अस्तित्व

तिलारुपा आचार्य / ओहायो, अमेरिका

प्रश्नै प्रश्नका पोका लादेर
गह्रुङ्गो मनमाथि
अझ भारी नथप l
तुसारो परेको जीवनमा
अझ शिशिर वर्षाउनु किन?
म आफ्नै आँगनबीच
हराइरहेकी छु
सत्य र असत्यबीचको भीडमा
आफूलाई खोजिरहेकी
त,
म कसरी तिमीलाई
यी सबै बताउन सक्छु?
म आफू,
आफैंबाट खोसिएकी छु,
घरबाट खेदिएकी छु,
लुटिएकी छु,
भुटिएकी छु,
आफन्तबाट टाढिएकी छु
त्यसैले त म शोकाकुल,
एक अस्तित्व हराएकी आकृति l
जीवन नै सङ्घर्श थियो
तर म जीवनदेखि भागें
सहाराका लागि यो नगरमा
मानव भएर उभिएँ
मानव मानवबीच पनि
फेरि अस्तित्वको पुल चाहियो l
म हिंड्ने बाटोभरी
तीखा काँडाहरु तेर्सिए
जहाँ मेरो कदर गरिएन
मेरो आवाज सुनिएन
कला-कौसलबीच
दाग लागेर आयो
चारैतिर स्वार्थी भीरहरु
सास फेर्न आत्यन्त कठिन भएर आयो l
सान्त्वना देखाउनेहरुको
ताँती कहिल्यै नटु्ंगिँदो सहयोग थापेका हातहरु
विनाकारण काटिन थाले
अनयाय विरुद्ध उठाइएका आवाजहरु
विना निष्कर्ष टुंगिए
भविष्य बारे सोच्दा-सोच्दै
तिम्रो बारेमा सोच्न सकिन
त्यसैले तिमी आफैंले
आफ्नो अस्तित्वको रक्षा
आफैं गर्नुपर्छ
आफ्नो अस्तित्वलाई
जिउँदै मर्न नदेऊ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *