उग्र असहमतिको आवाज: “दन्किँदो भूटान”मा देवीभक्त लामीटारेको विरासतको अनावरण
गोविन्द रिजाल
स्वर्गीय देवीभक्त लामीटारेको “दन्किँदो भूटान”को चौथो संस्करण प्रकाशन भएको छ । यो भोटे, भोटे सत्ता र सामन्ती भोटे सरकारलाई गालीको भाषामा पाठ सिकाइएको दस्ताबेज भन्ने लाग्यो मलाई ।
भूटान मिडिया सोसाइटीका विद्यापति मिश्रको प्रकाशनमा सहयोग पहल कदम, र पुस्तकको पुनर् संरचना सहित परिमार्जन एवम् सम्पादनको पहाड पन्छाउने जिम्मेवारी विनोद ढुङ्गेलले निर्वाह गरी यो पुस्तक वर्तमान रूपमा आइ पुगेको छ ।
पुरानो पुस्ताका सकारात्मक कामलाई नयाँ पुस्ताले संरक्षण दिनु पर्छ भन्ने सोचलाई कार्यान्वयन गर्दै मिश्र-ढुङ्गेल द्वयले यो १९७० मा पहिलो पटक लेखक लामीटारेले नै प्रकाशित गरेको “दन्किँदो भूटान”- जुन विगत पाँच दशकदेखि अहिलेसम्म पनि भूटानमा प्रतिबन्धित छ- को चौथो संस्करण प्रकाशन गरेका हुन् ।
भूटानभित्र यो पुस्तक पाँच दशकदेखि प्रतिबन्धित छ। प्रतिबन्धित न होस् पनि किन- सत्ताधारीले सही नसक्ने गालीहरू प्रत्येक वाक्यमा छन् । भाषामा जति हदको गाली छ त्यति नै गहिराइका बिचार र दर्शनहरू छन् । भूटानको चिराङमा जन्मेका, यौवन कालको सुरुवातसँगै निर्वासित लामीटारेले निर्वासनमै पढाइलाई निरन्तरता दिए, जहाँ बसेर अनवरत रूपमा भूटानी निरङ्कुश राज्य सत्ता विरुद्ध कलम युद्ध कायम राखे – उनको अन्तिम साससम्मै । उनको त्यही अभियानको एउटा फल हो, “दन्किँदो भूटान”।
परिमार्जित चौथो संस्करणमा प्रकाशनका रूपमा लामीटारेका ताजा विचार र दृष्टिकोणहरू समेत समेटिएका छन् ।
भूटानी प्रजाराज आन्दोलनकै प्रणेता श्री देवीभक्त लामीटारे भूटानमा प्रजातन्त्र बहालीका लागि चिन्तनशील तथा क्रियाशील ‘एक्लो वृहस्पति’ जसको ‘पेपर वार’ का सामाग्रीहरू यो पुस्तकका प्रमुख भाग हुन ।
विद्यापति मिश्र, विनोद ढुङ्गेलले भूटानी इतिहासका सर्वाधिक चर्चा गरिने शहीद महासुर क्षेत्री र उनको कथा खोज्दै जाँदा भेटिएका लामीटारे र उनका कृतिहरू हुँदै यो पुस्तकसम्म आइ पुगेका छन् । लामीटारेलाई भेट गर्दासम्म ‘स्नो बलिङ’ अनुसन्धान विधि र पछि जानकारी सङ्कलन गर्न अनुसन्धानको प्रारम्भिक माध्यम मानिने अन्तर्वार्ता विधि प्रयोग गरेको पाइयो । अन्य व्यक्तिसँग पनि यस पुस्तकको तयारीका क्रममा अन्तर्वार्ता गरिएको भनिएको छ । पुराना संस्करणमा प्रयोग भएका हिज्जेहरूसमेत जस्ताको तस्तै कायम गरी ऐतिहासिकतालाई संरक्षण गर्ने प्रयास गरेका छन् ।
शहीद महासुर क्षेत्री, देवीभक्त लामीटारेका समयका छाब्डा नाम्ग्यल र जिग्मे पाल्देन दोर्जीका जीवन र हत्याका कथाहरू समावेश भएकाले यो पुस्तकलाई ऐतिहासिक दस्ताबेज बनाएको छ ।
प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीको बारेमा लामीटारे लेख्छन् “यो उही निर्दयी एवम् नीच नरपिशाच राक्षसहृदयी भोटे प्रधानमन्त्री थियो, जसले मानवाधिकारको पक्षधर भूटानी काङ्ग्रेसका नेता महासुर क्षत्रीलाई जिउँदै हात र खुट्टामा ढुङ्गाहरू बाँधी सुनकोश नदीमा फ्याँकी दिएको हो ।” (पृ. १७) । “अन्त्यमा पापको गाग्री भरियो । फलःस्वरूप सन् १९६४ मा यौटा देशभक्त वीर भोटे युवकले कुकुर मारे झैं यस पापीलाई मारिदियो ।” (पृ. १७)
“जिग्मे पाल्देन दोर्जी मरेपछि उसको भाइ लेण्डुप दोर्जी प्रधानमन्त्री बन्यो । यो फटाहा–फटाहा किसिमको मानिस थियो । कुरा भने प्रजाराजको गर्दथ्यो तर आफैँ राजा बन्ने सुरमा थियो ।” (पृ. १७)
“प्रजाराज आएन भने तानाशाहहरूलाई भोलिका जनताले निमोठेर फाल्नेछन् ।”
“भूटान र सिक्किमलाई प्रकृतिले यौटै अनुहारमा बनाएको। भूटानको अब स्वतन्त्रता नै गुम्यो भने पनि राजतन्त्रकै कारणले गुम्छ” भन्ने लेखेका छन् ।
दुइटा देशको एउटै महासङ्घ बनाउँदा उचित हुने थियो भन्ने ठानेका छन् जुन हिमालयन फेडेरेसन को विषयले प्रभावित (हिमाली राज्यहरूको सङ्घको अवधारणा १९४७ देखि धेरै सन्दर्भहरूमा देखा परेका) भएको देखिन्छ ।
बहुपत्नी प्रचलन र बाल यौन हिंसाका विषयमा खरो विरोध गरेर लामीटारेले ‘भूटानमा आइमाईहरूको दुर्दशा’ र ‘भूटानमा आइमाईहरूको दुर्गति’ जनाएका छन् । शरणार्थीको घर फर्किन पाउने अधिकार,शरणार्थीहरूलाई क्षतिपूर्ति मागेका छन् ।
यो पुस्तक एक कृति मात्र नभएर भूटानी ‘प्रजाराज’का लागि थालिएको आन्दोलनको प्रस्थान विन्दु हो ।
नेपालमा विष्णु भगवानलाई बेदखल गरी दिने त्यही गोरखे जातिका मान्छे भूटानमा पनि छन् । समुदाय त हाम्रो पनि त्यही हो, हामी त्यही समुदायका मान्छे हौँ । लामिटारे नेपाली भाषा भन्दैनन्, गोर्खाली भाषा भन्छन् । उनी लेख्छन्-“ श्री रामप्रसाद अभिलाषी अर्थशास्त्रीजीले यस किताबको गोरखाली अनुवाद गर्ने कृपा गर्नुभयो, वहाँका परिश्रमले गर्दा नै यो ‘दन्किँदो भूटान’ पुस्तक गोरखाली पाठकहरूका हातमा पुग्दै छ ।”
अझ थप्छन् –
“मान्छे तथा पशुमा भिन्नता पनि परिवर्तनलाई लिएर भएको हो । पशु यथास्थिति–प्रिय हुन्छ । पशु परिवर्तनका लागि विरोध गर्दैन तर मानव समाज परिवर्तन ल्याउनका लागि अति भयङ्कर संग्राम गर्दैछ । पशु यथास्थितिमा नै रहन्छ । अतः पशु सदा नै पशु रहन्छ ।“
“यो एकदमै बकम्फुसे लठुवाहरूको कल्पना हो कि भूटानका गोरखालीहरू सबै नेपालबाट गएर भूटानमा बसेका हुन् । अति थोरै संख्यामा मात्र नेपाली गोरखाहरू भूटानमा गई बसेका हुन्, बाँकी गोरखालीहरूको ठूलो संख्या पहिलेदेखि नै भूटानमा मूलरूपले बसोबास गर्दथ्यो । गोरखालीहरूको राजनैतिक अधिकारलाई दबाउनका लागि नै भोटे राजतन्त्र एवं त्यसका हिमायती चम्चाहरूले अर्थात् जीहजुरियाहरूले भूटानी गोरखालीहरूका लागि नेपाली शब्दको व्यापक रूपमा प्रयोग गरेका हुन् । अनेकौं पल्ट देखिएको छ कि नेपालदेखि बाहिर गोखालीहरूलाई नेपाली शब्दले सम्बोधन गर्नेको अर्थ हो – उनीहरूको राजनैतिक वर्चश्वलाई समाप्त गर्ने तयारी । नेपालदेखि बाहिर नेपाली शब्दको प्रयोग गोरखालीहरूले नगरे उचित हुने थियो ।”
“राजाका महलमा कुनै पनि पुण्यात्माको जन्म हुँदैन । पुण्यात्माको जन्म निश्चय नै गरीबका घरमा हुन्छ किनकी राजाका घरमा जन्मिनुको अर्थ हो– गरीबहरूका पसिनाले कमाएको धन तथा वैभवको बिना परिश्रमले नै चैन गर्नु । अपराध शोषण गर्न नसक्ने मानिसले आफूलाई राजा र महाराजा घोषित गर्न सक्दैन ।“ (पृ १५)
“यदि भूटान र नेपालमा ठूला–ठालु मानिएका वर्गलाई दबाइएन भने यी देशहरूमा कम्युनिज्यमलाई रोक्न पनि सकिँदैन ।” (पृ. १८)
“भोटे राजतन्त्रले सबै गोरखा जातिहरूमाथि जुलुम गरेको छ ।” (पृ. ३५)
भूटानको नव निर्माण यूरोपीय ढङ्ले हुनेछ जसमा धर्म निरपेक्ष प्रजातान्त्रिक राज्य व्यवस्थाको प्रतिष्ठा हुनुछ । (पृ. ३७)
“आजसम्म भोटे जातीय भूटान सरकारले गैरभोटे बुद्धिजीवीलाई देशमा राम्ररी जिउन दिएको छैन।“ (पृ. ४४)
“राजाले जनतासँग सिधा सम्बन्ध किन राख्दैन ? परम्पराबाट बाबा बराजुले लुटेका दौलतले मोज गर्नु यही राजा र त्यसका पुच्छरे वर्गको देशभक्ति हो।” (पृ. ५१)
सिक्किमको भविष्य अनिश्चयात्मक भइरहेको छ भन्ने छ कारणहरू मध्य एक कारण उनी लेख्छन्, “सिक्किमे गोरखाहरूले आफूलाई नेपाली भनाउँदै गरेको मूर्खतापूर्ण ”
भूटानमा आइमाईहरूको दुर्दशामा उनी लेख्छन्, “लोग्नेमान्छे समाजले आइमाई समाजलाई असाध्यै दबाएको छ एवं जुलुम गरेको छ ।” (पृ. ७७)
“भूटानमा दुष्ट भोटे अफिसरहरूले निर्दोष किसानहरूलाई जबरजस्ती लात्ताले हान्दै बाटो खनाउँदैछन् । सुकुम्बासी बनाएर बेठबेगार लिँदैछन् । किसानहरूलाई जबरजस्ती मजदुर बनाइएको छ । अनि बाटो खनाउनका लागि विदेशबाट आएको सहयोग पदाधिकारीहरूका भूँडीमा जाँदैछ । यी सबै अत्याचार र अपमानलाई जनताले भोगिरहेका छन् ।” (पृ. ६९)
“सामन्तवादी भोटे राजतन्त्रले गैरभोटे जनताका धर्म र संस्कृतिको भयङ्कर अपमान गर्दै आएको छ ।” (पृ. ७१)
यस्ता गालीहरू त कति छन् कति । लामीटारेका लेखहरूमा गालीले बरिएका छन् ।
पुस्तकमा केही परिवर्तन हुन नहुने वाक्यहरू जानी जानी प्रकाशकीय र सम्पादकीयमा परिवर्तन गरिएका छन्- स्पष्टता दिन आवश्यक हुन सक्छ- जुन नभएको भए सामग्रीको मौलिकतामा टेवा थपिन्थ्यो । राजनैतिक चेतना अब्बल मानिएका देवीभक्त लामीटारेले भोटे र गोर्खा प्रयोग गरेका छन् ती शब्दहरूलाई ड्रुकपा वा नेपाली भाषी भूटानी वा नेपाली भूटानी भन्नु – लेखकको मुख्य राजनैतिक बिचारको अपव्याख्या हुनसक्ने ठान्छु म ।
लामीटारेका पिडा दायी जीवन यात्रा प्रकाशकीय र सम्पादकीयमा बढो मार्मिक तवरले प्रस्तुत गरेका छन्- हृदय विदारक छ उनको अन्त्य ।
लामीटारेको विचार र योगदानलाई जीवन्त राख्ने अभियानमा सफल भएको छ यो पुस्तक । यो लुप्त भएको कृतिलाई पाठक माझ ल्याएर सर्वसुलभ बनाउन सफल विद्यापति मिश्र, विनोद ढुङ्गेल र सम्पूर्ण टिमलाई बधाई तथा धन्यवाद ।
One Reply to “उग्र असहमतिको आवाज: “दन्किँदो भूटान”मा देवीभक्त लामीटारेको विरासतको अनावरण”