अन्तर्घातमा बाजे
गंगा लामिटारे
ओहायो, अमेरिका
भनिन्छ,गृहस्थी आश्रम नै सर्वोत्तम आश्रम हो र स्वर्ग पनि ! तर सन्तानले बाटो बिरायो भने त्यो स्वर्ग क्षणभरमै तहसनहस हुनसक्छ र नरक पनि ! यसको साक्षात् उदाहरण हो गोविन्द बाजे । निक्कै दिनदेखि नसुतेका गोविन्द बाजे आज भने प्याट्टै निदाएनन् । घरि यता फर्किन्छन्,घरि उत्ता । कहिले खुइया गर्छन् त कहिले भित्रभित्रै बरबराउँछन् । ‘यही भोग्न हिँडेकोथिस् ! लु भोग ! अब यसभन्दा बढी के भोग्छस्’ भन्दै बर्बराए ! हाँडीमा मकै पडकिए जस्तैगरी । आँफैलाइ तथानाम गर्दै गाली गरे । श्रीमती पनि सँगै छिन् भन्ने उनले स्वात्तै बिर्सिए । सँधै त छटपटाउँथे मात्र । तर आज बाजेको आवेग ज्वालामुखी भएर पडकन खोज्दै थियो । बाजेको यो दुर्दशा देखेर अनिता बज्यै अत्तालिइन् । बाजेलाइ केही भइगो भने…..। रातको ठिक दुइ बज्न लागेको थियो । पल्ला घरका अजय र सुन्तोली काम जाने तयारी गर्दै थिए । उनीहरू बिहानको सीप काम गर्थे । तिनीहरूले सुनलान् भनेर बजै झस्किइन् । तर बाजे भने’पढ्छन्,लेख्छन् र राम्रो काम समात्छन्न् भनेर पुनर्वासको फारम सही गर्दिएँ । तर खुट्टा टेकेर हिड्ने लाइकको नै छोडेनन् , घरको न घाटको बनाए पिसादले’,भन्दै सुँक्सुक रून पनि थाले । हुन पनि भूटानी शासकले एक महिनासम्म जेल,नेल र यातना दिइदा पनि धैर्य नगुमाएका बाजेको यस्तो अवस्था देखेर बजैचैंको मन चरक्क चर्कियो । केही भन्न खोजिन् गला अवरूद्ध भयो । मुखबाट शब्द निस्केन । ५५ वर्षदेखि लगन गाँठोमा कसिएको लोग्नेको स्नेह र प्रेमको वर्षा आँसुमा परिणत भयो । बजैका आँखाबाट अविरल आँसुको बाडी उर्लियो । बाजेका छात्तीमा टाउको राखेर बाजेलाइ आँसुले सिन्चन गरिरहिन्,धेरै वेरसम्म । व्यक्त हुननसकेपछि भावनाहरूले आँसुको रूप लिन्छ र हृदयको कलुषित पखाल्छ । सायाद अनिता बजैको पनि ह्रदय पखाल्लिएछ क्यार ! सुँक्क सुक्क गर्दै बाजेलाइ झक्झक्याउन थालिन् । प्रभावै परेन । बाजे आफ्नै धुनमा बर्बराइरहे….. ।
………………………………………………………………………..
बाजेको छटपटाहटको कारण थियो उनकै छोरा र छोरी । उनी तिनै दुइ सन्तान र श्रीमतिसँगे पुनर्वासमा आएका थिए । छोरीले १२ कक्षा र छोराले १० उतै सकेका थिए । बाजेका घरमा लसुन,प्याज र टमाटर कहिले पाकेन । पुस्तौंदेखि शाकाहारी परिवार ! काशीबाट मध्यमासम्म अध्ययन गरेका बाजे सप्ताह-भन्थे । कथा बाच्थे । ब्रतबन्ध नगरेका पुरूष र बिहे नगरेका महिलाहरूले पकाएको भोजन उनले कहिले ग्रहण गरेनन् । पित्र्येष्टि र राम्रो कर्मकाण्ड पनि गर्थे । साम्प्रदायिक निष्ठा र आचरणमा प्रतिवद्ध थिए । छोराले पनि आफ्नै जजमानी पेशा अँगालोस्,भन्न चाहन्थे उनी । स्कूल गए पनि उनले छोरालाइ सानैदेखि गायत्री मन्त्र जप्न सिकाए । आलबन्दर स्तोत्र र विष्णुसहस्रनाम रटाए । एकादशीको ब्रत बस्ने अभ्यास गराए । यतिमात्र होइन, स्कूल विदाका दिन छोरालाइ सँगै कर्मकाण्डमा लान्थे । १५ वर्षकै उमेरमा छोराले एकपछि अर्को प्रगित गरेको देखेर बाजे भिभित्रै पुलकित हुन्थे र मनमनै गृहस्थ आश्रमलाइ धन्यवाद दिन्थे । बाजे मात्र कहाँ हो र ! गाउँले पनि छोरो होस् त गोविन्द बाजेको जस्तोस् भन्थे । मुक्तकण्ठले प्रशंसा गर्थे । आफ्ना सन्तानलाइ संस्कारी र सदाचारी बनाउन बाजेले कुनै कसर छाडेन् ।
———- – – – – – — – – – – – – – – – – — – – – – – – – –
वास्तवमा सुख र शान्ति भन्ने कुरा सदावहार हुँदैन । स्थाइ र निरन्तर पनि हुँदै । र पनि मानिस दुख भन्ने कहिले नआओस् भन्छ र सुख र समृद्धिको मात्र कामना गर्छ । सुख र दुख जीवन यापनका चक्र हुन् । सुख दुखले नै जीवन भोगाइलाइ गतिशील र उर्जावन बनाउँछ । यही नै जीवनको अकाट्य सत्य पनि हो । मानिस जहिले सुख चाहन्छ, शान्ति र समृद्धि चाहन्छ । तर चाहेको शान्ति र समृद्धिभन्दा नचाहेको दुख नै जीवनको अभिन्न मित्र बन्छ । समुद्रमा उठेको ज्वारभाटा मात्र होइन जीवन, प्रदुषित वायुले उरालेको तुफान पनि हो । बाजेको जीवन पनि कम संघर्षको थिएन । भनिन्छ,मानिसलाई प्रभाव पार्ने मूल तत्व भनेकै संसर्ग हो । गतल संसर्गले सज्जन दुर्जन बन्छ र राम्रो संसर्गले दुर्जन पनि सज्जन बन्न सक्छ ! यो पनि जीवनको अर्को सत्य हो । यसको उदाहरण हो गोबिन्द बाजेको छोरा उत्तम ! पुनर्वासमा पनि उसले हाइ स्कूल नपढेको होइन । तर संगत राम्रो थिएन । उमेरले सानै भए पनि अमेरिका आए पछि उसमा घरको जिम्मेवारी थपियो । सौदापात गर्नु, बील तिर्नु र आर्थिक कारबारको दायित्व पनि उसै माथि थपियो । बाबु आमा अंग्रेजी नजान्ने भए पछि सवै जिम्मेवारीको भार उसै माथि थियो । उसकी दिदी रूपाले पढनै मन गरिन । आएकै एक महिनादेखि काम गर्न थाली । तर कहिले घरमा सहयोग गरिन । विदाका दिन पनि फिल्म र सिइरेलमा व्यस्त । केटा साथीसँगको च्याटमा व्यस्त हुन्थी । घरमा के हुँदैछ र कसरी चल्दैछ भन्ने जान्न उसलाइ कहिले फुर्सत पनि थिएन । एकदिन स्वात्तै हराइ । कामबाट फर्किइन । बाजेकी रूपा हराइरे…. भनेर शहर भरी होहल्ला चल्यो । केही दिन पछि एउटा अछुत केटासँग भागी भन्ने खबर आयो । यो उमेरमा राँडीले नाकमा गुहु लागाइ’ भनेर बाजे खुब रोए ! कराए । उतै फर्किने भनेर गिडगिडाए ! तर के गर्नु त्यो साध्य पनि थिएन । दिन बित्यो! महिना बित्यो । संझनाका ती घाउहरूमा खाटो बस्तै जाँदैथ्यो अचानक एकदिन उनलाइ छोराको कुकृत्यले उद्वेलिति बनायो । मरौं कि बाचौं बनायो । ओरालो लागेको मृगलाइ बाछाले पनि खेद्छ भनेझै परिस्थिले बाजेलाइ पनि खेद्न छाडेन । सबै व्यवहार र परिस्थिति उल्टो चल्नथाल्यो । तितो अतीत बिर्सिदै गएका बाजेले छोराको कुकृत्य सुने । त्यो पनि गाउँभरि डडेलो झै फैलियो । हुन पनि उत्तमका साथीहरू राम्रा थिएनन् । जाँड–रक्सी खानु र मादकपदार्थ सेवन गर्नु नै उनीहरूको कर्तव्य थियो । उनीहरूको यस संसर्गबाट बाजेको उत्तम पनि बँच्नसकेन । कुसंगत र कुकर्मलाइ नै उत्तम जीवनको परं सत्य ठान्दैथियो । शिक्षकसँग झगडा गरेपछि उसका लागि स्कूलको ढोका नै बन्द भइसकेको थियो । आफ्नो जीवनको टेक्ने लठ्ठी नै मक्किदै गएको बाजेलाइ पत्तै भएन । कुसंगत र मादकपदार्थको कुलतबाट छोरो उग्रदुर्व्यसनको शिकार बनिसकेको उनले चाल पाए । यस घात-अन्तर्घातले उनको मन भाँचियो । उनको सदाचारको संसार तहस-नहस भयो । सवै आपत-विपतहरूलाई त सहन पनि गर्थे होला गोविन्द बाजे तर दुर्व्यसनले पिण्ड-पानीको हकदार नै खोसिएकोमा उनी कसरी सन्तोष र शान्ति मान्न सक्थे ?