्य थिएन, न त यो कुनै गन्तव्य नै हो। यो त केवल एउटा अर्को यात्रा हो, जहाँ हामी हरेक दिन आफ्नो हराएको अतीत र पाएको वर्तमानबिच सन्तुलन खोज्ने प्रयास गर्छौँ। यो कथा सफलताको पनि हो, असफलताको पनि। यो आशाको पनि हो, निराशाको पनि। यो भुटानी-अमेरिकी हुनुको नियति हो कि एउटै सासले दुई फरक हावा फेर्नु, एउटै आँखाले दुई फरक क्षितिज हेर्नु र एउटै मुटुले दुई फरक देशको धड्कन बोकेर हिँड्नु। हिउँ पग्लिएर नयाँ पालुवा पलाउला, तर हाम्रो मनमा जमेको चिसो पग्लिन अझै कति वसन्तहरू कुर्नुपर्ने हो, कसैलाई थाहा छैन।

 

नोट: हामी अर्थात् अभिभावकको दृश्टीकोणबाट लेखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *