आह्वान
राधा काफ्ले
विन्सोर, क्यानाडा
तिम्रो आवाज आकाशले सुन्दैन अरे
तिम्रो रुवाइ र दुखाई, कठिनाइ
उसले गन्दैन अरे
अब आऊ, हरेक घाउको औषधि
आफैँ बोकेर आऊ
शीतलतामा हिमपात बोकेर,
बर्सातमा बबन्डर बोकेर,
आगोमा लाभा बोकेर,
हावामा हुरीकेन बोकेर र
सरल आवाजमा,
विस्फोट बोकेर
पक्का र चाँडै आऊ
तिम्रो रुबाईले,
ऊ खुसी, आनन्दित र हर्षित छ।
उसलाई हॉंस उठेको छ।
मज्जाले भोक लागेको छ।
खान पाए बॉंदर जस्तो,
दुबै हातले एक्लै उठी-उठी खान्छ ।
त्यसलाई के थाहा,
तिमी किन रोयौ भनेर।
किन कि आफू भोकै बसेर,
उसलाई खुवायौ
नाङ्गै बसेर न्यानो बनायौ
मरेर त्यसलाई बँचायौ
उ(आकाश) भन्छ,
म सबै जान्दछु,
कमाउँछु,
बनाउँछु,
संरक्षक म,
मालिक हुँ,
त्यसैले तिम्रो रुवाइ बुझ्दैन अरे
गन्दैन अरे
अब आफ्नो आँसु पुछ्न
आफ्नै हात उठाऊ
दुई हात होइन
आठ पाखुराहरूमा
खुँडा,
खुकुरी,
त्रिशूल,
भाला,
शङ्ख,
चक्र,
डमरु,
तलवार उठाऊ।
तिमी रोइ सक्यौ
बस!!
अब आऊ।
तिम्रो दुखाइलाई अझै कुल्चिँदै छ
त्यो चिच्याहटलाई सुस्त आवाज मान्दैछ
गलामा पासो लगाई हत्या गर्दैछ
चिरा-चिरा पारी,
जङ्गलमा फ्याँक्दैछ
भिरबाट पल्टाउँदै
किनार र बालुवामा गाड्दैछ
बलात्कार गरी रगताम्य बनाएर
झाडीमा फ्यॉंकी,
मरी-मरी हाँस्दैछ
तिम्रो गहिरो घाउमा,
किरा स्याउँस्याउँती परे
पाकेर पिप र रगतले
पुरै शरीर ढाक्यो
तर आकाश!
खुसीको उत्सव मनाउँदैछ
अब यसको बदला लिन
तिमी सॉंच्चै आऊ
पहाडको चेपबाट,
हिमालको टाकुराबाट,
समुद्रको सतहबाट,
झर्नाको वेगबाट,
तराईको फॉंटबाट
तुरुन्त आऊ
तिम्रो कठिनाइले
त्यो नर पिसाचको हर्ष बडेको छ
उ त मस्त छ
न शोक छ,न सुर्ता छ
जति अप्ठ्याराहरू तिमीमा परुन्
तर कुम्भ कर्ण झैँ आनन्दले
ती सारा दुःखको रमिता हेरी
खित्का छोड्दैछ
तिरस्कार गरी खिल्ली उडाई रहेछ
त्यो दर्दबाट निस्किएको कारुणिक आवाज
सुन्दैन अरे,
जान्दैन अरे,
बुझ्दैन अरे,
अब आफ्नो परिचय दिन
विकराल रूपमा
केस हैन जगटा फिँजाएर आऊ,
दॉंत हैन दाह्रा देखाएर आऊ
नङ हैन नङ्ग्रा तेर्स्याएर आऊ
अन्ततः
त्यो आकाशको कालो, मैलो, धुलो, धुवॉं सबै हटाएर
त्यस भित्रको घमण्ड तोडेर
तिमीबाट निस्केको कर्कश र बज्रको आवाजले
उसको कानको जाली भत्काउनु छ
र सोध्नु छ
आज सुनिस्, पृथ्वीको आवाज?
अनि फेरी,
तिमी र मैले नै
अति स्वच्छ, सुन्दर
विशाल अनि भव्य
सौम्य र शान्त
अनि प्रेरक
आकाशको सिर्जना गर्नु छ
त्यसैले आऊ अब ढिला नगरी आऊ।