कर्म दाइ

जे एन दाहाल
पेन्सिल्भिन्या, अमेरिका

भाईब्रेसनमा रहेको मोबायल ब्याक पकेटमा घ्यार्र घ्यार्र गर्छ। एम.के वाचमा आँखा पुर्‍याउँछु, छ बजेको छ। यती बिहानै अन्जनाले किन कल गरिछ भन्ने लाग्छ। भिडबाट अलि पर स्ट्रीटको एक छेउमा पुगेर म फोन उठाउँछु।
“ओए बिनी, फोन उठाउँदिनस् त!” हेल्लो भन्न नपाउँदै अन्जना उताबाट मलाई थर्काउँदै थिई।
“के?” म अक्मकाउँदै गर्दा ऊ भन्न थाली—
“बिहान देखि कल गरी रहेकी छु। के भएको छ तँलाई ?”
“सरी यार, फोन साईलेन्टमै थियो । म अलि वर घिमिरेको घरमा आएकी छु!” भूमिका नबाँधी उसलाई खर्रर बताउँछु।
“यती बिहानै कहाँ गएकी? भरे सपिङ गर्न महल जाने हो?”
“के? आज त भ्याउँदिन होला। मेरो काम छ!” म सहज जवाफ फर्काउँछु। म बिसाउने बित्तिकै,
“कहिले देखि ओभर टाइम गर्न थालिस्?” अन्जना मलाई खेर्दै सोध्छे।
‘बिचरा! पैँतिस वर्षकै उमेरमा.. बिजोग!’ – यसबिच एकहुल मान्छे यस्तै के-के बोल्दै हो-हल्ला सहित मेरो नजिकबाट जान्छन्।
“भिडमा छस् जस्तो छ!” उताबाट मेरो वरिपरिको माहौल बुझी अन्जना बोल्छे।
“अँ ! कर्म दाइ बित्नु भएछ, यहाँ स्प्रिगंवुड अपार्टमेन्टमा आएकी छु।” म असहजीलो परिवेशबाट बोल्छु।
“हँ. कर्म शर्मा ? कि कर्म घिमिरे?” मेरो कानमा उताबाट प्रश्न चिन्ह आउँछ।
“तैँले के भनेकी ? उनी दुवै उनै हुन्।” म स्पष्टीकरण दिन्छु। “तर फेसबुकमा त शर्मा छ नि! खैर, छाडी दे, के भएर बितेका रे?” अन्जना फेरि सोध्छे। यतिकै सोच्न लाग्छु, एक त म असजिलो परिवेशमा छु, अन्जना मलाई प्रश्न माथि प्रश्नले ऊ घेर्छे।
“सुसाईड”
“हैन होला? के भएको छ मान्छेलाई हिजो आज..”
“यस्तो कुरामा म किन जोक मार्नु।”
“त्यो त मैले बुझेँ।” अन्जना तुरुन्त बोल्छे।
म सोच्न लाग्छु साँच्चै आजका मान्छेलाई के भएको छ, त्यस्तो के कुराले घेरी रहेको हुन्छ जो अरूलाई सुनाउन सक्दैन र आँखै अघि यस्तो स्थिति सृजना भई रहेको छ ? अन्जना, म र हामीले बाँचेको समाज दर्शक बनेर हेरी रहेको छ टुलुटुलु ।

म सोच्न लाग्छु साँच्चै आजका मान्छेलाई के भएको छ, त्यस्तो के कुराले घेरिरहेको हुन्छ जो अरूलाई सुनाउन सक्दैनन् र आँखै अघि यस्तो स्थिति सृजना भइरहेको छ ? अन्जना, म र हामीले बाँचेको समाज दर्शक बनेर हेरिरहेको छ टुलुटुलु । 

“मलाई लिन आइज न, म पनि हेर्ने!”
“रेडी भएर बस, आमा र बाबालाई घरमा ड्रप गर्न जाँदा एक क्षणमा म आई हाल्छु।”
म फोन राखी, घटना भएको घरमा फर्कन्छु। बिचरी उनकी श्रीमती! सत्तरी वर्षीय बुढी आमा, चार र दुई वर्षीय उनका छोरा छोरी। कर्म दाइले के कारणले सुसाईड गरेका होलान्? के जीवनको अन्तिम निचोड सुसाईड नै हो र ? म सोचाइमा निक्कै बेर फसिएँ।
बाबाले, ‘अब जउँ कान्छी’ भन्नु भयो! आमाको आँखाले पनि जाऊँ कान्छी घर भनी रहेको देख्छु। म नि शब्द घर फर्किएँ।
“मर्ने त बितिहाल्यो। बाँच्नेको बिजोग भयो!” आमाले बाटो भरि चुक चुक गरिरहनु भयो। बाबाले केही भन्नु भएन। उहाँ निक्कै गम्भीर भई रहनु भएको थियो। आमाले मेरो निचोरिएको अनुहार हेर्नु भयो तर केही भन्नु भएन।

त्यहाँबाट फर्किए पछि बाटो भरि बाबाले आमासँग गफ गर्नु भएन। मैले पनि बाबा या आमासँग गफ गरिनँ । लाखौँ कुरा सोच्दै ड्राइभ गरिरहेँ। घरभित्र पसी सोफामा थचक्क बसेँ।उक्त घट्नाले मन पुरै बिथोलियो ।
“कर्म ती कलिला अनुहारको बाबु, उमाको पति र सत्तरी वर्षीय बुढी आमाको छोरा; त्यति मात्र थिएनन्। उनी नेपाली समुदायको सोसल वर्कर पनि थिए।” बाबाले कोट खोल्दै बोल्नु भयो र लिभीङ रुममा कालो कुर्सीमा थचक्क बस्नु भयो।
फेरि भन्नु भयो, “! आज यो समाजले कुशल अभिभावक, दिनरातको सोसल वर्कर र घरभित्रको एउटा सदस्य गुमायो। बिचरा घिमिरे परिवार !”
“बिचरी तिनकी श्रीमती , बुढी आमा र माया लाग्दा अनुहारहरू।” आमाले थप्नु भयो। मलाई उहाँहरूको कुरा सुन्दा मन झन् बिझायो।
“चिया त खाएर जा!” हिँड्न लाग्दा आमाले अनुरोध गर्नु भयो। मैले टार्न सकिनँ।
किन मान्छे पूर्ण आयु नबाँची मर्छ? के बाँच्नु भन्दा यसरी अकाल मर्नु अर्थपूर्ण छ? जीवन यही सङ्घर्ष बिचको मैदान हैन र! मनमा अनेक खाले विचार एकोहोरो आई रहे।
मोबायलको भाईब्रेसन फेरि घ्यार्र घ्यार्र गर्‍यो।
“मलाई कति बेला लिन आउँछेस्!”
“म आइहालेँ।” सोचाइले क्रमीकता नपाउँदै म बिचमा बोल्छु।
“अघि पनि त्यसै भन्थिस् त, त्यहाँबाट हिँड्या छैनस् ?”
“पाँच मिनेटमा आइहालेँ !” म हडबढाउँदै बोल्छु। त्यस पल मलाई पिउँदै गरेको चिया पनि बेस्वादको लाग्छ।
“कर्मदाइको शव म पनि हेर्न जाने भनेको। तर केटी आउँछे जस्तो छैन।” अन्जना नेपथ्यमा कसैलाई सुनाउँदै हुन्छे। म फोन राखी दिन्छु।

आमा दोस्रो तला उक्लनु भएको मैका पारी सिङ्कमा चिया ह्ववात्त हुत्त्याइ दिएँ। बाबा सोफामै ढल्कनु भएछ। मैले रित्तो कप माझेँ र दौडिएँ कार गराज तिर।
अन्जनालाई उसको घरमा गएर पिकअप गरेँ। गाडीमा चढ्दै उसले भनी, “साँच्चै कर्म दाइ बितेका हुन्!” अन्जनालाई पनि विश्वासै भएको थिएन।
“मलाई त्यस्तै भई रहेछ। नौ महिना गुजुल्टेर जन्मिएको रगतको डल्लो, केही मिनेटमै बित्छ। कस्तो अचम्म?” मैले उसकै जस्तै हाउभाउमा भनेँ।
त्यसपछि अन्जना थप बोलिन। म पनि चुप लागेर ड्राईभीङ गरी रहेँ। मस्तिष्कमा – जीवन, समय र सङ्घर्षकै वरिपरि सोचाई अनवरत चली रह्यो। दुवै स्प्रिगंवुड अपार्टमेन्ट पुग्यौँ। ऊ दौडेर हुल पछ्याउँदै कर्म दाइको घर तिर हान्नीई। मेरो चाहिँ अघि देखि कर्मदाइको शव आँखा अघि -घुमी रहेको थियो। गाडी धैर्यताका साथ पार्क गरी घिमिरे निवास पुगेँ।

उनकी श्रीमती र परिवार एकोहोरो रोई रहेका थिए। आँसु र पिडाको उक्त दुखद घटना देखेर किन दोस्रो पल्ट आएछु जस्तो मलाई असह्य पिडा भयो। अन्जना मेरो नजिक आएर भन्न थाली – “यी त कर्म शर्मा हुन्! घिमिरे हैनन् !”
“घिमिरे शर्मा हुन् !” मैले उसलाई बुझाउँदै भनेँ। ऊ भन्दै थिई, “तर ..
“तर छाडी दे केट्टी मैले भनी गएनी।” भिड छिचोल्दै म उसलाई अघि उसैको कल आउँदा उठाएको स्ट्रीट नजिक ल्याउँछु। अन्जनालाई मैले यहाँ उक्त परिवारको वियोगको रुवाई नसुनियोस भनेर ल्याएकी थिएँ।
ऊ भन्न थाली— “कर्म दाइ जहिल्यै मेरो फेसबुकमा लाइक हानी रहन्थे। कमेन्ट गरी रहन्थे।”
“तँईले भन्न के खोजेकी?” वरपर हिँड्ने मान्छे हेर्दै म उसलाई सोध्छु।
“यही कि, आज देखि मेरो फोटोमा एउटा लाइक र कमेन्ट घट्ने भयो।”
“हँ.. यो के भनेकी अन्जना? उता शोकाकुल परिवारको रुवाबासी छ। यता तँ लाइक र कमेन्टको कुरा गर्छेस् ! लाज विहीन, तँ कस्ती छट्टु।”
“साँच्चै यी दाइ मेरो फेसबुकमा फ्रेण्ड छन्।” ऊ मोबायल तिर इसारा गर्दै बोल्छे।
“त्यो त मेरोमा पनि छन्।” गफ गर्दा गर्दै फ्युनरलको गाडी आई पुग्छ।
“जान्छेस् फ्युनरल होम?”
“जान्न, मलाई डर लाग्छ। त्यो जलाएको हेरेँ भनेँ, रातभरि निन्द्रा लाग्दैन।”
“उसो भए तँ कसैसँग राईड लिएर घर जा। म चाहिँ फ्युनरलमा जान्छु।”

