एउटा कथा
राधा काफ्ले
क्यानडा
सुन एउटा कथा चरी
बसी डाली माथि
धर्तीबाटै भए पनि
भन्छु सुन्ने गरी
कथा मात्रै कहाँ हो र !!!
पोख्छु मनको व्यथा
सुन चरी सुन अब
सुरु गरेँ यता
घना घोर जङ्गलमा
बस्थे थरी भेडा
बलिया, भरि मासु देख्दा
लाउँथे गिद्ध नजर टेढा
समयको चक्र सँगै
बढ्दै थियो बथान
हिमाल, पहाड, तराई पुरै
ढाकिँदै थ्यो मैदान
यतिकैमा छिमेक वनको
मालिक अर्ना आयो
चिल्ला, बलिया, बाक्लो ऊन
उसलाई लोभ लाग्यो
भेडा मालिक अर्ना मालिक
वार्ता भयो एक अर्कामा
गोठ बढाउने राम्रो पाल्ने
सर्त गरे आपसमा
अर्ना उत्तर दक्क्षण भेडा
बस्दै थिए एउटै वनमा
बर्षौ सम्म नङ मासुझैँ
शान्त सौम्य आनन्दमा
कानेखुसी गर्न थाले
भेडाहरू बथानमा
मालिक अर्ना रिसाए रे
बिना सितै कारणमा
भन्न लाग्यो अर्ना मालिक
उत्तर दक्षिण एक समान
बाठा भेडा जिकिर गर्छन्
कहाँ छाड्छौँ पहिचान
कालो बादल आकाशमा
भूवारिले छेक्यो वन
उत्तर भन्दा दक्षिण धेरै
क्षति ग्रस्त धन जन
हाहाकार मार् पिट चल्यो
ढुङ्गा,गोली वर्षा भयो
जबरजस्त समातेर
सयौँलाई जेल हाल्यो
कतिलाई करेन्ट लायो
मार्यो फेरि कोर्रा हानि
फाल्यो कति सुनकोसमा
बोरा भित्र जिउँदै खाँदी
बलात्कारका सिकार ती
पाँच वर्षका बरा नानी
आत्मा हत्या गरे कति
आत्तिएर आफैँ पनि
ज्यान बचाउन कठिन भयो
असहाय बाल वृद्ध
गोठ छाड्न बाध्य भए
कसले देला अब बास
गुहार माग्दै डाको छाड्दै
छिमेकीका आश्रयमा
बाग भालुले लखेटेर
ल्याई छाडे पुनः वनमा (नेपालमा)
गयो ज्यान बिरामीको
जन्म्यो नानी गर्भिणीको
नसकेर खप्न पिडा
कच्चा सडक, थोत्रे ट्रकको
कतिका थ्यो बर्ष्याउनिका
बालबच्चा भोका तिर्खै
रुँदै भन्थे बा-आमालाई
अब कहाँ लान्छौ अझै?
बल्ल तल्ल भेला भयो
माईदारको बगरमा
चर्का घाम फोहोर मैला
हैजा बढ्यो शिविरमा
होचो छाप्रो छानो सेउला
बार पनि सेउलाकै
न खान छ न औषधि
ज्यान गयो कति धेरै
पुनः वनको नौलो संसार
पुस्तौँ सम्म बिना खबर
धेरै मालिक धेरै कुरा
गारो बुझ्न वातावरण
हल्ल खल्ल भयो बल्ल
महिनौँ बित्दै गए
दाता संस्था भेला भई
नयाँ ठाँऊमा सारिदिए
कतै खरको कतै प्लास्टिक
अलिक सहज बस्ने कुटि
बाँसकै भाटा भए पनि
दाना पानी र औषधि
व्यवस्थापन पठन पाठन
बित्दै गये बर्सौँ अब
धेरै भए वार्ताहरू
फर्की जाने आशा अझ
भन्दै थिए साइँला बाले
सबै फेरिएछ यहाँ
हावा पानी आफ्नो पन
गइसकेछ खोजौँ कहाँ
नयाँ मालिक भन्छन् पक्कै
जान्छौ चाँडै फर्की सबै
कसैले नै थाहै नपाई
बनाई दिएछन् पराई कठै !
बृफकेस,झोला, गोजी भरी
चुनाव,बिहे,पार्टी गरे
न योग्यता न अनुभव
फेरि तेस्रो मुलुक सारे
बिछोडको पिरमा अझै
कैयौँ जहान परिवार
आधा पस्सिउँ पूर्व आधा
छिन्न बिन्न घरबार
बसेका छन् छ हजार
फर्की जाने आशा साँच्चि
जान पाउन् यी सबैले
न्याय गर यिनीमाथि
पागल बनाई बा आमालाई (तेस्रो मुलुकमा)
कोठा भित्रै थुनेका छन्
दिँदैन रे ऊनको सौल्यत
कमाई हाम्रो जाला भन्छन्
एकलै बस्छन् कति बुज्रुक
छाडिदिए सन्तानले
मिलेन रे मन बरै
असन्तुष्टि बढाउनाले
घमन्ड र लालची मन
समालेर रहनु नै
असल हुन्छ यहाँ अरू
हुन्न कुनै विकल्प नै
पुर्याउन चरी मेरो कथा
जहाँ तिमी जान्छौ वहाँ
चार पाउ टेकी घस्रिँदै छु
नौलो बनको परिवेशमा
सन्चै छ रे भनिदिनु
क्षितिज पारी आफन्तमा
ताते गर्दै घुँडा टेक्दै
कोसिस गर्छु पाइला सार्न
सन्चै छ रे भनिदिनु