कसरी बाँच्नु भएको छ ?
अजित रूपाबुङ
भर्मण्ट, अमेरिका
म त यस्तो ठाँउमा छु
जहाँ
मान्छेहरूको ठेलम्ठेल छ
अजङ्गका आलयहरूले घेरिएको छु
तर छिमेकी छैनन्
वन घना छ
साना साना झरनाहरू छन्
बिहानी उही सुनौलो हुन्छ
साँझ उस्तै गोधूलि हुन्छ
तर
” तिल्लु तिल्लु” गरेर
रूने न्याउली छैन I
असारमा उस्तै बर्सात हुन्छ
किसानहरू छन्
खेतबारीहरू छन्
गाई गोरूहरू छन्
तर
कसैले धान रोप्दैनन्
घन्किदैन कतै पनि असारे गीत
हरेक साल
दशैं आउँछ
तिहार आउँछ
हुँदैन गाउँमा दुर्गा पूजा
आँगन नेर
न सयपत्री मखमली सजेको हुन्छ
न देउसे भैलेको
जोर मादल बजेको हुन्छ
खल्लो लाग्छ उस्तै
न कतै मारुनी नाचको
” हा…..हा…हा….” सुनिन्छ I
म त यसरी बाँचेको छु
हर बखत यहाँ
आफ्नै मुटुबाट डराउनु पर्छ
आफ्नै छालाको रंगबाट डराउनु पर्छ
आफ्नै भाषाबाट डराउनु पर्छ
आफ्नै धर्मबाट डराउनु पर्छ
आफ्नै पहिरनबाट डराउनु पर्छ
आफ्नै राष्ट्रियताबाट डराउनु पर्छ
समग्रमा आफ्नै पहिचानबाट डराउनु पर्छ
म त
यस्तै ठाउँमा छु
यसरी नै बाँचेको छु I