आ-आफ्नै यात्रा

Dinesh Dhungyel
कवि

दिनेश ढुंगेल
टेक्सास,अमेरिका

एकाइसौं शताब्दीको मध्याह्नमा
एकातिर मानव सभ्यता उत्कृष्ट चरणमा
अभ्यस्त छ
अर्कातिर यही गोलाकार पृथ्वीको सतहमा
भोकले ब्याकुल मानव
बिचल्लीमा तड्पिरहेको छ
एक मुठी आहार भए
भोलिसम्म प्राण धान्न
सकिने झिनो आशा
शक्ति सकिएर खुम्चिएको
उसको अनुहारमा प्रतिविम्बित छ
फेरि पनि झिनो
तन डोर्याएर हिड्छ
अरूको सफलताले नाङ्गिएको ऊ
आफ्नै यात्रामा अभ्यस्त छ

आङ्गको वस्त्र च्यातिएर
शरीर नग्न हुँदा हुँदा
सरम होइन
बाध्यतामा जन्मिएको
स्वीकार्य परम्परा बनेको छ
हेर त….
तिमीले टाई सुट लाएर के भयो र?
यहाँ त नग्न मानवलाई
सुरक्षित जङ्गल चाहिएको छ
आदिम कालमा जस्तै
फेरि पनि
नग्न तन डोर्याएर हिड्छ
अरूको सफलताले नाङ्गिएको ऊ
आफ्नै यात्रामा अभ्यस्त छ

न त उसको चुलोमा छेकबार छ
न त तिम्रो जस्तै मन्दिर नै छ
जहाँ छनौटाहरू तँछाड मछाड गर्छन्
उसको त केवल खुल्ला मनको मन्दिर छ
जसले ढोगे पनि हुन्छ
जसरी ढोगे पनि हुन्छ
पुनः त्यसरी नै ढोग्न गारो हुन्न
तरै पनि ऊ
अपहेलित मन
नग्न र झिनो तन डोर्याएर हिड्छ
अरूको सफलताले नाङ्गिएको ऊ
आफ्नै यात्रामा अभ्यस्त छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *