अवतरण कवि या कविता ?
जे एन दाहाल
पेन्सिल्भेनीय, अमेरिका
एउटा युग
जो चट्टानी छातासँग टक्रायो
हाहाकारको धुन बज्यो शनैः शनैः
..
विजयोत्सवको अधिकतम उल्लासमा
चट्टानी छाती
खिसीटिउरी गरिरहन्छ
युगको असफल अवतरण दृश्य हेर्दै
तमाम सपनासँगै
अवतरण भयो एक अनिर्णीत युगको
माथि प्रस्तुत शीर्षक कविता ‘अवतरण एक अनिर्णीत युगको’ कविता-कृति २०७६ साल बजारमा आएको हो । मदन दुलालद्वारा लिखित यो पुस्तक गध्य कविताहरूको सङ्ग्रह हो । दुलालले फरक स्वादका कविता पस्किएका छन्। यस कृतिले उनको एउटा छुट्टै परिचय बनाएको छ । उनका कविता पढ्दा कुनै कोणबाट उनी नव कवि लाग्दैनन् ।
फूल यसै फुल्दैन
फुल्नु
सङ्घर्षका अगम पहाडहरूलाई
आफूभन्दा सानो बनाउनु हो
..
फूल
बलिदानको प्रतिमूर्ति र त्यागको उच्चतम बिन्दु
जो आफू ओइलिएर
संसार सुबासित गराउँछ
फूल यानि कि आमा ।
कवि मदनले पृष्ठ १६४ ‘आमा’ शीर्षकको कवितामा फूलसँग तुलना गरी मातृत्वको महिमा गरेका छन् । सोझो अर्थमा दुलालका कवितामा आमाको लोहोरी, उनले बाल्यकालमा सिकाउने बोली र ताते हिँडाएका कुरा आउँदैन तर पनि मातृत्व झल्कन्छ। उनी घुमाएर लेख्छन्, यो नै उनको फरकपन हो ।
कवि दुलाल भूटानी समाजमा उदाएका आम कविभन्दा केही फरक कविता लिएर झुल्किएका छन् । यी कवितामा नवीन स्वाद र क्लिष्टता झल्कन्छ । अझ यसो भनौँ प्रस्तुतिमा फरकपन भेट्न सकिन्छ। मदन को हो ? मेरो अध्ययन अनुसार ऊ ललाई भूटानमा जन्मी टिमाई शरणार्थी शिविरको बसाई हुँदै आई ओ एमको निलो झोला बोकेर अमेरिकाको फिलाडेल्फिया शहर ओर्लिएको एक यात्री हो । यो पङ्क्तिकारले अनेकन् स्वादमा कविता सृजना गर्दै उत्रिएको युवालाई ऊ भूटानमा जन्मिएको र ऊ भूटानी कविका रूपमा मात्र हेर्नु, अथवा भौगोलिक सीमारेखा भित्रमात्र बाँध्नु उसका लागि अन्याय हुन पनि सक्छ। त्यसैले मदन नेपाली साहित्यमा उदाउँदो एउटा कवि हो भन्दा फरक नपर्ला।
“स्वीकार नगरिएको प्रेमोपहार”
बन्जर ती आँखाबाट
तप्किरहन्छन्
उनको मायाको चिनो
तप्प … तप्प…
..
सायद उनको लागि अस्तायो होला
प्रेमोपहारस्वरुप उनैले दिएको
अस्ताउँदो समय
तर
अस्ताउँदो समय
हर बिहान
उदित भएर आउँदा
घण्टौँ प्रेमिल नजर लगाउँछ सौर्य ।
यतिका कवितांश पढी खुलेर भन्न सकिन्छ; कविको अध्ययन, अभ्यास र चिन्तन निखारिएको छ। कल्पनाले शृङ्गारी चिटिक्क पारेका उनका कविता बिम्बात्मक छन् । परिष्कृत छन्, अझ यसो भनौँ कविमा नेपाली र संस्कृत भाषाको राम्रो पकड छ । उनका कविता दुई खण्डमा विभाजन गर्न मिल्छ। पहिलो प्रत्यक्ष कथन। दोस्रो परोक्ष कथन।
सङ्ख्यात्मक रूपमा परोक्ष कथन भएका कविता ज्यादा छन् ।
सामाजिक सञ्जालमा मदनले गजल, कथा र कविता लेखिरहेको देखिन्छ । तर ऊ जति सफल कवि छ त्यत्ति अरू विधामा देख्न सकिएको छैन । त्यसैले मदनको कविता प्रतिको प्रेम, शैली र कल्पनाशीलता ‘वाह वाह’ भन्न लायक छ । प्रकाशनको दुई वर्ष बितिसक्ता पनि यस पुस्तकको कतै समीक्षा, टिप्पणी र कृती चर्चा नआउनु राम्रो कृतीलाई खुलेर प्रशंसा नगर्नु या नदेखे जस्तो गर्नु आफ्नै सम्पत्तिको अवमुल्यन गर्नु सरह हुन जान्छ कि।
उनका ‘हेल्लो भूटान, कुरूप शासक, हृदयहीन थिम्फू’ जस्ता केही प्रत्यक्ष कथन भएका कवितामा शासक प्रति आक्रोश र रिस भेटिन्छ। साथै सहृदय देशको माटोप्रति प्रेम पनि छ । मातृभाषा समूहद्वारा प्रकाशित यस सङ्ग्रहमा उनका ५१ वटा कविता समावेश गरिएका छन् । तर सङ्ग्रहमा विषय सूचिको प्रयोग गरिएको छैन ।
एउटा कुशल पाठक भएर मातृभाषाले ल्याएका भूटानी लेखक/कविका पुस्तक मध्येको उत्कृष्ट कविताकृति अवतरण हो भन्दा फरक नपर्ला ।
मैले त सोचेको थिएँ यस कृतिको राम्रो सम्मान हुन्छ । सुन्दर भएर पनि अपेक्षित पाठकको ठूलो जमातमा पुग्न सके यस पुस्तकको आयु लामो भने पक्कै छ । हुनसक्छ आम पाठकले क्लिस्ट भएका कारण यस कृतिका धेरै कविताको स्तर बुझ्न सकेनन् त्यसैले यो कतै ओझेल पर्यो कि ! ।भूटानी समुदायमा चर्चामा रहे पनि आम नेपाली पाठकमा पुग्न नसकेको पक्कै स्वीकार्नु पर्छ।
मदनले यसरी नै साधना गरे उनको कविताख्यानमा उज्ज्वल भविष्य छ । म सबै पाठकलाई एकपल्ट पुस्तक पल्टाउन आग्रह गर्छु । कवि दुलाल छन् र यी कविताहरू अवतरण भएका हुन् । यसमा कसैको दुईमत नहुन सक्छ ।