ए ! कृष्ण आऊ अब

मणिराम धिमाल ‘दीपित’
टेक्सास, अमेरिका

छन्द: शार्दुलविक्रिडित

यो  ब्रहमाण्ड  विनाश  तर्फ रणमा  लाग्दैछ ए ! ईश्वर
मान्छेको बध गर्छ  मानिस  स्वंय के निम्ति के खातिर
मान्छेमा   ममता  र  मानवपना   खाली  भयो  ईश्वर
धर्मस्थापन  गर्न  फेरि कलिमा ए ! कृष्ण आऊ अब ।।१।।

सुन्दैनन्  शिशुका  अलाप  दुनियाँ   हेर्छन रमीता बरु
सुन्दैनन्  करुणा  पुकार   दिलका  तर्केर हिड्छन बरु
बग्दैछन   नद    रक्तका    जगतमा   उर्लेर  चारैतिर
यस्तो बर्बर हत्य रोक्न कलिमा ए ! कृष्ण आऊ अब ।।२।।

गोला  बारुद  अस्त्र  बख्तर  नयाँ  गर्दै  अविस्कार  याँ
लड्दैछन  दिन  हुँ  अराजक  ठुलो  मच्चाउँदै  धर्तिमा
नारी   गर्भवती  न  बालख   कुनै  छोडेन   बाकी  नर
यस्तो ताण्डव युद्ध रोक्न कलिमा ए ! कृष्ण आऊ अब ।।३।।

जल्दैछन मठ  धर्मका र  नितिका ती  शास्त्रका  पुस्तक
गर्दैछन  अपराध   राज्यहरुमा  ती  कंश  भै  एक्  जुट
हा ! हा ! कार छ मृत्युको घर घरै चित्कार  को सुन्छ र
यस्तो  शोक अधर्म रोक्न कलिमा ए! कृष्ण आऊ अब ।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *