परिषद्-स्थापनाको तीन दशक

साहित्यिक गतिविधिहरूको विवरण / युवाहरूलाई आह्वान

(१९९३-२०२४)

कुनै पनि जातिलाई समाप्त गर्नु छ भने त्यसको भाषा संस्कृति मासिदिए पुग्छ । त्यसका लागि न युद्ध नै गर्नुपर्छ न हत्या र हिंसा नै । तर भूटानले भाषा मात्र समाप्त गरेन युद्ध नै गर्‍यो हाम्रो संस्कृति र सभ्यता ध्वस्त गर्न ।  निर्मम  हत्या  र हिंसाको प्रयोग  नै गर्‍यो हाम्रो सभ्यतामाथि । र अन्तमा सर्वस्व लुटेर देशबाटै लखेट्यो  पनि । भूटानी नागरिकमाथिको त्यो चरम विभेद र राज्यातङलाई विश्वले मौन स्वीकृति दिइरह्यो ।  जसले गर्दा आज हामी सिङ र पुच्छर बिनाको गाई जस्तै पहिचान विहीनको सङ्घारमा उभिएका छौँ चाहे देशभित्र होस् वा देशबाहिर ।

भाषा संस्कृति पुनर्स्थापनाका लागि  गरिएको सन् १९९० आन्दोलनकै कारण   आज हामी संसारमा तितरबितर भएका छौँ । भूटानमा कथित प्रजातान्त्रिक व्यवस्था सुरु भएको  दुई दशक हुन लाग्यो र पनि त्यहाँ नागरिकलाई न सामाजिक सङ्घसंस्था खोल्ने अधिकार नै छ न कुनै सामान्यभन्दा सामान्य साहित्यिक एवं सांस्कृतिक संस्थाहरू स्थापनाको नै । अहिले पनि नेपाली संस्कृति र सङ्गीत प्रजातान्त्रिक भूटानमा  बक्खु र तेगोभित्र गुम्सिएर छटपटिइरहेको छ । सङ्गिनी र लोकदोहोरी आफ्नै स्वाभिमानसँग उभिन सकेको छैन । वर्षौँदेखि बक्खु र किराबाट थिचिएको अस्तित्वले उन्मुक्तिको मौन पुकार गरिरहेको  छ ।

भाषा,संस्कृति र पहिचानको मुद्दा उठाएकै कारण भूटानको राज्य सत्ताले १९९० मा देशको कूल जनसङ्ख्याको एक तिहाइ नेपाली भाषी नागरिकलाई देशबाट उच्छेदन गर्‍यो । सरकारको चरम उत्पीडनपछि विस्थापित हुन बाध्य  हामी भूटानीहरूले पूर्वी नेपालका विभिन्न सात वटा  शिविरमा दशकौँ लामो कष्टकर जीवन बिताउनु पर्‍यो ।  स्वदेश फिर्तीका सबै अभियानहरू विफल भएपछि  २००८ देखि तेस्रो देश पुनर्स्थापनाको अभियानमार्फत विश्वका विभिन्न ८ देशहरूमा हाम्रो समुदायको पुनर्वास प्रारम्भ भयो ।  अहिले हामी विभिन्न देशहरूमा छरिन पुगेका छौँ र भाषा साहित्यको माध्यमबाट पुनः जोडिने प्रयत्न गरिरहेका छौँ ।

भूटानबाट सर्वस्व गुमाएर हिँड्न बाध्य भए पनि हामीले शरणार्थी अवस्थामा खुलेर एउटा अधिकारको उपयोग गर्न पाएका थियौँ ।  त्यो एउटै मात्र अधिकार थियो, अभिव्यक्ति स्वतन्त्रता । सामाजिक हित र उन्नतिका लागि त्यही स्वतन्त्रताको उपयोग गरेर हामीले सङ्घ संस्थाहरूको स्थापना गर्‍यौँ, राजनैतिक पार्टीहरू बने । मानवअधिकारवादी सङ्गठनका साथै सामाजिक अधिकारका सङ्गठनहरू  जन्मिए र जन्मिए धेरै भाषिक,शैक्षिक अनि सांस्कृतिक संस्थाहरू । यही क्रममा  भाषा,साहित्यको  संरक्षण र संवर्द्धन गर्ने उद्देश्य लिएर  नेपाली भाषा परिषद्,भूटान नामको एउटा भाषिक संस्थाको  पनि स्थापना भयो,शरणार्थी शिविरमा ।

परिषद्को आवश्यकता किनः

नेपाली भाषा कुनै एउटा जाति र समुदाय विशेषको मात्र भाषा होइन । नेपाली समाजभित्रै रहेका, विभिन्न मातृभाषा बोल्ने समूह,वर्ग र समुदायलाई एक अर्कामा जोड्ने,विचार विनिमय गर्ने, व्यापार व्यवसायका साथै साझा सम्पर्कको  अवच्छिन्न र अनिवार्य सूत्र हो नेपाली भाषा । नेपाली भाषाको यही भूमिका,महत्त्व र महिमाबारे समुदायलाई अवगत गराउन र साझा भाषाको अवधारणलाई समाजमा स्थापित गराउनका  लागि नै एउटा भाषिक संस्थाको आवश्यकता खड्किरहेको थियो । युगौँदेखिको त्यो आवश्यकता परिपूर्तिकै लागि पनि समुदायमा एउटा भाषिक एवं साहित्यिक संस्था स्थापनाको जरुरी थियो ।

स्थापना कालीन उद्देश्य

परिषद्का स्थापनाकालीन उद्देश्यहरू मध्य पहिलो  थियो, भूटानमा प्रतिबन्धित नेपाली भाषाको पुनर्स्थापना लागि सङ्घर्ष गर्नु । दोस्रो, त्यसको संरक्षण, संवर्द्धन र प्रवर्धन गर्नुका साथै भूटानी नेपाली साहित्यको प्रचार-प्रसार र प्रतिनिधित्व गर्नु । तेस्रो, नेपाली साहित्यको  पठनपाठन भूटानी समुदायमा सञ्चालन गर्नुका साथै स्वदेश फिर्तीपछि भूटानका स्कुलहरूमा नेपाली पढाउने शिक्षित जनशक्ति उत्पादन गर्नु  । यिनै उद्देश्य र मूल्यहरू प्राप्त गर्ने लक्ष्य लिएर सन् १९९३ मार्च १७ का दिन यस संस्थाको विधिवत् स्थापना भएको हो ।

स्थापना काल देखिनै परिषद्ले नेपाली भाषाको आधारभूत शिक्षा दिने क्रममा केही कक्षाहरूका लागि भूटान परिचय,उद्घोषण पत्रकारिता र प्रयोगात्मक पत्रकारिता जस्ता आफ्नै प्रकारका पाठ्यपुस्तकहरू निर्माण गरेर  समुदायलाई शिक्षित र दीक्षित गर्ने अभियान चलायो । नेपाली साहित्यको उच्च अध्ययनका लागि नेपाली साहित्य प्रचार समिति सिलगढीसँग समन्वय गरी शिक्षा आर्जनको मार्गमा समाजलाई अग्रसर गरायो  । बालबालिका लागि युएनएचसिआर तथा कारितास नेपालको संयुक्त संयोजनमा स्थापित क्याम्पका स्कुलहरूमा  औपचारिक शिक्षा-दीक्षाको कार्यक्रम प्रारम्भ भए पनि औपचारिक शिक्षा पाउने अवसरबाट एउटा ठुलो वर्ग  वञ्चित थियो ।  शिक्षा पाउनबाट  वञ्चित  वर्गलाई लक्षित गरी  साहित्यिक अध्ययन-अध्यापनको लागि  हामीले नेपाली साहित्य प्रचार समिति सिलगढीसँग समन्वय गरी उक्त साहित्यिक  पठनपाठन ल्याएर १९९२ देखि २०००९सम्म समुदायलाई शिक्षित र दीक्षित गर्ने शैक्षिक अभियान चलायौ ।

परिषद् स्थापनाको  पृष्ठभूमि र साहित्यिक अभियानमा संलग्नता

साहित्यको पठन-पाठन कसले अनि कुन उद्देश्यले शिविरमा ल्यायो भन्नेमा विभिन्न भाष्य र भ्रान्तिहरू निर्माण हुन थालेका छन्,अचेल । त्यसैले  जानेसम्मको वास्तविक जानकारी पनि यहाँ राख्न जरुरी ठानेँ ,मैले ।

सन् १९८९ तिरको घटना  हो ।   म गेलेफुग जुनियर हाई स्कुलमा पढाउँदै थिएँ । त्यस बेला ड्रिक्लानाम्जा,एक देश एक नरेश,जनगणना र दक्षिणी भेगमा ग्रीन्वेल्ट  जस्ता एकपछि अर्को  सरकारका षडयन्त्र र विभेदकारी नीतिबाट देश पुरै त्रसित र आतङ्कित थियो । विभेदकारी  सेन्सेसकै कारण  सीता मोथे नाम गरेकी एक शिक्षिकाले आत्महत्या गरिन् ।  जन प्रतिनिधिको नाताले टेकनाथ रिजाल र विद्यापति भण्डारीले राजालाई अपिल चढाए, जनगणना कार्यमा पुनः बिचार गरियोस् भनेर । घटनाको छानबिनको गर्नुको सट्टा उल्टै रिजालमाथि राज्य विद्रोहको अभियोग लगाइयो र  रिजाललाई जेलमा हालियो । केही महिनापछि रिजाल जेलबाट रिहा  त भए । तर देशमा बसिनस्कुनु स्थिति थियो । त्यसपछि रिजाल देशबाट निर्वासित भई नेपाल गए । त्यहाँबाट भूटानी जनताको उन्मुक्तिका लागि मानवअधिकारको मुमेण्ट प्रारम्भ गरे  । पत्रपत्रिका प्रकाशन गरेर  भूटानी जनतालाई सचेत र जागृत गर्न थाले । पत्रपत्रिका छाप्नका लागि  अर्थ सङ्कलनको अभियान चल्यो । पुस्तक प्रकाशनका लागि मैले पनि केही रकम सहयोग गरेको थिएँ । पैसासँगै

 

सहयोग गर्नेहरूको नामावली नेपालमा पठाइएको थियो । अचानक रिजाललाई  पक्रेर नेपाल सरकारले भूटानलाई सुपुर्दगी  गर्‍यो भन्ने हल्ला चल्यो ।  रिजाललाई ड्रुकयरबाट थिम्पु लग्यो । रिजालसँगै हाम्रो नामावली पनि भूटानी सेनाले लगेछ । रिजाललाई थिम्पु पुर्‍याएकै रात  राज्यका विभिन्न भागबाट भूटानी सेनाले गिरिफ्तारिको अभियान चलायो । र त्यो अभियानमा धेरै साथीहरू  पक्राउ परे ।  भूटानी सेनाले मलाई पनि  पक्रिएर थिम्पु पुर्‍यायो र जेलमा थुन्यो ।  जेलको वातावरण र सेनाका अधिकारीहरूको धाक,धम्की र यातनाबाट लाग्थ्यो अब बाँचिँदैन ।  कति बेला मार्ने हो भन्ने त्रास र पीडाले मुर्छित पार्थ्यो   ।  तीन महिनासम्मको   कठोर यातनापछि भाग्यवश मलाई जेलाबाट रिहाइ गरियो ।  राज्यबाट जीवनदान पाएर म गाउँ फर्के ।  गाउँ पुरै आतङ्कित थियो । स्कुलमा नेपाली विषयको पठनपाठन पूर्णतः प्रतिबन्ध भइसकेको थियो ।  स्टोरबाट नेपाली पाठ्य पुस्तक निकालेर जलाइँदै थियो ।  केही दिनपछि  शिक्षा विभागले शिक्षक पदबाट बर्खास्त गरेको पत्र  प्राप्त भयो,मलाइ ।  देशमा  बाँच्ने र  गरिखाने सबै उपायहरू प्रतिबन्धित भएपछि देश छोड्न बाध्य भएँ, म ।  र  जुलाइ १७,१९८९ का दिन  भूटानबाट विस्थापित भएर भारतको असम राज्यको सीमावर्ती गाउँ दाधघारीमा बस्दै थिएँ ।

एक दिन त्यस गाउँका युवाहरू नेपाली साहित्यको परीक्षा लेख्न भनेर शान्तिपुर हाई स्कुलमा गए,जुन स्कुलमा नेपाली साहित्यको परीक्षा चल्दै थियो । मैले ५ वर्षसम्म जागिर खाएको  नेपाली भाषा र पाठ्यपुस्तकहरू जलाइका परिघटनाले मलाई असाध्य पिरोल्दै थियो  । साहित्यको परीक्षा सुन्ने बित्तिकै मलाई त्यसबारे  जान्ने उत्सुकता  जागृत भयो र उनीहरूसँगै म पनि शान्तिपुर परीक्षा केन्द्रमा गएँ । परीक्षा नसकिञ्जेलसम्म त्यहाँ अतिथिको रूपमा  बस्ने  सौभाग्य पनि मिल्यो,मलाई ।  परीक्षा पनि चल्दै थियो र अर्को वर्षका लागि फारम भर्ने क्रम पनि चल्दै थियो । परीक्षा सञ्चालक एक जना कार्की थरका त्यही स्कुलका हेडमास्टर थिए । उनीसँग मैले पुराना प्रश्न पत्र र पाठ्यक्रम मागेँ र सर्सर्ती पढेँ । त्यो साहित्यिक पठन पाठनको अभियान सिलगढी स्थित साहित्य प्रचार समिति र पश्चिम बङगाल विश्वविद्यालयको संयुक्त प्रयासमा सञ्चालन भएको रहेछ । नेपाली बाहुल्य रहेका भारतीय राज्यहरूलाई लक्षित गरी त्यो शैक्षिक कार्यक्रम  सञ्चालन गरिएको रहेछ । र प्रभाकर(४) देखि अलङ्कार(स्नातक तह)सम्मको अध्ययन र परीक्षाहरू सञ्चालन हुने गरेको मैले पाएँ ।  पाठ्यक्रम हेरेपछि मलाई पनि साहित्य पढ्ने हुटहुटी उर्लिएर आयो । र मैले तत्काल क्रेन्द्राध्यक्ष कार्कीसँग फारम मागेँ र साहित्य भूषणमा फारम भरेर पहिलो पटक विद्यार्थीको रूपमा त्यस कार्यक्रममा जोडिन पुगेँ,म । मैले संस्कृत विषयको अध्ययन गर्दा २०० अङ्कको नेपाली पनि  पढेको थिएँ । र त्यसै आधारमा मैले उच्च माध्यमिक तह सरको भूषणमा प्रवेश गर्ने अवसर पाएँ ।  घरबार विहीन अवस्थामा न खानेको टुङ्गो थियो न सुत्ने नबस्नेको। न  पढ्ने पुस्तकहरू नै थिए न लेख्ने कापी कलम नै ।  ६ वर्षअघि बनारसमै पढेकै अनुभवका आधारमा मैले अर्को वर्ष १९९१मा परीक्षा लेखेँ,त्यही शान्तिपुर केन्द्रबाट  । ४ महिनापछि  परीक्षाको परिणाम प्रकाशित भयो ।  म पहिलो दर्जामा उत्तीर्ण भएँ । यस परिणामले मलाई साहित्यप्रति झन् बढी अध्ययन गर्ने उत्सुकता जागृत भएर आयो । र त्यसै वर्ष अलङ्कार( स्नातक ) पहिलो वर्षको फारम  भरेर  त्यही केन्द्रमा बुझाएँ ।

त्यति बेलासम्म भूटानमा नागरिक माथि चरम ज्यादती सुरूभइसकेको थियो । र दक्षिण भूटान पुरै सेनाको नियन्त्रणमा थियो । सेनाको ज्यादती र उत्पीडनको कारण विस्थापनको बाडी उर्लिइरहेको थियो ।१९९०-१९९२ सम्ममा

 

भूटानबाट विस्थापित नागरिकको ठूलोसंख्या भारतका विभिन्न राज्यहरूमा पोखिएको थियो । भारतमा रहेका विस्थापित भूटानीहरूलाई पनि भारतीय प्रशासनले खोजी खोजी गिरफ्तार गरेर मेची कटाउन थाल्यो । विस्थापित भूटानीको लागि भारत पनि एकदमै खतरा र असुरक्षित बन्न थालेपछि म पनि विस्थापनको बाडीसँगै ढुन्मुनिदै नेपालको माइधार पुगेँ,जहाँ  निर्मम मृत्युको एकल साम्राज्य   थियो ।

बाक्लो बसाइ,खानपिनको अभाव,भोक-रोग र महामारीको भयाभव प्रकोपबाट विस्थापित जीवन आतङ्कित थियो ।  त्यसमा पनि अचानक फैलिएको झाडा,पखाला,हैजाजस्ता महामीरले  हजारौँ बालबालिकाहरूको ज्यान लिइरहेको थियो । यतिसम्म कि  दिनमा ४८ जनासम्म बालबालिकाहरूको लास निस्कन्थ्यो, सेउले छाप्राहरूबाट ।  मलामीको मौन साक्षी भएर मैले  त्यस कठोर मृत्युको ताण्डव नृत्यको अवलोकन गरिरहेँ ।

विस्थापित भूटानीहरूको करूण चित्कारबाट विश्व समुदाय  बिउँझियो । मानवीय आधारमा राहत सामग्रीका साथ विश्व समुदाय माइधार पुग्यो । र विस्थापितहरूको जीवन रक्षाका लागि तिनीहरूको सहयोगमा ७ वटा क्याम्प निर्माण भए र माइधारबाट विस्थापित भूटानीलाई ती क्याम्पा सारियो ।

शिक्षा र चेतना विस्तारका लागि स्कुलहरू स्थापना भए । बसोबासका लागि छाप्राहरू निर्माण भए र  आवश्यक शिक्षा,स्वास्थ्य र खाद्य,राहत सामग्रीहरूको व्यवस्था हुन थालेपछि शरणार्थीमा जिजीविषा जागृत भयो । मलाई पनि त्यही जिजीविषाले बेल्डाँगी एकको शिविरमा पुर्‍यायो । शरणार्थीको रूपमा दर्ता गरेर त्यहाँ बसोबास गर्दै त्यही क्याम्पमा स्थापित ग्रीन्भेल एकेडेमीमा नियुक्त भएर विद्यार्थीहरूलाई पढाउन सुरु गरेँ  ।

विद्यालय जाने उमेरका विद्यार्थीहरूका लागि युएनएचसि आर तथा कारितास नेपालको संयुक्त संयोजनमा स्थापित क्याम्पका स्कुलहरूमा  औपचारिक शिक्षा-दीक्षाको कार्यक्रम रहे पनि औपचारिक शिक्षा आर्जनको अवसरबाट एउटा ठुलो वर्ग  वञ्चित थियो,हाम्रो समुदायमा ।  त्यही वञ्चित वर्गलाई लक्षित गरी हामीले साहित्यिक अध्ययन-अध्यापनको लागि नेपाली साहित्य प्रचार समिति सिलगढीसँग समन्वय गरी साहित्यिक उपक्रमलाई पहिलो पटक क्याम्पमा प्रवेश गराएको हो ।

म१९९२ मै असमको शान्तिपुर केन्द्रबाट मैले  अलङ्कारमा  फारम भरेको थिएँ । भूटानीहरूका लागि असम धेरै असुरक्षित थियो,त्यस बेला । भारतले धेरै साथीहरूलाई पक्रिएर भूटानलाई बुझाएको थियो । असुरक्षाको कारण साहित्यको  परीक्षा दिनका लागि असम मेरा लागि गम्भीर समस्या थियो । त्यसैले मैले साहित्य प्रचार समितिका तत्कालीन सचिवलाई मेरो परीक्षा  शिविर क्याम्पमै  सारिदिन अनुरोध गरेँ । किन भने म सँग असमसम्म  जाने न खर्च थियो न सुरक्षाको ग्यारेन्टी नै ।  त्यस बेला नेपालमा न साहित्यको पठन पाठनै हुन्थ्यो न परीक्षा सञ्चालन केन्द्रहरू नै  थिए । शिविरमा परीक्षा केन्द्रको व्यवस्था हुन सके भूटानमा औपचारिक शिक्षाबाट वञ्चित वर्गका लागि साहित्यको पठनपाठन बर्धान साबित हुने थियो भन्ने सोचेर  मैले समितिका  सचिवलाई  शिविरमा  पनि परीक्षा केन्द्रको स्थापनाका लागि अनुरोध गरेँ ।  मेरो अनुरोधलाई सुनेर सचिवले  तीन वटा सर्तहरू पुरा गरेको खण्डमा नेपालमा परीक्षा केन्द्रहरूको स्थापनाका लागि अनुमति प्रदान गर्न सकिन्छ,भन्ने उत्साहजनक सल्लाह दिए ।

ती तीन वटा सर्तहरूमध्ये पहिलो थियो,  परीक्षा केन्द्रको स्थापनाका लागि ३० भन्दा बढी परीक्षार्थी  हुनुपर्ने । दोस्रो साहित्यको पठनपाठन र परीक्षा सञ्चालनका लागि कुनै पनि  शैक्षिक संस्थान वा विश्वविद्यालयबाट स्नातक वा सो सरको परीक्षा उत्तीर्ण गरेका दुई वा दुईभन्दा बढी विज्ञ सम्मिलित एउटा परीक्षा सञ्चालन समिति हुनुपर्ने । तेस्रो एउटा शैक्षिक संस्थान वा भाषा साहित्यसँग सम्बन्धित सङ्गठन हुनुपर्ने ।

तर त्यस बेला सम्म हाम्रो समुदायमा न त्यस्तो आधिकारिक संस्थानै थियो न साहित्य प्रचार समितिले चाहे अनुरूपको  शैक्षिक जनशक्ति  नै । समिति  गठन गर्न त सकिन्थ्यो तर  नेपाली साहित्यमा उच्च अध्ययन गरेका विद्वान पाउन हाम्रो समुदायमा असम्भव नै थियो,त्यस बेला  । जे भए पनि यस वर्षका लागि ३० जना विद्यार्थी जुटाउन सकियो र नेपालमै स्थानीय परीक्षा केन्द्र स्थापना गरेर परीक्षा दिने वातावरण बन्यो भने त्यसलाई  सानु उपलब्धि नै मान्नुपर्ला भन्ने लाग्यो,मलाई  । किन भने   अर्को वर्षदेखि त साहित्यमा अलङ्कार उत्तीर्ण गर्नेहरू अवश्य निस्कनेछन्,त्यसपछि समिति गठन हुने र समिति वा सङ्गठन गठन भएपछि साहित्यको अभियानलाई औपचारिक रूपमै शिविरभित्र प्रवेश गराउने कार्य सफल हुने निश्चित भएपछि  परीक्षा केन्द्र नेपालको कुनै स्थानमा भए पनि फर्क नपर्ने भन्दै म त्यहाँबाट  बिदा मागेर फर्कनै लाग्दा  सचिवले कक्षा प्रभाकर देखि अलङ्कारसम्मका विद्यार्थीहरूका लागि ३० वटा परीक्षावदेन-पत्र(एडमिशन-फार्म) र प्रश्न पत्रका मोडलहरू पनि मलाई दिए ।

सिल्गडीबाट फर्किएको दोस्रो दिन सचिव मीमलालले दिएको सल्लाह, सुझाव,  परीक्षा आवेदन पत्र र प्रश्न पत्रका मोडलहरूबारे  कारितास अफिसले आयोजना गरेको  सातै वटा क्याम्पका श्रोत शिक्षकहरूको बैठकमा  साथीहरूलाई सुनाएँ/देखाएँ । जसरी पनि यो शैक्षिक कार्यक्रम शिविरमा ल्याउनुपर्छ भन्नेमा उनीहरू सहमत भएपछि  धमाधम फारम भर्ने कार्य प्रारम्भ भयो । फारम नपुगेर पुन सिलगढी गएर थप १५० वटा फारम ल्याएर र सबै क्याम्का साथीहरूलाई वितरण गरियो ।

परीक्षा आउन तीन महिना मात्र बाँकी थियो ।  बडो उत्साहका साथ अन्य क्याम्पका साथीहरूले फारम भरेर सिलगढीमा  पठाए   भने  यता बेलडाँगीमा पनि साहित्य पढ्न चाहने  विद्यार्थीहरू खोज्ने क्रम सुर भयो ।  तत्कालीन पञ्चवटी स्कुलका शिक्षकहरूसँग साहित्यको स्किमबारे व्यापक छलफल र परामर्श भयो । यो कार्यक्रम समुदायका लागि एकदमै उपयुक्त रहेको  र जसरी पनि  यस अभियानलाई क्याम्पमा ल्याउनुपर्छ भन्ने   सर्व सहमति बन्यो ।  सहमतिपछि  साहित्यको अध्ययन गर्न चाहने शिक्षकहरूको नाम सङ्कलनको कार्य सुर भयो ।  सङ्लनको कार्य  भवानी अधिकारीले प्रारम्भ गर्नुभयो । अधिकारीले अलङ्कारमा एडमिशन गर्ने इच्छा जाहेर गर्नुका साथै प्रवेश पत्र भरेर पहिलो पटक यस अभियानमा साथ र सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।  त्यसै गरी ग्रिन्वेल्ट एकाडेमी बेलडाँगी एकमा पनि हरिशरण नेपाल र मैले नाम सङ्कलनको कार्य सुरु गर्‍यौँ। धेरै शिक्षकहरूले पनि साहित्यको अध्ययनका लागि उत्साहित हुँदै परीक्षा आवेदन-पत्र भरे ।   आफ्नो योग्यता र क्षमता अनुसार विभिन्न कक्षामा फारम भर्ने क्रम चल्यो ।  बेलडाँगीमा मात्र लगभग ४० जना परीक्षार्थीले फारम भरेर  साहित्यिक अभियानमा  सहभागी भए ।  यसरी नै अन्य क्याम्पबाट फार्म भर्ने परीक्षार्थीहरूको सङ्ख्या ११० रहेको थियो  र पहिलो पटक विभिन्न कक्षामा प्रवेश गर्ने परीक्षार्थीको सङ्ख्या १५० थियो ।

 

१५० परीक्षार्थीहरूको फारम र परीक्षा शुल्क बुझाएपछि  नेपाली साहित्य प्रचार समितिले  शैक्षिक सत्र १९९३को  परीक्षाका लागि  स्थानीय स्कुलहरूमा ५ वटा परीक्षा केन्द्र सञ्चालन गर्ने व्यवस्था गरेको थियो  ।

बेलडाँगीको परीक्षा केन्द्र ढुकुर पानी माबीमा हुने निश्चित भएपछि   मैले  मेरो परीक्षा पनि ढुकुरपानी केन्द्रबाटै दिने प्रबन्ध मिलाएँ र परीक्षाका लागि असम गइरहनुपर्ने समस्यालाई टुङ्गाएँ  ।

बेलडाँगी जस्तै अन्य क्याम्पका परीक्षार्थीहरूका लागि पनि साहित्य प्रचार समितिले स्थानीय स्कुल प्रशासनसँग समन्वय गरेर मिलाएका  पाँच वटा परीक्षा केन्द्रहरू थिए,  बेल्डाँगी क्याम्पका लागि  ढुकुर पानी मावी, खुदुनाबारीका लागि शनिश्चरे मावी,टिमाइका लागि बुधबारे मावी,पथरी क्याम्पकका लागि स्थानीय मावी र गोल्धापका लागि गरामुनि माबी । यिनै केन्द्रहरूबाट  पहिलो पटक परीक्षार्थीहरूले साहित्यको परीक्षा लेखेका थिए ।

१९९३ मा जम्मा १५० जना परीक्षार्थीहरू साहित्यको परीक्षामा  सामेल भई परीक्षा लेखेका थिए । विभिन्न तहमा फारम भरेका  बेलडाँगीका ४२ जना परीक्षार्थीहरू मध्य  २२ जना मात्र परीक्षामा सामेल भएका थिए । त्यसमा म  गङ्गा लामिटारे,भवानी अधिकारी,हरिशरण नेपाल,हरिविनोद अधिकारी र हरिप्रसाद अधिकारी ४ जनाले अलङ्कारको परीक्षा दिएकोमा २ जना म र भवानी अधिकारी दोस्रो श्रेणीमा उत्तीर्ण भएका थियौँ ।  साहित्य प्रवेश परीक्षामा सामेल १४ जनामा ९ जनाले उत्तीर्ण गरेका थिए । त्यसै गरी भाषा प्रवीण(कक्षा ८) परीक्षामा सामेल ४ जनामा ३ जना उत्तीर्ण भएका थिए ।

शैक्षिक कार्यक्रम:

त्यस वर्षको परीक्षा सकिएसँगै समुदायमा हामीले एउटा साहित्यिक संस्थाको आवश्यकताबारे गम्भीर बहस  प्रारम्भ गर्‍यौँ  । सात वटै क्याम्पमा  छलफल र परामर्शको अभियान चलायौँ । व्यापक छलफल र परामर्श गरेर  सन् १९९३ मार्च १७ का दिन भाषा परिषद्,भूटानको विधिवतरूपमा स्थापना गर्न हामी सफल भयो । ५० भन्दा बढी संस्थापक रहेको परिषद्को स्थापनापछि साहित्यको अभियानलाई  औपचारिक रूपमा क्याम्पभित्र प्रवेश गराइएको हो  । १९९५  देखि  साहित्य परिषद्, भूटानले ७ वटै शिविरमा शाखा-प्रशाखाहरू विस्तार गरी साहित्यको पठन-पाठन प्रारम्भ गर्नुका साथै  पठनपाठन र परीक्षाका लागि कारितास नेपालसँग समन्वय गरी  बेलडाँगी,गोल्धाप,खुदुनाबारी,शनिश्चरे र गोल्धाम शिविरमा सञ्चालित स्कुलहरूमा परीक्षा केन्द्रहरूको  प्रबन्ध  गरी  साहित्य परिषद्, भूटान  शिक्षाको क्षेत्रमा एउटा शैक्षणिक संस्थानको रूपमा स्थापित भयो ।

भोला सापकोटा र मैले सन् १९९७ मा त्रिविबाट स्नातकोत्तर गरेपछि  साहित्य प्रचार समितिले साहित्यको सम्पूर्ण कार्यभार हामी(परिषद्)लाई सुम्पियो । परीक्षा सञ्चालन र व्यवस्थापनको आधिकारिक अनुमति प्राप्त भएपछि हामीले भूटान परिचय,प्रयोगात्मक पत्रकारिता र उद्घोषण पत्रकारिता जस्ता नवीन एवं समसामयिक पाठ्यपुस्तक लेखेर  साहित्यको पाठ्यक्रममा समावेश गरी  साहित्यका निर्धारित कक्षाहरूमा फेरबदलसमेत गरेका थियौ । जस्तै भाषा प्रवेश(कक्षा ६ ) एक वर्षे भूषण र अङ्ककारलाई दोस्रो खण्डमा विस्तार गरियो ।  हाम्रो प्रतिबद्धता र सक्रियता देखेर  साहित्य प्रचार समितिले  प्रश्न पत्र निर्माण, परीक्षा सञ्चालन ,उत्तर पुस्तिकाको जाँच र  जस्ता कार्यको जिम्मेवारी  साहित्य परिषद्लाई प्रदान गरेको थियो ।   हामीले उत्तर पुस्तिका जाँचेर  पठाएको अङ्को आधारमा साहित्य प्रचार समितिले  परीक्षाको परिणाम प्रकाशित गर्ने र प्रमाण-पत्र वा उपाधि पत्रहरू प्रदान गर्ने व्यवस्था गरेको थियो ।

यसरी साहित्यको अभियानलाई भुटानी समुदायमा ल्याउन अहम् भूमिका निर्वाह गर्ने व्यक्तिहरूमध्ये भवानी अधिकारी, खेम काफ्ले,तुलसी दवाडी,कपिलमुनि दाहाल,भोला सापकोटा र होमनाथ सुवेदी प्रमुख रहेका छन् ।

 

यद्यपि भूटानभित्रै रहेका बेला एउटा साहित्यिक संस्थाको चर्चा न भएको पनि होइन । केही साथीहरूसँग त्यसबारे कुरा पनि चल्यो । तर भूटानमा सङ्घ-संस्था खोल्न सम्भवै थिएन । सङ्घसंस्थाको कुरै मात्र गर्दा कयौँ जना मानिसहरूलाई जेल हालेको भन्ने सुनेपछि त्यो परिकल्पना त्यतिकै परिकल्पनामै सीमित थियो । वर्षदेखिको एउटा साहित्यिक संस्था स्थापना गर्ने भूटानीहरूको परिकल्पना त्यति बेला सार्थक भयो जति बेला साहित्यिक अभियानलाई  औपचारिक रूपमै क्याम्पभित्र ल्याउने कार्य सफल भयो ।

यसरी  भूटान परिचय,उद्घोषण पत्रकारिता र प्रयोगात्मक पत्रकारिता जस्ता पाठ्यपुस्तक समावेश गरी  सन्  १९९३ देखि  २००९ सम्म  निरन्तर सञ्चालन भएको परिषद्को उक्त शैक्षिक कार्यक्रमबाट  लगभग ८ हजारभन्दा बढी भुटानी लाभान्वित भएका थिए । शरणार्थी क्याम्पका स्कुलहरूमा नेपाली विषय पढाउने अधिकांश शिक्षकहरू पनि परिषद्द्वारा सञ्चालित साहित्यिक कार्यक्रमबाटै उत्पादित थिए  । अहिले भूटानी समाजमा उदाएका थुप्रै लेखक र स्रष्टाहरूको सृजनाको पृष्ठभूमि पनि भाषा परिषद् नै हो भन्नेमा दुई मत छैन । यसका साथै सृजनशील लेखन,उद्घोषण र पत्रकारिता सम्बन्धी प्रशिक्षण गरेर थुप्रै नयाँ लेखक, पत्रकार र कार्यक्रम प्रस्तोताहरूको उत्पादनमा पनि परिषद्,ले अहम् भूमिका निर्वाह गर्‍यो ।

शैक्षिक कार्यक्रमसँगै परिषद्ले पत्रपत्रिकाहरूको  प्रकाशनलाई पनि जारी राख्यो ।  वार्षिक रूपमा भूटानी कोपिला, दसौँ अङ्कसम्म र पाक्षिक रूपमा भूटान जागरण समाचार पत्र ९८औँ अङ्कसम्म प्रकाशन गरेर समाजका उदयमान लेखकहरूलाई लेख्ने, विचार अभिव्यक्त गर्ने र  चेतना विस्तारका साथै सामाजिक उन्नतिमा जुट्ने एउटा मञ्च प्रदान गर्‍यौँ ।  यो भाषिक तथा साहित्यिक अभियान २००९ सम्म अविरल चलिरह्यो,शिविरहरूमा  ।

साहित्यको साझा मञ्च  स्थापना:

पुनर्वास प्रारम्भ भएपछि विस्थापित भूटानीहरूको जीवनमा नयाँ मोड आयो । दुई दशकसम्म एक ढिक्का बसेको समुदाय विश्वका विभिन्न मुलुकहरूमा पुनर्स्थापना भएपछि बिलकुलै तितरबितर  बन्यो ।  क्याम्पमा निरन्तर चल्दै आएका साहित्यिक गतिविधिहरूमा शिथिलता मात्र आएन २००७ मा प्रारम्भ भएको पुनर्वास कार्यक्रमबाट यसको क्रियाशीलतामा समेत  गम्भीर गतिरोध उत्पन्न भयो । तत्कालीन परिषद्का कार्यकर्ताहरू पनि पुनर्वासमा हिँडेसँगै क्याम्पमा साहित्य क्रियाकलापहरू बिलकुलै ठप्प हुन पुगे । पुनर्वासको कारण कार्यक्रमहरू मात्र ठप्प  भएन, लगभग दुई दशकसम्म भुटानी समुदायको साहित्यिक,शैक्षिक र चेतना विस्तारको क्षेत्रमा अहंभूमिका निर्वाह गरेको संस्थाको इतिहास नै समाप्त हुने स्थिति बन्यो । दुई दशकसम्म भाषा साहित्यको उन्नयनमा योगदान गर्दै आएको परिषद्,द्वारा सञ्चालित सृजनात्मक गतिविधिहरूलाई निरन्तरता कायम राख्नेबारे केही सचेत युवाहरूबिच गम्भीर बहस भयो । युवाहरूको धेरै लामो बहस र छलफलपछि २००९ को मई महिनाबाट  Bhutaneseliterature.com नामक एउटा डिजिटल प्लेटफर्म / अर्थात् नेपाली साहित्यको साझा मञ्च स्थापना भयो र विलयको सङ्घारमा पुग्नै लागेको परिषद्को लेखन र प्रकाशकीय गतिविधिले  पुनर्स्थापित भएर निरन्तरता प्राप्त गर्‍यो ।  पाक्षिक रूपमा अनलाइन साहित्यिक पत्रिका   प्रकाशनको प्रबन्ध गरेर युवाहरूले बदलिँदो परिस्थितिमा साहित्यिक आन्दोलनलाई  एउटा नयाँ उचाइमा पुर्‍याउन भयङ्कर ठुलो प्रयास गरे । उक्त  साहित्यिक साझा मञ्च(भुट्निज लृट्रेचर डटकम)को स्थापनामा रमेश गौतमको  अहम् भूमिका रह्यो । यस मञ्चलाई  साकार र मुर्तरू दिने अन्य स्थापनाकालीन सदस्यहरू थिए, डोना आचार्य,सञ्चमान राई,यतिराज अज्नवी र रूपनारायण पोख्रेल ।

नेपाली साहित्य परिषद्-भूटानको केन्द्रीय समितिको  २०११ जुनमा बसेको बैठकले परिषदको  साङ्गठनिक ढाँचाहरूमा केही फेरबदल गर्‍यो । साथै  भाषा साहित्यको विकास र उन्नतिका लागि विभिन्न देशहरूमा पुनर्वाससित  समुदायलाई ध्यानमा राख्दै  निर्देशनालयहरूको विस्तार गरेर परिषद्को  कार्य क्षेत्र विस्तार गर्‍यो । परिवर्तित नयाँ संरचना अनुसार  नेपाली साहित्य परिषद्,भूटान,भूटान साहित्य परिषद्-मा रूपान्तरण भयो । यसरी नेपाली भाषा परिषद्-भूटान, नेपाली साहित्य परिषद्-भूटान हुँदै भूटान साहित्य परिषद् बन्न पुग्यो । परिषद् र भुट्निज लृट्रेचर डटकम बिच भएको उक्त सम्झौताअनुरूप दुवै संस्थाका तत्कालीन कार्य समितिको विगठन गरी साहित्य परिषदको विधानलाई पालना गर्दै नयाँ कार्यसमिति चयन गरियो ।  जुन ११ मा  भएको उक्त  सहमति अनुसार भुट्नीज लिटरेचर डटकम, भूटान साहित्य परिषदको  प्रकाशन विभाग अन्तर्गत सञ्चालन हुने ऐतिहासिक निर्णय गरियो भने  भूटान साहित्य परिषद् सन् १९९३ मा स्थापित नेपाली भाषा परिषद्-भूटानको विकसित एवं विस्तारितता रूपान्तरित भयो । र दुवै संस्थाको स्थापनाकाल  सोही मितिमा हुने निर्णय गर्‍यो  ।  नेपाली भाषाको साहित्यमा मात्र सीमित  नरही अब उसो साहित्य परिषद्  भूटानीहरुले सृजना गर्ने विभिन्न भाषाहरू र तीनको साहित्यको विकास र उन्नतिमा पनि उत्तिकै क्रियाशील रहने प्रतिविद्धतासमेत गर्‍यो  ।

यसरी पुनर्वासपछि पाक्षिक रूपमा निरन्तर साहित्यिक प्रकाशन गर्दै आएको प्रकाशन विभाग(साझा मञ्च)ले  सञ्चालनको १५ वर्ष पूरा गरेको छ । आजसम्म उक्त वेबसाइट मार्फत झन्डै ४ हजारको हाराहारीमा विभिन्न विधाका रचनाहरू प्रकाशित भइसकेका छन् । अहिले यो प्रकाशन संसारभरि रहेका नयाँ लेखकहरूका लागि एउटा गतिशील  मञ्चको रूपमा प्रयोग भइरहेको छ । र यस मञ्चको प्रयोग गर्ने लेखकहरूको सङ्ख्या निकै बढेको छ । लेखकको संख्यामात्र बढेको छैन  सृजनाको गुणस्तर,चिन्तनको फाँट र ज्ञानको आयामको पनि विस्तार भएको छ ।

सङक्रमणकालमा परिषद्-

२००९ मा परिषद्का तत्कालीन कार्यकर्ताहरू पुनर्वासमा हिँडे पछि परिषद्को अस्तित्व नै सङ्कटमा पुग्यो ।  दुर्भाग्यवश त्यस बेला  क्याम्प भयङ्कर अशान्तिमा रुमल्लिएको थियो ।  शरणार्थीरूबीच आक्रमण-प्रत्याक्रमणको स्थिति थियो । कार्यकर्ता भेला भएर छलफल गर्ने स्थिति  थिएन । त्रसित र असुरक्षित अवस्थामा परिषद्को भावी कार्यदिशा बारे चर्चा परिचर्चाको स्थिति बन्न सकेन ।

२००७ देखि २००९सम्ममा परिषदको नेत्रित्त्वदायी भूमिकामा धेरै फेरबदल भयो । तत्कालीन अवस्थामा परिषद्को अध्यक्षता गरिरहेका कपिल मुनि दाहाल पुनर्वासमामा हिँडेपछि परिषद्को जिम्मेवारी भोला सापकोटाले समालेका थिए ।  चुणामणि अधिकारी र देवराज ढुङ्गेललाई परिषद्को जिम्मेवारी सुम्पिएर भोला सापकोटा पनि  पुनर्वासमा हिँडेपछि  परिषद् बिलकुलै नेत्रित्त्वविहीन  अवस्थामा पुग्यो ।  यसरी नेत्रित्त्वविहीन बन्न पुगेको   परिषद्लाई पुनर्स्थापित गर्न   १२/१६/२०१० मा शिवलाल दाहालको सक्रियतामा अन्तरिम कालीन एउटा कार्य समिति गठन भयो । पुनर्गठित उक्त अन्तरिम कार्यसमितिको अध्यक्षमा स्वयं शिवलाल दाहाल र उपाध्यक्षमा याम थुलुङ मनोनयन भए । उक्त अन्तरिम कालीन समितिको  सदस्यहरूमा शान्तिराम ढकाल ,डम्बर ओस्थी, कर्ण गुरूङ र डेन्जुम राई  थिए ।

पुनर्वासको कारण अन्तरिम कालीन कार्यकर्ताहरू  पनि  विभिन्न देशमा पुनर्वाससित भएपछि   पुनः २०११ को जुनमा परिषद्को  पुनः कार्यसमितिमा हेरफेर भयो । अमेरिकामा पहिलो पटक हेरफेर गरिएको  उक्त  कार्यसमितिमा

 

भक्त घिमिरेले परिषद्को अध्यक्ष र शिवलाल दाहालले उपाध्यक्षको जिम्मारी सामालेका थिए । यस समितिले  नेपाली साहित्य परिषद् भूटानलाई भूटान साहित्य परिषद्,मा रूपान्तरण गर्नुका साथै वायलज(निर्देशिका) लेखन,परिषद्लाई अमेरिकामा गैरनाफामुखी संस्थाको रूपमा पञ्जीकृत  र  २०००९ मा स्थापित  भूट्निज लृट्रेचर डटकमलाई साहित्य परिषद्,भूटानको प्रकाशन विभागमा रूपान्तरण गर्ने ऐतिहासिक निर्णय गर्‍यो ।  पुनर्वासको सङ्क्रमण होस् वा   सङ्क्रमणकालीन अन्तरिम अवस्थाको होस् दुवै अवस्थामा निर्वाह गरेको शिवलाल दाहालको नेत्रितत्त्वदायी  भूमिका अविस्मरणीय  छ ।  यसरी   बिलकुलै विगठित,निष्क्रिय र गतिहीन अवस्थामा रहेको परिषद्लाई मूर्तरूप दिएर यहाँसम्म ल्याउनेहरूमा रूपनारायण पोख्रेल,भक्त घिमिरे,रमेश गौतम, प्रकाश धमला, यतिराज अज्नवीको भूमिका पनि कम महत्त्वको छैन ।

सम्मेलन /कार्यक्रमहरू:

साहित्यको पठनपाठन र प्रकाशन  कार्यलाई मात्र परिषद्ले प्राथमिकता र महत्त्व दिएन,सँगसँगै समाज सेवी र भाषा-साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने सृष्टिहरूको सम्मान र अभिनन्दन गर्ने परम्पराको सुरुआत पनि गर्‍यो । सन् १९९७ मा पहिलो पटक त्रिरत्न माबी बेलडाँगीमा एक भव्य साहित्यिक कार्यक्रम आयोजना गरी ७ जना स्रष्टाहरूलाई सम्मान तथा अभिनन्दन गरी सो सम्मान गर्ने परम्पराको प्रारम्भ गर्‍यो । भूटानी समुदायमा पहिलो पटक आयोजना गरिएको उक्त ऐतिहासिक  सम्मेलनमा साहित्य सृजनाको क्षेत्रमा गौरीशंखर अधिकारी,  डिल्लीराम आचार्य र डा हरिप्रसाद अधिकारीलाई  अभिनन्दन गरी सम्मान गरिएको थियो भने अन्य युवा स्रष्टा घनश्याम रेग्मी,तुम्बेहाङ लिम्बू,इन्द्र खवास, जगन्नाथ मिस्र र पशुपति तिम्सिनालाई प्रशंसा पत्रबाट सम्मान गरी प्रोत्साहित गरिएको थियो । यसै गरी इतिहासको क्षेत्रमा कलम चलाउने देवीभक्त लामिटारेलाई पनि अभिनन्दन गरेको थियो ।

सन् १९९८,प्रज्ञाप्रतिष्ठान, कमलादी काठमाडौँ  एक दिने परिचयात्मक साहित्यिक विमर्श कार्यक्रम गरियो । भूटानी साहित्यिक संस्थाबाट  शिविरबाहिर आयोजना गरेको यो पहिलो परिचयात्मक कार्यक्रम थियो ।

-२००३ बेल्डाँगी दुईको ओगाटा मैदानमा वृहत् एक दिने वृहत् साहित्य सम्मेलनको आयोजना गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोग र संलग्नतामा उक्त कार्यक्रम भएको थियो । विभिन्न सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहेको सो कार्यक्रममा नेपाली साहित्यका ३ चर्चित आख्यानकार कृष्ण धरावासी,गोविन्द भट्टराइ र लीलाबहादुर क्षेत्रीले दमदारको वक्तव्य राखेका थिए । मुलुक बाहिर बसोबास गर्ने नेपाली जातिले भोग्नु परेका ज्यादती र उत्पीडनका बारेमा विस्तृत र गम्भीर अभिभाषण गरेका थिए । कार्यक्रमको आतिथ्य प्रतिष्ठानका तत्कालीन सचिव तुलसी भट्टराइले गर्नुभएको थियो । १० हजारभन्दा बढी दर्शकहरूको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा भारत,भूटान र नेपालबाट ३ दर्जनभन्दा बढी स्रष्टा र शुभचिन्तकहरूको सहभागिता रहेको थियो । भूटानी समुदायमा भएको उक्त साहित्यिक एवं सांस्कृतिक कार्यक्रम  शरणार्थी शिविरकै पहिलो र ऐतिहासिक  थियो ।

२०१२, शिवलाल दाहालको सक्रियतामा खुदुनाबारी क्याम्पमा  भव्यताका साथ साहित्यिक कार्यक्रम सम्पन्न भयो । शरणार्थी शिविरमा आयोजना गरिएको साहित्य परिषद् भूटानको  यो  नै अन्तिम कार्यक्रम थियो ।  पुनर्वासमा हिँड्नु पूर्व २०१३ मा शिवलाल दाहालकै सक्रिय आयोजनामा काठ्माण्डौँ स्थित प्रज्ञा भवनमा एक दिने साहित्यिक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा अलबिदा बेल्डाँगी कृतिको लोकार्पणका साथै भुटानी नेपाली साहित्य सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरेर शिवलाल दाहालले  भूटानीहरूका तर्फबाट  साहित्यिक  उपस्थितिको दर्बिलो सन्देश दिनुभएको थियो ।

 

 

पुनर्वासपछिको  क्रियाशीलता:

पुनर्वासमा परिषद्ले २०१६ मा पेन्सिलभिन्याको पिस्ट्वर्गमा दुई दिने  सम्मेलन गर्‍यो र सम्मेलनमा नारद पोख्रेलको प्याथटिक जर्नीको विमोचन गरेर    अवरुद्ध भएको साहित्यिक अभियानलाई चलायमान  गर्‍यो ।   यसै वर्षको अन्तिममा परिषद्को कार्यसमितिको चुनाव भयो  । अमेरिकामा पहिलो पटक भएको चुनावबाट साहित्य परिषद्,भूटानको कार्यसमितिको अध्यक्षमा भक्त घिमिरे निरन्तर कायम रहे  भने उपाध्यक्षः प्रकाश धमला,सचिवःरूपनारायण पोख्रेल,कोशाध्यक्षः लक्षमण भण्डारी रहेका थिए । परिषद्को विभाग प्रमुखहरूमा प्रकाशन निर्देशक:

रमेश गौतम,समाज तथा संस्कृति निर्देशक: मनोज राई,सञ्चार तथा मनोरञ्जन निर्देशक: चरण बजगाईँ,सञ्चार तथा मनोरञ्जन सह निर्देशकः जे.एन.दाहाल,प्रमुख सम्पादक यतिराज अजनबी, शिवलाल दाहाल सम्पादकमा प्रतिमान सिवा र डा लक्ष्मीनारायण ढकाल रहेका थिए । यस समितिले  बायलजको संशोधन गर्नुका साथै साहित्यिक सम्मेलन २०१८ ओहायो राज्यको सिन्सिनिटीमा    सम्पन्न गर्‍यो । र  दुई दिने उक्त सम्मेलनमा विभिन्न विषयमा आधारित ४ वटा कार्यपत्र प्रस्तुत गर्नुका साथै  समकालीन नेपाली कथा सङ्ग्रह(२०१८)  प्रकाशित गर्‍यो ।  यसका साथै अन्य विभिन्न विधाका ८ वटा साहित्यिक कृतिहरूको लोकार्पण  भए,त्यस कार्यक्रममा । साथै  यस सम्मेलनमा नेपाली साहित्यको विकास र स्तरोन्नतिका लागि  विभिन्न ४ नखद पुरस्कार स्थापनाको घोषणा भयो । स्थापित पुरस्कारहरूमा प्रत्येक ३ वर्षमा प्रदान गरिने हिमटीका आख्यान पुरस्कार,प्रत्येक दुई वर्षमा अर्पण गरिने हिम तारा काव्य पुरस्कार,प्रत्येक ५ वर्षमा अर्पण गरिने मुना स्मृति कथा पुरस्कार र प्रत्येक ३ वर्षमा अर्पण गरिने सङ्गीत सुराग पुरस्कार । साथै यस सम्मेलनले परिषदको ऐतिहासिक मूल्य र भूमिकालाई संरक्षण गर्दै  स्थापनाकालीन उद्देश्य प्राप्तिका लागि निरन्तर क्रियाशील भई अघि बढ्ने प्रतिबद्धता समेत गर्‍यो ।

२०१८मा शिवलाल दाहालको अन्तरिम अध्यक्षता गठित परिषद्,को  नयाँ कार्यसमितिको अध्यक्षमा गङ्गा लामिटारे  उपाध्यक्षमा नैनसिंग मगर, सचिवमा खेम रिजाल,सहसचिवमा तिला आचार्य र कोशाध्यक्षमा,लक्षमण भण्डारीलाई जिम्मेवारी सुम्पियो । २०२२ मा घरायसी समस्याको कारण  कोशाध्यक्ष लक्षमण भण्डारीले राजीनामा गरेपछि सो पदमा परमानन्द बाँस्तोलालाई  सम्मानपूर्वक  नियुक्त गरियो ।

यसै गरी  परिषद्को बोर्ड अफ डाइरेक्टरहरूमा, लक्ष्मीनारायण ढकाल शिक्षा निर्देशक,जे.एन.दाहालः निर्देशकः जन सम्पर्क ,रमेश गौतमः  निर्देशक: प्रकाशन,दुर्गा रिमालः   निर्देशक: शाखा अस्ट्रेल्लिया,खगेन्द्र गौतमः निर्देश: शाखा क्यानडा र दिल भूटानीः  निर्देशक शाखा एसिया र मुना रेग्मी  निर्देशक: शाखा न्युजिल्याण्डमा रहेर कार्यभार समालिरहेका छन् । स्मरणीय कुरा के छ भने २०२२ मा खेम खतिवडाले पदबाट राजीनामा गरेपछि सो पदमा डा लक्ष्मीनारायण ढकाललाई नियुक्त गरियो । साथै जे.एन. दाहाल  पाक्षिक रूपमा  प्रकाशित हुने भूटानी लृट्रेचर डटकमको  सम्पादकमा  गएपछि २०२३ देखि  परिषद्को  जनसम्पर्क विभाग रिक्त रहेको छ ।

यस कार्यसमितिले नेपाली शिक्षणका लागि प्राथमिक तहको एउटा पाठ्यक्रम तयार गरी २०२१ मा प्रकाशन गर्‍यो । यसका साथै   धमला परिवारबाट स्थापित   १०००(हजार अस्ट्रेलियाली डलर)को  हिम तारा स्मृति काव्य पुरस्कारबाट गल्ली गल्लीका गीतहरू: नामक कविता कृतिकी स्रष्टा तिला आचार्यलाई  एक विशेष भर्चुअल कार्यक्रमको आयोजना गरी  सम्मान गर्‍यो ।

२७/२८,२०२२ मा ओहायो राज्यको राजधानी कलम्बसमा दुई दिने वृहत्  अन्तर्राष्ट्रिय सम्मेलन   सम्पन्न गर्‍यो । उक्त सम्मेलनमा विभिन्न विषयक कार्यपत्र प्रस्तुत गर्नुका साथै पुनर्वासपछिका भूटानी नेपाली कविता कृतिको प्रकाशनसँगै  विभिन्न लेखकहरूद्वारा लिखित  एक दर्जन कृतिहरूको विमोचन गरियो ।  यसै वर्ष दिल भूटानीको नब्बेका घाउहरू नामक कविता सङ्ग्रह, डिल्लीराम आचार्यको उपन्यास उच्छेदन,डा लक्ष्मीनारायण ढकालद्वारा लिखित डायस्पोरामा-नेपाली भाषा शिक्षण नामक कृतिहरूको  प्रकाशन गर्‍यो,परिषद्ले ।  नेपाली प्राथमिक तहको पाठ्यक्रमको पुनर्प्रकाशन र  हेम गुरागाईँद्वारा अङ्ग्रेजीमा अनुवादित वाइ एन चम्लागाइँको साक्षी उपन्यासको प्रकाशन पनि गर्‍यो  ।

 

परिषद्का क्रियाशील शाखा वा /च्याप्टरहरू:

२०२१ मा परिषद्को एसिया शाखाले शरणार्थी शिविर बेलडाँगीमा भव्यताका साथ साहित्य कार्यक्रम सम्पन्न गर्‍यो । परिषद्का एसिया निर्देशक दिल भूटानीको सक्रियतामा  उक्त कार्यक्रम सम्पन्न भयो ।

२०२२- परिषद्को क्यानडा च्याप्टरले भर्चुअल मञ्चका माध्यबाट साहित्य कार्यक्रम सम्पन्न गर्‍यो । कार्यक्रमको संयोजन परिषद्का क्यानडा निर्देश खगेन्द्र गौतम र भानु ढुङ्गानाले गर्नुभएको थियो ।

२०२३ जुलाई १६ का दिन शाखा अस्ट्रेलियाले  भर्चुअल माध्यमबाट पुस्तक,चर्चा,स्रष्टा सम्मान र सृजना वाचन  कार्यक्रम भव्यताका साथ सम्पन्न गर्‍यो । कार्यक्रमको संयोजन परिषद्का अस्ट्रेलिया निर्देशक दुर्गा रिमालले गर्नुभएको थियो ।

न्युजिल्याण्ड निर्देशक मुना रेग्मी  र युरोप: प्रतिनिधि रमेश गौतमले गर्दै हुनुहुन्छ ।

 स्रष्टा सम्मान:

२०२२ सेप्टेम्बरका दिन काडमाण्डौ नेपालको प्रज्ञा भवनमा एक विशेष कार्यक्रमको आयोजना गरी परिषद्ले नेपाली साहित्यका विभिन्न फाँटमा विशेष योगदान गर्ने स्रष्टाहरूका लागि ४ वटा आर्थिक पुरस्कारको स्थापना गरी   स्रष्टा सम्मान गर्ने परम्परा सुरु गर्‍यो । उक्त सम्मान कार्यक्रममा सम्मानित हुने स्रष्टाहरूमा वरिष्ठ साहित्यकार गोविन्द भट्टराइलाई नखद १ लाख रुपियाँको परिषद् साहित्य सेवा पुरस्कार २०२२,नेपाली भाषा- मान्यताका लागि  अग्रणी भूमिका निर्वाह गर्ने दिलकुमारी भण्डारीलाई  नगद १ लाख रुपियाँको परिषद् भाषा सेवा पुरस्कार २०२२, युवाहरूलाई साहित्य सृजनामा प्रोत्साहन गर्ने प्रकाश आङ्देम्बेलाई ५० हजार रुपियाँको परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार २०२२ र भूटानको नेपाली साहित्यमा गहिरो अनुसन्धान गर्ने रामजी तिम्सिनालाई ५० हजार नेपाली रुपियाँको परिषद्,अनुसन्धान पुरस्कार २०२२ बाट सम्मान गर्‍यो ।  साथै परिषद्ले  जनवरी २०२४ मा नेपालबाहिर बसोबास  गर्ने  नेपाली र नेपाली साहित्यको उच्च अध्ययन गर्न चाहने नेपालीहरूका लागि नेपाली साहित्यको अनलाइन पठन-पाठनको व्यवस्था मिलाइ दिन त्रिभुवन विश्वविद्यालयलाई  एउटा ज्ञापन पत्रसमेत बुझायो ।

यसरी प्रारम्भमा नेपाली  भाषा परिषद्,भूटान, २००२ देखि नेपाली साहित्य परिषद्,भूटान हुँदै पुनर्वासपछि २०१६ मा अमेरिकामा परिवर्तित  साहित्य परिषद् भूटानको नाममा पञ्जीकृत एउटा गैर नाफामुखी (501 C) मान्यता प्राप्त साहित्यिक संस्थाको रूपमा स्थापित  भएको हो । जटिलभन्दा जटिल समय र परिस्थितिसँगै आफूलाई परिवर्तित

गर्दै आएको परिषद्ले  पुनर्वासमा नेपाली भाषाको पठन-पाठनका लागि प्राथमिक पाठ्यक्रम र पाठ्यपुस्तकका साथै साहित्यिक कृतिहरूको प्रकाशन गर्दै आएको छ ।

 

निष्कर्ष:

पुनर्वासपछिको १५ वर्षमा शिक्षा,चेतना र आर्थिक समृद्धिका क्षेत्रमा हाम्रो समाजले जुन उचाइ हासिल गर्दै छ, त्यसलाई उत्साहजनक मान्नै पर्छ ।  यस उत्साह र समृद्धिसँगै हामीले बिर्सनै नहुने भनेको भाषा हो । समृद्धिबाट केही क्षण   सुख प्राप्त हुन सक्ला तर शान्ति,सन्तुष्टि र स्वाभिमान कहिले पनि प्राप्त हुन्छ भन्ने लाग्दैन । भाषा जातीय पहिचानको महत्त्वपूर्ण कडी हो । मान,सम्मान र अभिमान हो हाम्रो भाषा । जब भाषा नै रहेन भने हाम्रो साहित्य कसरी फस्टाउँछ ? साहित्य नै रहेन भने हाम्रो स्वाभिमान कसरी बाँच्न सक्छ ? समृद्धिको होडबाजीमा होमिएर कतै आत्मसम्मानै दाउमा लगाइरहेका त छैनौँ? गम्भीर भएर सोच्ने समय आएको छ ! विना स्वाभिमान समृद्धिको कुनै अर्थ हुँदैन ! यदि त्यसो होइन भने किन हाम्रा बच्चाहरूले नेपाली बोल्न बिर्सिँदै छन् ? पुनर्वासको १५ वर्ष पनि नपुग्दै १५ वर्षमुनिका बच्चाहरू नेपाली  भाषा र संस्कृतिप्रति अनविज्ञ बन्दै गएका छन् । यसरी नै अनविज्ञ बन्दै जाने हो भने तिनीहरूका छोरा-छोरी र नाता-नातिनीहरूको पहिचानको  के होला ? प्रश्न गम्भीर छ । नेपाली लेख्न-पढ्न नजान्नुलाई सामान्य मान्न सकिएला तर बोल्नै नजान्नुलाई कदापि सामान्य मान्न सकिन्न ।

हो,हाम्रो समाज आफैँमा  ड्राइवस छ  । विविध विश्वास र आस्थाहरू छन्,समाजमा ।  र विविध मातृ भाषा बोल्ने समुदाय छ  । यस  अनेकता र विविधतालाई एकतामा बाद्ध्ने,विविध आस्था र विश्वासहरूका बिच पनि सद्भाव कायम राख्ने बलियो र विश्वासिलो आधार भनेकै हाम्रो यही नेपाली भाषा हो । जुन दिन हामी बिचको यो भाषारूपी सद्भावको डोरी छिन्छ, त्यस दिन संस्कृति त सकिन्छ नै जाति पनि विनाश हुने सुनिश्चित छ । त्यसैले हाम्रो समग्र जातीय अस्तित्वलाई  जीवित राख्ने एक मात्र बलियो आधार भनेको  नेपाली  भाषा र त्यसको पठन-पाठन नै हो ।

पहिचानकै लागि भूटानमा सङ्घर्ष  गरियो । स्वाभिमानकै लागि  २० वर्ष शरणार्थी बन्यो । र पहिचान बचाउनैका लागि पुनर्वासलाई रोज्यौँ,हामीले ।  पुनर्वासमा पनि यो पहिचानको लडाइँ युग युगसम्म लड्नुपर्नेछ । लड्नुपर्छ भन्दा यहाँ भाषाका लागि झन्डै बोक्नुपर्छ भनेको होइन । भाषाकै लागि हामीलाई छुट्टै राज्य चाहिएको छैन । पहिचानका लागि हामीलाई  देशै चाहिएको पनि होइन । हामीलाई चाहिएको छ,पहिचान र स्वाभिमान सहितको समृद्ध  नेपाली भाषी  समाज ।

पुनर्वासमा भाषा बचाउने कार्य एक दुई जनाको प्रयासबाट  मात्र सम्भव छैन । यसमा सामूहिक र संस्थागत पहल हुनजरूरी छ । सबैको साथ र सहयोग अपरिहार्य चाहिन्छ ।

परिषद्ले  अमेरिकामा सञ्चालित नेपाली भाषाको पठनपाठनलाई  एकरूपता कायम गर्ने उद्देश्यले  मार्च १०,२०१९ का दिन परिषदको बोर्डको बैठकले पाठ्यक्रम निर्देशक खिम खतिवडाज्यूको संयोजनमा शिक्षा विशेषज्ञहरूको समिति बनाएर पाठ्यक्रम निर्माण कार्य प्रारम्भ गरेको थियो । २ वर्ष लामो प्रयास पछि समितिले निर्माण गरेको पाठ्यक्रम परिषद्ले २०२१ मा प्रकाशित गर्‍यो  । पुनर्वासमा भइरहेको नेपाली भाषा शिक्षणको विविधतालाई यस पाठ्यक्रमले एउटै प्रक्रिया ल्याउने जोड गरेको छ । वर्तमान विभिन्न समस्याका बाबजुद पनि सञ्चालन हुँदै गरेका नेपाली कक्षाहरूलाई व्यवस्थित, सहज र विकसित गर्न र शिक्षण सिकाइलाइमा देखिएका समस्याहरूका न्यूनीकरण गर्नका लागि पनि उक्त समितिले कार्यशाला, प्रशिक्षण र तालिमहरूको व्यवस्था  पनि गर्‍यो । यसरी नेपाली कक्षा सञ्चालका लागि मानिसहरूलाई जागरूक र अभिप्रेरित गरेर साहित्य परिषद्ले एउटा अभिभावकीय भूमिका निर्वाह गर्ने प्रयास प्रारम्भ गरेको छ । साथै स्कुलहरूमा नेपाली भाषालाई कसरी प्रवेश गराउन सकिन्छ भनेर विभिन्न विज्ञहरूसँगको छलफल र परामर्श पनि थालिएको छ । साहित्य परिषद्,को पाठ्यक्रम विभागलाई शिक्षा विभागमा रूपान्तरण गरेर भाषा मान्यताका लागि सबै क्षेत्रका विज्ञहरू सम्मेलित  एउटा समिति गठन गर्ने पहलहरू प्रारम्भ गरेको छ र प्रयास जारी राखेको छ ।

कार्यक्रम,अधिवेशन र सम्मेलनहरू  वर्तमान भूटानीहरू पुनर्वास भएका देशहरूमा तर्जुमा गर्दै जाने संस्थाको योजना छ । र त्यही योजनाको एउटा हिस्सा हो यो बिन्डसोर सम्मेलन २०२४ पनि ।   तीर्थाटनमा जाँदा होस् वा पर्यटनमा छलफल र बहस नेपाली भाषा र साहित्य नै बन्नुपर्छ । साहित्य परिषद् भूटान,संसार भरि छरिएका हाम्रा सन्तान र

 

दरसन्तानका लागि पहिचान र एकताको बलियो छाहरी  बन्न सकोस् । र यसको  न्यानो छारीमा  हाम्रा भाषा,साहित्य र सांस्कृतिक विरासतहरू पल्लवित र पुष्पित हुँदै जान सकुन् भन्ने साहित्य परिषद् भूटानको बिन्डसोर सम्मेलन २०२४ को यस मञ्चबाट म सवैमा  शुभकामना व्यक्त गर्न चाहन्छु ।

अन्तमा  यो पनि अवगत गराउन चाहन्छु कि सम्पत्ति सकियो भने फेरि कमाउन सकिन्छ । ज्ञान बिर्सियो भने पढेर त्यसलाई पुनर्प्राप्त गर्न सकिन्छ । शारीरिक रोग पनि औषधि  निको पार्न सकिन्छ ।  तर भाषा र संस्कृति नै सकियो भने त्यसलाई पुनः स्थापित गर्न युगौँ लाग्न सक्छ । त्यसैले अझ पनि सकिइगएको छैन । अवशेष बाँकी छ । यसलाई सबै भएर  बचाऔँ  । घरघरबाट उठौँ। समुदायबाट  जुटौँ । लेख्नेहरू कलम बोकेर  उठौँ। पैसा हुनेहरू लगानीमा जुटौँ ।  आफ्नो सीप र कुशलता भाषाको उन्नतिमा उपयोग गरौँ।

आदरणीय भाषा प्रेमी  सज्जनहरू, हिजोका दिनहरूमा   भाषा बचाउ अभियान  कसैको रहर थियो होला । सपना थियो होला । तर अब यो अभियान पुनर्वाससित नेपाली भाषीहरूका लागि साझा  बनेको छ ।  बाध्यता र कर  बनेको छ ।  भाषा संरक्षणको  यसै आवश्यकता र महत्वलाई बुझेर परिषद्,लाई पुनर्वाससम्म ल्याउन प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने वर्तमान/निवर्तमान कार्यकर्ताहरू/शुभचिन्तक र नेपाली भाषालाई माया गर्ने सबैलाई अन्तर हृदयबाट हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु । साथै पुनर्वासमा नेपाली भाषाको संरक्षणका लागि व्यक्तिगत वा संस्थागत रूपमा कक्षा सञ्चालन गर्ने मित्रहरू,स्वयंसेवकहरू र शुभचिन्तकहरू सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । पुनर्वासमा परिषद्लाई संस्थागत,सयसापेक्ष बनाएर लैजान सक्षम युवाहरूको खाँचो छ । त्यसैले  परिषद्को यस महत्त्वपूर्ण र ऐतिहासिक विरासतको संरक्षण र विस्तारका गर्दै अगाडि लैजान  प्रस्ट विचार,दूरगामी दृष्टिकोण, कुशल योजनाकार,  दक्ष एवं सक्षम युवाहरूलाई म  हार्दिक आह्वान गर्न चाहन्छु ।

धन्यवाद

गङ्गा राम लामिटारे

अध्यक्ष साहित्य परिषद् भूटान

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *