आमा बा ! को जिन्दगी: माई बगरमा
भानु ढुङ्गाना
क्यानडा
साना -साना झुपडीमा,
शरणार्थीको पिडामा !
यस्ता जीर्ण कटेरामा
मानव जीवन, हेर बगरमा !
निर्वासनको रोदन नजरमा !
बस्नु परेछ पुर्खाहरूले,
हेमन्त कालको चिसो लहरमा !
खोला बगर घारीमा
यस्तै भएको जिन्दगी !
हाम्रा पुर्खाहरूले,
भोग्दै कठिन जिन्दगी।
कति दुःख सहेर
खोला बगरमा रहेर।
दाताहरूको आशामा
जिग्मेको सिकार पासामा
कनकाई नदीको तटमा
निर्धो बनी जीवनमा।।
यस्ता थिएछन् टहरा
त्रिपालमुनिको जिन्दगी।
माईका तटमा कहिले
कहिले झाडीमा जिन्दगी
थोरै खाए झुत्रो लाए
भोग्दै दुःखी जिन्दगी
असक्त र असहाय
यसै मरेको जिन्दगी।
आज मैले त्यही देखेँ
पुर्खाहरूको जिन्दगी।
आँसु पिए दुःख सिए
कति कष्ट थिएछ जिन्दगी !
हामीलाई जोगाउँदै
पाए पिडा हेरौँ जिन्दगी !
नौलो देश नौलो भाषा
पराई छ आज जिन्दगी।
कति रहर लाग्दो होला
मनका कुरा भन्न उनलाई
कल्ले बुझी दिने होला
उनका मनका पिडा धुनलाई
अब हामी सन्तानले
बुझी लिनु पर्छ
यी पुर्खाको सेवा गर्न
अगि सर्नै पर्छ।
कनकाईका किनारमा
पहिला आई बसेछन्
पहिलो पहिलो कालमा
कति त्यही खसेछन्
नपाएर उपचार
रुढी व्याधि सहँदा
बालक वृद्ध मरेछन्
कनकाईमा रहँदा।