यो अष्कोटले मलाई झस्काइरहन्छ

भानु ढुङ्गाना
क्यानाडा

यो अष्कोटले मलाई झस्काइरहन्छ,
बुबा सम्झाएर घरी–घरी चस्काइरहन्छ।
मनमा कहिलेकाहीँ घुड्का लगाइदिन्छ,
पुराना दिनहरू फेरि आँखाअगाडि ल्याइदिन्छ।
एक दिनको कुरा हो।
मैले लगाएको यही अष्कोटतिर हेर्दै बुबाले भन्नुभएको थियो—
“साइँला, यो अष्कोट कहाँ पाइन्छ?
मलाई पनि एउटा झिकाइ दिनू नि।”
बुबाको स्वरमा कुनै ठूलो माग थिएन,
एउटा सानो इच्छा थियो—
छोराले लगाएको जस्तै एउटा अष्कोट
आफूले पनि लगाउने इच्छा।
मैले भनेँ—
“यहाँ त थाहा छैन बुबा।
नेपालबाट आउँदा नै ल्याएको हो।
म पनि यो अष्कोट आठा–पाँजा मात्र लगाउँछु।
यहाँ खासै बजार र स्टोरतिर घुम्ने पनि गर्दिनँ।
भूटान–नेपालमा जस्तो यहाँ कहाँ पाइन्छ र!
अनि यस्तो अष्कोट यहाँ देखेको पनि छैन।”
यति भनेर
“म खोज्छु, मगाइदिन्छु” भन्ने आश्वासन दिएर म हिँडेँ।
तर हिँड्दै गर्दा
मनको एउटा कुनाले भनिरहेको थियो—
“यही मैले लगाएको अष्कोट
खोलेर बुबालाई दिइदिऊँ कि?”
एकछिन मन डगमगायो।
तर फेरि अर्को विचार आयो—
“आफूले लगाएको वस्त्र पिताजीलाई दिनु
मर्यादाको कुरा हुँदैन।”
म रोकिएँ।
त्यो दिन
एउटा अष्कोट मेरो शरीरमै रह्यो,
तर बुबाको त्यो सानो इच्छा
मेरो मनमा आएर बस्यो।
पछि नेपालबाट मगाउने कुरा गर्दा
जवाफ आयो—
“नेपालमा त अष्कोट मात्र होइन,
कोट पनि हराइसक्यो।
अष्कोटको कुरा नगर।”
त्यसपछि त्यो कुरा पनि
बिस्तारै ओझेल पर्दै गयो।
सायद बुबाले पनि
“धेरै के भन्नु” भनेर होला,
फेरि कहिल्यै अष्कोटको कुरा गर्नुभएन।
तर समय बित्दै गयो।
बुबा बित्नुभयो।
त्यसपछि पो
त्यो सानो कुराले ठूलो आकार लिन थाल्यो।
मलाई घरी–घरी लागिरह्यो—
बुबाले माग्नुभएको एउटा अष्कोट
मैले दिन सकिनँ।
कति सानो थियो त्यो चाहना!
तर आज सम्झँदा
त्यही सानो चाहना
मनको सबैभन्दा ठूलो घुड्का बनेर बसेको छ।
बुबाको अन्तिम संस्कारका बेला
दाजुभाइ मिलेर
उहाँको अस्तु यही नजिकैको
हरि–डिट्रोयट सरोवरमा
श्रद्धापूर्वक विसर्जन गर्‍यौँ।
अस्तु विसर्जन गरिरहँदा
हातमा बुबाको अन्तिम स्मृति थियो,
तर मन भने
त्यही अष्कोटमा अड्किएको थियो।
लाग्थ्यो—
बुबा कतै नजिकै हुनुहुन्छ
र फेरि त्यही पुरानो प्रश्न सोधिरहनुभएको छ—
“साइँला,
यो अष्कोट कहाँ पाइन्छ?”
मसँग आज पनि
त्यस प्रश्नको उत्तर छैन।
बुबालाई अष्कोट दिन सकिनँ।
सायद त्यसैले होला—
आज पनि
यो अष्कोटले मलाई झस्काइरहन्छ,
बुबालाई सम्झाएर घरी–घरी चस्काइरहन्छ,
मनमा गहिरो घुड्का लगाइरहन्छ,
र आँखाबाट पश्चात्तापका अश्रु खसाइरहन्छ
बुबाले अथाह कुरा दिनुभयो मलाई
मैले के दिएँ मेरा बुबालाई
एउटा अष्कोट पनि दिन सकिन आफ्नै बुबालाई!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *