‘एनटीनेशनल-ङोलोप’
भक्त घिमिरेः
भैंसी दुहुन गोठ ग’को वीरभद्र
स्कूल जाँदै गरेको घनश्याम
खलेगरो जोतिरहेको शान्तिराम,
कोदो रोप्तै गरेकी हरिआमा
गाग्री बोकी पँधेरा पुगेकी नरमाया
एकै रातमा ‘ङोलोप’ बनेपछि
म पनि त्रसित थिएँ-
क्रमशः मेरो पालो आयो र
अंशमा भाग लाग्यो एउटा तक्मा
‘एनटीनेशनल’ !
त्यसपछिको एकसाताभित्रै
तिमी, म, गैह्रीघरे ठूले र चाँपखर्के कान्छो
सँगसँगै कैयौं तरुण, वृद्धहरु पनि
‘राज्यव्यवस्थाका विरोधी’ बन्यौ !
मैले विरोध गरेकै हुँ
गर्नैपर्ने थियो विरोध;
आमाको रोदन, बा’को क्लान्त सुस्केरा
बहिनीको अस्मिता,
दाजु-भाइ र इष्टमित्रको बेहाल
रमिता हेर्न कसलाई रहर हुन्थ्यो ?
आफ्नै घरमा आगो लाग्दा को चिच्याउँदैन र ?
हो, मैले विरोध गरेकै हुँ-
तर, मेरो विरोधको केन्द्रमा देश थिएन;
देशको विम्बमा त्यहाँ एउटा मत्तसाँढे थियो
जो सधैं मेरो बालीमा दाइँ गर्न चाहन्थ्यो !
त्योबेला-
म ‘एनटीनेशनल’ थिएँ
तिमी पनि ‘एनटीनेशनल’ थियौ
हामीजस्तै अनेकौं अरु पनि
आफ्नो लागि होइन-उसको लागि
आश्चर्यका कुख्यात ‘एनटीनेशनल’ थियौं !
होः त्यो एकबेला-जुनबेला
सबैमा एउटै घाऊ थियो
सबैमा एउटै पीडा थियो,
जिउने आशा मुर्छित हुँदाका
ती सुस्केरामा काँचो रगतको गन्ध थियो-
त्यसबेला हामी एक थियौं
एकताबद्ध हामी ‘साँच्चैका हामी’ थियौं !
त्योबेला-
खान मीठो चाहिएन,
सुत्न आराम चाहिएन
काँडाघारी, जंगल, झोस्
बगर, रुखका हाँगाहरुमा हाम्रा ओछ्यान थिए
बाघको गुँडमा
बँदेलको कुरमा पनि मस्तै निदाइन्थ्यो-
मुर्दा हट्टी झन् न्यानो
स्वागतयोग्य आमाको काख लाग्थ्यो !
त्योबेला-
सबै हाम्रा थिए, हामी सबैका थियौं
निर्जन चौरहरु हाम्रो लागि
दलान बनेका थिए-
फाटेको लाउने, रुखो खाने
खानै नपाउने सबै हाम्रा इष्टहरु थिए;
हाम्रो उनीहरुमा-उनीहरुको हामीमा
आत्मीयता र विश्वास थियो
एक अर्कामा भरोसा थियो !
जबसम्म हामी ‘एनटीनेशनल’ थियौं निः
त्यसबेलासम्म हाम्रो आँखामा
एकदिन देश फिर्ने सपना थियो,
देश फिर्नै नसके
उतै छुटेकाहरुको लागि
एक चिम्टी खुशीको उपहार दिने लालसा थियो;
हाम्रा अक्षर र शब्दहरुबाट
देशभित्र नौलो बिहानीको रेखा कोर्ने
इन्द्रेणीजस्तै रंगहरु पोखिन्थे-
कतै काला, राता, सेता र पहेंला !
तर, बाघले लखेटेको मृगझैं
दुःखबाट भाग्दै हामी
जब समुद्र तऱ्यौं- तबदेखि
हामी कसैका हुनसकेनौं;
अरुका हुनसक्ने ह्याउ थिएन नै
विडम्बना ! हामी आफ्नै पनि हुन सकेनौं !
