आस्था मरेको छैन

तोयानाथ क्षेत्री, क्लिभल्याण्ड-ओहायो Toyanath Chhetri

पदार्थ र चेतनाको सम्बन्धमा
चेतनालाई प्रधानता दिएर
आदर्शवादी ढोंगी बौद्धिक बनी
समाज विकासका वस्तुगत नियम
र पद्धतिहरुलाई,
झूटको पहाडले थिच्नु परेको छैन;
त्यसैले ढुक्क नबन,
मेरो आस्था अझै मरेको छैन !

घोषित प्रतिबद्धता, अस्तित्व
र वर्गचेतनालाई,
पानीका फोका बनाई,
तिम्रा सीमित खोक्रा विलासिताका
वस्तु र भुलभुलैयाले,
सपनाको मेरो बृहत परिधि
मिच्नु परेको छैन-
त्यसैले ढुक्क नबन
मेरो आस्था अझै मरेको छैन !

शान्ति, विकास, भातृत्व, भाइचारा-
विश्व वन्धुत्व जस्ता
उच्च मानवीय गुण एवं,
न्यायका चुचुरा मुठारेर
रङ्ग-रोगनले सजिएको;
तर, भित्र भित्रै वर्गीय,
जातीय, आर्थिक, लैंगिक विभेद
र, असमानताको रणनीति
शिरोधार्य गरी पेट पूजक
संकीर्णताको घेराभित्र
सृजनशील मस्तिष्कलाई कैद गरी
शोषक, वर्गीय पलाँस फुल्ने बगैंचा
सिँच्नु परेको छैन,
त्यसैले ढुक्क नबन
मेरो आस्था अझै मरेको छैन !

जहाँ पुग्यो त्यहीँ चुहुनु परेको छैन
हिँजो हाँसेर आज रुनु परेको छैन
त्यसैले म, म नै हुँ, तिमी हुनु परेको छैन,
मेरो आस्था नै मेरो मुक्ति हो,
मेरो सोच मेरो अस्तित्व हो,
यो लुट र डकैतीको यन्त्र सज्जित,
कृत्रिम स्वर्गमा, सुख सम्पन्नता र
सुविधाको भूत चढेर,
आत्म सन्तुष्टि र स्वभिमान मार्दै
भौतिक विलासीताका पांग्राले
मेरो वीरतालाई किच्नु परेको छैन;
त्यसैले ढुक्क नबन,
मेरो आस्था अझै मरेको छैन !

झूट थिएन मेरो विगत आफ्नो वर्तमान झैं,
फेरिँदैन स्वप्न र लक्ष्य मेरो
पुऱ्याउ मलाई जाहींताहीं-
त्यो गौरवपूर्ण विगतलाई तिमीलाई झैं
थुक्नु परेको छैन मैले,
यो झूटो सुखलाई तिमीले झैं,
सलामी दिनुपरेको छैन !
संघर्षको मूल अझै सुकेको छैन,
बीज अझै आँकुरिँदैछ !
मुक्ति अभियानको जालो भित्र-भित्रै माकुरिँदैछ
यी यावत सत्यप्रति बनी गैर-जिम्मेवार
निभाई दीयो आस्थाको बत्ती जिउँदो लाश,
इतिहासकै कुरुप आकृति खिच्नुपरेको छैन,
त्यसैले ढुक्क नबन, जीवित छु;
मेरो आस्था अझै मरेको छैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *