इतिहास बन्दै भूटानी दलहरू
दागाने काइँलो
सन १९९० को दशकमा जबरजस्ती देशबाट लखेटिएका भूटानीहरूले दुई दशक बिताइसक्दा पनि शरणार्थी समस्याले भनेजस्तो मोड लिन सकेको छैन । निर्वासनमा करिब एक दर्जन दल तथा दर्जनौ संघसस्थाहरू जन्मेका छन् तर अधिकांशका गतिविधि कागज र नारामा मात्र सीमित पाइन्छन् । शरणार्थी समस्याको शुरू–शुरूतिर सक्रिय देखिएका त्यस्ता समूहहरू शरणार्थीको तेस्रो मूलकमा पुनर्वाससगै निस्क्रिय भएका छन् ।
भूटान पिपल्स पार्टी भूटानभित्रै गठन भएको पहिलो पार्टी भए तापनि अहिले आएर कार्यकर्ताविहीन बन्दै गएको छ । भूटानी प्रजातान्त्रिक आन्दोलनको थालनीतिर भूटान पिपल्स पार्टीमा ८० हजारभन्दा बढी भूटानी नागरिकहरूले सदस्यता लिएको पार्टीको दाबी छ । तर विस्तारै शरणार्थीहरूले पार्टीको क्षमता र दक्षता बुझेपछि सदस्यताको कुनै अर्थ नै रहेन । उल्टै पार्टी एक्लिदै जान थाल्यो ।
२००२ मा पार्टीका दिवंगत अध्याक्ष आरके बुढाथोकीलाई दिउँसै एउटा भेलामा आक्रोशित शरणार्थी युवाहरूको समूहले खुकुरी प्रहार गरेर हत्या गरेपछि केही वर्ष पार्टीको नेतृत्वमा तानातानको स्थिति खडा भयो । ९० सालको भूटानी जनताको वृहत् जुलुसको नेतृत्व गरेको पार्टीमा हाल कति कार्यकर्ता सक्रिय छन्, यकिन छैन । बढीमा एक दर्जन होलान् । पार्टी अध्यक्ष बलराम पौड्याल भने हाल झापाको विर्तामोडबाट काठमाडौंमा डेरा सरेका छन् ।
उता दोस्रो ठूलो पार्टीका रुपमा मानिएको भूटान डिमोक्रेटिक पार्टीले पनि शरणार्थीको स्वदेश फिर्तीको सम्वन्धमा खासै पहल गरेन । शिविरदेखि भूटानको सिमानासम्म साइकल र्याली गरेपछि यो पार्टी गुफा पस्न सुरू गर्यो। भूटान डिमोक्रेटिक पार्टीले पनि सन् २००७ मा पार्टी अध्यक्ष स्वर्गीय आर.बी.बस्नेतलाई उपचारको अभावमा गुमाउनु पर्यो । वीर अस्पतालनमा निधन भए पनि शरणार्थी शिविरमै उनको पार्थिब शरीर लगिएको थियो । तर विडम्बना के रहयो भने उनको अन्त्येष्ठीमा पार्टीले सोचे जति कार्यकर्ता र शरणार्थी समुदायको उपस्थिति भएन । त्यसबाट पनि पार्टीले एउटा ठूलो पाठ सिक्ने मौका पायो । हालमा आएर डा. डी.एन.एस. ढकालले नेतृत्व गरेको यस पार्टीका अधिकांश कार्यकताहरू विदेशतिर पलायन भइसकेका छन् । ढकाल चाहिं विश्व बैंकको सल्लाहकार भएर संसारभरि भौँतारिने गर्छन् ।
उता पूर्वी भूटानका जनतालाई संगठित बनाएर खडा गरिएको भनिएको ड्रुक नेशनल कांग्रेसका सभापति रोङथोङ किन्ले दोर्जी केही वर्ष भारतीय जेलमा बसेर दुई बर्षअघि रिहा भएका छन् । तर, उनलाई नयाँ दिल्लीबाट बाहिर जान बन्देज छ । भूटानभित्र राम्रो पकड भएको यस पार्टीका अधिकांश कार्यकताहरू पनि भित्रै रहेको पार्टीको दावी छ । दोर्जीले सन् २००८ मा सम्पन्न आमनिर्वाचनमा भाग लिन पार्टी दर्ता गर्ने प्रयास पनि गरेका थिए तर निर्वाचन आयोगले मान्यता दिएन । ड्रुक नेशनल कांग्रेसका उपसभापति थिन्ले पेन्जोर र प्रवक्ता नारद अधिकारी मिलेर ड्रुक नेशनल काँग्रेस प्रजातान्त्रिक गठन गरेका छन् तर त्यसमा पनि थिन्लेकी श्रीमतीसहित जम्मा तीन जना सक्रिय छन् । भूटानमा मानवअधिकारका लागि लडेको भन्ने रतन गजमेर पनि केही महिनाअघि अष्ट्रलियातिर लागेका छन् । उनलाई शरणार्थीहरूले नेतृत्वको रुपमा नस्वीकारे पछि विदेश हानिए । नेपालमा रहँदा अनमिनमा जागिरे रहेका गजमेर करोडौ रुपैयाँ बोकेर विदेश छिरेको शरणार्थीहरूको आशंका छ । उनी मात्र हैन, राष्ट्रसंघीय मानवअधिकार आयोगमा मासिक दुई रुपैयाँ लाख को जागीर भएका उनका सहोदर भाइ जोगेन पनि दुई महिनाअघि उतैतिर हिँडेकाछन् ।
वरिष्ठ मानवअधिकारवादी नेता टेकनाथ रिजाल भने काठमाडौंमा कहा बस्छन् , अत्तोपत्तो हुन छोडिसकेको छ । नेपाल सरकारले प्रदान गरेको चिल्लो गाडीमा रिजाल बेलाबखत काठमाडौँका सडकतिर भेटिन्छन् तर उनी बस्ने डेरामा शायदै कुनै शरणार्थी पुगेका होलान् । पटक–पटक मोबाइल नम्बर फेर्ने रिजाल ललितपुरको कुपन्डोल, धोवीघाट, नयाँ बाटो हुँदै काठमाडौंको पेप्सीकोलासम्म डेरा सरेका थिए । पछिल्लो समयमा ललितपुरको हात्तीवनस्थित एउटा आवास गृहमा सरेको बुझिएको छ । माओवादी सरकारको पालामा रिजाललाई उपचार खर्च भनेर गृह मन्त्रालयले १२ लाख रुपैया दिएको थियो । सोही पैसामा थपथाप गरेर उनले अहिले बसिराखेको आवास गृह किनेको धेरैको आशंका छ । अहिले पनि शरणार्थी शिविरमा अधिकांश शरणार्थीहरू स्वादेश फर्कने आशामा बसेका छन् । तर नेताहरूको नियत र मोजमस्ती हेर्दा शरणार्थीको घर फर्कने आशा सपना मात्र बन्ने देखिन्छ । कुन–कुन नेताहरू कहाँ पुगे, अधिकांश शरणार्थीहरूलाई थाहै छैन । पुनर्वासमा हजारौ शरणार्थीहरू सम्पन्न मुलुकतिर लाग्दा यस्तो लाग्छ– भोली भूटानी राजनैतिक दलहरू केवल इतहासमा मात्र सीमित रहने छन् ।