बगरका झुप्रा छोडेर हामी
जब आकाश चिर्दै-समुद्र नाघ्दै
अग्ला भवनहरुको शहर पस्यौं
त्यसपछि त एकार्कामै अन्जान बन्यौं-
फेरिएको छ अहिले सबैको परिचय
दीननाथहरु ड्यानियल बने
जमुनाहरु जेनिफर बनेका छन्
डम्बरसिंह डेभिड बनेको हिँजै सुनेको हुँ;
कर्म र पेशा पनि फेरिएका छन्
कोही ‘कोर्डीनेटर’ छन् त कोही,
‘रियल्टर’, ‘प्रोप्राइटर’ ‘लेण्डर’ छन्-
‘मेण्टर’ ‘डाइरेक्टर’ इत्यादि त सुनेकै हो
तर, यतिबेला ‘हण्टर’ पेशा पनि थपिएको छ रे !
कुन पेशा राम्रो, कुन नराम्रो
म भन्न सक्तिनँ –
जुनसुकै पेशा गरे पनि
आफूसँगै समाजको हितमा
परोपकारको रथ हाँक्ने
सारथी बन्नु राम्रै हो,
सभ्यतामुखी परिवर्तनको ढाकर
बोक्नु पनि गर्वबोध कै कुरा हो-
तर, आफ्नो जगमै अडिएर उन्नति गर्नुपर्थ्यो;
आफ्नोबाट पराई बनेपछि परोपकार पनि
व्यापार हुन्छ व्यापार-
तल जग खुस्काएर माथि गाँसिएको घर
ढल्छ निः एकदिन ! ढल्दैछौं हामी दैन्यदिन
किनकि हामीमा ईख छैन , छ त खूब,
आफ्नो विगतसित घृणा !
नवीनताको तृष्णा छ तर, खोज गर्ने जाँगर छैन
घृणा गर्ने आक्रोश छ तर, परिमार्जन गर्ने धैर्य छैन
हो, हामी दिनदिनै एउटा रुग्न मैदानमा
‘बिनाजरी’को खेती लगाइरहेका छौं !
भुक्तभोगी विगतका इतिहास
न्यायको लागि लेखिएका गीतहरु
समानता र सभ्यताका निम्ति बुनिएका
हाम्रा तमाम सपनाहरु,
झुप्राहरुमै छोडिए-
हाम्रो आवाजमा अहिले
ध्वनिमात्र छ, शब्द छैनन्
शब्दहरु भए पनि फोस्रा छन्
सगोल शब्दले बनेका स्पष्टोक्तिहरु छैनन् !
हाम्रा अक्षरहरु अहिले लगभग
रेखाचित्रझैं देखिन्छन् !
तिनमा न्यायको तिर्खा छैन
समानताको भोक छैन
संघर्षको अठोट छैन
एकताको विम्ब छैन-
‘दिनभरि घोक्यो बाह्रखरी
बेलुकी उही काला-अक्षर भैंसी…’
हामीमा चरितार्थ भइरहेको छ !
बाटो कहाँबाट बिरायौं थाहा छैन;
हामीसित अहिले भौतिक राष्ट्र छ
भावनात्मक राष्ट्रियता छैन;
जहाँ हाम्रो सपना छ
त्यहाँ हाम्रो स्पन्दन छैन !
बाँच्ने आधार जुन धर्तीले दियो,
नागरिक परिचय जसले दिलायो
त्यहाँ हाम्रो हंश अडिएकै छैन
दुरदेशमा छ हाम्रो उन्मुक्तिको लक्ष्य !
कोदोबारीमा राखेको एउटा बुख्याँचाझैं
शहीदको नाममा ठडिएको मूर्तिजस्तै
कति दिन जीवन बन्दकीमा राखेर हिँड्ने ?
छैन भनौं त हामीसित सबैथोक छ
छ भनौं त कतै केही छैन-सबैतिर रित्तैरित्तो छ !
एउटा चाख्लो आदर्शको गल्लीमा
बेस्सरी नारा लाउँदै हामी दौडिएका छौं
जाने कहाँ हो, गन्तव्य निर्धारित छैन-
गन्तव्य छ त केवल आफूजस्तै निरीह
अर्कोलाई उछिन्नु छ, केही गरी जित्नु छ;
सकेसम्म आफ्नै विगत बिर्सिन स्पर्धा गर्नुछ
भिखारी राजा बनेको आफ्नै कथा मेटेर
जन्म-जन्मान्तर आफू पुस्तैनी
चक्रवर्ती सम्राट बनेको कथा लेखाउनु छ !
आफ्नो कथा आफैं लुकाएर
धमाधम हामी परिचय फेर्नमा उद्यत छौं
विगत सम्झिन डर किन लाग्छ हँ ?
बिर्सने होइन विगत, व्यवस्थापन गर्ने हो ।
यदि कसैलाई विगतसँग लाज लाग्छ भने
स्पष्ट घोषणा गरे हुन्थ्यो-
‘म त्यो होइन, सो हुँ !
फलानो वा ढिस्को परिचय
मसित सम्बन्धित छैन !’
उहिले नै भूपि शेरचन भन्थे
‘हामी वीर छौं तर बुद्धु छौं,
हामी बुद्धु छौं र त वीर छौं ।’
कान्छा वीर, भरिया वीर,
दरवान वीरहरु उतिबेला अरु नै थिए-
अहिले हामी दम्भवीर छौं
शेरचन शायद हामीलाई हेरेरै
उतिबेला बोल्दै थिए !
नरमायाको वलात्कार,
हरिआमाको चित्कार
काजीमानको सर्वस्वहरण
कैदभित्रै धर्मराजको मृत्यु
आदि कथाहरु सुन्ने
हामीसित अहिले न जाँगर छ
न त अलिकति विवेक नै !
छ के त भन्दा हामीसित अहिले
नहुनेमा तीनवटा ‘प’ को भोक छ
पैसा, प्रतिष्ठा र प्रचारः
त्यो हुनेहरुमा त्यसैको सुरक्षा चिन्ता छ !
हो, अहिले हामीसित
पैसा छ, गाडी छ, ठूलो घर छ
प्रतिष्ठा छ, रवाफ छ, चर्चा छ
आफ्नै बडिबढाईंको तिर्खा र भोक छ-
यतिबेला हामीलाई
आफ्नै सहोद्दरहरु दुष्ट लाग्छन्
आफ्नै इष्टहरु दुश्मनझैं लाग्छन्
दलाल र तस्करहरु निकट लाग्छन्-
हो, यतिबेला हामीलाई
अस्ति हाम्रो साझा दुश्मनले जे जे भन्थ्यो
ती सबै कुरा प्यारा प्यारा लाग्छन्
ती सबै आक्षेपहरु न्यारा न्यारा लाग्छन्-
त्यसो र त, हाम्रा केही कथित विद्वानहरु
राष्ट्रविहीनताको उपहार बोकेर
एउटा पुत्ला नचाउँदै त्यसकै जयगानमा
अमूर्त तस्वीर वरपरि आरती घुमाउँदै
‘राष्ट्रिय दिवस’ मनाइरहेका छन् !
हामीसँग अब गर्व गर्ने केही बाँकी छैन
कसैलाई सुनाउन लायक
कुनै गर्वको कुरा छ त
केवल एउटा गाडिएको घाऊ छ –
युद्ध हारेर ग्लानी बोकेको सिपाहीझैं हाम्रो
सुनाउनलायक एउटैमात्र थोत्रो कथा छ-
त्यो कथा हो-‘उहिले नै एकबेला
त्योबेला, उबेला
हामी सबै [एनटी नेशनल] थियौं !’
ङोलोपः [जोङ्खा] देशको मूलधारभन्दा अलग, विपक्षी, विरोधी, उग्रवादी, आतंकवादी
एनटीनेशनलः[अंग्रेजी] राजद्रोही, राष्ट्रविरोधी,