अमेरिकाको ओहायोमा छवटा कृतिको एकैसाथ लोकार्पण

 

पछिल्ला दिनहरूमा डायस्पोराको भूटानी नेपाली साहित्य जगतमा केही ऊर्जाशील स्रष्टाहरूको लगनशीलता र मेहनतले भाषा र साहित्य प्रतिको प्रेम मौलाएको स्पष्ट देखिएको छ । अमेरिकाको ओहायो राज्यको सिन्सिनाटी सहरमा गत शनिवार, १९ जुलाईका दिन साहित्य परिषद् भूटान, स्रष्टा सङ्गम ओहायो  र मातृभाषा संरक्षण समूहको सह-आयोजनामा सम्पन्न भएको भव्य साहित्यिक कार्यक्रममा एकैसाथ छवटा कृतिहरूको लोकार्पण भएको छ ।

आफ्नो मातृभाषा र साहित्यको संरक्षण र प्रवर्धनका खातिर बर्सेनि स्रष्टाहरूका कृतिहरू प्रकाशन गर्दै आएको ‘मातृभाषा संरक्षण समूह’को प्रकाशनमा स्रष्टा माया भट्टराईको ‘जुनकीरी’: सवाल-जवाफ गजल सङ्ग्रह, स्रष्टा डिल्लु चम्लागाँईको ‘पर्खालभित्र’: गजल सङ्ग्रह र स्रष्टा मदन दुलालको ‘अवतरण: एक अनिर्णित युगको’: कविता सङ्ग्रहको लोकार्पण गरिएको छ भने मञ्जरी पब्लिकेशनको प्रकाशन रहेको स्रष्टा लक्ष्मण रसाइलीको ‘मलाई नसुहाएको टोपी’: कविता सङ्ग्रहको पनि लोकार्पण भएको छ । मस्क भिजन एलएलसीको प्रकाशन रहेको स्रष्टा खेम रिजालको  ‘किनाराको छाल’: गजल सङ्ग्रह(दोस्रो संस्करण) र ‘बिचारहरूको बिस्कुन’: मुक्तक सङ्ग्रहको पनि लोकार्पण भएको छ ।

अमेरिकाका विभिन्न राज्यहरूबाट पाल्नुहुने साहित्यिक व्यक्तित्वहरूको बेजोड उपस्थिति रहेको यस कार्यक्रममा क्यानडाका भूटानी नेपाली साहित्यिक व्यक्तित्वहरूको पनि उपस्थितिले यस कार्यक्रमको महत्त्व अझ बढाएको थियो । कार्यक्रममा यी छवटा कृतिहरूको लोकार्पण भए पश्चात कृतिहरूमाथि विभिन्न साहित्यिक व्यक्तित्वहरूबाट समीक्षा र परिचर्चा गरिएको थियो भने कृतिकारहरूको मन्तव्य पनि प्रस्तुत भएको थियो । विभिन्न स्थानहरूबाट उपस्थिति जनाउनु हुने साहित्यिक मनहरूले आफ्ना रचनाहरू वाचन गरेर यस कार्यक्रमलाई अझ गौरवमय बनाएका थिए ।

यसरी एकैसाथ विभिन्न विधाका छवटा कृतिहरू पाठक माझ लोकार्पण गरेर भूटानी नेपाली साहित्य जगतको धरातललाई अझ उर्वर र फराकिलो बनाउँदै सम्पन्न भएको यो साहित्यिक कार्यक्रम केही अन्तर्क्रिया पश्चात् बेलुकी पाँच बजे समाप्त भएको थियो ।

नील अधिकारीको सञ्चालनमा सम्पन्न भएको यस कार्यक्रममा जयप्रकाश रिजालको प्रमुख आतित्थ्य र साहित्य परिषद् भूटानका भूतपूर्व अध्यक्ष श्री भक्त घिमिरेको सभापतित्व रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *