धनको महत्त्व
नारदप्रसाद आचार्य ‘सुदामा’
हेरिस्वर्ग, पेन्सिलभेनिया अमेरिका
अपर्झट प्रद्युम्नले भनेका थिए , “मेरो आवश्यक परेमा सम्झनु होला ।”
प्रद्युम्न एउटा सेवा मूलक संस्थानमा कार्यरत थिए। उनी प्रकाण्ड विद्वान पनि । नापेर बोल्थे । उनको आकाश जस्तै ठुलो मन थियो । उनको प्रभाव अत्यधिक थियो । प्रभात उनका बाल सखा थिए । उनीबाट समय क्रममा सकेको बेला यथेष्ट सहयोग मिल्यो। उनलाई शीतल छाहरी पनि मिल्यो। हो, मनको प्राङ्गण खुसीले खुलेको थियो । उनको वसन्त याम जस्तै हरियाली मन । बाल सखाको मिलनमा दुवैले प्रेमालिङ्गन गरेका थिए ।
साक्षात्कार पछि प्रभातले भनेको पनि थियो , ” अब यतै बस्ने भएर हामी सबै गाउँबाट आयौँ ।”
अत्यन्तमा अभाव खड्किएपछि प्रभातले एकाएक अतीत सम्झिए। ती वाक्य सम्झिए । ती पलहरू सम्झिए । प्रद्युम्नका वाचा सम्झिए। बाध्य भएर फोन गरे प्रभातले तर सम्पर्क हुन सकेन प्रद्युम्नसँग।
मन अमिलो बनाउँदै प्रभातले मनमनै भने, ” छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी। उसका शब्दले जीवन बोक्दैन।”
