एक अमूर्त वेदना

आइ.पी.अधिकारी
काठमाडौँ

दैव बेइमानी छन् । भगवानको नियम विभेदकारी छ । त्यसैले त मानिसमा विभिन्नता ल्याइदिएका छन् तिनले । तिनको सृष्टिमा समानताको विजले जरा गाड्न पाउँदैन । समानताको अभावमा विभेदले ठाउँ पाउँछ, विभेदले कुण्ठा जन्माउँछ, वैमनष्यता निम्त्याउँछ अनि वितृष्णा र घृणा जन्माउँछ ।

लाग्छ, दैवले सबैभन्दा बढी मलाई ठगेको छ । ज-जसलाई मैले माया बाडें, प्रत्युतरमा मैले तिनबाट तिरस्कार र अपहेलना पाएँ । मीठो मित्रतासम्म पाउन सकिन । कता कता लाग्छ, माया र दया पाउन पनि दैवले भग्यमा लेखिदिएको हुनुपर्दछ ।

मुटुमा अट्टाहासको पीडा छ, हृदयमा अमूर्त वेदना । जीवन छट्पटिएको छ तैपनि त्राण पाउने आशामा लघारिएको छु । भाषा र शब्द धेरै जाने पनि वेदना, मर्म र पीडा पोख्न तिनले पुगेको छैन । कुनै दिन तिनै शब्द जीवनका लागि भारी हुन्थे, धेर हुन्थे, आज तिनले आवश्यकता पनि पूरा गरेनन् । वेदना बोल्छ, जीवन जिउनु नै व्यार्थ छ किनकि वेदना बोकेर बाँच्नु धर्तीको बोझ हुनु हो । पोख्ने ठाउँ पाए, केही हलुका हुने थियो । दिनमा सूर्यले जगाएको आशा साझमा ओइलाए झैं जोस, जाँगर र आशाहरु शनै: शनै: मर्दैछन् ।

कसैसित परिचय गाँस्नु धोका पाउने एउटा नयाँ बाटो खोल्नु हो रहेछ । लाग्थ्यो मित्रता सहयोग, प्रेम र ममताको लागि हो तर मोडहरुमा पाएका धोका र तिनले बल्झाइदिएको वेदनाबाट मैले सिकेको नयाँ पाठ हो, मित्रता धोकाको नयाँ दरवाजा हो ।

बाँच्नुको एउटा अर्थ हो माया बाँड्नु । तर मेरो समाज र मेरा मित्रहरु यसरी परजीवि बन्दैछन्, यसरी व्यक्तिवादी बन्दैछन् अनि यसरी भौतिक सौखिन बन्दैछन् कि मित्रता र माया त्यस निहीत स्वार्थका लागि चरु बन्दैछ । मित्रताको अनि मायाको डोरी बुनेर ठुला ठुला सपनाहरु तयार नपार्न सल्लाह दिन्छु म तपाई मित्रलाई पनि, त्यो तपाईँका लागि पनि कालान्तरमा खरानीका डल्ला सरह हुनेछन् ।

माया साट्ने प्रयत्न नगर्नु वेश छ, त्यो देखावटी बन्दैछ । म जसलाई माया बाँड्ने प्रयास गर्छु, बापतमा म स्वार्थ पाउँछु । फछि फर्केर मेरो विगत आज फेरि नियाल्न अनि मूल्यांकन गर्न म बाध्य छु, के मैले देखाएको माया र ममता, कसैका लागि स्वार्थ सिद्धिको साधन बन्दैछ लाग्छ, पाइलाहरु त्यही पथमा अघि बड्दैछन् । मेरो हृदयको चित्कार, मुटुको अतृप्त भावना अनि अन्तस्करणबाट उद्वेलित अपूर्व स्नेहलाई भावावेग बनाइँदैछ । ग्रहण गर्नलाई कोही पनि तयार छैनन् । सान्त्वना दिनसम्म कोही अघि सर्दैन ।

विचारमा परिवर्तन गर्ने प्रयासमा छु । समय घर्किसकेपछि वियोगान्त कथाहरु लेख्नु भन्दा मायाको पोको अब नखोलेको बेश लागेको छ । बोलेर पीडा सहनु भन्दा, नबोली बाँच्नु नै जीवनको सार्थकता ठान्छु ।

माया बाँढेर पागल बन्नु छैन मलाई । मैले भोगेका वियोगका अनगिन्ति कथाहरुको सार हो यो । कसैका लागि बली चढ्नु कसैले मायाको परीक्षण हो भने पनि मलाई लाग्छ, त्यो मायाको, प्रेमको अनि ममताको उपहास होस मित्रताको कठोरतम सजाय हो ।

शतकका एक चैथाई वसन्तहरु हेर्ने क्रममा मैले बाँढेको माया र मित्रताबाट आर्जित उपलब्धि भनेको कुन्ठा, वेदना, धोका र पश्चताप नै हो । मेरा लागि यी प्रिय मित्र बनेका छन् आज भोलि । हिजो सपना देखाउनेहरु, मित्रताको हात फिजाउनेहरु अनि मायाका ताना बाना बुन्नेहरु स्वार्थ पूरा हुने नदेखेपछि वैरी बन्दैछन् । आफन्त हुन चाहानेहरु टाडिँदै छन् ।

म चुप बस्न बाध्य हुँदै छु, बाध्य गराइदैछ । त्यसैले अब म चुप बस्दैछु । खाली हेर्नेछु, ती धोका दिने, पीडा दिने अनि बेदनाहरु जन्माइदिनेहरुले मलाई त्यति गरेवापत कस्तो पुरस्कार पाउलान, कति सुखी जीवन जीउलान् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *