ए चरी !
प्रतिमान सिवा
ओहायो, अमेरिका
ए चरी !
तिमी कस्ती मोरी !
बिहानको स्निग्ध शुन्यतामा
शैशव सुर्यको वैंसालु किरणहरु
तिम्रो चिरबिरको सङ्गित बोकेर
बिस्तरामा लम्पसार मेरो आङ भरि पोखिंदा
झस्किएर बिउँझे म हिजोको हिमपात सम्झेर,
सतह मुनि लुकेर मस्त सुस्ताइ रहेको
शान्त क्लान्त त्यो सुन्दर बिरुवा झैं ।
ए चरी !
तिमी कस्ती मोरी !
बार्दलीको सिढीमा सुटुक्क बसेर
एउटा खुट्टा तल, अर्को खुट्टा माथि गर्दै
फुरुक्क फुरुक्क नाच्छेउ अघि र पछि सर्दै
शिशिरयामको बिदाईको उद्घोष अनि
वसन्तको आगमनमा स्वागतको झङ्कार भर्दै
कस्तो आनन्द यो तनभरि जोबन त्यसै फुर्यो
उहिले गाउँ–बेसिमा झैं भावनाको लहरहरू
जता–ततै सयपत्री र मखमली भएर फुल्यो ।
ए चरी !
तिमी कस्ती मोरी !
तिम्रो स्वरको मस्त माधुर्यमा
टुसाए मुनाहरु धर्तिको छाती च्यातेर ।
दुई हात फिँजाएर टुकु टुकु लरबराँउदै
दगुर्यो मेरो हृदयको टुक्रा तिमीलाई नै ताकेर
अहो ! क्या आनन्द, प्रकृतिमा प्रकृति नै हाँस्यो खुब रमाएर
उघ्रिएको नभमा किरणहरुको परावर्तन भर्दै
वसन्त जाग्यो, शिशिर भाग्यो
समयको संवाहक हृदयको मञ्जुषामा
दूरताको सम्मोहन टेकेर उभिएको इन्द्रेणीको आभाले
ऋतुहरुलाई गाँस्यो ए चरी तिम्रो सुमधुर सङ्गीतले ।
धन्य छ ए चरी
तिमी कस्ती मोरी !