कलाकारसँग एक साँझ
जे एन दाहाल
अमेरिका
सानो पार्कींङ्गमा कालो रङ्गको गाडी तेर्सो सेपि हामी सिँढीबाट माथि उक्लन्छौँ । अथवा अरूले अघि राखेका चारपाङ्ग्रे झिक्न नमिल्ने गरी तेर्सो पार्क गरी थन्क्याउँछौ भन्नु अझ उपयुक्त होला ।
माथी पुग्दा देखिन्छ अन्दाजी पचास जना जति मान्छे अट्ने सानो चिटिक्कको कोठा । ढोका बाहिर जुत्ता चप्पल खोलिएको मन्दिर जस्तो ठाउँमा प्रणाम गर्दै दुलाल दाजुभाइको साथ लागी म पनि त्यहाँ पुगेको छु। अर्थात् यो टोलीमा, हामी तिन जनाछौं ।
पाँच जनासम्म अट्ने स्टेजको, पछाडिपट्टि कालो पर्दा लगाइएको छ । मञ्चको बिच भागमा गुलाबी र सेतो अक्षरको ब्यानरमा ‘कलाकारसँग एक साँझ’ प्रोजेक्टरले स्क्रिनमा फाली रहेको छ ।
६ बजेबाट सुरु हुन्छ एकल साँझ । लक्ष्मी, मदन र म गरी तिन जनाको टोली मूल ढोकाबाट भित्र पसेको केही मिनेटमै कार्यक्रम सञ्चालक धन लेप्चाको सम्बोधनसँगै औपचारिक कार्यक्रम सुरु हुन्छ । पोडियममा उभिएका लेप्चा भन्छन्, समयले नेटो काटेको छ । अब कार्यक्रम सुरु गर्न लागेका छौँ। यहाँ ‘नेटो’ उनको मौलिक शब्द साभार गर्दै छु ।
स्टेजको बिच भाग पँलेटिमा पहेँलो सर्ट, रातो बुट्टादार टाई कोर्ट पाइन्टमा सजिएका गायक रविन सर्मा बसेका छन् । गायक सर्मालाई भुटानी समाजका अरू कलाकारहरू साङ्गीतिक कार्यमा साथ दिन उपस्थित देखिन्छन् । विभिन्न कलाकारहरूसँगको एक साँझको चौथो शृङ्खला आँखा अघि साक्षी छ ।
गायक सर्मा दाहिने हातमा माइक लिएर भावुक बन्दै गाउँछन् भक्तराज आचार्यको गीत ।
“जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दर।
त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर।
प्राण भन्दा प्यारो लाग्छ, मेरो देश कता कता।
छल्किन्छ ममता मेरो, भावगंगा जतातता।“
गीतको भावनामा बहकिँदै बायाँ हात घरीमाथि लाने, घरी तल झार्ने गायक रविन सर्माको भावनासँगै सप्पै अनुहारका रेखा खुम्चिन्छ। आँखा ढाक्ने ठुलो चस्मा, जुँगा मुनीका सेता दाँत टलक्क टल्कन्छ । सुरुवाती गीत सकिँदै दर्शकको ताली जोडले बज्छ ।
“कलाकारसँगको भेटघाटमा मसँग मिठा अनुभव नै छन् । तिता खासै छैनन् । तर अनौठा होलान् । तर तिता चाहिँ छैनन् नै भन्नु पर्यो ।पछुतो पनि छ केही कुराहरू । जस्तो रातदिन नातिकाजी शिव शङ्कर सँग भेट हुन्थ्यो । फोटो खिचिएनछ । अब अहिले चाहिँ ए बाबारे सम्झँदा चाहिँ रातदिन रेडियो नेपालमा भेट हुन्थ्यो ।” उनी एउटा किस्सा टुङ्ग्याउँछन् ।
“जुनी जुनीलाई भन्ने गीत चाहिँ राम थापाले एक दिन मलाई सुनाए । युनिभर्सिटी पढ्थेँ म – कीर्तिपुरमा । अनि जाँदा खेरी एकचोटी सुने पछि मलाई मन परी गयो । यो गीत चाहिँ मैले छ्याप्प पारी हालेँ । किन भने मेरो ब्याको कुरा चली रहेको थियो । जुनी जुनीलाई मेरी उनीलाई ठ्याक्कै मिल्ने भएकाले हे हे… गर्दै उनी हाँस्छन् । कसैलाई नदिएर छ्याप्प समातेँ । अनि यो गीत चाहिँ रेकर्ड गरेँ । हुँदा हुँदै पछि जन्ती गएका बेला ब्यान्ड बाजले पनि यही गीत जुनी जुनी बजाई रहेका तर उनीहरूलाई थाहा थिएन बेहुलाले गाको भनेर चाहिँ ।” उनी मुस्काउँदै रमाइलो किस्सा टुङ्ग्याउँछन्।
“जुनी जुनीलाई मेरी उनीलाई
अरूलाई होइन मेरो माया मेरी उनीलाई “
आफैँलाई भार भयो २०३९ सालमा रत्न रेकर्डिङ संस्थानमा रेकर्ड भएको गीत हो । यो गीत लेख्ने चाहिँ प्रकाश अधिकारीको हो । फेरी भेटौँला भन्ने फिल्म, बेहुली भन्ने फिल्मको हिरो । ऊ पनि एउटा गीत लेख्यो हरायो । त्यस्ता धेरै छन् तर यो गीत चाहिँ राम्रो लेखेको हो । सङ्गीत चाहिँ शक्ति वल्लभको ।
आफ्नै आवाजमा कैद भएको गीत उठाउँछन् गायक रविन, हामी मोरन्जन लिँदै सुन्छौँ । बिच बिचमा श्रोताको तर्फबाट सामाजिक सञ्जालमा लाइभ गर्ने धेरैका हात मोबाइल सोझ्याएर उठ्छन् । म बाध्य बाधकहरूलाई क्रमशः नियाल्छु ।
हार्मोनियमको रिडमा प्रभु शङ्करका हात पुगेका छन् । प्रमोद उपाध्यायका हत्केला तबेलाको बोलमा निर्लिप्त देखिन्छ । नन्दु शङ्करको छ मादलको ताल र सानो स्टेजमा ठाउँ नभएकाले बायाँ तिर पोर्डियम नजिक बसेर मेगराज लगुनका औँला गिटारको झङ्कारमा दिई रहेका छन् । ति संगीत कर्मीहरू कसरी चिने भन्ने मेरो पनि एउटा किस्सा छ । तर अहिले धैर्यता गर्नु होस्, तल कतै राखौंला ।
“आफैँलाई भार भयो आज आफ्नै जिन्दगी
कहाँ गई बिसाउँ म निरस यो जिन्दगी “
उनी अर्को गीत उठाउन अघि एउटा किस्सा जोड्छन्। “यो गीत त्यो समय प्राय गीति कथामा बज्ने गर्थ्यो । श्रोताले मेरो जीवनसँग ठ्याक्कै मिल्छ यो गीत भनी चिठी लेख्थे । त्यो चिठ्ठीको जमाना थियो, धेरैले यस्तो लेखेपछि नेपालीहरू कति दुखी जसको जीवनमा पनि यो गीत मिल्ने भन्ने लाग्थ्यो।” गायक मुस्काउँछन्, जुँगा सहितको उनको अनुहार खुल्छ । गायक सर्मा तेस्रो गीत उठाउँछन् । स्टेजको दायाँतिर बसेको म उनीका पावरवाला चस्मा भित्रका चम्किला आँखासँग आँखा सोझै जुध्छन्। उनीसँग मेरो व्यक्तिगत चिनजान, प्रत्यक्ष भेटघाट छैन, खाली आवाजले परिचित छु । उनी भावुकता साथ अनुहारको सप्पै रेखा भेला पारी निधार खुम्च्याउँदै सुमधुर स्वर निकाल्छन् । उक्त दृश्य टाइप गर्न पछि आलेखमा नछुटोस् भन्ने लक्ष्य सहित म त्यो मनोभाव मोबाइलको नोट प्याडमा ताजै टिपोट गर्छु ।
“बोर भएको त छैन नि” गीत बिसाएपछि गायक बिचमा दर्शकलाई सम्बोधन गर्छन् । बिलकुल छैन, त्यो सुनी हामी हाँस्दै तुरुन्त प्रतिक्रिया दिन्छौँ । यस्तो भावुक गीत सुनेर, जीवनसँग तुलनात्मक रूपले नहेरी बोर भयो भन्ने जवाफ हामी कसरी दिन सक्छौँ ? म यसै अनुमान गर्न या सोच्न पनि थाल्दिन ।
“मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ “
“आफ्नो गीतको साथै म बिचमा नारायण गोपालको गीत पनि गाउँछु । यसरी अघि बढे यहाँहरूलाई मनोरञ्जन नै होला ।” गायकको अन्तर्दृष्टि दर्शकहरूलाई मन पर्छ ।
गायक क्रमशः पाँचौँ नम्बरको गीत उठाउँछन् । दर्शक दीर्घमा बसेका सबै दङ्ग भएर सुन्छौँ। एउटा कुशल गायकलाई श्रोताको शालीन बसाई, धैर्यता साथ श्रवण गर्ने क्षमताको जमात हुनु आफैँमा उत्साह जनक कुरा हो । गायकले पनि त्यो अनुभूति लिएको म अनुमान गर्न सक्छु । यहाँ कन्सर्टमा जस्तो हाइहाइ, उत्ताउलोपना र रक्सीको गन्ध छैन। धेरै दर्शकको भिडबिचको होहल्ला र स्पिकरको चर्को आवाजले पनि कान खाएको छैन । सुमधुर आवाज र शालीन उपस्थिति नै मेरो रोजाइको कार्यक्रम हो ।
“यो जिन्दगीको के कुरा
यो सपना हो र के कुरा
तिम्रो रूपको पनि के कुरा
मेरो गीतको पनि के कुरा .. “
अम्बर गुरुङको आवाजमा कैद भएको लोकप्रिय गीत आकासत् र अनपेक्षित तवरले दर्शकको ध्यान खिच्छ । कोठामा उपस्थित सबै जनाको तालीले गायक रविन सर्मा सँगै साथ र समर्थन दिन्छन् ।
“तिमी यसै सजाऊ म यसै धकाएँ
न बोल्यौ तिमी न मैले बोलाएँ “
स्टेजको अघि दायाँतिर कुनामा दुई जना प्राविधिक नन्दु लगुन र बुद्ध शङ्कर खटिएका छन् । उनीहरू पालै पालो आवाजको ध्वनि मिलाउन र बिचमा क्यामराको एंगल सोझ्याउन, अझ भनौँ रेकर्डिङ भएको छ या छैन बुझ्न आइ पुग्छन् ।
“प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिले देखिन
रुझेका परेलाहरू मैले कहिले ओभानो देखिन “
अघिसम्म रमाइलो गरी रहेका गायक अहिले चुपचाप बिना सम्बोधन, केही किस्साहरू नजोडी उनी भक्त राज आचार्यको आवाजमा रहेको गीत उठाउँछन् । गाउँदा उनको बायाँ हात उचाल्लिन्छ, खुम्चिन्छ र फेरी फुक्छ । उनी हाउभाउ सहित गाउँछन् ।म याद गर्छु, उज्यालोमा माइक समातेको हात काँईली औँलामा रातो इउँवाला औँठी टल्कन्छ । त्यो बेला मात्र ख्याल गर्न पुग्छु बाध्य बाधक नन्दु शङ्कर चाहिँ आवश्यकता अनुसार मादल छाडी, छ्याङ छ्याङ बज्ने माराकसले हात साटि रहेका छन् ।
गायक रविन क्रमशः अघि गाउँछन् । त्यसपछिको गीतमा दुई जनाको प्रस्तुति हुन्छ । रविनलाई साथ दिन महिला आवाजमा स्टेजमा जोडिएकी छन् हिरा रसाइली छन् ।
रविनको स्वर: – फूल झरे पनि काँडा झर्दैन
म मरे पनि मेरो माया मर्दैन ऽऽ ऽऽ
हिराको स्वर: – तारा झरे पनि जुन झर्दैन
म मरे पनि मेरो माया मर्दैन ऽऽ ऽऽ
बिचमा सत्कार गर्दै दर्शकलाई चिया बिस्कुटको वितरण हुन्छ । छोटो विश्रामको समय छेउतिरकी हँसिला चेहरामा बसेकी म्याडमलाई सोध्छु , हार्मोनियममा बस्नेको हुन् ? उनी मुस्काउँदै रातो अनुहार पारि भन्छिन्, “प्रभु शङ्कर – मेरो श्रीमान् !” त्यतिन्जेलसम्म मैले सङ्गीत कर्मीहरू को-को हुन भन्ने चिनी सकेको थिइन ।
त्यसपछि मलाई पनि खुल्न अझ सहज हुन्छ । म क्रमशः बाध्य बाधकको नाम म्याडमलाई नै सोध्छु । उहाँ सहजै एक एक गरी बताउनु हुन्छ । म फोनको नोट प्याडमा टिपोट गर्छु । छोटो विश्राम हुन्छ। त्यो समयको लाभ उठाउँदै सञ्चालक धन लेप्चा सेरु राई उदासको गजल वाचन गर्छन् । हामी वाह वाहऽऽ भन्दै गजलको ओज बढाउँदै प्रत्येक शेरको तारिफ गर्छौँ।
“मनका सबै बोझहरू विसाइदेउन बिन्ती
रिसाउँदा झनै राम्री रिसाइ देउन बिन्ती “
स्टेजको दायाँतिर लक्ष्मी, मदन र म छेउतिरको कालो रङ्गको सोफामा छौँ। हामी कोही फेसबुक लाइभ, कोही दङ्ग परि सुन्ने र कोही ताली बजाउने गरी रहेकाछौं । गायक रविनले आफ्नो बायाँ तिघ्रामा कहिले मुठ्ठीले छुने, कहिले हात हल्लाउने क्रिया पनि निरन्तर गर्छन् । म उनको चस्मा भित्र पुग्ने प्रयत्नमा साना आँखामा हेर्छु, ती आँखा गीतको भाकामा चम्की रहेका छन् ।
गीत सुनेर कोठा वरपर हेर्ने क्रममा मात्र मलाई थाहा लाग्छ, ‘कलाकारसँग एक साँझ’ त श्री निजानन्द आध्यात्मिक सांस्कृतिक सङ्गठनले आयोजना गरेको कार्यक्रम रहेछ । मस्तिष्कमा अघिको दृश्य दोहोर्याउँछु – कोठा बाहिकका जुत्ता चप्पल, उपस्थित सौम्य, धैर्य दर्शक केही ढिलो बुझेकोमा पछुतो पनि मान्छु । यो स्थान आफैँमा मन्दिर रहेछ ।
“मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु बिथोल्न नआऊ”
गायक सर्मा नारायण गोपालको आवाजको गीत पछि भक्तराज आचार्यको गीत उठाउँछन् । कोठामा वृद्ध, जवान र बालबालिका गरी तिन समूहका दर्शक मन्त्रमुग्ध भएर हेरि रहेका छौँ । उनी तिन समुहका श्रोताको नजरमा राम्ररी कनेक्ट भएका छन् ।
“माया मेरी साँझ बनी डोली चढी आउँछिन्
एकान्तमा परेलीमा लुकेर निदाउँछिन् “
सुन्न मन पर्दा पर्दै उत्घोष हुन्छ- मुटुको अप्रेसन गरेको मान्छे, धेरै गाउनु पनि हुँदैन । उनी भावुक कुराको उठान गर्दै आजको लागी गायन टक्क रोक्छन् ।
‘कलाकारसँगको एक साँझ’को अन्त्यमा भुटानी समाजका गायक गोविन्द अधिकारी भक्तराज आचार्यको भजन उठाउँछन् । उनको आवाजमा यस्तो ध्वनि निस्कन्छ
” नधन त्यागेर त्यागी हुन्छ ऽऽ
नमन त्यागेर त्यागी हुन्छ ऽऽ “
माथिकै शब्दमा, ठिक त्यही तरिकाले म आयोजक, गायक, सङ्गीतकार, प्रायोजक र दर्शक -जसले महत्त्वपूर्ण समयको त्याग गरी आए तिनलाई मनबाट सम्झिरहेको छु । कसैको आवाज सुन्नु समयको त्याग दिनु पनि हो, ती अपरिचित अनुहारहरूको उपस्थितिलाई मनबाट सलाम छ।