ऐनामा प्रतिबिम्बित देश

JN Dahal is our author based in Pennsylvania, USA. He is one of the editors of Bhutaneseliterature.com.

जे एन दाहाल
पेन्सिल्भेनीया, अमेरिका

ऐनामा देश सि एम निरौलाद्वारा लिखित कथा सङ्ग्रह हो ।  सन् २०२१ मा बजारमा आएको यस पुस्तकमा २४ वटा कथा छन् जस मध्ये शीर्षक कथा ‘ऐनामा देश’को यहाँ समीक्षा गरिन्छ ।

यस कथामा दुई पात्र छन् । पहिलो ‘म’ र दोश्रो ‘ऊ’ पात्र । ऊ अर्थात् ‘झटारे काका’ जसको नाम कथाको अन्त्यमा मात्र खुलाईएको छ। म पात्र धेरैपछि बेचयनी र छट्टपटीका कारण स्विमिङ पुलमा पौडी खेल्न भनी जान्छ । निक्कै बेर पौडी खेलेपछि आनन्द लिएर स्विमिङ पुलबाट बाहिर निस्कन्छ । निक्कै बेर ?  हो, यहाँ कथाकार निरौलाले समय खुलाएको पाइँदैन । म पात्रले सुक्खा कपडा फेरी चिसो लुगा टपक्क टिपेर उठ्दा स्विमिङ पुलको भित्तामा कोही व्यक्तीलाई देख्छ । ति व्यक्ति ऊ पात्रका रुपमा कथा भरि उभिएका छन् ।

उक्त दृश्यदेखि म पात्र झसङ्ङ हुन्छ । उसको जिउ नै सिरिङ्ङ हुन्छ । म पात्र किन झसङ्ङ भयो ? किन उसको जिउ सिरिङ्ङ भयो भन्नेकुरा कथा अघि बढ्दै जाँदा खुल्छ ।  पच्चिस वर्ष पछि आएर झटारे काका भन्न थाल्छन् । “म तँलाई नै खोज्दै आएको थिएँ” यहीँबाट पाठकलाई कौतुहल्ता पस्छ ।

यी ऊ पात्र झटारे काका हुन् तर उनी किन आए? उनले नै कथा भन्न थाल्छन्, “तिमेरका घर अगाडिको गारो कतै कतै भत्किएको भए पनि अझै लडेको रहनेछ पच्चिस वर्षमा । पछाडिको भाग चर्केको, भत्किन पनि के भत्कियोस् तेरा बाउले ऊ बेला दर्सिन ढुङ्गाले बनाको । परालको सुलीको ठाउँमा ठुलो सालको रुख रहेछ । नागेश्वरी खोलो  सुकेछ । पानी पिउन पनि सुकुन खोलै नै पुग्नु पर्दो र’छ । पच्चिस वर्षपछि पनि त्यहाँको पानीको स्वाद जस्ताको त्यस्तै ।”

यी पङ्क्ति पढिरहँदा यस्तो लाग्छ झटारे काका माध्यम मात्र हुन्, खासमा लेखक निरौलाको  मातृभूमि प्रतिको प्रेम र माटोको सुगन्ध कति धेरै छ भन्ने नजिकबाट बुझ्न सकिन्छ ।

‘म’ पात्र उनलाई सुनिरहन्छ । झटारे काका भन्छन, “त्यो परालको सुलीको एउटा बेग्लै कथा छ। जब सन् १९९० मा जुलुस उठ्यो । खमारी टारको राई माईलो, बम्जन डाँडाको घिमिरे काँइलो र अरु केही पनि भागेर  स्याङबा आईपुगे । एक रात त्यहीँ परालमा लुकाएर बँचाए ती मोराहरूलाई ! स्विमिङ पुलमा भेटिएका यी ऊ भुटानभित्र सन् ९० मा चर्चकिएको आन्दोलनको कुरा गर्छन्, त्यो समय म पात्र टुलुटुलु हेरी उनको कुरा सुनेर साथ दिन्छ ।

“हामी पनि मकैकाे ढोड बोकेर बन्दुक बोक्नेहरुसँग लड्न ग’का । ओई आन्दोलनको बेला आर्मीले पक्डन्छ भनेर घरपारिको डाँडामा लुक्दा भूत आउँछ भनेर हेर्न बसेका ठुला घरे साईँलो र म । ऐनामा देश कथाले स्विमिङ पुल देखि भुटानको ग्रामिण ठाउँ सम्म पुर्याउँछ ।

पृष्ठ २ मा प्रस्तुत यी वाक्यहरु हेर्दा उनको कथामा आधुनिकता, पुरातन सोच र युवाकालीन जोस एकै कथामा भेटिन्छ । क्रान्तिका लागि मकैको ढोड बोकेर हिँडेको मान्छे, भुतदेखि डराउनु जस्ता प्रसङ्ग  हाँस्यास्पद लाग्छन् ।

झटारे काकाले अघि थप्छन,  “यो आधा डढेको पुस्तक पनि मैले पाउनु रहेछ त्यो भएर कसो हावाले उडाएर त्यो पाठशालाको भित्तो लडेको ठाउँमा ढुङ्गाले किचेको र’छ ।“ यी पङ्कतिबाट लेखकले भुटानमा नेपाली भाषा माथि भएको दमन देखाउन खोजेका छन् ।

कथाकार निरौलाले लेखेका छन् “उनले खुशी व्यक्त गर्दै फेरि भने डाँडाघरे गुरुजीले मेरो काम मज्जाले सकिदिनु भएछ । मै उस्तो, जाबो छोटो बुद्धि भएको । हेर, त्यो संसार कति रमाईलो छ ।“ पृष्ठ ७ को दोश्रो अनुच्छेदमा “मैले बाटो बिराएँ, तर अरुहरुलाई चेतना बाड्नुपर्छ । म संसारमै रमाउन चाहान्छु, मलाई फिर्ता आउन सहयोग गर”

किरिया मज्जाले सकिदिनु भएछ भन्ने वाक्यका माध्यमबाट लेखक सि एमले के मेरपछि किरिया गरेको पनि मृत्युपश्चात ( स्वर्ग या नर्कमा ) मिल्छ भन्ने अन्धविश्वास देखाउन खोजेका हुन् ? ऐनामा देशमा यस्तो कुरा नदेखाएर, आन्दोलनको दृश्य मात्र अघि लानसके कथा सुन्दर देखिन्थ्यो कि!

झटारे काकले कुन उमेरमा आत्महत्या गरे ?  के कारण मृत्युको बाटो रोजे ? लेखकले कथाको अन्त्य सम्म खुलाउन सकेका छैनन् । यो कथाको कम्जोर पक्ष हो ।

ऐनामा देश कथा, विषय वस्तुको आधारमा -मृत झटारे काका सपनामा आउनु, म पात्रलाई भुटानको कहानी भन्नुसम्म ठिक छ । तर लेखकले ऊ पात्रलाई आत्महत्यासंग लगेर जोडेका छन्, जुन पाठकलाई अनौठो लाग्छ । सन् १९९०को  भुटानको कथा भनिरहेका पात्रलाई आवेगमा आएर, छोटो बुद्धिका कारण आत्महत्या गरें भन्ने कुरा जोड्नु आफैंमा अमिल्दो छ । यही उदाहरणलाई आधार बनाएर भन्न सकिन्छ लेखक सि एमले कथालाई प्लट गर्दा विषय वस्तुको बुनोटमा आवश्यक कुरा के के पर्छन् भन्ने बारे ध्यान दिन जरुरी छ।

आत्महत्या गरेका व्यक्ति २५ वर्षपछि ‘म’ पात्रसामु किन आए ? यही भूटानी जनआन्दोलको कहानी भन्न ? या आफूले गतल निर्णय लिएको बताउन ? कथामा दुवै कुरा आएको छ तर त्यही दुई कुराका कारण क्रमिकता भङ्ग पनि भएको छ ।

झटारे काकाले गरेको पश्चतापसंगै सपनाको संवादमा उनी हराउँछन् । मोबायलको आर्लामका कारण म पात्र बिउँझिए तर दोश्रो चरण निदाउन सकिन भनी कथा टुङ्गिएको छ । यहि कारण कथा अपूर्ण पनि छ । कथाको माध्यम बनाई लेखकले समाजमा बढ्दै गएको ‘आत्महत्या’ को मुख्य समस्यातिर ईसारा गरेका छन् । एउटै कथामा ऐतिहासिक कुराको उत्खनन,  धार्मिक प्रसंग, सामाजिक र अन्धविश्वासका कुरा पनि जोडेका छन् । यहाँबाट भन्न सकिन्छ लेखकको उदेश्य प्रस्ट छैन । अर्थात् लेख्नु पूर्व उनले प्लट गरेनन् । अन्त्यमा सि एमले निरन्तर अध्ययन र अभ्यास बढाए भविष्यमा उनले कथा लेखनमा प्रगति गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *