एक च्वाँक चुम्बन र एकथुँगो गुलाफ !

भक्त घिमिरे
पेन्सिलभेनिया, अमेरिका

भ्यालेन्टाइन् डे भनेको एक च्वाक चुम्बन र एकथुँगो गुलाफको परिभाषामा बुझ्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । यो बुझाइमा न कुनै जीवनदर्शन छ न त कुनै समाजको संस्कृति ! यो त केवल अस्वीकृतिको सांकेतिक विद्रोहमात्र थियो ।

भ्यालेन्टाइन् डे पुरानो विश्वास र पुरानो चालचलनका विरुद्धमा एक विद्रोह थियो । यो एउटा शहीद दिवस पनि थियो ।
रोममा अनुमानित तेस्रो शताब्दीतिर राजदरबार र चर्चबीचको राजनीतिक दाउपेचमा चर्चपक्षका नेता पादरी भ्यालेऩ्टाइनलाई मृत्युदण्ड दिइएको दिन नै भ्यालेन्टाइन डे हो । सम्राट क्लाउडियस द्वितीयले स्वास्नी र परिवार भएका सैनिकहरुले देशको लागि धेरै योगदान गर्न सक्दैनन् भनी उनको सेनाका कुनै जवानलाई विवाह गर्न दिएका थिएनन् । तर, सन्त भ्यालेन्टाइनले लुकी छिपी चर्चमा सैनिक जवानहरुलाई आफ्ना प्रियसीहरुसित विवाह गराउँदै गए ।

यो कुरालाई राजद्रोहको रूपमा करार गरी सन्त भ्यालेन्टाइनलाई कैद गरियो र मारियो । यसरी दरबारको हुकूमसमेतलाई सरोकार नराखेर भ्यालेन्टाइनले युगल जोडीहरुको प्रेम-प्रणयलाई शिरोधार्य गरिदिएकै कारण भ्यालेन्टाइनको स्मरणमा यो चलन शुरु भएको हो । यसलाई कुनै धर्म र जात विशेषको भनेर बिल्ला भिराउनु भन्दा पनि यो कुनै नीति, समाज, शासन र शासकबीचका आपसी सम्बन्धमा विद्रोह, एउटा मानवीय चेतनाको मोड वा रूपान्तरणको फड्को मान्नसके उचित हुन्छ । प्रेममा सम्पूर्ण जीवनदर्शन समेटिएको हुन्छ !

भ्यालेन्टाइन डे-कै प्रसंगमा पनि एक्लो भ्यालेन्टाइनको स्मरण गरिएको छैन । तेस्रो शताब्दिमा दरबारभित्र मारिएका सन्त भ्यालेन्टाइनसँगै त्यो दिन रोमन देवी जुनोलाई पनि सम्झना गरिन्छ । तत्कालीन रोमन विश्वासमा जुनोलाई युद्ध र भूमिरक्षाका लागि योग्यसन्तान उत्पादनका लागि स्रोत तथा दीव्यशक्ति दायिनी देवीका रूपमा मानिन्थ्यो ! पोप जेलसियसले रोमन देवी जुनो र सन्त भ्यालेन्टाइनको संयुक्त स्मरणमा सन् ४९६ को फेब्रुवरी १४ का दिन सर्वप्रथम विदाको रूपमा मनाइने घोषणा गरे । यो कुरा न इशाई धर्म-परम्परामा त्यो भन्दा पहिले स्थापित थियो न त त्यसपछि नै मूर्तरूपमा रहेको छ ! देवी जुनोको प्रसंग झन् भारतीय संस्कृतिका देवीहरुको व्याख्यानसित दुरुस्तै मिल्न आउँछ । अतः हिन्दू संस्कार-संस्कृतिमा देवता र देवीका रूपमा पुरुष र नारीको पूजन भएझैं भ्यालेन्टाइन र जुनोको संयुक्त स्मरण गर्ने दिनका रूपमा १४ फेब्रुवरी स्थापित भएको थियो ।

यद्यपि, यस कुरालाई ऐतिहासिक आधारमा बुझ्ने वा बुझ्न खोज्नेहरु अत्यन्तै न्यून संख्यामा छन् । केही गेरुधारीहरु यसलाई आगन्तुक संस्कृतिको सूत्रधार मान्छन् र भ्यालेन्टाइन डे मान्नेहरुले पूर्वीय संस्कृतिमा धब्बा लगाए भन्दै रुवाबासी गर्छन् त केही ठेट्नाहरु भ्यालेन्टाइन डे नमनाउनेहरुलाई अनपढ, बुद्धु, प्रेमको अर्थ नबुझ्ने, मूर्ख, श्वाँठ सम्झन्छन् । बुद्धले हामीलाई प्रेम र करुणा सिकाएका थिए, के उसो भए बुद्ध पनि भ्यालेन्टाइनका समर्थक थिए त ? शब्द, भाषा, इतिहासको परिभाषा कहाँबाट कता पुगिसकेको छ आज । चल्लाहरु चारो टिप्न जान्ने भा छैनन् प्रेमको नाममा अस्ति नै चुच्चो जोड्नचाहिं जानिसकेका छन् ! अतः सामाजिक जीवनको व्यावहारिक अभ्यासबाट सिद्ध हुने दोहोरो सम्बन्ध, अनेकतामा एकत्व कायम गराउने सद्भावनाको सूत्रलाई प्रेम भन्नुपर्छ भनेर यिनीहरुलाई कसले सिकाउने ? आलिंगनमात्र प्रेम होइन, विद्रोह पनि प्रेम हो ! ऐनामा अगाडिबाट हेर्दा प्रतिविम्ब देखिन्छ तर, त्यही ऐनामा प्रतिविम्ब नदेखिने पछिल्लो भाग पनि छ भनेर सबैले बुझ्नु आवश्यक छ !

प्रेम ! के भ्यालेन्टाइन दिवस मान्ने वा मनाउनेहरुले मात्र प्रेम गरेका हुन्छन् ? प्रेम त हाम्रा सतीहरुले पनि गरेका थिए । हाम्रा पूर्वजहरुले प्रेम नै नगरेका भए हामी यस धर्तीमा कसरी अवतरित हुन्थ्यौं होला ? स्त्री र पुरुषका बीचमात्र हुने प्रेमको पनि एउटै रुप हुँदैन । परिबन्दको प्रेम, व्यवहारको प्रेम, भावनात्मक संवेगको प्रेम आदि आदि धेरैखाले रुप छन् ! भ्यालेन्टाइन डे मनाएर बुझ वा नमनाइकन बुझ तर, प्रेम भनेको एक च्वाक चुम्बन र एकथुँगो गुलाफमात्र होइन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *