कथाका राम र सुन्तलीको रामे
हरि पी. चौंलागाई
अमेरिका
“यो सलाई पनि कस्तो नपरेको ।”
हरेक साँझझैं आज पनि सुन्तलीले आँगनमा रहेको तुलसीको मठमा दियोको साँझ बत्ती बालेर आलुको टुक्रोमाथि धुपकाँटी सल्काई अनि शिर निहुराएर हात जोड्दै नमस्कार गरी ।
“हेर, यो तुलसी पनि सप्पै ओइलाई सकेछ, पानी पनि हाल्न पा’छैन । मठ पनि भत्केर लड्न आँटी सको । यो एक्लो ज्यानले पनि के के पो भ्याउनु ?”
सुन्तलीलाई धर्म-कर्ममा धेरै लगाव छ । हरेक एकादशीको ब्रत बस्नेगरेकी छ । तीज र स्वस्थानीको ब्रत त एकै वर्ष पनि टुटाएकी छैन । एक महिनापछि तुलसीको पूजा लाउने कुरो हुँदैछ घरका मान्छेसँग । सुन्तलीको जेठा मामा पुरोहित काम गर्छन् । उनको छोरो भर्खरै मात्र वनारसबाट पण्डित भएर आएको छ । अब चाँडै घरमा पुराण लाउने अरे भनेर नेउपाने साँईलीले हिँजो बिहान पानीको धारामा सुनाएकी थिई सुन्तलीलाई ।
डल्ली पनि भाइ नारायणलाई लिएर आईपुगिछ । “होइन, होम्मक गरेर खेल्नुपर्छ निः । यो ना’रान पनि काम नलाग्ने र’छ” भन्दै सुन्तलीले नारायणलाई समात्न खोजी । नारायण कुदेर झुप्रोभित्र पस्यो । “त्याँ खुट्टा नधोई चुलामा जालास निः फेरि”, सुन्तलीले एकै स्वरमा बोली ।
डल्लीको साँच्चैको नाम कुमारी हो तर सबैले डल्ली भन्ने गर्छन् । उसको न्वारममा लुते पुरोहितले राखिदिएको नाम भने दुर्गाकुमारी हो । चीना बनाएर गजोधर ज्योतिषीले पनि त्यही नाम जुराइदिए । तर, स्कुल र रासिनकार्डमा नाम कुमारी मात्र छ । नारायणको नाम भने सुन्तली र उसको लोग्ने रामे दुवैले मिलेर छानेका हुन् । कतै मर्नेबेलामा भगवानको नाम लिन बिर्सिएमा, छोरा-छोरीलाई बोलाइयो भने पनि भगवानकै नाम उच्चारण हुन्छ, मुक्ति पाइन्छ भन्ने विश्वासले नारायण नाम छानेको बताउँथे उनीहरू ! डल्लीका चारवटी दिदीहरू थिए; दुईवटी भूटानमै खसे भने दुईवटी माई खोलामा बिरामी भएर मरे । कति धामीझाँक्री लगाए, बुधाबारेकी मातालाई पनि देखाए तर, कसैको केही सीप लागेन । भूटानबाट ल्याएको हड्चुर, पाखन बेत, बुढो ओखत आदि केहीले पनि पार लाएन । अस्पतालको औषधी त कति हो कति, एक डङ्गुर थिए खाई नसकेर रहेका । पछि सँगै जलाई दिए- बरु माई खोलाले खायो सबै । अब एउटै डल्ली बाँकी छ । यसलाई पनि भगवानले नाचोरुन् भनेर साँच्चिको नामले नबोलाएर “डल्ली” भनेको भन्छे सुन्तली । डल्लीलाई भने डल्ली भनेको मन पर्दैन अरे । नारायण भने बल्ल बल्ल छवटाको पालामा जन्मेको छोरो हो । अपुत्र पो हुनुपर्छ कि, मरेर गएपछि पनि यसो किर्या गर्ने, श्राद्ध गर्ने र पानीसम्म दिने पनि कोही हुँदैनन् होला भनेर रामे र सुन्तली कति दु:खी थिए । गाँउ घरकाले पनि कुरा काट्ने गर्थे । छोरा नजन्माएको भनेर सुन्तलीले रामेको कति कुटाइ खाएकी थिई भूटानमा । तर नारायण जन्मेदेखी रामेको त्यति कुटाइ खानु परेको छैन । छोरा पाउँ भनेर कति ब्रत बसेकी थिई सुन्तली, बल्ल बल्ल उसको कुरा सुनिदिए भगवानले ।
“जा डल्ली, बुबालाई लेर आइज, भात सेलाउन आँटो । यो तास पनि कति खेल्नु परेको ।”
डल्लीको बुबा रामेलाई तास भएपछि अरू केही पनि चाहिँदैन । सेक्टर- बी मा कुनैले पनि उसलाई तासमा हराउन सक्दैनन् । उनीहरूको तास खेल्ने अखडाचाहिं काँइला दाइको सिकुवा । आज त बिहानको खाना खाएर गए देखि उठेकै छैनन् जुवाडेहरु ।
सुन्तलीले निगुरो टिपेर आउँदा पाँच बजी सकेको थियो आज । धन्न जर्किन धाराको लाइनमा राखेर गएकी थिई जङ्गल, ठिक्क पालो पनि आएको रहेछ घर आइपुग्दा अनि पानी थाप्न पाई ।
“मलाई डल्ली नभन्नु भनेको ।”
डल्ली अलि पर जान्छे अनि काँइला दाइको सिकुवामा बसेर तास खेल्दै गरेको समूहमा एउटा कपाल खैरो भएको मान्छेको कानमा के के फुक्छे र कुद्दै आउँछे । रामे पनि जुरुक्क उठेर डल्लीको पछि पछि आउँछ । शायद खेला पनि ठिक्क सकिएको थियो अनि भोकले भुँडीमा मुसा कुद्न थालिसकेको थियो रामेको । आज त खाजा पनि खान पाएको थिएन । दिँउसो केही छ कि खाजा भनेर घर आएको थियो रामे, तर सुन्तली निगुरो टिप्न गएको बेला परेछ, खाने केही पनि नदेखेर त्यसै फर्केको थियो । अलिकति भएको पिठोपनि केटाकेटीले हिँजो नै स्कुलको खाजा-छुटी (लञ्च) मा घर आएर भुटेर खाई सकेछन् । अझै एक हप्ता छ रासिन थाप्ने दिन आउँन । यो पाली त पिठो पनि कति छिटै सकिएछ । पिठो सकिए पछि डल्ली र नारायणको खाजा नै हुँदैन; खाजा छुट्टीमा अरू सबै साथीहरू खाजा खान आ-आफ्नो झुप्रोमा जान्छन् तर, तिनीहरू भने सिसौघारी घुमेरै समय बिताँउछन् । अनि घन्टी लाग्नेबेला भएपछि स्कुल फर्किन्छन् ।
सुन्तलीले सबैलाई खाना पस्किन थाल्छे । रामे पनि हात खुट्टा धुन्छ, दौरा र हाफपेण्ट फुकालेर कच्छाड मात्र लगाउँछ अनि चुल्हामा आएर खुट्टे पिरामा बस्छ । उसले जनै कानमा सिउरीएको छ । नारायण भने खोसेलाले बनेको गोलो पिरामा पलेंटी कसेर बस्यो । आज खानामा, बगडा चामलको भात, चनाको दाल अनि निगुरो र टमाटर भुटेको छ । नारायणलाई निगुरोको सब्जी असाध्यै मनपर्छ । सुन्तलीले रामेलाई झर्के थालमा भात पस्कीई अनि दाल र निगुराको सब्जी पनि झर्के बटुकामै पस्केर दिई । “म पनि ठुलो भएपछि झर्के थालमा भात खान्छु”, नारायणले सानो स्वरमा बोल्यो ।
नारायणको भने आफ्नै पर्सनल थाल छ, स्टिलको- कक्षा दुईमा तेस्रो भएर पुरस्कार पाएको । परीक्षा फलको दिन मञ्चबाट उसको नाम आउँदा नारायण कति दङ्ग भएको थियो । “क्लास 2-C बाट तेस्रो भएको छ- नारायण उपाध्याय !” गड..ड…ड ताली बजेको थियो । मेनुका मिसले बोकेर गालामा म्वाई पनि खाएकी थिइन् । त्यो दिन माथ्लो घरको काले भने सी.पी. पासमात्र भएको थियो तर, उसका बा’ ले उसलाई नयाँ जुत्ता र मिल्के घडी किनी दिएका थिए । नारायणले भने रुँदा रुँदा एक रुपैयाँ मात्र पाएको थियो । त्यो दिन उसलाई सारै नरमाइलो लागेको थियो । कक्षा तीनमा भने, आजसम्मको जाँचमा, पोहोरको भन्दा एक कदम अघि पढेर दोस्रो भएको छ नारायण ।
रामेले हरेक चोटि खानुभन्दा अघि अप्सानी लाउने गर्दछ । आज पनि, उसले कोलाको पत्तामा एक डल्लो भात अनि एक दुई थोपा पानी राख्यो । संस्थाले दिएको हलुंगेको ग्लासबाट दुई तीन सुरुप पानी खाएर आचमन गर्यो अनि हावामा शिर निहुराएर ‘भगवान्’लाई ढोग्यो र सप्र्यांग सप्र्यांग पार्दै खान थाल्यो । त्यतिकैमा आफ्नो कोठाबाट थाल, बटुका, गिलास र खुट्टे पिरा लिएर डल्ली आइपुग्छे अनि भुइँमा अलि पर बस्छे ।
“खोइ, तेरो थाल-बटुका यता सार त डल्ली, त्याँ भाइलाई छोलिस् निः फेरि ।” सुन्तलीले डल्लीलाई अलग्गै भात सब्जी पस्किदिई अनि डल्लीले अलि पर बसेर खान थाली ।
“आमा, दिदीले मलाई किन छुनु हुँदैन?”, “दिदीले सँगै बसेर किन नखाको ?” निर्दोष नारायणले जिज्ञासा प्रकट गर्यो । नारायणको बोली भुइँमा झर्न नपाउँदै सुन्तली बोली, “छुनु हुँदैन भनेपछि हुँदैन । डल्ली नछुने भाकी छे क्या ।”
“यो नछुने भनेको चैँ के हो ?” नारायणले फेरी सोध्यो ।
“हैन, यो खाने बेलामा बोल्नु हुँदैन भनेको था’ छैन, नबोलीकन खा न खुरु खुरु ।” रामेले ठुलो स्वरले करायो । “पाप लाग्छ पाप । पछि ठुलो भा’ पछि था’ पाउँछस्”, सुन्तलीले थपी ।
नारायण चुप लागेर खाना खान थाल्यो ।
डल्ली भने केही पनि नबोली भात मुछ्दै थिई । एक महिना पहिले उ पहिलो पल्ट नछुने भएकी थिई । एक हप्तासम्म स्कुल जान पाइन उसले । सात दिनसम्म कोठामा मात्र बस्नु परेको थियो । घाम अनि कुनै पनि केटा मान्छेको अनुहार हेर्नु हुँदैन भनेर कोठाको बेरा कम्बलले ढाकेको थियो । उसलाई त्यो बेलामा के हुँदैछ केही पनि थाहा थिएन, मर्ने गरी पेट दुखेको र डर लागेको मात्र याद छ आज । पाठशालाको पुराणमा सधैझैं कृष्ण जन्माको हेर्ने कस्तो रहर थियो उसलाई तर, नछुने भएकी छ भनेर हेर्न जान दीएनन् । शिविर थर्किने गरी माईकमा घन्केको कृष्ण जन्मोत्सवको भजन कोठाभित्रबाट मात्र सुन्न पाई उसले यो पाली ।
बेलुकी साढे सात बजी सकेको थियो । रेडियोमा घटना र विचार कार्यक्रम बज्दै थियो । यो पालीको वार्ता पनि सफल भएन । “भूटान जान पनि पाँइदैन कि क्या हो !” सुन्तलीले मनमनै भन्दै थिई ।
केटाकेटी पनि ‘होमवर्क’ गरेर सुतिसके । रामेले रेडियो सिरानमा राखेको छ अनि सानो स्वरमा बी.बी.सी. नेपाली सेवाको समाचार सुन्दैछ । सुन्तलीले तोरीको तेल लिएर आई अनि रामेको खुट्टामा पालै पालो चिल्लो लगाइदिई । दुवै खुट्टामा तेल लाएर मालिस गरेपछि आफ्नो निधारले रामेको खुट्टा ढोगी दिई । सुन्तलीलाई स्वास्नीको लागि आफ्नो लोग्नेको सेवा नै ‘सम्पूर्ण तिर्थब्रत भन्दा पनि ठुलो धर्म हो’ भन्ने थाहा छ । स्वस्थानीको कथामा पनि त्यही कुरो आउँछ । पार्वतीले हरेक चोटि महादेव घरमा आउँदा गोडा धुन दैलामा पुग्थिन अरे । लक्ष्मीले पनि विष्णुको सेवा हरबखत गरी रहन्थिन् । “स्वास्नीले सधैँ आफ्नो लोग्नेको सेवा गर्नु पदर्छ ।” गैरी गाउँका स्वामीजीले पनि पुराणमा यस्तै कुरा सुनाउँथे । झुप्रोभित्र मन्दिरमा भएको विष्णु-लक्ष्मीको फोटोमा समेत लक्ष्मीले विष्णुको पाउ दबाउँदै गरेको फोटो छ ।
त्यसपछि, आफ्नो खुट्टामा पनि चिल्लो लाई सुन्तलीले । उसको खुट्टामा हिलोले खएको छ । दाउरा लिन जङ्गल जाँदा, त्यो फोहोरी बैतर्नी खोला तर्नुपर्छ, अनि खेतको बाटोमा पनि हिलो नै हिलो छ । फेरि त्यहीँ माथि, वनजाँचे र गाउँका बदमास केटाहरुको डर ! पोहोरका साल जङ्गलबाट दाउरा ल्याउँदा वनजाँचेले पक्डेर सात लौरी लाएको निलो डाम अझै छ सुन्तलीको पिंडूलामा ।
सुन्तलीको झुप्रो धाराको छेउमा छ । सेक्टर-बी मा एउटा मात्र छ पानीको धारो -९७ घरको लागि । पानी थाप्ने मान्छेको हल्लाले र बिहान पूजा गर्ने मान्छेले बजाएको शंख र घण्टीको मिश्रित आवाजले सुन्तली बिउझीई । सुन्तली चैँ धारामा पानी थाप्न गई, रामे भने एक लोटा पानी लिएर “हरि ओम, हरि ओम, हरि ओम”, भन्दै स्नान गर्न गयो ।
धारो एक रेडियो जस्तै हो- यहाँ पनि धेरै समाचार सुन्न पाइन्छ । कसको घरमा बुढा-बुढी झगडा गरे, कसको घरमा सासु-बुहारी लाप्पा खेले सबै सुन्न पाइन्छ धारामा । खतिवड्नी भाउजू जस्तो धारामा बाझ्ने कोही पनि छैन । उनलाई जहिले पनि पहिला पानी थाप्नु पर्छ । आजकल त उनीदेखि सबै हार खाएर सबैभन्दा पहिला उनलाई नै पानी थाप्न दिन्छन् ।
पानी लिएर घर आइपुग्दा केटाकेटी पनि उठीसकेका रहेछन् । सुन्तलीले बेलुका उब्रेको भात भुटी दिई अनि चिया पनि बसाई । डल्ली र नारायणले भुटेको भात खाएर स्कुल तिर गए । रामेले पनि नित्य पूजापाठ गरी सकेको रहेछ ।
रामे चिया खाएर एफ.एम. रेडियोमा बिहानको कान्तिपुर समाचार सुन्न थाल्यो । उसलाई हरेक बिहान चिया नभई हुँदै हुँदैन । सुन्तली भने चुलो बाल्नलाई सलाई खोज्न थाली । “ए सलाई त मन्दिराँ’ पो रहेछ”, बोली सुन्तली ।
“त्याँ भगवानलाई छोलिस् नि फेरि, आईमाई मान्छे भएर”, शालिग्रामलाई सङ्केत गर्दै करायो रामे । “वेदको किताब पनि तिँ मास्तिर छ, जोगाउनै गारो । पापको पनि ख्याल गर्नु ।”
सुन्तली केही बोलीन ।
आज मार्च ८ तारिख, अन्तर्राष्ट्रिय नारी मज्दूर दिवसको अवसर पारेर शरणार्थी शिविरमा अक्सफामले प्रौढ शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुन्तली पनि अब पढ्न जाने भएकी छ । नेपाली पढ्न जान्ने भएर रामायण, स्वस्थानी र गीता आँफै पढ्ने उसको ठुलो धोको छ । तर सुन्तली पढ्न जाने कुरो रामेलाई पट्टकै मन परेको छैन । यसै कुरामा बेलुका घरमा ठाक-ठाक ठुक-ठुक पनि भएको थियो । “नानीकी आमा भैसकेकी मान्छेले किन पढ्न जानु परो ?” भन्दै थियो रामे । तर सुन्तलीले यो पालीचाहिं सुनिन रामेको कुरो ।
“बरु पाप लागे पनि लागोस्, पढ्न जान्छु जान्छु ।”
रामे घरको माइलो छोरो । जेठो सानामै खसेको । साइँलो र कान्छो दुवै पढे-लेखेका छन् । कान्छोले भूटानमा दश कक्षा पढेको थियो । अहिले शिविरमै मास्टर काम गर्छ । भारतको कुन्नि कुन कलेजमा अझै पनि के-के पढ्दै छ अरे । साइँलो भाइले वनारस पढेको । ऊ शिविरमा पुरेत काम गर्छ । रामे भने सानैदेखि गेलेफू भूटानको गोठमा बसेकोले पढ्न पाएन तर, गोठमै बारह्खरी सिकेको थियो । त्यसैले नेपाली राम्रैसँग पढ्छ ।
कतै आफ्नी स्वास्नी पढ्न गएर बाठी भएर आफूलाई टेर्न छोड्छे कि भन्ने ठुलो डर छ रामेलाई ।
दिन, महिना हुँदै समय बित्दै जान्छ । सुन्तलीले अलि अलि नेपाली पढ्न जान्न थालेकी छ । प्रौढ कक्षा जान थालेपछि उसले आफूमा धेरै परिवर्तन आएको महसुस गरेकी छ । आफू सक्षम भयो भने सधैँ अरूमा निर्भर हुनु नपर्ने रहेछ भन्ने कुरा उसलाई थाहा भएको छ । आज ऊ आफू नै घडी हेर्न जान्न थालेकी छ । दिन, बार, मिति पनि भित्ते पात्रोमा हेरेर ठम्याउन सक्छे ।
आजकल सुन्तली बेलुका बेलुका पाठशाला पनि जान थालेकी छ । त्यहाँ स्वामीजीले गीता पढ्न सिकाउँछन् । केही बेर भगवानको कथा पनि वाचन हुन्छ । आजकल रामको कथा हुँदै छ । तर रामे भने ‘अब बेलुका पनि गाँउ गाँउ डुल्न थालिस् होइन’ भन्न थालेको थियो सुन्तलीलाई ।
रामेको भने तास खेल्ने र बिनाकाममा समय बिताउने बानी जस्ताको तस्तै छ । अस्ति सुन्तलीले रामेलाई, “अरू मान्छे जस्तै तपाईँ पनि गाँउमा काम गर्न जानु नि, तपाईँ पनि ढलाई गर्न जानु नि”, भनी तर, रामेले, “तँ आइमाई भएर मलाई के गर्ने भनेर सिकाउछेस ?” भनेर उल्टै झपाऱ्यो । झन्नै आगो फुक्ने सोतेले हिर्काएको । कसो सुत्ने कोठामा पसेर दैलो थुनेर बाँचेकी सुन्तली !
भोलि त अक्सफाममा पढ्न थालेको पनि एक वर्ष हुन्छ सुन्तलीले । आजकल प्रस्टसँग नेपाली पढ्न जान्ने भइसकेकी छ । गीताको अध्याय १ त फरर पढ्न सक्छे ।
आज बेलुका पाठशालामा रामले रावण मारेर सीतालाई फर्काएर ल्याएको कथा आयो । स्वामीजी भन्दै थिए,“यसरी रावणलाई मारेर भगवान् रामले सीतालाई लिएर अयोध्या फर्कनु भयो । तर सीता रावणको पासमा रहेको हुँदा उनी अझै पवित्र छिन् कि छैनन् भनेर अग्निपरीक्षा गरिन्छ… ।”
राम-सीताको कथा आफ्नै सुरमा अघि बढिरहेको थियो भने यता सुन्तलीको मनमा अनेक कुराहरू खेलिरहेका थिए । कता कता केही कुरो चित्तबुझ्दो लागिरहेको थिएन यहाँ उसलाई । उसले ती जगत जननी सीतालाई मर्त्यलोककी एक असहाय महिलाझैं देखिरहेकी थिई सुन्तली । उसको आँखा अगाडि ती डराएकी सीता रुँदै बिन्ती गर्दै थिइन्, “म पवित्र छु । मलाई विश्वास गर । मलाई रावणले छोएको पनि छैन । मेरो मनमा केवल राममात्र छन् । तिमीहरू मेरो विश्वास किन गर्दैनौ ? हे राम, हजुर त अन्तरयामी हुनुहुन्छ । हजुरलाई सबै कुरा थाहा हुन्छ । हजुरलाई त थाहा नै छ कि म पवित्र छु । फेरि मलाई किन शङ्का गर्नुहुन्छ र यो आगोको ज्वालामा हाल्नुहुन्छ? भन्नुहोस् न यो दुनियाँलाई- म पवित्र छु । यो दुनियाँको होइन, हजुरको सीताको कुरो सुन्नुहोस् न मेरो प्राण !”
त्यहाँ वरिपरिका कसैले पनि सीताको कुरो सुन्दैनन्, न त रामले नै । सबैले सीता मातालाई एउटा वस्तुको रूपमा मात्र लिए । सायद भगवानको जीवनमा पनि महिला हुनुको उस्तै पीडा हुँदो रहेछ । बिचरा सीता माता हार मानेर जल्दै गरेको अग्निमा प्रवेश गर्छिन् । सुन्तलीलाई भने पट्टकै चित्त बुझ्दैन । उसलाई रामको अगाडि गएर चिच्याउन मनपर्छ । “हे राम, खोइ तिम्रो दया-माया अनि विवेक ? कहाँ हरायो तिम्रो मर्यादा ? सीताको पवित्रताको चैँ प्रश्न गर्ने अनि तिम्रो पवित्रताको चैँ खोइ कुरो उठेको ? मानौ कि सीतालाई रावणले जबर्जस्ति गरो अरे…फेरि यसमा सीताको के दोष ? यदि यस्तो हो रहेछ भने त सीता जल्छीन् त आज । यदि सीतामा तिमीप्रतिको प्रेम थिएन भने त रावणसँग नै बसी हल्थिन् नि, बगैंचामा किन बस्थिन् र ? आजको तिम्रो कदम सरासर विभेद पूर्ण छ ।”
‘जय जय’को ध्वनिले सुन्तली झसङ्ग भई । उसका आँखा आँसुले भरिएका थिए । कथा निक्कै अगाडि बढिसकेको रहेछ । सीतालाई त आगोले केही पनि गरेनछ । सुन्तलीको मन खुसीले धपक्क बल्यो ।
स्वामीजीले कथा आफ्नै सुरले भन्दै थिए । सीतालाई फेरि अन्याय भयो ! रामले आफ्नो गुप्तचरमार्फत कुनै धोबीको कुरो सुनेर आफ्नी गर्भवती पत्नी सीतालाई दरबारबाट निकालेर जङ्गलमा खेदाए । सुन्तलीले फेरि रुँदै जङ्गलतिर कुदिरहेकी सीतालाई आँखा अगाडि झल्झली देख्न थाली । उसलाई थाहा छ गर्भवती हुँदाको पीडा । हिजो मात्र लाग्छ उसले नारायणलाई जन्माएको । जेठी छोरी त काम गर्दागर्दै बारीमै जन्माएकी थिई सुन्तलीले । उसलाई सीताको अवस्था देखेर दया लाग्यो भने राम देखि औधि रिस उठ्यो । उसलाई स्वामीजीसँग प्रश्न गर्न मन पर्यो । यसो वरिपरि हेरी, सबैजना हातमा पुष्प लिएर कथा सुन्न मग्न थिए । कसैको अनुहारमा कुनै प्रकारको आक्रोश थिएन । मानौं सबै जना रामसँग सहमत छन् । एक्ली सीताको पक्षमा बोल्ने कोही पनि छैन । यस्तो लाग्छ भगवानले चाहिँ जे गरे पनि हुँदो रहेछ । सुन्तलीले मनमनै रामलाई गाली गरी, “कस्तो दयाबिनाको राच्छेस् जस्तो पापी पो र’छ राम त । यस्तो पनि मर्यादा पुरुषोत्तम हुन्छ ? बिचरा सीताको भाग्य ! अधर्मी लोग्ने भएपछि यस्तै दु:ख हुँदो रहेछ ।”
सुन्तलीलाई अब एक क्षण पनि त्यहाँ बस्न मन परेन । उसले हातको पुष्प भुइँमा फ्यात्त फालेर जुरुक्क उठी अनि हिँडी आफ्नो झुप्रोतिर । स्वामीजी भन्दै थिए, “कुनै पनि कार्जेमा आरती नगरीकन, प्रसाद नखाई र भगवानलाई भेटी नचढाईकन घर गएमा, कुनै फल मिल्दैन ।”
सुन्तलीले स्वामीजीको कुरा सुनेको नसुनै गरेर आफ्नो बाटो लागी । आज उसलाई कुनै पनि फलको आशा छैन । न त कसैले नदेखेको स्वर्गकै लोभ छ । जसले फल दिने भनिएको हो उसैप्रतिको विश्वास र सम्मान गुमाएकी छ आज सुन्तलीले । ऊ सरासर घर पुगी । भुराभुरी पनि सुतिसकेका रहेछन् । रामे पनि ओछ्यानमा पल्टिरहेको रहेछ । आज उसलाई खाना पनि धेरै रुचेन । काम-धन्ना सकेर ऊ पनि पल्टीई रामेको पल्लो पटि ।
आज उसलाई दिमाग निक्कै ताते जस्तो भयो । लोग्नेलाई चिल्लो लाउन पनि भुसुक्कै बिर्सीछे । “अब त लोग्नेलाई पनि गन्न छोडिस् होइन ?” रामेले खुस्खुसाउँदै भन्यो तर, सुन्तलीले केही पनि बुझिन । केही पनि नबोली पल्टिरही । रामे भने घुर्न थाल्यो तर, सुन्तलीलाई अझै पनि निद्रा लागेको छैन । अझै पनि उसको आँखा अगाडि आगोमा पस्दै गरेकी अनि जङ्गलतिर दौडँदै गरेकी गर्भवती सीताको दृश्य झल्झली आइरहेको थियो । सुन्तलीले सतीप्रथाको बारेमा सुनेकी थिई । आफ्नो लोग्नेको लाससँगै जिउँदै जलेका ती सम्पूर्ण महिलाहरुमा सुन्तलीले सीतालाई पाई । आज हरेक ठाउँमा हजारौँ सीताहरू आफ्ना रामहरूको हुकूम चुपचाप मान्न विवश छन् । सतीप्रथा पनि तत्कालीन पुरोहित, पण्डित र समाजले परम्परा भन्दै हटाउन मानेका थिएनन् रे, त्यसैले कानुन बनाएरै हटाउनु पर्यो अरे । अहिलेको छुवाछूत अनि जातीय भेदभाव जस्तै । सुन्तलीले लामो सास फेरी अनि अबचाहिँ केही कुरो बुझे जस्तो महसुस गरी । आज उसलाई निदाएको पत्तै भएन । एकैचोटि भोलिपल्ट बिहान तल्लो लाइनमा मोटे राईको रातो भाले बास्दामात्र बिँउझीई ।
आज सधैझैं नारायण र डल्ली पनि स्कुल गए । रामे भने छिटो छिटो चिया पिएर अनलोडिङमा जानेवाला छ । दिउँसो रासिन पनि थाप्न जानु पर्ने छ । सुन्तलीले रामे र उसको लागि भनेर चिया बसाई अनि चुल्हो नजिकैको मन्दिरबाट एउटा पुस्तक तानेर यसो हेर्न थाली । श्री राम चरित्रको किताब रहेछ । सुन्तलीले पाना पल्टाई । हरेक पानामा सुन्तलीका आँखा अगाडि फेरि उही दृश्यहरू नाँच्न थाले- उही सीताको रोदन, बिन्ती र आँसु । उही दौडँदै गरेकी गर्भवती सीता । सुन्तली छिटो छिटो पाना पल्टाउन थाली- उसले चिया बसाको त भुसुक्कै बिर्सिइछ । चिया त उहिलै उम्लेर पोखिएर सबै सकिएछ । एकैचोटि उसको ढाडमा रामेको लात्ती पर्दापो थाहा पाई सुन्तलीले । “बोलाको पनि सुन्दिनस् होइन । त्यति सारो चिया उम्ल्यो भनेर कराको मैले, सुनेको नँसुनै गर्छेस तँ । खूब पढ्ने भ’की तँ; ला खा”, भन्दै अर्को एक लात थप्यो । “मरें नि आमा”, सुन्तली रुँन-कराउन थाली । उसको मनले कथाका राम र उसकै लोग्ने रामेबीच पटक पटक तुलना गर्दै भन्यो,“केवल शैलीमा पार्थक्य छ तर, गुण र विवेकमा राम र रामेबीच कुनै भिन्नता छैन ।”
झुप्रो बाहिर बाटामा एक हुल मानिसहरू पोस्टरहरु बोकेर नारा-जुलुस लाउँदै कराउँदै हेल्थ सेन्टरबाट यतैतिर आउँदै थिए । “नारी-पुरुष बराबर । महिला हिंसा र भेदभाव बन्द गरौँ ।” आज मार्च ८, अन्तर्राष्ट्रिय मज्दूर नारी दिवस् । उनीहरूको आवाज झन् बुलन्द हुँदै थियो । सुन्तलीको रोदन भने त्यही बुलन्द आवाजसँग मिसिएर कतै हराइरहेको थियो । तर, जेसुकै भए पनि सुन्तलीको चेतना भने हराएको थिएन । उसले ओठ टोकेर अझ दर्बिलो अठोट लिँदै मनमनै भन्दैथिई,“म नारायणलाई हैन, अब डल्लीलाई बढाउन-पढाउन अझ बढी मिहेनत गर्नेछु ! उसलाई संसारकी एक भद्र नारी बनाउन सङ्घर्ष गर्छु ।”