कर्णे

प्रेम निरौला
अमेरिका

घर नजिकैको धाराबाट आएको गाग्रा जर्किनको गड्याङ गुडुङ आवाजले ऊ व्यूझियो। पल्ला घरका पण्डित बाको घरबाट आएको शङ्ख धुनीको आवाज उसको कानमा ठोकियो र उसले सोच्यो बिहानको ५ पनि बजिसकेको छ। त्यो गाउँको बिहान बास्ने कुखुरो नै पण्डित बाको शङ्ख थियो, सबैलाई ५ बजेको सङ्केत त्यसैले दिन्थ्यो। हैन यी बाहुनहरूलाई जाडो हुन्न कि के हो? किन यिनलाई चैँ चाडै निद्राले छाडेको होला भनेर ऊ मनमनै सोच्दै थियो। मेरा बाउ पनि बाहुन भएका भए एकाबिहानै यसरी नै शङ्ख बजाउँथे होला, धन्न तल्लो जातका भए छन्, उनलाई आरन नै ठिक छ । आ जे भई रहोस् तर उसलाई भने तातो धुसाबाट बाहिर निस्कने मन पटक्कै थिएन तर पल्लो कोठाबाट चट्याङ्ङ गर्जे झैँ सौतेनी आमाले कराउँदै भनिन्, “कर्ने उठ अनि पधेरोमा जा।” यो आवाजले ऊ २ फिट माथि उफ्रियो र गाग्रा र जर्किन भएको ठाउँमा पुग्यो ।

“त्यो जर्किनको वासी पानी भाँडामा खन्याएर राख भरे बाउले नुहाउँछन् ” आमा फेरि गर्जिइन।
जाबो एक जर्किन पानीले नुहाउन के बा बाहुन हुन् र ? बाऊ भरे खोलामा गएर मजाले नुहाउँछन् । हुन त बाऊ जति नुहाए पनि बाहुन हुने हैनन्, उसले फिस्स हाँस्दै आफैँसँग कुरा गर्‍यो । गाग्रो र जर्किन बोकेर पानीको धारातिर लाग्यो।

पधेरोमा लाइन लामो भइसकेको थियो।त्यसमाथि ऊ डुम, कसले उसलाई पालो दिने/ उल्टै बाहुनी जन्तरी आमै रिसाउँदै कर्णेलाई उसको जर्किनको छेउमा नआउन आदेश दिइन।कर्ने कालो अनुहार लगाएर केही पाइला पछाडि सर्‍यो।

मास्ला घरे पन्डीतेनी ठुलीलाई जन्तरी आमैको कुरा पटक्कै मन परेन र रिसाउँदै भनिन्, “यी बाहुनी आमै कर्णेलाई त मान्छे नै होइन जस्तो गर्छिन् त ?” छोरी जैसीसँग गए देखि ठुली निकै परिवर्तन भएकी छे! कसैले पछाडिबाट सानो स्वरमा बोल्यो धन्न उनले सुनिन्न।कर्णेलाई केही आशा पलायो र ऊ मुसुक्क हाँस्यो। पानीको धारामा रहेका अरू सबै चुपचाप रहे। उसले समर्थन जुटाउन यताउता हेर्‍यो। कसैले वास्ता गरेनन् । गरुन् पनि कसरी बिचरा ऊ कथित तल्लो जात!

करिब डेढ घण्टापछि कर्णेको पालो आयो तर उसको गाग्रो आधा नभई धारामा पानी आउन बन्द भयो। यो पानी पनि बिहानी साढे छमै मर्नु परेको। हुन त बाहुन गाउँको पानी चाडै आएर चाडै बन्द भएको होला नि। कर्ने त्यही आदी गाग्री पानी लिएर घर गयो।माटोको चुलाको छेउको भुकरी तान्यो। थुक्क बाउले त भुकारी न भरी सुतेका रहेछन्। कर्णेका बाऊ -सन्ते दाइ आरनमा व्यस्त भएकाले भुकरी भर्नै बिर्सेछन् । उसले बाउलाई सराप्दै झट्टपट्ट सालको पात चुलामा हाली अलिकति मट्टितेल खन्यायो र हुर्र आगो बाल्यो अनि भाँडामा पानी बसायो। उसले चुलामा बोराबाट निकालेर एक मुठ्ठी सालको पात खॅंद्यो, घर भरि धुवाँ फैलियो, मानौँ यो पाली पनि बस्तीमा आगो नै लाग्दै छ। एक छिनमा भाँडाको पिँध कालो भयो। उसले पानी तातिएछ भन्ने ठान्यो र त्यही चिसो पानी वटुकोमा भएको सातुमा ख्वाल्ल खन्यायो र ग्वाम्म ग्वाम्म खायो।
यति बेला सम्म बिहानको ८ बज्न लागेको थियो। ऊ हतार हतारमा सट पाइन्ट लगाएर स्कुलतिर दगुर्‍यो।कर्नेले बाटोमा अरू कोही विद्यार्थी नदेख्दा आज स्कुल बिदा पो हो कि जस्तो पनि मानिरहेको थियो।त्यसरी ऊ भुटानको मण्डलको घर हुँदै स्कुल छेउको कुलोसम्म पुग्दा सन्नाटा छाएको छ, मानौँ आज बाहुन गाउँका सबै स्यालले पुच्छर लुकाएझैँ धुसा मुनी नै लुकेका छन्।

ऊ स्कुलमा पुग्दा विद्यालयको गेट बन्द भइसकेको थियो अनि केही विद्यार्थी गेट बाहिरै थिए। सधैँ देख्ने स्कुल वरिपरिका वृक्ष र टोइलेटका ढोकाहरू पनि बिराना थिए। उसलाई पिसाप आए झैँ पनि हुँदै थियो। हिजो मात्र हरिबोल, राजु, ढेबोले, जामा, पोरे र पवनले ढिला हुँदा चुटाई खादा राजुले पाइन्ट मुतेको उसको आँखामा झल्झलि थियो,मेरो के हुने हो भन्दै ऊ चिन्तित थियो! अरू पनि डरले कापी रहेका थिए।स्कुलभित्रबाट आएको प्रार्थनाको आवाज प्रस्ट बाहिर सुनिन्थ्यो र बाहिर भएका विधार्थीहरूलाई हामी ढिला आएको भन्नेमा कुनै शङ्का थिएन।त्यसैले उनीहरूका मुटु बेस्सरी धड्किरहेको थियो ।किनकि उनीहरू सजाय पाउनेमा निश्चित थिए।तर कर्णेलाई भने घर जाऊँ भने सौतेनी आमाको डर त्यसमा पनि बाउले दिनभरि आरनमा राखेर घन हान्न लाउँथे। विद्यालयमै बसौँ भने हेडमास्टर को कुटाई खाने डर थियो। केही छिनपछि प्रार्थना सकियो र ढिला आएका सबै विद्यार्थीलाई सरले भित्र बोलाए। कर्णे डराउँदै डराउँदै अरू साथीहरूसँगै विद्यालयभित्र गयो। ढिला भएका शिक्षक शिक्षिका मुसुमुसु हाँस्दै कुसुमे रुमालले मुख छोपेर स्टाफरामतिर लागे। डिसपिलेनरि एक्सन टिमका सरहरूले बाघले सिकार रुँगे झैँ गरेर लौरी समातेर बसेका थिए। त्यो देखेर कर्णेलाई झनै डर लाग्यो।उसले ढिला विद्यालय आएकोमा मन मनै आफैलाई दोषी सम्झियो डिसपिलेनरि एक्सन टिमका सरहरूले सबैलाई २-२लट्ठी हानी चेतावनी दिएर क्लासमा पठाउने निर्णय गरे र सबै ढिला आएका ती विद्यार्थीलाई लाइनमा उभिन आदेश दिए। कर्नेलाईनको ३ नम्बरमा पर्‍यो। जब कुटाई खाने कर्णेको पालो आयो। उसले कुटाई खानाको लागि देब्रे हात अगाडी बढायो।

लामो कपाल, कचेरा लागेका आँखा, खाली मैला र फुटेका खुट्टा, धुवाँ गन्हाउने शरीर र मैलो सट देखेर सर रिसले आगो भए।उता कर्णे डरले मूर्ति झैँ उभियो। सरले रिसाउँदै कर्णेलाई दुई झापट हानेर अङ्ग्रेजीमा “ गो कर्णे होम” भन्दै गर्जिए। ती शिक्षकको पातलो नेपाली सरहको बाह्र मसला जस्तो अङ्ग्रेजी सुनेर सबै गलल हाँसे र गोकर्णे होम भन्दै उसलाई जिस्क्याउन थाले।दृश्य हेरि रहेका केही शिक्षक आफ्नो कक्षा तिर लागे । कर्णेलाई नजिकबाट चिनेका शिक्षकहरूलाई त्यो बालखलाई यातना दिई साथीहरूको अगाडि खिल्ली उडाएको पटकै मन परेन तर उनीहरू केही नबोली बसे/ कर्णे चुपचाप रुँदै बाहिर निस्कियो।ऊ सौतेनी आमाको डरले घर नगई विद्यालय बाहिर रुँदै बस्यो । लन्चको समयमा ऊ घर फर्कियो र खाना खाए र फेरि केही न भएझैँ आमा बाट बच्न विद्यालय तिर लाग्यो र विद्यालय बाहिरै बस्यो। एककान दुई कान हुँदै गोकर्ने नाम विद्यालय भरी फैलियो। शिक्षकको कमजोर अङ्ग्रेजीको कारण उसको नाम कर्ने वाट गोकर्णे रहन गयो।

चालिस औँ वसन्त पार गर्दा पनि कर्णेलाई सबैले गोकर्णे भनेर बोलाउँछन् र ऊ त्यसैमा खुसी छ।बिचरा कर्ने सानै उमेरमा उसको नाम परिवर्तन भएकोले उसको परिचय पत्र बाहेक उसको सही नाम कर्नखर हो भनेर कसैलाई पनि थाहा छैन। गुरुका कारण कर्णेबाट गोकर्ने भएकोमा उसलाई बेला बाला मन चैँ दुखी नै रहन्छ तर आज पनि आफूलाई सानो जातको भन्ठानेर ऊ फेसबुकमा एउटा स्ट्याटस समेत लेख्न सक्दैन!

अस्ति, बर्षौ पछि नेपाली पसलमा ती अङ्ग्रेजी शिक्षकसँग भेट हुँदा ती शिक्षकले के छ कर्नभाई भन्दै धाप मारे, उसको नाम बिगार्ने तोरी लाहुरे सरसँग भेट हुँदा थोरै त रिस उठेकै थियो, सर म गोकर्नेको तर्फबाट यो पान भनेर एक खिली पान दिइराखेर फुत्त निस्केर हिँड्यो!

One Reply to “कर्णे”

Leave a Reply

Your email address will not be published. Required fields are marked *