गह्रुगो मन लिएर फ्युनरलहोम् पुगेँ। कर्मदाइको अन्तिम संस्कारमा उपस्थित हुन ! अन्तिम शारीरिक दर्शन गर्न। तर त्यहाँ पुगे पछि म अझ सोचमघ्न भएँ, एउटा जीवन। कहाँ जन्मियो, कहाँ हुर्कियो र कहाँ आएर विसर्जन भयो। कसैलाई थाहा नहुने! कस्तो अनिश्चित जीवन?
कर्म दाइको भौतिक शरीर मेसिनमा हालियो। त्यो दागबत्ती दिने समय कत्रो रुवाबासी भयो। उक्त रुम पिडायुक्त रुवाई, समवेदनाका भावमा विह्वल थियो। मैले उनकी श्रीमती र आमाको अनुहार हेर्न सम्म सकिनँ । यो सब भई रहँदा मैले अन्जनालाई सम्झिएँ। उसको एउटा लाइक र कमेन्ट भन्ने विचार केलाएँ! छि जिन्दगी एउटा लाइक र कमेन्टको भोको छ!! र कामना गरेँ यस्तो अकाल मृत्युको शोक कसैलाई नपरोस्।
एक क्षण अघिको एउटा शरीर, एक स्विचमा खरानी हुनु। जिन्दगीको अस्तित्व? जिन्दगीको मूल्य ? खै किन संझदैन मान्छे! यस्तै सोच्दै घर फर्किएँ। माथि बाथरुममा पसेर नुहाएँ, मलाई काममा जान हतार थियो।
सिँढीबाट हतारिँदै मूल ढोकामा आइपुग्दा बा ढोका उघार्दै भित्र पस्नु भयो। उहाँका हातमा एक दर्जन चिठ्ठीहरू थिए।
“ती सबै आज आएका हुन बा?”
“हो तर धेरै जसो विज्ञापन होला।” चिठ्ठीमा लेखिएको भाषा नबुझे पनि उहाँले सही अनुमान लाउनु भयो।
“राख्दिनु होस्, म बिहान हेर्छु” दौडदै म किचनमा पुगेँ, आमा मलाई काममा लाने खाजा बनाउँदै हुनुहुन्थ्यो। उहाँले मतिर हेर्दै भन्नु भयो,
“कान्छी कर्मदाइको अन्तिमपल्ट जिउँदो रहँदा खिचेको फोटो कसैले फेसबुकमा हालेका छन्। हेर्छेस्?” उहाँले आफ्नै फेसबुकबाट उक्त तस्बिर देखाउन लाग्नु भयो। आँखाभरि कर्मदाइको शव घुमिरहँदा मेरो मन उक्त दृश्य हेर्न तानिन्छ। रमेश छेत्री, उनको साथीले हालेका रहेछन्। कर्मदाईको मुसुक्क हाँसेर महलको एस्केलेटरमा खिचिएको उनको फोटो रहेछ।

यो हेर्दै बाबा खोक्दै सोफामा कोल्टे पल्टनु भयो। औषधी नियमित छ, हप्ता दिन भयो उहाँलाई लागेको यो सुख्खा खोकिले पनि छाड्ने भएन। यता आमा मेरो लन्च ब्याग प्याक गर्दै हुनुहुन्थ्यो। म तस्बिरमा एकोहोरो हेरी सोच्न थालेँ, कर्मदाइको यो मुस्कान आजबाट तस्बिरमा मात्र देख्न सकिन्छ। मलाई अझै विश्वासै लाग्दैन यही शरीरको मलामी गएर फर्किएको छु। मान्छे शोकमा राम्ररी नडुब्दै खरानी भएको छ यो मुस्कान आज देखि ।
मलाई बडो खल्लो महसुस भयो। मनभरि समवेदना दिएँ।

“त्यो के जाती मेरो लागि लेखी दे त कान्छी!” आमाले भन्नु भएको उक्त कुरा तस्बिरमा हार्दिक श्रद्धाञ्जली लेख्न किबोर्डमा टाइप गरेँ। मेरो आँखामा अन्जनाको कमेन्ट देखा पर्‍यो, उसले अघि रिप! लेख्न भ्याई सकिछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *