आमाको अर्ती

कुबेर कुईकेल ‘भुवानेटारे’
अमेरिका

दो रङ्ग बज्र झन्डा हाम्रो स्वदेश सान
मैलो छ बज्र झन्डा पीडा र आँसु लीन
बाँकी अशक्त निर्धा सामन्तता ठुलेमा
जेठो छ दो मुखा त्यो आडम्बरी नशामा

फाटो भयो ध्वजामा आमा धरा धुरुक्क
बाठो भयो उ जेठो लाटा भए लुरुक्क
कङ्गाल अश्रु खाने बाठो ठगी छ आमा
दाजै त दो मुखा छन् आडम्बरी नशामा

त्यो बज्रपात गर्दै अज्ञान ज्योति छर्छ
पुस्तावली धनी त्यो जेठो कठोर पर्छ
कान्छो र माइलोको आँखा भरी निशामा
सत्ता छ दो मुखा त्यो आडम्बरी नशामा

आमा म कल्पनामा सन्तान ऐक्य देखौँ
भाषा र धर्म जाती सम्मान गीत लेखौँ
रक्षार्थ सान हाम्रो झन्डा र राष्ट्र आमा
दम्भी छ दो मुखा त्यो आडम्बरी नशामा

सन्तान ऐक्य हेर्ने आशा र स्वप्न राख्छु
विक्षिप्त वृद्ध आमा सन्तान काख खोज्छु
फाटो नपाल्नु उम्दा अर्ती छ यो दिशामा
धोका छ त्याग छोरा आडम्बरी नशामा

छन्द- दिक्पाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *