अब के होला ?

कथाकार

विद्यापति मिश्र
बेलडाँगी

शिविरमा केही दिनअघि एउटा अनौठा झगडा भयो । सासु–बुहारीबीच भएको त्यो झगडामा भरखर बीस नाघेकी मस्तान बुहारीले आफ्नी सासुलाई शिथिल बन्ने गरी पिटी । धेरैले त्यो घटनालाई नजिकबाटै हेरे । बुहारीले सासुको शरीरमाथि चढेर मुक्का हानिरहँदा, चालीस नाघेकी सासु भने हारग्वार माग्दै कराउँदैथी । तर, अपसोच ऊ रूँदा–कराउँदा पनि उद्धार गर्ने प्रयत्न कसैले गरेन । संयोग पनि त्यस्तै परेछ । बेलुकीको समय, महिलाहरू भान्सामा व्यास्त थिए । केटा–केटी र पुरूषहरूको भने भीड लाग्यो । त्यही बेला महेश पनि त्यहाँ पुग्यो । सिनेमामा देखाइने दृष्य जस्तै त्यो घटनामा ऊ भने मुकदर्शक बन्न चाहेन । उसले सासुमाथि चढेकी बुहारीलाई परतिर धकेलिदियो । अलिक बेस्सरी धकेलेकोले होला, बुहारी भित्तामा बजारिनपुगी । तर, महेशतिर फर्कने आँट भने उसले गरिन ।

घटनाका दर्शकले महेशतिर हेरिरहे । उनीहरूको हेराइमा पनि कुनै कारण रहेछ, त्यो महेशले पछि मात्रै बुझ्ने मौका पायो । बुहारीले फेरि एक पटक सासुतिर झम्टने प्रयत्न गरी । तर, महेशले उसलाई ढोकाबाहिर घचेडिदियो । सासुको चस्मा फुटेछ, जमीनबाट उठेर त्यसलाई सम्हाल्नतिर लागी । त्यस पछि ती दुईबीच भनाभन शुरू भयो । दर्शकको लागि त्यो त्यो एउटा वादविवाद प्रतियोगिता जस्तै थियो । महेश भने चुपचाप लागेर उनीहरूका तर्क सुनिराख्यो ।

“तँलाई मैंले जानेको छु । पख्लिस्, भोलि  देखाउँछु मेरो पावर,” पाखुरा सुर्कँदै बुहारीले सासुलाई थर्काई ।

“मार, मलाई मार रण्डी । तेरै छन् आर्मी–पुलिस । बाटातलतिरका गुण्डाहरू पनि तेरै हुन् । सिनेमा हल र होटलका मालिक पनि तँसंगै छन् । अहिले नै बोला सबैलाई । अनि मार, मलाई मार ।”

त्यसपछि बुहारी भुत्भुताउँदै त्यहाँबाट हिँडी । रमिता हेर्नेहरू आआफ्नो घरतिर लाग्न थालेपछि महेश पनि त्यहाँबाट हिँड्यो । तर, उनीहरूको झगडाको कारण भने तुरून्तै थाहा हुन सकेन । घर पुगेर घटनाको बारेमा महेशले आफ्नी भाउजूलाई सुनायो । भाउजूबाट उनीहरूको झगडाको कारण पनि थाहा भयो । त्यो मात्र हैन, मुकदर्शक बनेका पुरूषहरूले ती पवित्रा नाम गरेकी बुहारीलाई सासू कुट्नबाट किन रोकेनन् भन्ने कुरा पनि महेशले अड्कल लगायो । पुरूषप्रधान समाजमा महिलाहरूलाई पुरूषले हत्तपत्त नछुने प्रचलन छ । अझ, दैकिनी बिगारेका अथवा समाजमा कुरा काटिने गरेका महिलालाई जोसुकैले छुने आँट पनि गर्दैनन् ।

पवित्राले आफ्नो लोग्नेसंग पारपाचुके गरेको धेरै भएको छ । अदालतको फैसलाका आधारमा उसको पासमा एउटी पाँच–छ वर्षकी छोरी पनि छ । उनीहरूलाई बस्ने छुट्टै छाप्रो संस्थाले दिलाइदिएको छ । तर, प्रायजसो त्यो बच्ची उसको बाबासंगै बस्नेगर्दछे । नबसोस् पनि कसरी विचरा, उसकी आमा कुन समय कोसंग कहाँ पुग्छे भन्ने कुनै ठेगान नै हुन्न । पवित्राका छिमेकीहरूले पनि उसको दैनिकीप्रति शंकाको दृष्टिले हेर्नथालेका छन् । उसलाई शिविरका अधिकांश युवाहरूले सहजै चिन्ने गरका छन् भने स्थानीयको हकमा पनि उसको नाम अलिक परिचित नै मानिन्छ । सायद, पारपाचुकेको कारण पनि उसको अनवरत आवतजावत नै होला ।

“अस्तिको दिनको कुरा हो । रातीको ११ बजेतिर नानी लिनलाई श्रीमानको घरमा जाँदा उसले खाली हात फर्कनु प–यो भनेर हिजो ससस्त्रका जवानहरू त्यस घरमा आएका थिए अरे,” भाउजूले महेशलाई सुनाइन्, “त्यही विषयलाई लिएर आज सासू–बुहारीको झगडा भएछ ।”

शिविरभित्रका सानातिना घटनामा सुरक्षाले त्यती चासो राख्दैन । उजुरी नै परे पनि घरमै जानेभन्दा पत्र काटेर सम्बन्धित व्यक्तिलाई चौकीमा बोलाउने चलन छ । तर, मस्तनिन्द्रामा रहेकी छोरीलाई उसको बाबुले आमासंग लान दिएन भन्ने गुनासो सुनेर ससस्त्रका जवानहरू त्यस घरमा किन आए ? त्यो सबैले गम्भिर रूपमा लिएका छन् । फेरि त्यसता सानातिना कुरा त शिविर संचालका लागि कार्यरत प्रशासनमा जानु पर्ने हो, सुरक्षाले कसरी हस्तक्षेप ग–यो ?

भोलिपल्ट विहानै सासू–बुहारीको झगडा मिलाउन समाज जुट्यो । शिथिल भएकी सासुको पक्षमा सबै छिमेकी उभिए । उनीमाथि अत्यचार भएको कुरा सबैले बुझेका थिए । त्यहाँ पनि त्यही कुरा उठ्यो । तर, पवित्रा भने त्यो कुरा स्वीकार्नतिर लागिन । बरू हिजोको झगडामा सासूले बुहारीलाई विनाकारण कुटेको देख्ने अपरिचित केही युवाहरूका साथमा फैसलास्थल पुगेकी पवित्रा ठूलो स्वारमा प्रस्तुत भई । ऊसको पक्षमा ती भुसतिघ्रेहरू पनि प्रत्यक्षदर्शी भएर साक्षी बके । त्यसको विरोध गर्न समाजले चहाएर पनि सकेन । विरोध गरेको भए साँझमा धेरैका ढाड भाँचिने थिए । आखिर, पवित्रा कै जीत भयो । भुसतिघ्रेहरू ताली पिटे । बुहारीको जत्था खुसियाली मनाउँदै बाटो लाग्दा, घाइते बनेकी सासूले अलिकति पनि न्यायको अनुभव गर्ने अवस्था थिएन । प्रशासनमा जाँदा पनि पवित्राको पक्षमा न्याय निश्चित नै थियो ।

पवित्राका घरमा आउने महिला साथीको संख्या पनि पछिल्लो समयमा आएर बढेको छ । विद्यालयस्तरकादेखि उसका समकालीनहरूको लस्कर लाग्न थालेको छ । बेला–बखत उसको छाप्रोमा पुरूषहरू पनि आउने–जाने गरेको छिमेकीले देखेका छन् । त्यती मात्र हैन, बेला–मौकामा त्यहाँ बियरका बोतलहरू पनि ठ्याकठ्याक–ठुकठुक बजेको सुनिन्छ । प्रायजसो त्यो घरमा मध्यरातमा मात्रै उज्यालो निभ्ने गर्दछ भने पवित्रा नभएको बेला शून्यताले छाउने गरेको छ ।

पवित्राका साथीको संख्या बढेकोमा आजभोलि समाज अलिक चिन्तित छ । अहिलेसम्म रंगेहात कसैलाई समाउन सकेको पनि छैन । न त त्यसो गर्ने कसैको अधिकार छ । फेरि एकल महिलाप्रति राष्ट्र संघीय शरणार्थीका लागि उच्चायुक्तका प्रतिनिधिहरूले बढी निगरानी राख्ने हुँदा पवित्राजस्ता कतिपय महिलाहरूलाई विकृति फैलाउन सहज बनेको समाजका केही पढेलेखेका मानिसहरूको तर्कछ । पारपाचुके गरेर बसेका त्यस्ता महिलामाथी यो लेखकले कुदृष्टि राख्ने प्रयत्न भने कुनै प्रकारले पनि गरेको हैन । तर, आँफू विग्रेको थाहा हुँदा–हुँदै अरूलाई पनि बिगार्न खोज्ने प्रवृतिको भने चर्को विरोध गर्नै पर्नेहुन्छ । नत्र त्यसले समाजलाई उभो हैन तलतिर धकेल्दछ । कलिला नानीहरू पेसेवार हुने सम्भावना बढी हुन्छ भने संक्रमक रोगहरू पनि समाजमा भित्रने प्रवल बाटाहरू खुलेर जानेछन् ।

त्यो झगडा हुनुभन्दा केही दिनअघि एउटा लोग्ने मानिस मध्यराती पवित्राको घरमा छिरेछ । छिमेकमा अलिक ठूलै आवाज सुनियो । छिमेकीहरू पनि आतिएर कराए । त्यसपछि, पवित्रा ‘चोर चोर’ भन्दै घरबाट बाहिर निस्की । एउटा मान्छे उसको घरबाट निस्केर सुइकुच्चा ठोक्यो । केहीले त्यसलाई पिछा गरेर लखेट्दै गए तर समाउन सकेनन् । त्यती राती त्यो मानिस पवित्राको घरमा कसरी आयो ? कि त्यो दिउँसैदेखि ऊसंगै थियो र छिमेकीले थाहा पाएपछि भाग्न बाध्य भएको हो ?

पछिल्लो समयमा नम्रता पनि प्रायजसो पवित्रासंगै देखिने गरेकी छे । भरखर १३ लागेकी नम्रता छ कक्षाकी विद्यार्थी हो तर आजभोलि ऊ विद्यालय जान त्यती रूचाउँदिन । उसको पहिरनमा पनि धेरै परिवर्तन आएको छ । आमा–बुबा दुवै कामको शिलशिलामा भारतमा छन् । नम्रता पनि पवित्राजस्तै शिविरमा एक्लै छ । नम्रताको मोवाइल नम्बर नेपाल प्रहरीको वा अन्य आपतकालीन नम्वरजस्तै प्रायजसो धेरैलाई कण्ठै छ । त्यही भएर होला, उसको फोन हत्तपत्त नलाग्ने गरेको गुनासो पनि समाजका ठिटाहरू गर्दछन् ।

उसको उमेर, पढाइ अनि पारिवारीक अवस्थाले गर्दा समाजले नम्रताप्रति धेरै चासो राखेको छ । सयौं समकालीन साथीहरू उज्वल भविष्य निमार्णका लागि दैनिक विद्यालय जाँदा, नम्रताले भने पढाइलाई लत्याएर हिँड्दा आज समाजका धेरै दु:खी भएका छन् । उसलाई सम्झाउने प्रयासहरू पनि त्यती कै हुँदैछन् । केही दिन अघि मध्यरातमा सेक्टर प्रमूखसहितको एउटा टोलीले पवित्रा र नम्रताको घरमा छापा मा–यो । त्यो दिन दुबै छाप्राका ढोकामा ताल्चा झुण्डिएका थिए । पवित्राको मोबाइलमा घरघरी  डायल गर्दा पनि फोन उठेन । आखिरीमा सेक्टर प्रमूखको फोन नम्रताले रिसिभ गर्दै भनी, “म पवित्रा दिदीसंगै छु सर, हामी भोलि विहान मात्र आँउनेछौं ।” त्यसपछि दुबै मोवाइल “सुइच अफ” भए ।

One Reply to “अब के होला ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *