ओखरबोटे कान्छो
सिएम निरौला, न्यू ह्याम्पशायर-
“दाइ नमस्कार !”
एक अपरिचित युवाले दश औंला जोडेर भन्यो ।
नमस्कार नमस्कार । एक हात आफ्नै खप्परतिर तेर्स्याए जवाफ् फर्काएँ ।
“दाइ मेरो नाम ओखरबोटे कान्छो हो सबैले यसै भन्छन् । बारी छेउको ओखरको बोटमुनि जन्मिएको कारण हजूर बा-ले यो नाम राखिदिनु भाको रे…! बाबुबिनाको भनेर न्वारन पनि गरिदिएनन् रे…! मलाई त समानका साथीहरुले पनि ‘जंगलमा भेटेर ल्याएको’ भन्छन् । भन्न पनि किन नभनुन्, जो जन्मैदेखि सबैभन्दा हेपिएको छु ।” यति भनेर ऊ अक्मकियो ।
मैले थप कुरा खोल्न भनेपछि कुरा फेरि बोल्यो,“म १९९१ सालमा जन्मेको एक बबुरो हुँ । हजुरबाट ठूलो सहयोगको अपेक्षा गरेर आएको छु । विन्ती छ नाई नभन्दिनु होला । हजुरले मेरो सत्य कथा लेखिदिनु होला । विन्ती छ ।”
म बोल्न नपाउँदै उसले थप्यो,”दाइ मेरो यो विन्तीलाई अस्वीकार गरेर मलाई अझ कमजोर र दुःखी नबनाइदिनु होला ।”
“कृपया म २६ वर्ष अघिदेखि जुन कुराले तड्पी रहेको छु, तपाईंको सहाराले यो समाजबाटै मेरो अस्तित्व र मेरो प्रश्नको उत्तर पाउने आशा राखेको छु ।”
म अलमल्ल परें, उसले के भन्दै छ, त्यसको सुइँको समेत पाइरहेको थिइनँ, सपनीमा झैं टोलाइरहें ।
दाइ भन्दै उसले थप्यो,”म तपाईंको यो गुण कहिल्यै भुल्ने छैन तर, मेरो विन्तीलाई अस्वीकार नगरिदिनु होला ।”
मैले टाउकाले हुन्छ भन्ने इशारा के मात्र गरेको थिएँ, मलाई त युद्धमा होमिन लागेको विमानले धर्ती छोड्न लागेझैं हुने गरेर खुशीले गदगद हुँदै तिन फन्का घुमायो र बर्षौंपछि प्रेमी-प्रेमिका भेट भए झैं अँगालोमा हाल्यो र हातमा चुम्बन गर्यो । लाग्दै थियो शायद जीवनमा ऊ यति खुशी कहिल्यै भएकै थिएन !
“मलाई थाहा छ दाइ तपाईंको मुटु दह्रो छ, तै पनि अझ दह्रो बनाएर सुन्नु होला । “मेरी आमा कस्ती हुनुहुन्थ्यो मलाई केही थाहा छैन । बास.., यतिमात्र थाहा छ म कसैको नालायक सन्तान चैं अवस्य हुँ । न मेरो थर छ न त जात, केवल छ त प्रश्नै प्रश्न । म को हो, के जात अनि म किन जन्मेको- यही मात्र थाहा छ ।”
म गहिरो समुद्रमा डुबीसकेंछु । अन्यौलको पहाडले मलाई थिचिसकेको थियो ।
फेरी थप्यो,”मैले एक दिन जिद्दी गरेर हजुरबालाई सोधें, भन्न चाहनु भएन; केही बेर जिद्दी गरेर रोएपछि बल्ल भन्नुभो, ल सुन केटा- सुन्ने रहर गरिहालिस्, अब मुटु दह्रो बना अनि सहन सक्ने क्षमता निर्माण गर ।”
उसले यति भन्दासम्म अब त मलाई पनि के रहेछ भनेर जान्ने कौतुहलता जागिसकेको थियो । लामों सास तानेर भन्न थाल्यो ऊ, “मेरी आमा १६ वर्षकी थिइन् अरे । आफ्ना आमा-बा’को हातमा समातेर हिड्ने उमेरमा, बा-आमाको आँखमा घण्टौंसम्म लडेर घूर्की लगाउने समयमा, भोक लाग्दा आमालाई बोलाउँदै रुने उमेरमा, ढुंगामा अल्झेर ठेस लाग्दा बाबाले ढुग्गालाई झापटले नहानुञ्जेल चर्को स्वरमा रुने त्यो उमेरमा, बाबाले त्यो ढुंगालाई कुटी दिँदा नयाँ लुगा किन्देको दिनजतिकै खुशी हुँदै कुद्ने त्यो बाल्यकालमा, त्यो वेदना भोग्नुपरेछ जुन सुनाउन त के कल्पना गर्न समेत सक्दिनँ दाइ ।”
उसले यति भनी रहँदा म पनि निकै भावुक भइसकेको थिएँ । बोल्न नसक्ने अवस्थामा थिएँ म पनि ।
होस सम्हाल्दै फेरि भन्यो,”सपना झैं लागेर आउँछ, मन पोल्छ, के गरौं र कसो गरौं हुन्छु, फेरि मेरो संसार रंगीन बनाउने हजुरलाई हेर्छु र मन थाम्छु । धेरै सताउन, नाटक जस्तो लाग्छ, पटकपटक रुन्छु, चिच्याउँछु अनि फेरि मन सम्हाल्छु । ‘थुक्क’ मेरो जिन्दगी, आफैंले आफूलाई धिकार्छु दाइ ।”
ऊ धेरै रोइसकेको थियो ।
“दाइ, त्यस्तो कहाली लाग्दो अवस्था त दुश्मनलाई समेत नआओस् । मेरी आमालाई त के यो संसारका कुनै पनि परिवारलाई त्यस्तो लज्जाबोध अवस्थाको कल्पना समेत गर्नु नपरोस्”, उसले करुण स्वरमा लाचार हुँदै भन्यो ।
म पनि अब त हारी सकेको थिएँ, उसलाई के भन्ने कुनै शव्द नै थिएन मसँग । फेरि लाग्दै थियो मभित्रको शव्दकोसमा शव्दहरू नै छैनन् त्यो केवल खाली पानामात्र छ जस्तो ।
‘खुई’ गरेर पुनः लामों स्वाँस लिँदै भन्यो,”खै हजुरबाले भन्दा सरकारी मान्छे जस्तो लाग्छ रे, आँखाले पनि वृद्धा भएको संकेत दिएजस्तो धमिलो मात्र देख्नु हुन्थ्यो रे । टाउकामा कराइको टोपी लगाएका, उनीहरूले बोकेको बन्दुकले गगनचुंबी आकाशतिर इशारा गरीरहेको, पांग्रे लुगा लगाएका, जसको खुट्टामा ठूला ठूला जुत्ता लगाएका ८०-९० जना मान्छेले हजुरबाको घर घेरे रे, हजुरबालाई लछारपछार पार्न थालेपछि त्यो कलिली नाबालिकालाई असह्य भएछ र छुट्याउन जानु भएछ तर…!
म खंग्रङ्ग भएँ, मुटु ढुकढुक गऱ्यो । ऊ त्यति ठूलो आवाज़ निकालेर डाको छोड्न थाल्यो कि यसै भन्ने हो भने जहाज उड्नु भन्दा अघि निकालेको आवाजसँग सहजै तुलाना गर्न सकिन्थ्यो । केहीबेर त स्वास नै बन्द भएझैं भयो ।
घुँक-घुँक गर्दै रुनथाल्यो, विचराको वेदना ममा ल्याएर पोख्ने मौका पायो भन्ने लाग्यो, खै म पनि निकै भावुक भइसकेको रहेछु कि क्या हो ! कुनै शव्द नै आएन । साँच्चै पर्दा त शव्दकोश नै नखुल्दो रहेछ भन्ने शिक्षा पाएँ । मेरा आँखाका डिलबाट गालामा चुम्बन गर्दै पृथ्वीमा बजारिएका आँसुका ढिक्कालाई प्राकृतिले उसको अदृश्य क्यामेरामा कैद गरिरहेको अवश्य हुनुपर्छ तर, उसले देख्नुभन्दा अघि नै बाउलाको फेरोले आँखा पुछिसकेको थिएँ ।
“दाइ जब जब म १६-१७ वर्षका ती कलिला किशोरीहरूलाई देख्छु, आफ्नै आमा जस्तो लाग्छ । छेउमा गएर आमा भनेर उनको काखमा बसेर धन्टौसम्म रुन मन लाग्छ तर, के गर्नु गन्तव्यतिर लम्की रहन्छन् अनि नेपथ्यमा हराउँछन् । आफ्नै खप्पर ठोक्छु, धन्टौसम्म टोलाइरहन्छु”, बरबराई रह्यो ऊ ।
“मलाई थाहा छ, ती कराइको टोपी लाउने, शिर भन्दा माथि पारेर सधैं आकाशलाई निशाना बनाइरहेको त्यो वन्दुक वोक्ने ती पांग्रेहरू जो नारी जाति देख्नाशाथ बाघले शिकारलाई झम्टेझैं झम्टने, हजुर आमा होस या नावालिग कसैलाई पनि नछाड्ने, उनीहरू अस्मिता लुट्दा स्वार्गीय आनन्द पाएको महसूस गर्ने ! अरूको चिच्याहटमा आफूलाई ख़ुशी देख्ने ती नरपिशाचहरू नै हुन् मेरा बाबा तर, मलाई यति पनि थाहा छैन को हुन मेरी आमा अनि उनी कस्ती थिइन्”, उसले वेदनाको पोरो फुकाइसकेको थियो ।
लामो सास तान्दै पुनः,”हो दाइ, त्यसरी हाम्रा सारा खुशी खोसिएपछि, यो संसार नै सकिएको महसूस भएछ । पाप र धर्म भन्ने कुरा उखानमा मात्र सीमित भएको प्रस्ट भएछ । न्याय माग्न जाँदा अपमानित बनाइएछ । पछि घरमा आगो लगाइएछ, अनि शान्ति खोज्न ती नरपिशाचहरू भएको ठाउँबाट धेरै पर गए अरे । धेरै पर जहाँ कहिल्यै अपमानित हुनु नपरोस भनेर….!”
उसको रोकिने छाँट देखिनँ मैले । हाइह्वेमा बेगले दौडेको सवारीसँग तुलना गर्दा फरक पर्दैनथ्यो उसको बोलीको रफ्तार ।
उसले फेरि लामों स्वास तान्दै भन्यो,”पछि थाहा भएछ, त्यो कालो समयको साक्षी म आउँदै छु भनेर । दश महिना पछि म त यो पापी दुनियँमा साक्षी बनेर आएँछु तर, आमा रहनु भएनछ । हो दाइ, सदाका लागी साँच्चै शान्त परिवेश खोज्न जानु भएछ, कहिल्लै नआउने गरेर । कहिल्यै तिरस्कृत हुनु नपर्ने गरेर । धेरै टाढा धेरै । उही ‘भगवान भएको’ ठाउँमा ।”
“अब तपाईं भन्नुहोस दाइ उहिले द्वापर युगमा त कर्णले आफ्ना बाबु पाएका थिए रे- आमा चिनेका थिए । म चैं कहिलेसम्म तपस्या गर्ने ? २६ वर्ष भयो अब कति प्रतीक्षा गर्ने ? अनि फेरि यो समाजले थर र जात सोद्धा मैले के उत्तर दिने ?”, उसले मलाई गम्भीर प्रश्न गऱ्यो ।
वश्, यति भनेर अरु तपाईंको जिम्मा भन्दै अघिल्तिरबाट अब फेरि उसको कथा अरुलाई सुनाएर पुनः दुःखी नहुने भन्दै आफ्नो गन्तव्य स्थानतर्फ लाग्यो । धेरै नै भावुक भएको कारण उसको ठेगाना लिनसमेत भुलेंछु । हेर भाइ तिम्रो कथा लेखिदिएको छु । हजुरबालाई नमस्कार सुनाइदिनु । तिम्री आमाको आत्माले शान्ति पाओस् । श्रद्धासुमन प्रकट गर्न चाहन्छु । चाहन्छौ भने तिमीसँग भेटेर केहीबेर कुरा गर्न मन लाग्या छ । भाइ मलाई थाहा छ तिमीले यो कथा पढ्ने छौ । तिम्रो यो दाइलाई तिम्रो विवाहमा बोलाउन नभूल है !